युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 12:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
अस्थिरताको पुनः बीजारोपण !
Wednesday, 07.25.2018, 12:28pm (GMT+5.5)

राजधानी काठमाडौं अहिले फेरि फोहोरको डुंगुर थुप्रिएर नागरिकको स्वास्थलाई नै प्रतिकूल प्रभाव पार्ने गरी दुर्गन्धमय भएको छ । सडक विस्तार, मेलम्ची खानेपानीको वितरण प्रणाली र दूरसञ्चारका केबुल विस्तार गर्ने नाममा भत्काइएका संरचना, खाल्डाखुल्डी र अस्तव्यस्तताका कारण उब्जिएको धुलो र हिलो अनि अत्यन्त अव्यवस्थित यातायात प्रणालीका कारण फैलिएको धुवाँ र जामले नागरिकहरूको दैनिकीदेखि लिएर स्वास्थ्यमाथि नै प्रतिकूल प्रभाव पारिरहेकाले आम नागरिकको पीडा कहिनसक्नु भएको छ । नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक हुनासाथ त्यो लागु हुनुभन्दा डेढ महिना अगाडिदेखि नै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले अनियन्त्रित गति लिएकाले सीमित आय भएका सर्वसाधारण जनतालाई साँझ–बिहानको गर्जो टार्न पनि धौ धौ भएको छ । सार्वजनिक वितरणको दूध र खानेपानी पनि शुद्ध नभएको विवरण सरकारी निकायबाटै खुलाशा भैरहेको छ । सामान्य नागरिकले राज्य प्रदत्त सेवा सहज रूपमा पाउनसक्ने कुनै अवस्था छैन । संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट रकसको अधिकार कति भन्नेसम्म पनि नछुट्टिएकाले हजारौं राष्ट्रसेवक कर्मचारीहरू कामबिहीन बनेका छन् । अर्कातिर वर्षौंदेखि करार र ज्यालादारीमा थुपारिएका हजारौं कर्मचारी साउन १ गतेदेखि हटाउने सरकारी निर्णयले पनि थप समस्या जन्माएको छ । अर्का्तिर वर्षायाममा सधैं देखिने बाढी, पहिरो र डुवानको समस्याले पनि उत्तिकै च्यापेको छ । यी विकराल समस्याले खडा गरेका चुनौतीहरूलाई यत्किञ्चित नठानी यो वा त्यो नाममा सधैं राजनीतिक कलह जगाउने अनपेक्षित अभ्यास भैरहनु बिडम्बनापूर्ण छ । 
देशको समग्र राजनीति अहिले पनि भ्रमित आकांक्षाले पूरै पथविचलित छ । राष्ट्रिय विकास र समृद्धिका गगनभेदी नारा गुञ्जिरहेको भए पनि सो उद्देश्यपूर्तिका लागि सहमतिपूर्ण राजनीतिक वातावरणको पूर्ण अभाव छ, न त यसका निम्ति एकीकृत राष्ट्रिय धारणा नै बनेको छ । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर नीति र कार्यक्रम बनाउने रचनात्मक अभ्यासको थालनी नै भएको छैन । वैदेशिक शक्तिकेन्द्रहरूबाट प्रक्षेपित मुद्दाहरू बोकेर राष्ट्रिय वातावरण धमिल्याउने क्रम टुटेको छैन । जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण भएको र  संघ, प्रदेश र स्थानीय तहमा जन निर्वाचित प्रतिनिधित्व पनि व्यवस्थित भएको कुरा सतहमा हेर्दा ठूलो उपलब्धि मानिए पनि सकारात्मक परीणतिको बाटोतिर मुलुक अग्रसर भएको कुनै प्रत्याभूति छैन । केन्द्रमा दुई तिहाइ बहुमतको बलियो र स्थायी स्वरूपको संघीय सरकार बनेकोदेखि लिएर प्रदेशहरू र स्थानीय तहमा पनि पूरै