युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 03:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
द्वन्द्व विस्तारको असङ्गत कसरत
Monday, 03.18.2019, 04:42pm (GMT+5.5)

नेपालको राजनीतिक क्षितिजमा यतिखेर देखिएका अनेक दृश्यले गम्भिर प्रकृतिका समस्याहरू मुखरित हुँदैगएको प्रष्ट इङ्गित गरेका छन् । विधिको शासनको प्रत्याभूति अहिले पनि नेपाली जनताका लागि मृगतृष्णा सावित भैरहेको छ । आम राजनीतिक सहमतिको वाञ्छित वातावरण सिर्जना आकाशको फल जस्तै बनिरहेको छ । राजनीतिक स्थायित्व  एवं विकास र समृद्धिका राष्ट्रिय आकांक्षाहरूको परिपूर्ति एकादेशको अधुरो सपनामा परिणत हुँदैगएको छ । सतहमा हेर्दा ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरूको अभिमतबाट बनेको संविधानले विधिको शासनको बाटो निर्देश गरिरहेको र नेपाली जनताको प्रचण्ड अभिमत प्राप्त नेकपा नेतृत्वको दुई तिहाइ बहुमतको स्थायी सरकारले राज्य सञ्चालन गरिरहेको देखिन्छ तापनि संविधानको सर्वस्वीकार्यता र राजनीतिक स्थायित्वका सामु चुनौतीका शृङ्खलाबद्ध प्रकरणहरू उजागर भैरहेका छन् । राजनीतिक द्वन्द्वको अवसानका लागि निषेधमुखी मानसिकता र शासकीय दम्भ प्रदर्शन सर्वाधिक ठूलो बाधक रहनेगरेको वास्तविकता अतीतका पानामा मात्र अंकित भएको नभै अहिले पनि उत्तिकै कटु यथार्थ हो । विवेक, संयम र सहिष्णुता जहाँ गुम्दै जान्छ अनपेक्षित द्वन्द्व त्यहाँ मौलाउँदै जान्छ । हामीलाई इतिहासले पढाएको पाठ त्यही नै हो । सत्तान्धताका दुष्परिणामहरू  मुलुकका लागि दुर्दान्त नियतिका स्रोत बन्नेगरेका छन् । मुलुक कतै अहिले पनि त्यस्तै नियतिबाट अभिशप्त त छैन भन्ने अहं प्रश्न खडा भएको छ ।   
केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले हालै विप्लव समूहको नामले चिनिने अर्को नेकपालाई प्रतिबन्ध लगाएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरू भएको छ । नागरिकहरूको जिउ–धनको सुरक्षा र शान्ति–सुव्यवस्थाको पूर्ण प्रत्याभूतिका लागि जवाफदेहितापूर्ण ढंगले काम गर्ने आधिकारिक दायित्व बोकेको सरकारले मुलुकमा हिंसाजन्य परिस्थिति सिर्जना हुन नदिन सजगता अपनाउनु र पथविचलित जो कोहीलाई पनि सही बाटोमा ल्याउन रचनात्मक पहल गर्नु उसको कर्तव्य हो । यसका लागि औपचारिक अनौपचारिक संवाद प्रक्रियाको अपरिहार्यता छ । हाल सत्ताधारी नेकपामा संगठित पूर्व एमाले र पूर्व माओवादी दुवैको अतीत कोट्याउँदा हिंसात्मक गतिविधिका अनेकौं अस्वीकार्य प्रकरणहरू भेटिन्छन् भने मानवीय क्षति र राष्ट्रिय नोक्शानीको विवरण पनि कम्ता पीडादायी छैन । तर संवाद प्रक्रियाको निरन्तरता र शान्तिपूर्ण आन्दोलनकै मार्ग अवलम्वनबाट अहिलेको हैसियत प्राप्त भएको तथ्य छर्लङ्ग छ । संविधान र कानूनको दुहाई दिँदै राज्यले अपनाउने गरेका नियन्त्रणात्मक र निषेधात्मक गतिविधिहरू कतिपय सन्दर्भमा नितान्त प्रत्युत्पादक बनेका यथेष्ठ उदाहरणहरू छन् । हिजो पनि सत्ताधारीहरू संविधान र कानूनकै दुहाइ दिएर निषेध र नियन्त्रणको बाटोमा हिँडेकै थिए तर प्रत्युत्पाक परिस्थितिको सिर्जना त्यस्तै कार्यले गरे । राजनीतिक समायोजनको समस्या, बढ्दो आन्तरिक अव्यवस्थापन, जनअसन्तुष्टि, निराशा र वितृष्णाको लहरले उब्जाउने विद्रोहात्मक भावनालाई गलत राजनीतिक दिशातिर मोडेर निहित उद्देश्य पूरा गर्ने चाहना राख्नेहरू परचक्रीहरूका प्रायोजित गतिविधिमा संलग्न हुनेगरेका अनपेक्षित सन्दर्भहरूबाट पनि हाम्रो मुलुक निरन्तर अभिशप्त छ । 
नेपालको भूराजनीतिक अवस्थिति र यसको संवेदनशीलताभित्रका जटिलताहरूलाई आत्मसात गर्ने क्षमताको अभावमा  क्षणिक लाभका निम्ति अरूको उपयोगमा आउने अविचारी एवं अल्पकालीन सोचका प्रत्युत्पादक प्रवृतिहरू स्वतः मौलाउने गर्दछन् । विगतमा हिंसात्मक वा अहिंसात्मक आन्दोलनभित्र वैदेशिक शक्तिहरूको दृश्य–अदृश्य प्रभाव र परोक्ष संलग्नताको जुन अवस्था अनुभूत थियो त्यसले बाह्यशक्ति केन्द्रहरूका रणनीतिक खेलहरूको निरन्तरतालाई अझै पनि आशंकित गराइरहेको छ । इतिहासका अनेक कालखण्डमा सत्ताधारीहरू स्वयं पनि जाने र वा नजानेर अथवा चाहेर वा नचाहेर बाह्यशक्तिको उपयोगमा रहनेगरेको चर्चा परिचर्चा अझै पनि सेलाएको छैन । नेपालमा राजनीतिक समायोजन, आन्तरिक व्यवस्थापन र निर्मलीकरणका निम्ति आन्तरिक कसरतको अपरिहार्यता सधैं ओझेलमा पर्ने गरेकाले अरूकै प्रायोजनमा थोपरिएका जटिलताहरू ज्यादै सकसपूर्ण छन् । राष्ट्रिय सहमतिको वातावरण नितान्त टाढिँदैगएको छ । विरोधाभासपूर्ण परिस्थितिले वैधानिक परिवेशभित्रको राजनीतिमा पनि संवाद र परामर्शको अपरिहार्यतालाई स्वीकारिनरहेको अवस्था छ । द्वन्द्व विस्तारका असङ्गत कसरतहरू चलिरहेका छन् । दुई तिहाइ बहुमतको स्थायी सरकार भएको बेलामा पनि मुलुकले सङ्गतिपूर्ण बाटो समातेको विश्वास जागृत नहुनु अनर्थ नै हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा (04.24.2018)
सम्बन्ध सुधारको सही बाटो (04.12.2018)
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)
वैदेशिक हस्तक्षेपको रन्को (03.27.2018)



 
::| Latest News

 
[Page Top]