युगसम्बाद साप्ताहिक

मोदीको तीर्थाटन
Tuesday, 05.15.2018, 09:29am (GMT5.5)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी गत शनिवार नै स्वदेश फर्किसक्नुभएको छ । उहाँ स्वयंले तीर्थाटनको संज्ञा दिनुभएको यो भ्रमणको उपादेयता वारे भ्रमणको पूर्व सन्ध्यामा जे जस्ता बहस र चर्चा परिचर्चा भएका थिए अहिले त्यसको उपलब्धिका वारे उत्तिकै चर्चा परिचर्चा भैरहेको छ । उहाँ २०७१ सालमा पहिलो पटक नेपालमा आउनुहुँदा नेपाली जनमानसमा जुन सद्भाव र विश्वासको लहर उठेको थियो त्यो पानीको फोकामा परिणत हुनपुगेको निकट अतीतले नेपालीजनको पवित्र मैत्रीभावलाई कुण्ठित गराएको कारणले पनि तेस्रो पटक भएको यो भ्रमणको नतिजा दीर्घ प्रतिक्षाकै विषय बनेको छ । उहाँ भारतको प्रधानमन्त्रीका रूपमा पहिलो पटक नेपालमा पदार्पण गर्दा कुण्ठाग्रस्त नेपाल-भारत सम्बन्धले समयसापेक्ष नयाँ दिशा लिने आशा र विश्वास जागृत भएको थियो । तर समयको अन्तरालमा सद्भाव र विश्वासको सेतु नै टुटाउने गरी अकल्पनीय र अमानवीय नाकाबन्दीको जुन ब्यूहरचना भयो त्यसले सरल  नेपाली मन कुँडिएको मात्र नभै भूकम्पले थिलोथिलो भएको नेपालले ठूलो आर्थिक ,मानसिक र राजनीतिक पीडा पनि भोग्नुपर्यो । निकट अतीतको यो पीडाले पारस्परिक सद्भाव र विश्वासको सेतु टुटाएको पृष्ठभूमिमा यस पटक भएको भ्रमणले जगज्जननी जानकी ,आराध्यदेव पशुपतिनाथ र मुक्तिनाथको पूजा आराधना गर्ने उहाँको मनोकाङ्क्षा मात्र पूरा गर्यो कि विगतको भ्रमणपछि अरू टुटेको सद्भाव र विश्वासको सेतु पनि जोड्ने काम गर्यो त्यो थाहा पाउन लामै समयको प्रतिक्षा गर्नुपर्ने छ । नेपाल र भारतबीचको सम्बन्धलाई लिएर अतीतदेखि वर्तमानसम्म जति शब्दपुष्प गाँसिएका छन्  व्यवहारमा त्यो मधुरता अनुभूत नहुनेगरेको कटु यथार्थले मोदीको यस पटकको भ्रमणलाई पनि पर्ख र हेरको अवस्थामै राखेको छ ।

नेपालीमा एउटा बहुप्रचलित उखान छ - पशुपतिनाथको यात्रा सिद्राको व्यापार । त्यस्तै हिन्दीमा पनि एउटा कहावत छ - एकपन्थ दो काज । भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको नेपाल भ्रमण पनि धार्मिकयात्रामा मात्र सीमित नभै कुटनीतिक -राजनीतिक उद्देश्यप्रेरित रहेको सन्देहरहित नै छ । छिमेकीलाई पहिलो प्राथमिकता भन्दैआउनु भएका मोदीले नेपाललाई प्राथमिकतामा राख्नुको निहितार्थ के हो र त्यसभित्र भारतको रणनीतिक स्वार्थ के छ भन्ने कुरा बौद्धिक-राजनीतिक बहसको विषय मात्र नभै नेपालको स्वतन्त्र अस्तित्व र भविष्यसंग पनि गाँस्सिएको प्रश्न हो । नेपाल -भारत सम्बन्धसित जोडिएका यावत पक्षहरू भारतीय सत्ताको नेपाललाई भारतको विशेष प्रभाव क्षेत्रका रुपमा सङकुचनमा राख्निरहने र आन्तरिक राजनीतिक व्यवस्थापनको स्वमित्व पनि ग्रहण गरिरहने अभिप्राय प्रेरित रहेको  आम बुझाइ छ । स्वतन्त्र नेपालका स्वाभिमानी नेपालीको मनोभावना र मनोकाङ्क्षा विपरीतको यस्तो चाहना र व्यवहारका कारण उब्जिएका अनगिन्ती समस्याको घेराबन्दीको सामना नेपालले गरिरहनुपरेको अवस्था विद्यमान नै छ । नेपाल भारतबीचको आधुनिक सम्बन्धलाई अतीतको गाथा र रोटी बेटीको सम्बन्ध एवं खुला सिमानाको रटिरटानले मात्र आलोकित गर्न सक्दैन । नेपालभित्र आफ्ना गुमस्ताहरू खडा गरेर प्रभुत्व विस्तार गर्ने र हैकम कायमगरिरहने कलुषित आकाङ्क्षा यतावत रहेसम्म सद्भाव र विश्वासको नयाँ सेतु बन्नैसक्दैन । नेपालको आर्थिक विकासमा भारतको सहयोग र साझेदारीताको अपरिहार्यता सवै नेपालीले बोध गरेका र सहकार्यको अपेक्षा पनि त्यत्तिकै उच्च रहेको भए पनि कसैकको हैकम नेपालीहरूका लागि स्वीकार्य र पाच्य छैन । भौगोलिक विशालता र आर्थिक क्षमताका दृष्टिले होइन सार्वभौमिक समानताका आधारमा परिचालित सम्बन्धले मात्र कुण्ठारहित विशिष्ट सम्बन्धको सेतु निर्माण गर्न सक्छ । मोदी भ्रमणमा खर्चिएका शब्दहरू जति नै आलङ्कारिक ,मधुरतापूर्ण र कर्णप्रिय  भएपनि बचन र व्यवहारमा एकरुपताको अभाव रहँदासम्म वाञ्छित परिस्थितिको सिर्जना आकाशकै फल बनिरहने छ ।

