युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 11:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
आन्तरिक उत्पादन निरुत्साहित
Tuesday, 11.20.2018, 11:41am (GMT+5.5)

दश अर्बभन्दा बढीको लगानी भएका र ५० हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिँदैआएका  देशभरका २ सय ५० भन्दा बढी कपडा उद्योगहरू मंसिर १ गतेदेखि सातदिने बन्दको कार्यक्रमसहित आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको आर्थिक विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने र सबै नेपालीलाई सुखी बनाउने सपना दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले बाँडिरहेको परिप्रेक्षमा आयात प्रतिस्थापन उन्मुख आन्तरिक उत्पादनमा प्रत्यक्ष प्रतिकूल असरपर्ने जुन वातावरण सिर्जना भएको छ त्यसले सकारात्मक परिणाम ल्याउने कुनै लक्षण छैन । मुलुकको आन्तरिक बजार पूरै वैदेशिक उत्पादनका आयातित वस्तुले ढाक्दैगएको आजको अवस्थामा समाजवाद उन्मुख भनिएको सरकारका नीति तथा कदमहरू लगानी प्रवद्र्धन र सुरक्षामुखी नदेखिनु र सिद्धान्तका कुरा जति नै छाँटे पनि प्रकारान्तरले परनिर्भरता बढाउने प्रवृत्ति मौलाइरहेको देखिनु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने प्रचलित उखान चरितार्थ गर्नु नै हो । वर्तमान सरकारले ‘आर्थिक ऐन २०७५’ ल्याएपछि कपडा उद्यमीहरूले पाउँदैआएको मूल्य अभिवृद्धिकर फिर्ताको सुविधा कटौती भएकाले उत्पादन लागत वृद्धि भै खुला सिमानाबाट चोरी पैठारी भै आउने गरेका कपडासंग अब स्थानीय बजारमा प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्था सिर्जना भएको कपडा उद्योगीगरूको भनाइ छ । खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्ने क्षमताको अभाव अहिले पनि उत्तिकै छ ।
नेपाल विशालकाय मात्रै होइन विशाल उत्पादन क्षमता भएका भारत र चीनको बीचमा अवस्थित भूपरिवेष्ठित सानो मुलुक भएको र संरक्षणमुखी र प्रवद्र्धनमुखी नीति अबलम्बन नगर्ने हो भने र केवल सैद्धान्तिक कुरा तेर्स्याएर आन्तरिक लगानीका उद्योगको घाँटी कस्दैजाने हो भने खुला आयात नीति एवं खुला सिमानाको दुरूपयोग गरी हुने गरेको चोरी पैठारीका वस्तुसंग नेपालको आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास नै हुनसक्दैन । विगत लामो समयदेखि नेपालको आर्थनीति प्रकारान्तरले बाह्यनिर्देशनको प्रभावबाट ग्रसित हुँदैआएको छ । अहिलेको ताजा प्रसङ्ग कपडा उद्योगीहरूको आन्दोलनको छ । २०५२ सालमा मूल्य अभिवृद्धिकर लागु भएदेखि नै करफिर्ताको सुविधा लिँदैआएका उद्यमीहरूले नयाँ आर्थिक ऐनको प्रावधानअनुसार अब मूल्य अभिवृद्धिकर फिर्ताको सुविधा नपाउने भए । उपभोक्ताले राज्यलाई तिरेको कर राज्यकै ढुकुटीमा जम्मा हुनुपर्ने सोझो हिसावका कुरा अहिले गरिएका छन् तर  मेसिनरी आयातमा भन्सार र आयकरमा छुट, बिद्युत महसुलमा सहुलियत एवं मूल्य अभिवृद्धिकर बराबरको रकम अनुदान जस्ता सुविधा विना उद्योग चलाउन नसक्ने र उद्योगको साँचो नै सरकारलाई बुझाउने जिकिर   उद्योगीहरूले गरिरहेका छन् । खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रणमात्र हुने हो भने पनि यथास्थितिमा उद्योग चलाउन सकिने भनाइ पनि रहेको छ । सरकारको कर नीति आन्तरिक लगानी सुरक्षा र प्रवद्र्धनमुखी नरहेको र चोरी पैठारी रोक्ने क्षमता र साहस पनि नरहेको स्थितिबोध अहिलेको अवस्थाले गराएको छ ।   
यो जाने बुझेकै कुरा हो–  स्वदेशी कपडा उद्योग रुग्ण अवस्थामा छन्, जडित क्षमताको पूरा उपयोग पनि हुन सकेको छैन र  लगानी प्रवद्र्धित, संरक्षित र आकर्षित पनि छैन । आर्थिक सूचकांकहरूले प्रष्टै देखाइरहेका छन्– देश अहिले आर्थिक रूपले जरजर छ । बाह्य उत्पादनको प्रोत्साहनपूर्ण प्रवेश रोक्ने सरकारको व्यवहारिक नीति पनि छैन । कृषिजन्य वस्तुको माग धान्नसक्ने पूर्वाधार मुलुकमा भए पनि सरकारको गलत नीतिकै उपजक कारण हरेक वर्ष कृषिजन्य वस्तुका आयात आशातीत रूपमा बढेको छ । यो वर्ष मौसम अनुकुल भएकाले किसानको खेतमा धान धेरै फल्यो तर आन्तरिक बजार भने व्यवस्थित नै छैन । तराईबाट सस्तो मूल्यमा धान भारत निकासी भएर महङ्गो मूल्यमा चामल भित्रिने सम्भावना प्रचूर छ । चार वर्ष अगाडि प्रति केजी ४ हजार मूल्य पाएका अलैंची उत्पादकले यो वर्ष ६ सयभन्दा बढी मूल्य नपाएको तथ्य सार्वजनिक भएको छ । सरकारले उखुको समर्थन मूल्य ५ सयभन्दा बढी तोके पनि किसानहरूले २ सय ५० भन्दा बढी नपाएका र वर्षौंदेखि भुक्तानी नपाएका प्रकरण पनि सार्वजनिक भैरहेका छन् । कृषि व्यवसाय निरन्तर संकुचित भैरहेको छ । खेतबारी बाँझिदै गएका छन् । खेती किसानी गर्नसक्ने युवाहरू वैदेशिक रोजगारीमा धकेलिएका छन् । फलफुल, तरकारी खेती र पशुपालनमा पनि कुनै प्रोत्साहन छैन । समग्रतामा आन्तरिक उत्पादन वृद्धिका लागि प्रोत्साहनप्रद वातावरणकै प्रचूर अभाव छ । केवल कपडा उद्योगको मात्र होइन आयात प्रतिस्थापन गर्ने हरेक उत्पादनशील क्षेत्र कतै नीतिगत र कतै व्यवहारिक रूपमै निरूत्साहित छ । मुलुक विदेशी कमसल वस्तुको सुरक्षित बजार बनिरहेको छ । कुनै पनि  क्षेत्रमा आन्तरिक उत्पादनले प्रोत्साहन र संरक्षण पाउने अवस्था सिर्जित नहुनु नै आर्थिक क्षेत्रमा मौलाएको विसङ्गतिको द्योतक हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा (04.24.2018)
सम्बन्ध सुधारको सही बाटो (04.12.2018)
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)
वैदेशिक हस्तक्षेपको रन्को (03.27.2018)
झिना मसिना कुरा (03.20.2018)
अर्थतन्त्रको उल्टो बाटो (03.06.2018)
उज्यालो भविष्यतिर लम्किने विश्वास (02.20.2018)



 
::| Latest News

 
[Page Top]