युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.21.2018, 07:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा
Tuesday, 04.24.2018, 01:19pm (GMT+5.5)

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणको पूर्व तयारीका लागि चीनको पाँच दिने भ्रमणमा बेइजिङ् पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली द्विपक्षीय समझदारी वृद्धिको उत्साहवर्धक सन्देश प्रवाह गर्दै गत शनिवार स्वदेश फर्कनुभएको छ । भारतले नै निर्धारण गरेको मितिमा भारतको राजकीय भ्रमण पूरा गरेपछि चीन भ्रमणको अपरिहार्यता बोध गर्दै त्यसको पूर्व तयारीमा लाग्नुभएका प्रधानमन्त्री ओलीका सामु चीन भ्रमणमा जानु अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडांैमा उतैबाट तोकिएको मितिमा स्वागत गर्नुपर्ने अवस्था सिर्जित भएको अनुभूत भैरहेको छ । अतीतका कटु अनुभवलाई ओझेलमा पारेर नेपालसित नयाँ ढंगले सम्बन्ध विस्तार गर्न आतुर देखिएको भारतले चीनसितको बहुआयामिक सम्बन्ध विस्तारप्रतिको आमनेपाली चाहनालाई र उत्तरतिरबाट खुल्ने सम्भावना देखिएको उज्यालो ढोकालाई निक्कै चासो राखेर हेरिरहेको कुरामा कुनै सन्देह छैन ।  विगतमा भारतीय सञ्चार माध्यमबाट चीन परस्त र भारतविरोधी भावनाबाट लाभान्वित भनी आरोप लगाइएका प्रधानमन्त्री ओलीको सत्तारोहणको बाटो छेक्ने सम्भावना नरहेपछि उहाँको सरकारसंग सहकार्य गर्ने आतुरता देखाएर दिल्लीले रातो गलैंचा ओच्छ्याएर जुन रूपमा स्वागत गर्यो त्यसले भारत नेपालमा आफ्नो पुरानो शाख जोगाउन र नेपालमा भारतको विकल्पमा अरूलाई नजिक आउन नदिन कति सचेत र प्रयत्नशील छ भन्ने प्रष्ट बोध गराएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणप्रतिको आतुरता र अन्तर्प्रवाहमा रहेका  उत्कर्षमुखी रणनीतिक खेलहरूले नेपालको भारतसितको अनुपम भनिएको सम्बन्धले कस्तो दिशा लिने हो र चीनसितको बहुआयामिक सम्बन्ध विस्तारको आम नेपाली चाहनालाई कुन रूपमा प्रभाव पार्ने हो भन्नेतिर गम्भीर चासो बढ्नथालेको छ । सम्बन्ध विस्तारभित्रका जटिलताहरू यथास्थानमै छन् । 
भारत र चीन नेपालका अपरिवर्तनीय छिमेकी देश हुन् । नेपालले आफ्नो राष्ट्रिय स्वतन्त्रता,  सार्वभौमिक अखण्डता र आत्मनिर्णयको अधिकार रक्षादेखि लिएर राजनीतिक स्थायित्व र सर्वाङ्गिण विकासका लागि दुवै छिमेकी मित्रदेशसंग भरविश्वासका साथ सहकार्य गर्नुपर्ने अनिवार्यता छ । तर विगत लामो समयदेखि नेपालको वैदेशिक सम्बन्ध परिचालनमा व्याप्त रहेका कमीकमजोरी र राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्दर्भमा भैरहेको परिवर्तनअनुरूप गृहकार्य गरेर एकीकृत राष्ट्रिय धारणा बनाउन पहल गर्ने जागरूकताको अभावमा मुलुकले भोग्नुपरेका जटिलताहरू नै विद्यमान समस्याका मुहानहरू हुन् । नेपाल विस्तारै भारतवेष्ठित स्थितिबाट भूपरिवेष्ठित अवस्थातिर लम्किँदै छ । चीनसित भएको पारवहन र व्यापार सम्झौताले अझै मूर्तरूप लिन बाँकी रहेको अवस्थामा भारत निर्भरताको पूर्व अवस्थाबाट मुक्त हुन अझै समयको प्रतिक्षा गर्नुपर्ने अवस्था विद्यमान नै छ । नेपालको राज्य संयन्त्रभित्रबाट उचित समयमा निर्धारित काम गर्ने चासो, तत्परता र क्षमता देखाउन नसक्नाका कारण प्रतिबद्धता जाहेर भैसकेका क्षेत्रमा पनि परिणामदायी लाभ प्राप्त हुन सकिरहेको छैन । मुलुक अब राजनीतिक अस्थिरताको