समयले कोल्टे फेरेको छ । नेपालको आन्तरिक व्यवस्थापनमा आफ्नै क्षमताको विकासका यथेष्ठ लक्षणहरू देखापरिरहेका छन् ।  आफ्ना समस्याहरू मनमै  दवाएर राख्ने र कसैका सामु राख्न दकसाउने अवस्था हट्दैगएको छ । नेपालमा भारत सिर्जित समस्याको झिनो चर्चा गर्दा पनि भारतको विरोध ठान्ने र अन्धराष्ट्ववादको पगरि गुथाएर भारतभक्ति प्रदर्शन गर्ने अवस्था अव छैन । भारत रिसाउँछ कि भनेर उसको हैकम र अन्यायपूर्ण क्रियाकलाप वारे मौन रहने परिस्थिति क्रमशः हट्दैगएको छ । भारतले नेपाललाई सबक सिकाउन गरेको नाकाबन्दीको विरूद्ध देशभक्त नेपालीहरू सकसको सामना गर्न एकजुट भएको प्रकरण र देखाएको अडानले भारतलाई नै  नेपालसितको सम्बन्ध परिचालनमा धारणा परिवर्तन गर्न बाध्य पारेको स्थितिबोध गराएको छ । भारत सिर्जित समस्याहरू वारे प्रधानमन्त्री आफैँले खुलेर कुरा राख्ने अवस्था सिर्जित भएको छ । भारतले अन्यायपूर्ण तवरले सीमा क्षेत्रमा तटबन्धहरू निर्माण गरेर नेपालभूमि डुबाउँदा हिजोका सरकारहरू मौन भएर टुलुटुलु हेर्ने गरेका थिए भने अहिले प्रधानमन्त्रीकै तहबाट त्यस्ता समस्या उजागर हुनेगरेका छन् । यो बढ्दो जनचेतना र जनदवावकै परिणाम हो ।  नेपालका सत्ताधारीहरूको इच्छाशक्ति प्रबल हुँदामात्र पनि भारतबेष्ठित अवस्थाको अन्त्य र वैकल्पिक उपायको अबलम्वन नितान्त सम्भव प्रकट भैसकेको छ । नेपालले भारत निर्भरताको जञ्जिर तोड्न हरेक क्षेत्रमा आन्तरिक क्षमताको विकास गर्नु नै विकल्परहित बाटो हो । पशुपतिनाथको यात्रामा आएका मोदीले सिद्राको व्यापार कति गरेर गए त्यसको लेखाजोखा भोलिका दिनले नै गर्ने छन् । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापन , स्थायित्व र आर्थिक विकासको आधार निर्माणमा मोदीको तीर्थाटनको प्रभाव कुन रूपमा प्रकट हुने हो हेर्ने कुतुहलता  अहिले जागृत भैरहेको छ । सद्भाव र विश्वासको सेतु निर्माणमा मोदी भ्रमण सार्थक  रहेको अनुभूति  निकट भविष्यमा  सरलमनका नेपालीले गर्न  पाएभने यो नै सवभन्दा ठूलो उपलब्धि हुनेछ ।   



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com