युगसम्बाद साप्ताहिक

जनताको विश्वासमाथि तुषारापात
Tuesday, 12.11.2018, 01:31pm (GMT5.5)

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली एक वर्ष अगाडि लोकप्रियताको जुन शिखरमा आरूढ हुन पुग्नुभएको थियो पुग नपुग दश महिनाको शासकीय अवधिका गतिविधिले फेदीमै पुग्ने गरी निरन्तर ओरालो झर्ने क्रमलाई गति दिइरहेको सर्वत्र अनुभूत हुन थाल्नु अत्यन्त दुःखद प्रसङ्ग हो । २०७२ सालमा विनाशकारी महाभूकम्पले देश छियाछिया भइरहेको बेला ‘मित्रराष्ट्र’ भारतले नेपालको घाँटीमा सुर्केनी लगाउँदै अघोषित नाकाबन्दी लगाएको बेला प्रष्ट दृष्टिकोणसहितको राष्ट्रिय अडान राखेर उहाँले जुन निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो त्यसैले जगाएको आशा, भरोशा र विश्वास नेपालका लागि सञ्जीवनी बुटी नै बनेको थियो । भारतबेष्ठित भूराजनीतिक जटिलताबाट सिर्जित मूलभूत समस्याबाट मुलुकलाई मुक्त गराउँदै वैकल्पिक सोच, खोज र गन्तव्य निर्धारणको निर्णय ठूलो ऐतिहासिक कदम थियो । त्यसैको जगमा उहाँको राजनीतिक छवि उज्यालिएको थियो भने उहाँको नेतृत्वमा मुलुकले अग्रगामी छलाङ् मार्ने विश्वास पलाएको थियो । उहाँको नेतृत्वकै भरविश्वास गरी नेपाली जनताले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जोस्सिएर मतदान गरे । परीणामले उहाँलाई राम्रोसंग पुरस्कृत ग¥यो । उहाँको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बन्यो । अव मुलुकले स्थायित्व ग्रहण गर्छ, विकास र निर्माणले गति लिन्छ, सामाजिक न्यायको प्रत्याभूति हुन्छ र समग्रतामा मुलुकले समृद्धिको मूलबाटो समात्छ भन्ने आशा निश्चित रूपमै पलाएको थियो । तर यति छोटो समयकै अन्तरालमा ओली सरकार पथविचलित भएको, परिणामदायी काम गर्न असक्षम सावित भएको र द्वन्द्वको अवशानको सट्टा मुलुक पुनः द्वन्द्व र अस्थिरताको चक्रब्यूहमा फस्ने आशङ्का खडा भएको अनपेक्षित अवस्थामा पुगेको छ ।
देश अहिले स्थिरता र समृद्धिको बाटोतिर योजनाबद्ध ढंगले अगाडि बढेको नभै नेपालको गरिमा र गौरव घटाउने, राष्ट्रिय संस्कृतिमा विचलन ल्याउने, मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाउने र जताततै बेथिति नै बेथितिको बाढी ल्याएर अन्ततः नेपाललाई असफल राष्ट्र बनाउने सुनियोजित बाहिरी षडयन्त्रको जञ्जालमा फसेको अनुभूत हुन थालेको छ । सरकारको प्राथमिकतामा अहिले जनता नै रहेको देखिँदैन । सत्ताधारीहरू त नेपाल विरोधी बाहिरियाहरूको गोटी बनेर नगर्नुपर्ने काम गर्दै नजाने बाटोमा गैरहेको वास्तविकता बोध दश दिन अगाडि काठमाण्डौमा सम्पन्न भएको विश्वविवादित कोरियन इसाई संस्थाले ‘युनिभर्सल पिस फेडरेशन’का नाममा आयोजना गरेको ‘एसिया