प्रभाव कायम गर्न नेपाल कम्युनिष्ट पार्टी राजनीतिक रूपमा सफल देखिएको भए पनि राष्ट्रिय आकांक्षा र जनताको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रवृत्ति र संस्कार कही कतै नदेखिनु मुलुकको भविष्यप्रति सन्देह जगाउने कारण बनेको छ । सरकार सदन र सडक दुवैतिर आलोचित मात्र बनेको छैन वैधानिक नियन्त्रण गर्नसमेत विफल भैरहेको अवस्थाले दुई तिहाइ बहुमतको सार्थकता हराएर उपहासको विषय बन्न थालेको छ । एउटा सत्याग्रहीले उठाएका मुद्दाको समेत समयमै सम्बोधन गर्ने र सदन र सडकमा उत्तेजनात्मक स्थिति सिर्जना हुन नदिने राजनीतिक सुझबुझको अभावको दुष्परिणाम कुन रूपमा देखिने हो भन्ने चिन्ताजन्य प्रश्न खडा भैसकेको छ ।
मुलुक संगतिपूर्ण ढंगले अगाडि बढ्नसक्ने कुनै लक्षण नदेखिनु अत्यन्त ठूलो दुर्भाग्य हो । राजनीतिक वृत्तमा अझै पनि विश्वकै उत्कृष्ट संविधान बनाइएको दुन्दुभी बजिरहेको छ तर बाह्य निर्देशित र प्रक्षेपित मुद्दाहरूको भारीले थिचिएको संविधानको पूर्ण कार्यान्वयन दुईतिहाई बहुमतको सरकारका लागि ठूलो भारी बन्दैगएको छ । वैदेशिक दवाव र प्रभावका प्रतिकूल परिणामदायी गतिविधिहरू सरकारभित्र र बाहिर उत्तिकै मौलाएका छन् । अहिले सदनदेखि सडकमा देखिएका गतिविधिहरू प्रतिशोधात्मक, अराजक र संवैधानिक प्रक्रियालाई नै खलबल्याउने प्रकृतिका मात्र नभै राजनीतिक स्थायित्व र विधिको शासन स्थापनाकै विरूद्ध लक्षित रहेको आभास भैरहेको छ । यो वा त्यो कारण देखाएर राजनीतिक स्थिरताको प्रत्याभूति नै हुन नदिने अवाञ्छित वातावरण सिर्जना गर्न मुलुकभित्रै राजनीतिक बितण्डाबाजी देखिन थाल्नु र कुटनीतिक नियोगहरूदेखि दातृ संस्थाहरूसमेत जुर्मुराएर सडकमा उत्तेजनात्मक स्थिति सिर्जना गर्न खेतालाहरूलाई उकास्नथालेको सन्देह पैदा हुनु  मुलुक निकट भविष्यमै अवाञ्छित उथलपुथलको भूमरीमा फस्नसक्ने अशुभ संकेत हो । दुई तिहाइ बहुमतको सरकार संसदमा निरीह देखिनु र सर्वसाधारण जनताले प्रत्यक्ष राहत अनुभव गर्नसक्ने खालका कुनै काम नहुनु दुर्भाग्यपूर्ण अवस्थाको सिर्जना हो । अब पनि कथित सहयोगी ,प्रशंसक र चाकरीदारकै घेराभित्र रहेर हचुवा शैलीमा नै सरकार सञ्चालन गरिने हो भने त्यसको अवाञ्छित लाभ यो मुलुकलाई निरन्तर अस्थिरताको चंगुलमा फसाएर हुर्मत लुट्न चाहनेहरूका लागि ठूलो मौका मिल्ने छ । समयचेत सवैमा जागोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा (04.24.2018)
सम्बन्ध सुधारको सही बाटो (04.12.2018)
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)
वैदेशिक हस्तक्षेपको रन्को (03.27.2018)
झिना मसिना कुरा (03.20.2018)
अर्थतन्त्रको उल्टो बाटो (03.06.2018)
उज्यालो भविष्यतिर लम्किने विश्वास (02.20.2018)
शहीद दिवसको औपचारिकता (01.30.2018)
सीमा अतिक्रमणको पीडा (01.25.2018)
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)



 
::| Latest News

 
[Page Top]