युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:34am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भावनात्मक स्वर लहरीको गुञ्जन
Tuesday, 04.16.2019, 01:27pm (GMT+5.5)

नेपाली पात्रोअनुसारको नयाँवर्ष २०७६ सुरू भएको छ । सम्बत्सर फेरिएको छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गरेको दिन बैशाख १ गतेलाई नेपाली प्रचलनअनुसार नयाँ वर्ष प्रवेश मानिन्छ । हाम्रा आफ्नै मौलिक प्ररकृतिका रीतिरिबाज र प्रचलनहरू छन् ।  एकआपसमा शुभकामना आदान प्रदान गर्ने ,राष्ट्रपति ,प्रधानमन्त्री, पूर्व राष्ट्राध्यक्ष, विभिन्न दलका शीर्ष नेताहरूबाट शुभकामना वक्तव्यको लहर चल्छ– यो पनि हाम्रो चलिआएको चलन हो । वितेको अघिल्लो वर्षका उपलब्धि र कमीकमजोरीको मूल्याङ्कन र विश्लेषण अनि नवागत वर्षको आशा र अपेक्षाअनुरूका भावनात्मक स्वर लहरीको गुञ्जन नै यो अवसरको मुख्य विशेषता रहँदैआएको छ । देशका विभिन्न भागका कतिपय मन्दिरमा पूजाआँचा, विशेष मेला र जनभेला अनि व्यक्तिगत, पारिवारिक र सामूहिक कार्यक्रमहरूको आयोजना गरी उत्साह र उमङ्गको प्रदर्शन गर्ने लहरले नयाँ वर्ष प्रवेशको अवसरलाई नेपाली समाजले सकारात्मक सोच प्रवाहको रोमाञ्चक क्षणका रूपमा अनुभूत गर्दैआएको छ । यो पनि हाम्रो सांस्कृतिक विशिष्टताको धरोहरकै रूपमा रहिआएको छ । समय परिवर्तनशील र गतिशील छ र पनि हाम्रा मौलिक विशेषताको जगेर्ना गर्नु हाम्रो सामूहिक कर्तव्य र उत्तरदायित्व हो । यो अवसरमा हामी नेपाल राष्ट्रको समुन्नति, शान्ति, समृद्धि र सुशासनको आमअपेक्षा  पूरा गर्दै  सम्पूर्ण नेपालीजनबीच सद्भावनाको अभिवृद्धि र ऐक्यबद्ध सहकार्यको वाञ्छित संस्कार निर्माणका लागि नयाँवर्ष २०७६ उदाहरणीय र उपलब्धिपूर्ण बन्न सकोस् भन्ने हार्दिक कामना गर्दछौं ।
हाम्रो देश अहिले जुन परिस्थितिबाट गुज्रिइरहेको छ त्यो सामान्य र सहज छैन । समयको लामो कालखण्डदेखि थाति रहँदैआएका मूलभूत समस्याको वास्तविक पहिचान नहुँदा र बहकावका अनेक क्षणहरूको प्रतिकूल प्रभाव मुलुकले झेल्दै आउनुपरेको कटु यथार्थ ऐतिहासिक तथ्य बनिरहँदा हाम्रा राष्ट्रिय आकांक्षाहरू निरन्तर मुर्झाइरहेका छन् भने सपना प्रवाहको खात लागेर पनि हामी परिणामविहीनताको दुर्दान्त नियति भोगिरहेका छौं । हाम्रो शक्ति र सामथ्र्यप्रति नै हामीले विश्वास गर्न नसकिरहेको अवस्था एकातिर छ भने अर्कातिर अरूको मार्र्गिचत्रमा बहकिएर बुर्कुशी मार्ने चरित्र संस्कारको विकासले हामीलाई आत्मनिर्भरताको बाटो पहिल्याउन व्यवधान खडा गरिरहेको छ । सकारात्मक सोच र सहकार्यको हाम्रो मौलिक संस्कृतिमा  विकराल धाँजाहरू फाटेका छन् । अरूले रणनीतिक