युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 08.20.2019, 11:58pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भारतमा मोदीको पुनरोदय
Tuesday, 05.28.2019, 11:14am (GMT+5.5)

भारतमा हालै सम्पन्न भएको लोकसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ५ सय ४३ स्थानमध्ये ३ सय ५२ स्थानमा विजय हाँसिल गरेर सत्ता निरन्तरतालाई सुनिश्चित गरेपछि नेपाल लगायतका छिमेकी देशसितको सम्बन्धमा कस्तो असर पर्ने हो भन्नेतिर उत्सुकता र चासो व्यापक रूपमा बढेको छ । सन् २०१४ आम निर्वाचनमा पहिलोपटक पूर्ण बहुमतका साथ सत्तारूढ भएको भाजपालाई प्रधानमन्त्री नरेन्द्र मोदीले जुन सबल र गतिशील नेतृत्व दिए त्यसले यस पटकको निर्वाचनलाई थप मोदीमय बनाएको प्रष्टै देखियो । 
प्राप्त जनमतका हिसाबले हेर्दा ९० करोड मतदाता रहेको भारतमा भाजपा गठबन्धनको पक्षमा खसेको मतको ३८ प्रतिशत मत मात्र परेको देखिन्छ तापनि झण्डै दुई तिहाइ नजिकको स्थान प्राप्त गरेर हाँसिल भएको विजयले प्रधानमन्त्री मोदीको नेतृत्व क्षमता र राजनीतिक परिचालन कलाको उच्चता प्रदर्शन गरेको छ । मोदी लहरको मुख्य आधार हिन्दुत्व र राष्ट्रवाद रहेको एकातिर विश्लेषण भैरहेको छ भने अर्कातिर भारतको रक्षा र सुरक्षाको मुद्दाले प्रमुखता पाएकाले जातिवाद, क्षेत्रीयतावाद, मानवअधिकारवाद, उदारवादका पक्षधर देखिनेहरू किनारा लागेको पनि अर्थ लगाइँदैछ । विपक्षी गठबन्धनको कमजोर नेतृत्व र परिवारवादविरूद्धको लक्षित प्रहारले पनि मतदाताहरूलाई आकर्षित गर्न मोदी पूर्णतः सफल रहेको पनि चुनावी नतिजाले देखाएको छ ।  लोकसभाको निर्वाचनमा दोस्रो पटक प्राप्त भएको विजयलाई निर्विकल्प प्रधानमन्त्री मोदीले परिवर्तीत विश्व सन्दर्भमा भारतको भूमिकालाई कुन रूपमा बढाउन खोज्ने हुन् भने पनि आम उत्सुकता र चासोको विषय भएको छ ।
भारत उदीयमान अर्थतन्त्र भएको मुलुक हो । विश्वकै सर्वाधिक ठूलो लोकतन्तान्त्रिक मुलुकका रूपमा भारत चर्चित मात्र छैन विश्व व्यवस्थामा पनि भारतको भूमिकाको पनि उत्तिकै महत्व छ । महान शक्तिराष्ट्र बन्ने भारतको आकांक्षा पनि जगजाहेर हुँदैआएको विषय हो । एकातिर भारतलाई उसको छिमेकी उदीयमान चीनको आर्थिक सामरिक प्रतिस्पर्धामा उतार्ने र प्रतिद्वन्द्वीता बढाउने चाहनामा अमेरिकालगायतका पश्चिमा शक्तिहरू छन् भने अर्कातिर छिमेकी चीनसित अनावश्यक प्रतिद्वन्द्विता गर्नुभन्दा द्विपक्षीय समझदारी र सहयोगको अधिकतम विकास गरी हरेक क्षेत्रमा  सहकार्य गरेर समुन्नत भारतको निर्माण गर्ने अवसर पनि प्राप्त छ । भारतको आर्थिक उत्पादकत्व वृद्धिको दर अपेक्षित रूपमा बढ्दैगएको भए पनि जनंख्याको ठूलो भाग अझै पनि सीमान्त गरीबीको हालतमा छ भने जातिगत, धार्मिक, संस्कृतिगत र क्षेत्रगत विभेदका समस्याहरू