युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.23.2019, 01:46am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
यी प्रश्नको जवाफ कसले दिने ?
Tuesday, 01.01.2019, 12:48pm (GMT+5.5)

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरकारका मन्त्रीहरू सरकारले सही ढंगले काम गरिरहेको र सवै जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी निकट भविष्यमै आश्चर्यजनक नतिजा आउने दावी गरिरहेको सुनिँदै–पढिँदै छ । यदि सरकारका काम कार्वाहीहरू देशलाई दावी गरिएअनुरुपको विकास र समृद्धिको दिशातिर उन्मुख भएका भए आम नेपाली जनताका लागि योभन्दा खुशीको कुरा अर्को हुने थिएन । प्रधानमन्त्री ओलीले विगतमा गर्नुभएका रेल, तेल, पानीजहाज र घरघरमा ग्याँसका पाइप जडानका कुरा नेपाली समाजमा अहिले खिसिट्युरीका कुरा हुनथालेका छन् भने जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी कुनै नतिजामुखी काम नदेखिएको र भनाइ र गराइमा कहीं पनि एकरूपता नदेखिएकाले प्रधानमन्त्रीको बोलीको समेत पत्यार हुन छोडेको छ । पाँच वर्षका लागि सरकार चलाउने जनादेश पाएको सरकारले दश महिनाकै छोटो अवधिमा आश्चर्यजनक नतिजा ल्याउनसक्ने कल्पना कसैले नगरेका भए पनि सरकारका गतिविधिहरू प्रत्युत्पादक बन्दैगएकाले जनताको मन भरङ्ग हुँदैगएको तीतो यथार्थ नै हो ।
देशको आर्थिक अवस्था दिनानुदिन अधोन्मुखी बन्दैगएको आर्थिक सूचकाङ्कहरूले प्रष्ट इङ्गित गर्दैगएका छन् । यो वर्ष मौसम अनुकूल रहेकाले विगतको तुलनामा धानको उत्पादनमा उल्लेख्य वृद्धि भए तापनि आन्तरिक माग धान्ने क्षमता देखिएको छैन । कृषिजन्य अन्य वस्तुको आयातमा पनि हरेक वर्ष आशातीत वृद्धि भैरहेको छ । कुन कुन वस्तुको आयात कुन परिमाणमा भैरहेको छ र त्यसलाई प्रतिस्थापन गर्ने गरी आन्तरिक उत्पादन बढाउन कुन कुन क्षेत्रमा लगानी वृद्धि र प्रवाह गर्न सकिन्छ भन्नेबारे सरकारले विगतदेखि वर्तमानसम्म खासै चासो नराख्दाका दुष्परिणामहरू धमाधम देखिँदैगएका र परनिर्भरताले अनपेक्षित गति लिइरहेको कुरा अकाट्य नै छ । प्रधानमन्त्री ओलीले हालै मात्र पनि चालू आर्थिक वर्षमा आन्तरिक उत्पादकत्व ९ प्रतिशतले वृद्धि हुने र आश्चर्यजनक प्रगति हुने अविश्वसनीय दावी प्रवाह गर्नुभएको छ । प्रम ओलीले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरेको डेढ महिनापछि गत चैतमा राष्ट्रिय गौरवको भनिएको माथिल्लो तामाकोशी यही पुसभित्रै आउने उदघोष गर्नुभएको कुरा त्यो बेलामा पत्रिकाहरूको पाना पल्टाएर हेर्दा हुन्छ तर सो आयोजनाबाट अझै दुई वर्ष बिजुली उत्पादन हुन नसक्ने कुरा अहिले अखवारमा आउनथालेका छन् । आगामी माघ १७ वर्षभित्रै मेलम्चीको पानी काठमाडौं भित्रिने हौवा गजबसंगै पिटियो तर अब यही स्थितिमा कति वर्षपछि आउने हो भन्ने प्रश्न उठिसकेको छ । यी त केही उदाहरण मात्र हुन् । हालत हरेक आयोजनाको यस्तै छ । सरकारका भनाइ कतै पनि पत्यारलाग्दा छैनन् ।
सार्वजनिक खपतका लागि प्रधानमन्त्री र मन्त्रीहरूले भाषण गर्दा सत्य–तथ्य र वास्तविक स्थिति बुझ्दैनबुझी अण्टसण्ट बोल्ने गर्दा सरकारमाथिको विश्वास स्वतः गुम हुँदै जानेसम्मको ख्याल पनि राखेको देखिँदैन । प्रधानमन्त्री ओलीले बारम्बार आँफूले पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने भन्दै जति नै कुर्लिदैआए पनि राजस्वमारा र माफियाहरू आफ्नो पक्षमा सरकारलाई उपयोग गर्न सफल रहेका अनेक प्रकरण उजागर हुँदैआएका छन् । न्यायालयसमेत बेञ्च सपिङमा मुच्छिएको चर्चा उत्तिकै व्याप्त छ । राजधानीभित्रकै सडकहरूको दुर्गतिले निम्त्याएको प्रदूषणले नागरिकहरूको स्वास्थ्यमाथि निरन्तर गरिरहेको तथ्यबोध गर्ने क्षमता र उत्तरदायित्वबहन गर्ने प्रवृत्ति पनि पटक्कै देखिएन । मन्त्रीदेखि लिएर सांसदहरूकै पदीय आचरण, नैतिकता र निष्ठामा चरम स्खलन देखिएको टड्कारो उदाहरण त राज्यकोषको अनुचित दोहनका धमाधम उजागर भैरहेका प्रकरणहरूले नै गरिरहेका छन् । समवेदनाको सट्टा बधाइको विज्ञप्ति जारी गर्ने जस्ता जवाफदेहिताविहीन र अनुत्तरदायी प्रवृति अनेक क्षेत्रमा मौलाएका छन् । के यिनै हुन् त सरकार सही बाटोमा हिँडेको प्रमाण ? जवाफ कसले दिने ?


Rating (Votes: )   
Share     Print


Other Articles:
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा (04.24.2018)
सम्बन्ध सुधारको सही बाटो (04.12.2018)
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)
वैदेशिक हस्तक्षेपको रन्को (03.27.2018)
झिना मसिना कुरा (03.20.2018)



 
::| Latest News

 
[Page Top]