युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.21.2019, 12:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
लगानी सम्मेलनको सार्थकता
Thursday, 03.28.2019, 11:08am (GMT+5.5)

आजको तीन दिनपछि चैत्र  १५ र १६ गते राजधानी काठमाडौंमा हुन गैरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि जुटाउने सन्दर्भमा कति उपलब्धिपूर्ण हुने हो भन्नेबारे यतिखेर गहन चासो बढ्नु नितान्त स्वाभाविक छ । विगतदेखि वर्तमान सत्ताका अभियन्ताहरूले विकास र समृद्धिको सपना जति नै बाँड्दैआएका भए पनि आर्थिक दृष्टिले नेपाली जनताको जीवन सरल, सहज, सम्मानित र सुरक्षित हुन नसकेको तथ्य निरन्तर उजागर हुँदैआएको अहिलेको वास्तविकता हो । सिंहदरवारको घुम्ने मेचमाथि बस्ने अन्धा मान्छेहरूले समय समयमा मुलुक प्रगतिपथमा लम्किइरहेको आँकडा प्रस्तुत गरेर आत्मरतिमा रमाउने गरेका भए पनि आर्थिक परनिर्भरताको पारो हरेक वर्ष माथिमाथि चढ्दैगएको यथार्थ छोप्नै नसक्ने गरी उदाङ्ग भैरहेको छ । यो दुर्दान्त स्थितिबाट मुलुकलाई पार लगाउनु नै अहिलेको सर्वाधिक ठूलो चुनौति हो र यसको सामना गर्न सर्वप्रथम प्रत्येक नेपालीको  सिर्जनशील  क्षमता, आन्तरिक स्रोतसाधन र श्रमशक्तिको अनिवार्य उपयोग अपरिहार्य छ । वर्तमान विश्वसन्दर्भले आन्तरिक स्रोतसाधन, परम्परागत प्रविधि र अप्रशिक्षित जनशक्तिको भरमा मात्र विकास र समृद्धिका असीमित चाहना पूरा हुन नसक्ने वास्तविकता बोध गराउँदै वैदेशिक पूँजी र प्रविधिको आवश्यकतालाई अनिवार्य गराइरहेको सन्दर्भलाई आत्मसात गराइरहेको भए पनि आन्तरिक क्षमताको विकास र उपयोग विना बाह्यक्षेत्रबाट लिइने सहायताले मात्र वाञ्छित परिणाम दिन नसकेका यथेष्ठ उदाहरण हामीसंगै  छन् । आन्तरिक क्षमताको विकास हाम्रो लक्ष्य हुनुपर्दछ ।
हाम्रो देशमा वैदेशिक लगानी भित्रिन थालेको सात दशक हुन थाल्यो तर पनि हाम्रो परनिर्भरता घट्नेभन्दा बढ्ने क्रममा नै छ । आधाभन्दा बढी जनसंख्या कृषिमा नै संलग्न छ तापनि दैनिक उपभोगका लागि चाहिने चामल, दाल, तेल, तरकारीजस्ता कृषिजन्य वस्तुको आपूर्ति पनि बाहिरबाट आयात गरेर नै गर्नुपर्ने लज्जाजनक स्थिति सिर्जित छ । राष्ट्रिय उत्पादकत्व वृद्धिका कागजी योजनाहरूको जति नै थाक लागे पनि परिणाममुखी कार्ययोजना र कार्यान्वयनमा प्रतिबद्धता र जवाफदेहिताको अभाव निरन्तरको समस्या बनेको छ । मुलुकले राजनीतिक परिवर्तनका अनेक चरण पारगर्दै राज्य पुनःसंरचनाको निश्चित दिशा अवलम्बन गरेको जति नै बखान गरिए पनि आर्थिक रूपान्तरणको बाटो प्रष्ट नहुँदा जनजीवन कष्टकर बन्दैगएको छ । वैदेशिक सहायताका नाममा भित्रिएको लगानीको लाभ राज्यशक्तिमाथि पहुँच राख्ने सीमित व्यक्तिहरूले उठाइरहेका र आर्थिक भ्रष्टाचार