प्यासिफिक समिट’को आयोजनमा प्रधानमन्त्री, मन्त्रीहरूदेखि लिएर पार्टीका बरिष्ठ नेतासम्मको नग्न संलग्नताले नै गराएको छ । संविधान निर्माणको क्रममा ‘धर्मनिरपेक्षा’का निम्ति चर्को लगानी गरेको भनी आरोपित रहँदैआएको क्रिस्चियन मिसिनरीको नेपालमा गतिविधि बढाउन विभिन्न दलका नेताहरू र सरकारको संलग्नाताका फेहरिस्तहरू धमाधम उदाङ्गिँदैआएका छन् । सुशासनको ब्यग्र प्रतिक्षामा रहेका नेपाली जनताले निर्वाचनमा दिग्विजय प्राप्त गरी गठन भएको दुई तिहाइ बहुमतको सरकारबाट सुशासनको प्रत्याभूति नपाए पनि वदनाम चर्चकी सञ्चालिका रहेकी स्वघोषित इसापुत्री हक जा हन मुनबाट ‘नेतृत्व र सुशासन पदक’ ग्रहण गरेर प्रधानमन्त्री ओलीले जग हँसाएको दृश्य अहिले घरघरमा बहुचर्चाको विषय बनेको छ । यो प्रकरण यतिखेर राष्ट्रिय लज्जाको विषयका रूपमा चर्चित भैरहेको छ ।
यो विवादित प्रकरणले उजागर गरेको वास्तविकता के हो भने नेपालको आन्तरिक राजनीतिमा उथलपुथल ल्याउने गरी बाह्य लगानीमा अनेकथरी गतिविधि प्रायोजित हुने गरेका छन् र बाह्य आवरणमा देखिने रूपभन्दा बेग्लै प्रकृतिका कामहरू हुनेगरेका पनि हुँदारहेछन् । नेपाल अहिले घोषित रूपमा ‘धर्मनिरपेक्ष’ राज्य छ र यसमा धर्म नमान्ने कम्युनिष्ट पार्टीको सरकार स्थापित छ । तर सरकार र सो दलका शीर्ष नेताहरू नै विभिन्न प्रक्रियाले क्रिश्चियन धर्मको प्रचारलाई सघाउने काममा सक्रिय र संलग्न रहेको  बिडम्बनापूर्ण स्थिति अहिले नराम्रोसंग उदाङ्गिएको छ । नेपालमा १२ हजार पाँच सय चर्च स्थापना भैसकेका र धर्मान्तरणको बेग बढेकाले  क्रिश्चियनहरूको संख्या ३० लाखभन्दा बढी नाघेको सम्बन्ध संघकै दावी छ । नेपालमा जातिय द्वन्द्व सिर्जनादेखि लिएर धार्मिक युद्धको अवाञ्छित वातावरण सिर्जना गर्ने षडयन्त्रात्मक गतिविधि विस्तार भैरहेको डरलाग्दो स्थिति सिर्जनामा प्रकारान्तरले सत्ताधारीहरूकै समलग्नाताको आरोप लाग्नु मुलुक असामान्य दिशातिर उन्मुख भैरहेको अशुभ लक्षण हो । फलामले फलाम काट्छ भन्ने कथनलाई चरितार्थ गर्दै कम्युनिष्ट विरोधी चर्चले कम्युनिष्ट सरकारलाई नै उपयोग गरी नेपालको गौरव र गरिमा क्षय गर्ने काम गराउनसक्नु विष्मयकारी घटना नै हो । मुलुकले स्थायित्व, विकास र समृद्धिको बाटो अवलम्बन गर्छ कि भनी आशा जागेको बेलामा देखापरेका यस्ता अवाञ्छित गतिविधिले सरकारको शाख गिराएको र प्रधानमन्त्री एवं संलग्न नेताहरूको छवि धुमिल पारेको मात्र नभै मुलुकको सिङ्गो भविष्य नै धमिलिने खतरा पैदाभएको आभास हुनथालेको छ । आम जनताको आशा, भरोशा र विश्वासमाथि तुषारापात  भैरहेको छ । यो राष्ट्रिय सङ्कट आमन्त्रणको सूचक हो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com