जञ्जिर तोडेर स्थिरता, विकास र समृद्धिको दिशातिर उन्मुख भैरहेको प्रतीत भए पनि उत्तरदायित्वबोध र जवाफदेहितामुखी प्रवृत्ति विकसित हुन बाँकी नै रहेकाले छरछिमेकीसित विकसित समझदारी र प्रस्तावित आयोजनाहरूबाट वाञ्छित लाभ लिनसक्ने अवस्थाको सिर्जना अझै पनि आकाशे फल जस्तै छ । परिवर्तित राष्ट्रिय सन्दर्भमा जागृत भैरहेका आकांक्षाहरूलाई मुर्झाउन नदिन जवाफदेहितापूर्ण शासकीय शैली र सुशासनको प्रत्याभूति हुने वातावरणको सिर्जना नै अहिलेको आवश्यकता हो । मुलुक कछुवा गतिमै भने पनि अगाडि बढ्यो भने ढिलै भए पनि गन्तव्यमा पुग्नसक्छ तर अहिलेसम्मको अवस्था हेर्दा मुलुक खरायो दौडको गतिले विपरीत बाटोतिर उन्मुख हुँदैआएको देशको दुर्दान्त अवस्थाले नै प्रत्यक्ष देखाइरहेको छ । यो अवस्थामा परिवर्तन नै अहिलेको आमअपेक्षा हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तिथि तय हुन बाँकी नै भए द्विपक्षीय सहयोग र सहकार्यका क्षेत्रहरूको निर्धारण एवं नेपालले चीनसित राखेको अपेक्षालाई परराष्ट्र मन्त्री ज्ञवालीको हालै सम्पन्न चीन भ्रमणले प्रष्ट दिग्दर्शन गरेको छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा गर्नुभएको चीन भ्रमणका बेला बहुआयामिक सम्बन्ध विस्तारको जुन ढोका खुलेको थियो त्यसको कार्यान्वयनले द्रूतता लिन नसकेको आमधारणा बनिरहेको पृष्ठभूमिमा अब सरकारले त्यसलाई वाञ्छित गति दिन कति इमान्दारिता र क्षमता देखाउने हो भन्नेतिर आम नेपालीको ध्यान केन्द्रित भैरहेको छ । नेपालले केरुङ–काठमाण्ड रेलमार्ग निर्माणका लागि चिनिया अनुदानको प्रस्ताव गरेको र चीन यसमा सकारात्मक रहेको जानकारीदेखि लिएर दुई देशबीच यातायात सम्पर्क सञ्जाल, अन्तर्देशीय विद्युत प्रसारण लाइन, कृषि र पर्यटन प्रवर्धन जस्ता विषयमा छलफल भएको जानकारी मन्त्री ज्ञवालीले दिनुभएको छ भने चिनिया विदेशमन्त्री वाङ यीले नेपाललाई आफ्ना छिमेकीबाट लाभ लिने पूर्ण अधिकार भएको धारणा राख्दै नेपालको हरेक विकासमा चीनको सहयोग रहने विश्वास दिलाउनुभएको छ । चीनले राखेको त्रिदेशीय विकास र सहयोगको धारणा पनि यो प्रसंगमा त्यत्तिकै अर्थपूर्ण छ । नेपालको विकासका निम्ति चीन र भारतले मिलेर काम गर्नुपर्ने चीनको धारणालाई मूर्तरूप दिन कुटनीतिक क्षमताको अनिवार्यता अहिलेको परिस्थितिले झनै बोध गराएको छ । एक छिमेकीसितको सहयोगात्मक सम्बन्ध विस्तारमा अर्को छिमेकीको प्रभाव र दवाव घोलित हुन नदिन अत्यन्त चनाखो हुनुपर्ने र वैदेशिक सम्बन्ध परिचालनमा तदर्थवादी सोच नराखी दूरगामी दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकताबोध अहिलेको परिस्थितिले गराएको छ । दृढ राजनीतिक इच्छाशक्ति राखेर विज्ञहरूको परामर्शमा वैदेशिक सम्बन्ध परिचालनको राष्ट्रिय नीति बन्नुपर्छ भन्ने हाम्रो दृढ अभिमत छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
सम्बन्ध सुधारको सही बाटो (04.12.2018)
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)
वैदेशिक हस्तक्षेपको रन्को (03.27.2018)
झिना मसिना कुरा (03.20.2018)
अर्थतन्त्रको उल्टो बाटो (03.06.2018)
उज्यालो भविष्यतिर लम्किने विश्वास (02.20.2018)
शहीद दिवसको औपचारिकता (01.30.2018)
सीमा अतिक्रमणको पीडा (01.25.2018)
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)



 
::| Latest News

 
[Page Top]