स्वार्थपूर्तिका लागि कोरिदिएका विभाजनका रेखाहरूलाई भावोत्तेजितरूपमा ग्रहण गर्ने मौलाउँदो प्रवृत्तिले सिर्जना गरेका विकराल समस्याको चाङ्माथि बसेर हामी उज्यालो भविष्यको बाटो तय गर्न सक्दैनौं । सत्ताधारीहरूको फगत स्वैरकल्पनाले भ्रमजाल विस्तार गरे पनि धरातलीय यथार्थ प्रतिकूलका प्रक्षेपित सोच र गतिविधिले सकारात्मक परिणाम  ल्याउन नसकेको  नियति हाम्रो निरन्तरको भोगाइ हो ।  समयको कालखण्डमा राजनीतिक प्रणालीमा परिवर्तन, सत्ता परिवर्तन र शासक परिवर्तनका अनेक रूप देखिए पनि नेपाली सुखी र नेपाल समृद्ध हुने बाटो खुलेन । परिवर्तनको सार्थकता अनुभूत हुन सकेन । नयाँ वर्ष प्रारम्भ हुँदा जागृत भएको उत्साह र उमङ्ग त्यो वर्ष सकिँदा नसकिँदै मुर्झाइसकेको हुन्छ । हामी कामना गरौं– दुर्दान्त नियतिको यस्तो खेल अब नदोहोरियोस् ।  
राष्ट्रिय समृद्धिको मुहान आन्तरिक स्रोत–साधन र जनशक्तिको अधिकतम उपयोगबाट मात्रै खुल्दछ । हाम्रो उर्बर जमिन बाँझिने क्रम द्रुत गतिमा बढिरहेको छ । आधा करोडभन्दा बढी संख्याका उर्जावान् युवाहरू वैदेशिक रोजगारीमा धप्पिएका छन् । कृषिजन्य वस्तुको आवश्यकता पूर्ति पनि विदेशबाट आयातकै भरमा गर्नुपरेको छ । हरेक वर्ष प्रत्येक नेपालीहरूको टाउकोमा ऋणको भार बढ्दैगएको छ । हाम्रा विकास आयोजनाहरू भ्रष्टाचार र ढिलासुस्तीले थलापर्ने क्रम रोकिनुको सट्टा झन्झन् बढ्दो छ । कमिशनखोरी, आर्थिक अपचलन, भूमाफियागिरी र जताततै विचौलियाको सञ्जाल विस्तारका अनेक प्रकरणहरू उदाङ्ग भैरहेका छन् । राष्ट्रसेवक भनिएका शासन संयन्त्रभित्रका कर्मचारीहरूलाई अनुशासित, मर्यादित र जवाफदेही बनाउन सत्ताका सञ्चालकहरू नै विफल रहँदैआएका छन् । राजनीतिक भक्ति र शक्तिको आडमा पन्पिएको बेथिति घुम्ने मेचमाथिका अन्धा मान्छेको कथित निर्देशन र चुडकीको भरमा हट्ने कुनै सम्भावना छैन । वैचारिक निष्ठा र आचरणविनाको लोकतान्त्रिक अभ्यास र शक्ति पृथकीकरणविनाको शासकीय शैलीले जन्माएका विकारहरू विकरालरूपमा मुख बाइरहेका छन् । नेपाली जनता सत्ताधारीहरूका आकाशपाताल जोड्ने धाराबाहिक गफ सुन्दासुन्द वाक्कदिक्क हुँदैआएका छन् । सधैं भ्रमजालमा पर्नु र छक्किनु–ठगिनु नेपालीको दुर्नियति नै बनेको छ । जनताको पीडा बोध गर्नसक्ने र निहित स्वार्थपूर्तिमा केन्द्रित जमातको भक्तिभजनको प्रभावबाट मुक्त हुनसक्ने क्षमताको राज्यसत्ता हामी नेपालीका लागि अझै मृगतृष्णा बनिरहेको छ । नयाँ वर्ष २०७६ को आगमन यस्ता तमाम विसङ्गत पक्षलाई निर्मूलन गर्न उद्यत रहोस् भन्ने हाम्रो हार्दिक कामना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)



 
::| Latest News

 
[Page Top]