दक्षिणी छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने औपचारिक भ्रमण सुरु हुँदैछ । यो भ्रमण सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ । संविधान जारी भएपछि भारतप्रति नेपालीहरुको दृष्टिकोण अरु नकारात्मक भएका बेला हुन लागेको मोदीको नेपाल भ्रमण आफैंमा महत्वपूर्ण छ । नेपालको शान्ति, स्थिरता, विकास र समृद्धि मात्र भारतको चाहना भएको बताउने भारतीय शासकहरुको बोली र व्यवहार जहिल्यै फरक पर्ने गरेको सन्दर्भमा यसपटकको भमणमा बोली र व्यवहारको तादम्यता हुने अपेक्षा नेपाली जनताको छ । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापन नेपाली जनताकै आन्तरिक जाम्मेवारीको बिषय हो । तर भारतले हरेक चरणका राजनीतिक परिवर्तनका नेपाली आकांक्षालाई आफ्नो निर्देशनमा चल्ने कठपुतलीहरू खडा गरेर उपयोग गर्ने र आफ्नो निहित स्वार्थ पूरा गर्दैजाने कसरत गर्दैआएकाले नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा निरन्तर विचलन र जटिलता व्याप्त छ । नेपालको आन्तरिक राजनीति असन्तुलित र पथविचलित हुँदैजानुका पछाडि केही आन्तरिक असमझदारी जिम्मेदार भए पनि मुख्यतः भारतको नचाहिँदो चलखेल र हस्तक्षेप नै मुख्य कारण रहेकोमा कुनै सन्देह छैन ।
नेपालभित्रको राजनीतिक अन्तर्विरोधलाई सुनियोजित रुपमा चर्काएर आफूलाई ठालूको हैसियतमा उभ्याउँदै परिवर्तनका हरेक चरणमा आफूले स्वामित्व ग्रहण गर्ने र त्यसको अवाञ्छित लाभ उठाइरहने भारतको चाहनाबाट नेपाली जनता परिचित हुँदैआए पनि राष्ट्रिय राजनीतिक मार्गचित्र बनाएर अगाडि बढ्ने सामूहिक राजनीतिक चेतनाको अभावले गर्दा नेपाली नेपालीहरूबीचमै बैमनष्य र भीडन्तको ब्यूहरचना गरेर आफ्नो हैकम जमाउने भारतको रणनीतिले मूर्तरुप लिँदैआएको छ । नेपालको तराईका भूमिपुत्रहरूलाई अल्पमतमा पारेर उपलब्ध सवै अवसर कृतिम नागरिकहरूको हातमा पार्ने र उनीहरूलाई उपयोग गरेर नेपालको गलामा सुर्केनी लगाउने भारतीय गुरूयोजनाको एउटा शृङ्खला नै चलिरहेको छ । अब यो बन्द हुने अपेक्षा छ ।
आमनेपाली जनता भारतसंग सदैव मित्रवत् व्यवहार चाहन्छन् । तर भारतको व्यवहार भने प्रायःजसो नेपाली जनताको चाहना विरुद्ध मुखरित हुने गरेको तीतो अनुभव छ । नेपालमा राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि भारतको सद्भाव र सहयोगको अपरिहार्यता निर्विवाद नै छ तर नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासका निम्ति भारतको संकीर्ण दृष्टिकोण र हैकमवादी अवधारणा नै मुख्य बाधक बन्दैआएको छ । नेपालका राजनीतिक शक्तिहरूले यो वस्तुगत तथ्यलाई आत्मसात गरेर राष्ट्रिय एकता र सामूहिक भावनाको विकास नगरेसम्म नेपालको अवस्थामा कुनै तात्विक सुधार आउने सम्भावना छैन ।
नेपालको दुवै छिमेकी मित्रराष्ट्र चीन र भारतसंग समानस्तरको सम्बन्ध कायम हुनुपर्छ भन्ने कुरामा कुनै सन्देह छैन । तर समयक्रम र विकसित घटनाक्रमले जे जे कुरा देखाउँदै आएका छन् तिनलाई पूरै नकेलाई र समुचित विश्लेषण नगरी केवल मनोगत धारणा राखेर समदूरी वा समनिकटताको सम्बन्ध कदापि परिचालित हुनसक्ने छैन । नेपाल भारत सम्बन्धका बारेमा अहिलेसम्म जति निकटताका कुराहरू हुने गरेका छन् ती प्रायः कतै प्रक्षेपित त कतै मनोगत धारणाले ग्रस्त छन् । भूपरिबेष्ठित नेपाललाई सधैँ भारतबेष्ठित बनाउने अहिलेसम्मका गतिविधिहरूले नेपालको राजनीतिक स्थायित्व, आर्थिक–सामाजिक विकास र कुटनीतिक सम्बन्ध परिचालन जस्ता क्षेत्रमा उपलब्धिभन्दा समस्या र जटिलता बढ्दैगएको नेपालको निरन्तर खस्किँदो अवस्थाले नै प्रष्ट इंगित गरेको छ । नेपालको स्वाधीनता, अखण्डता र एकताको रक्षाका लागि भारतसितको परम्परागत सम्बन्ध र हालसम्मका गतिविधिहरू नितान्त चुनौतिपूर्ण बनेका छन् भने बीचबीचमा उत्पन्न भएका समस्याले यसमा दृष्टिकोणगत र व्यवहारगत परिवर्तनको खाँचो रहेको टड्कारै रूपमा देखिएको छ । जहाँसम्म चीनसितको सम्बन्धको कुरा छ त्यसमा यस्ता समस्या छैनन् । चीनसित नेपालको सम्बन्ध पूर्णतः सहअस्तित्व, सद्भावपूर्ण सहयोग र पारस्परिक विश्वासको जगमा परिचालित छ । मात्र खाँचो समयसापेक्ष गति दिन र बहुआयामिक रूप दिनुमै मात्र छ । नेपालको विकासमा दुबै मुलुकको साथ उत्तिकै आवश्यक छ ।
दुई तिहाईको समर्थनमा बनेको बाम गठबन्धनको सरकारको एउटै उद्देश्य र लक्ष्य स्थिरता र समृद्धि हो भने दुई छिमेकी चीन र भारतसंगको सम्बन्धलाई उचाईमा पु¥याउनैपर्छ । यसमा भारतले अन्यथा ठान्नुहुन्छ । भारतले अब हस्तक्षेपकारी भूमिकामा हैन नेपालको आर्थिक–सामाजिक विकासमा प्रतिस्पर्धा गर्नुपर्छ । अनि नेपालमा नयाँ संविधान जारी हुनासाथ भारतले देखाएको असन्तुष्टि र नेपाललाई पाठ सिकाउन लामो समयसम्म गरेको अघोषित नाकाबन्दीका दुष्परिणामहरूको क्षतिपूर्ति खुला हृदयबाट सम्बन्ध विस्तारको आव्हान गरेर गर्नुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यति गर्नुभयो भने यो भ्रमण सार्थक हुनेछ र नेपाली जनतामाथि भारतप्रतिको कायम रहेको नकारात्मक दृष्टिकोण पनि हट्दै जानेछ ।