युगसम्बाद साप्ताहिक

बडादशैंको शुभकामना
Wednesday, 10.10.2018, 02:02pm (GMT5.5)

नेपालीहरूको महान चाड बडादशैं– २०७५ भोलिदेखि सुरू हुँदैछ । हिन्दु संस्कृति र परम्पराबाट अनुप्राणित नेपाली समाजमा बडा दशैंको विशेष महत्व छ । आपसी सद्भाव, मेलमिलाप र सम्पर्क विस्तार एवं वृद्धिका लागि यो अवसरको उपयोग नेपाली समाजको गौरवमय पक्ष हो । शिक्षा, रोजगारी , व्यापार(व्यवशायको सिलसिलामा घरपरिवारबाट टाढा रहेका व्यक्तिहरू पारिवारिक मिलनका लागि यही अवसरको प्रतिक्षामा रहेका हुन्छन् । राज्यले पनि प्रमुख चाडको रूपमा बडादशैं मनाउन लामो विदा दिने र मातहतका कर्मचारीलाई एक महिनाको तलब वरावरको रकम उपलब्ध गराई दशैं पर्व मनाउन सघाउँदै आएको लामो परम्परा छ । यो अवसरमा सवै तहका शिक्षण संस्थाहरूमा पनि बिदा दिने प्रचलन छ । नेपालमा यो नै सवभन्दा ठूलो राष्ट्रिय चाडपर्व हो । दैवीशक्तिप्रति विश्वस्त रहँदैआएको नेपाली समाज अहिले रूपान्तरणको नयाँ क्रममा रहेको र यसको सामाजिक–सांस्कृतिक महत्वलाई न्यूनीकरण गर्दैजाने सुनियोजित प्रयास पनि भैरहेको अनुभूत हुन थालेकाले मौलिक संस्कृतिको जगेर्ना ठूलो चुनौती बन्दैगएको छ ।             देशको कूल जनसंख्याको ९१ प्रतिशत ओमकार परिवार भएको मुलुकलाई बाह्य दवाव र प्रभावमा धर्मनिरपेक्ष घोषित गरी सनातन  धर्म, संस्कृति र परम्पराविरूद्ध लक्षित गतिविधि गर्ने जुन अवसरको सिर्जना गरिएको छ त्यसको नकारात्मक असर नेपाली समाजमा देखिँदैआएको छ । 
बहु भाषिक, बहुजातीय र बहुसांस्कृतिक स्वरूप ग्रहण गरेको सिङ्गो नेपाली समाजलाई शदियौंदेखि एकताबद्ध बनाउन यो देशको मौलिक संस्कृति र परम्पराले जुन योगदान दिँदैआएको छ त्यसलाई पटाक्षेप गरी सांस्कृतिक विचलनको गति तीब्रपार्ने निषेधात्मक प्रवृत्तिहरू पनि यसबीचमा मौलाइरहेका छन् र राष्ट्रिय समस्याको रूप लिइरहेका छन् । समय गतिशील र परिवर्तनशील छ– हिजोको अवस्थामा समाज अडिरहन सक्दैन तापनि आफ्नो मौलिक संस्कृति र परम्पराबाट विचलित हुँदै आयातित संस्कृतिप्रति अनुराग राखेर सामाजिक धरातललाई नै विशृङ्खलित पार्ने गतिविधिको विस्तार हुँदैगयो भने राष्ट्रिय एकता र अखण्डताको जरो नै उखेलिने भय पैदा हुन्छ । नेपालको मूल सांस्कृतिक धार कुन हो र यसको संरक्षण–संवर्धन कसरी गर्ने भन्नेतिर विचार नपु¥याउने हो भने हाम्रो मौलिकता गुम्दैजान्छ । नेपाल अहिले सांस्कृतिक अतिक्रमणको चपेटामा छ । विदा कटौतीका नाममा राष्ट्रिय चाड मनाउन समेत व्यवधान खडा हुने अवस्थाको सिर्जनाले दूरदराजका वासिन्दाहरू आहत हुनुपरेको स्थिति सिर्जित छ । देशका विभिन्न भागमा बिधर्मीहरूको प्रलोभनपूर्ण लगानी र चलखेलका दुष्प्रभावहरू सामाजिक–सांस्कृतिक सद्भावविरूद्ध लक्षित हुँदैआएका छन् । तर हाम्रो मौलिक संस्कृतिको संरक्षण–संवर्धन र समुत्थानका लागि राष्ट्रिय जागरण नै पैदा हुननसकेको स्थितिबोध सामाजिक रूपान्तरणको अहिलेको निर्देशित गतिविधिले प्रष्ट इङ्गित गरिरहेको छ ।    
बडादशैं नेपाली समाजको गौरवशाली संस्कृतिको द्योतक हो । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी नौ दिनसम्म शक्तिदातृ माता दुर्गादेवीको पूजा आराधना गर्ने र दशौं दिन आसुरी प्रवृत्तिमाथि विजय प्राप्तिको कामना गर्दै प्रसाद ग्रहणका साथ मान्यजनसंग टीका लगाएर आशीर्वाद लिने प्रचलन छ । समाजबाट आसुरी प्रवृतिको अन्त्य होस्, खरावमाथि असलको विजय होस्, अन्यायमाथि न्यायको विजय होस्, अविश्वासमाथि विश्वासको विजय होस् र समाजमा वैमनस्यता र कलहको शेष नरहोस् भनेजस्ता नितान्त सकारात्मक सोच र विचारको प्रवाह गर्नुमा नै बडादशैं र त्यसमा पनि विजया दशमीको महत्व छ । नेपाली समाजमा यतिखेर सांस्कृतिक बिचलनका जुन लहरहरू उठिरहेका छन् तिनले हाम्रो सकारात्मक र सृजनात्मक सोच–विचारलक्षित संस्कृतिको गौरव र महत्वलाई नै स्खलित गराउने प्रयास गरिरहेको छ । विकृतिका अनेक शृङ्खलाहरू रचित छन् । यस्ता प्रवृतिहरू हाम्रो सामाजिक सद्भाव खल्बल्याउन, राष्ट्रिय एकता खल्बल्याउन र अखण्डतामाथि प्रहार गर्न लक्षित छन् । बडादशैंको यो अवसरले यस्ता आसुरी प्रवृतिविरूद्ध राष्ट्रिय जागरण पैदागर्न अभिप्रेरित गरोस् र आपसी सद्भाव, मेलमिलाप र सुख–समृद्धिका लागि एकताबद्ध प्रयास गर्न उत्साहित बनाओस् भन्ने हाम्रो हार्दिक कामना छ । सांस्कृतिक गौरव प्रदर्शनको यस क्षणमा हामी समस्त पाठक वर्ग, सहयोगी, शुभेच्छुक तथा समस्त नेपाली जनमा हाम्रोतर्फबाट हार्दिक शुभकामना अर्पण गर्दछौं ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com