उत्तिकै जटिल रहेको बौद्धिक समुदायको विश्लेषण रहँदैआएको छ । मोदीको पहिलो पाँच वर्षे शासनकालमा विश्व परिवेशमा भारतको मान र शान बढेको मानिए पनि पूर्व बाचा अनुरूपका कामहरू भने धेरै अपूरा रहेको विवरण सार्वजनिक हुँदैआएका छन् । भनिन्छ बेरोजगारी दर ४५ बर्षयताकै उच्च छ । आर्थिक वृद्धिदर दुई अंकको हुने भने पनि त्यो हुनसकेको छैन । आधारभूत स्वास्थसेवा जनताको पहुँच बाहिरै छ । कश्मिर समस्याको निराकरण र नक्सलवादी राजनीतिक हिंसाको नियन्त्रण हुनसकेको छैन ।  छिमेकी देशहरूसितको सम्बन्धमा मधुरता कम जटिलता बढी छ । मोदी शासनको दोस्रो कार्यकालमा यस्ता मुद्दाहरूको सम्बोधन कुन रूपमा हुने हो भन्नेतिर पनि राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा चासो बढिरहेको देखिन्छ  ।   
मोदीको पुनरोदयले  नेपाल भारत सम्बन्धमा कस्तो असर पर्छ भन्नेबारे नेपाली समाजमा विविध चर्चा परिचर्चा भैरहेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउँदा मोदीको जुन रूपमा वाहवाह भएको थियो त्यो आन्तरिक राजनीतिक व्यवस्थापनमा अनपेक्षित चासो राखेर गरिएको दवावपूर्ण हस्तक्षेप र अवाञ्छित नाकाबन्दीका कारण स्वात्तै नकारात्मक दिशातिर मोडियो । नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रूपमा व्यवहार गर्ने हैकमवादी  दूराकांक्षा मेटिएको र त्यसमा परिवर्तन आएको नेपाली जनताले पटक्कै अनुभव गर्न पाएनन् । प्रधानमन्त्री मोदीले पहिलो कार्यकालमा चार चार पटक नेपाल भ्रमण गरे पनि नेपाली मन सँगालिन सकेको छैन ।  नेपाल भारत सम्बन्ध जति नै समझदारीपूर्ण र समस्यारहित भनी चित्रण गर्न खोजिए पनि एकपछि अर्को समस्याका खातहरू छन् । मोदीले दोस्रो कार्यकालको शपथ ग्रहण नगर्दै सप्तरीवासीले कोशी–डुवानको नियती भोग्नुप¥यो । संविधान संशोधनको छद्म दवाव सतहमै आएको छ । नागरिकता वितरणमा दवावको रूप डेढ महिना अगाडि नै देखिएको थियो । नेपाल भारत प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन अघिल्लो कार्यकालमा नबुझेका मोदीले अब के गर्लान् भन्ने प्रश्न यथास्थानमै छ । मोदीको दोस्रो कार्यकाल पहिलोभन्दा कसरी र कति फरक होला भन्ने प्रश्न जीवन्त छ । नेपालको भूसंवेदनशीलतालाई ख्याल गरेर भारतले अहस्तक्षेपकारी नीति अवलम्बन गरोस् र नेपालको स्वतन्त्रता र सार्वभौम अधिकारको सम्मान गरोस् भन्ने नेपालीहरीको सधैंको चाहना हो । मोदीको पुनरोदय नेपाल भारत सम्बन्धलाई कुण्ठारहित वस्तुपरक दिशातिर अगाडि बढाउन उद्यत रहोस् भन्ने चाहना राख्दै महामहिम मोदी र भाजपाको चुनावी विजयमा हामी हार्दिक बधाइ ज्ञापन गर्दछौं ।



Rating (Votes: )   
Share     Print


Other Articles:
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)



 
::| Latest News

 
[Page Top]