निरन्तर विस्तार भैरहेको महालेखा परीक्षकको हरेक वर्ष सार्वजनिक हुने प्रतिवेदन र ट्रान्सपरेन्सी इण्टरनेशनलले पनि उजागर गर्दैआइरहेको छ । वैदेशिक सहायता र ऋणमा बनेका र बन्दैगरेका आयोजनाहरू पनि समयमा नबन्ने र लगानीको भार बढ्दैजाने गरेकाले वाञ्छित लाभ उठाउन नै नसकिरहेको अवस्था छ । नेपालको भूराजनीतिक अवस्थितिको रणनीतिक उपयोगका लागि पनि कतिपय दाता राष्ट्रहरूले लगानी गर्न रूची देखाउने गरेका कुराहरू पनि त्यति ओझेलमा छैनन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनको परिप्रेक्षमा विगतका तीता अनुभव कोट्याउनु पनि असान्दर्भिक हुँदैन । विगतको सिंहावलोकन गरेर मात्रै आगतको मार्ग्चित्र बनाउनु बुद्धिमानी हुनेछ ।  
नेपालको आर्थिक विकास र समृद्धिका लागि वैदेशिक लगानी अधिक मात्रामा भित्य्राउने अभिलाषा राखेर अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिनु एउटा सुखद प्रसङ्ग नै हो । आन्तरिक स्रोतको सीमितता र अपर्याप्तताकै कारण पनि पूँजी र प्रविधि भित्य्राउनका लागि यस्ता सम्मेलनको उपादेयतालाई अस्वीकार गर्न मिल्दैन । तर कुन कुन क्षेत्रमा वैदेशिक लगानीको अपरिहार्यता छ भन्ने निक्र्योल भने सरकार आफैले गर्नुपर्दछ । धेरै अतीतमा नजाउँ– लगानी बोर्डले  सन् २०७३ को फागुन १९ र २० गतेमा पनि २३ देशका ५ सयभन्दा बढी जनाको सहभागितामा यस्तै लगानी सम्मेलन गरेको थियो । सो सम्मेलनमा  लगभग १४ खर्ब लगानीको प्रतिबद्धता जाहेर भएकोमा १ खर्ब ३७ अर्ब ६७ करोडभन्दा बढी लगानी भित्रिन सकेन । नेपालको विकासका लागि वार्षिक १० खर्बको लगानी आवश्यक रहेको र ८ अङ्कको उत्पादन वृद्धिका लागि त झन् १२–१४ खर्ब नै चाहिने अर्थमन्त्री डा.युवराज खतिवडाकै कथन छ । सरकारले वैदेशिक लगानी आकर्षण गर्नकै लागि विदेशी विनिमय ऐन लगायतका पाँचवटा विधेयक संसदमा दर्ता गराएको छ । कृषि, जलस्रोत, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी आकर्षित गर्ने अभिष्ट रहेको र ३० खर्बभन्दा बढीको लगानी प्रतिबद्धता आउने अपेक्षा राखिएको यसपटकको लगानी सम्मेलनमा  ३८ देशका लगभग ७ सय जनाभन्दा बढी जनाको उत्साहप्रद सहभागिता रहने आशा गरिएको छ । विगतमा प्रतिबद्धताअनुरुपको लगानी किन भित्रिन सकेन र यो सम्मेलनमा जाहेर हुने लगानी प्रतिबद्धता कसरी भित्र्याउने भन्नेबारे सरकारले नै गम्भिर चासो राखेर लगानी मैत्री वातावरण बनाउनु जरूरी छ । हल्ला बढी काम कम हुने अवस्था पुनःनदोहोरियोस र अन्तर्राष्ट्रिय लगानी सम्मेलन सार्थक रहोस् भन्ने हाम्रो कामना छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा (04.24.2018)
सम्बन्ध सुधारको सही बाटो (04.12.2018)
आर्थिक परनिर्भरताको जञ्जिर (04.03.2018)



 
::| Latest News

 
[Page Top]