युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 05:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
डुवानको नियतिः सधैँको सन्त्रास
Monday, 07.22.2019, 05:39pm (GMT+5.5)

यो वर्ष पनि आसारको अन्तिम हप्ता देशका विभिन्न भागमा भएको अबिरल वर्षाका कारण ९० जनाभन्दा बढीले ज्यान गुमाए, ३० जनाभन्दा बढी अझै हराइरहेका छन् र घाइते हुनेहरूको सङ्ख्या पनि निकै छ । बाढी, पहिरो र डुवानमा परी विस्थापित हुनेहरूको संख्या दशौं हजार छ । लाखौं बिघा जमिनको खेतीबाली नष्ट भएको छ, दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरूको रोजीरोटी गुमेको छ । हरेक सालको वर्षायाममा सिर्जित हुने यस्ता संवेदनशील घटनाहरू नियमित आकस्मिकताकै रूपमा निरन्तर दोहरिँदै र थप विस्तारित हुँदैआएका छन् । चलनचल्तीको भाषामा बाढी, पहिरो र डुवानलाई प्राकृतिक प्रकोप वा दैवी प्रकोप भनेर मानव सिर्जित समस्याका मुहानहरूको ढाकछोप गर्ने बञ्चनीय प्रवृति पनि यथास्थितिमा नै छ । अघिल्ला अघिल्ला वर्षहरूको तुलनामा वर्षा कम भए पनि बाढी, पहिरो र डुवानको समस्या किन विस्तारित हुँदै चर्किँदै गएको छ भन्नेतिर वस्तुपरक सोचको अभाव र समस्याको न्यूनीकरण र निराकरणप्रतिको उदासिनताका दुष्परिणामहरू हाम्रा अनपेक्षित क्षति र दुःख कष्ट भोगाइका मुहान बनेका छन् । हामीले स्वीकार गर्दैआएको दुर्दान्त नियति नै यही हो ।
हाम्रो मुलुकले प्रायः हरेक वर्ष बाढी, पहिरो र डुबानबाट भोग्नुपरेको क्षति र उत्पन्न मानवीय समस्यामध्ये कतिपय हाम्रा आन्तरिक गलत नीति र राज्यले जवाफदेहितापूर्ण ढंगले काम नगर्दाका दुष्परिणाम हुन् भने कतिपय दक्षिणी छिमेकी ‘मित्रदेश’ भारतले अन्तर्राष्ट्रिय अभिसन्धिहरू मिचेर हेपाहा नीति अबलम्वन गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिभिन्न भागमा बलात् निर्माण गरेका बाँध ,तटबन्ध र सीमा सडक नै मानव क्षति, डुवान्, कटान र विस्थापनका मूल कारण बनेका छन् । पानीको प्राकृतिक बहाव राक्ने गरी भारतले बलमिच्याइँ गरी बनाएका संरचनाहरू नै नेपालको सीमावर्ती तराईको भूभाग डुबाउने स्थायी कारण बनेका छन् । भारतले आधा शतब्दि अगाडि बनाएका कोशी र गण्डक बाँधले नेपालभूमि डुबाउन र कटान गर्न निम्त्याएको समस्या पछिल्लो चरणमा सीमावर्तीरक्षेत्रमा नदी–नालाहरूबाट हुने पानीको प्राकृतिक प्रवाह रोक्ने गरी बनाएका तटबन्ध, बाँध र सडक संरचनाहरूले मानव निर्मित समस्याको विस्तार मात्र गरेका छन् भने समस्याको निराकरणप्रतिको उपेक्षात्मक र निषेधात्मक व्यवहारले हरेक  वर्ष क्षतिको परिमाण बढ्दैगएको अभिलेखले नै देखाउने गरेको छ ।
वर्षायाममा मनसुनको प्रवेश नियमित प्राकृतिक प्रक्रिया हो । कहिले चाँडो र कहिले ढिलो, कहिले कम र कहिले अधिक वर्षा अनि कहिले कुनै भूभाग र कहिले कुनै भूभागमा कमबेसी वर्षा हुने गर्दछ । यो कसैको बस र नियन्त्रणमा छैन । तर पानीको प्राकृतिक बहावलाई नै प्रतिकूल प्रभाव पर्नेगरी संरचना बनाउनु, अतिक्रमण गर्नु, अवाञ्छित दोहन गर्नु चाहीँ आफैंले समस्या निम्त्याउनु हो । वनजङ्गलको अवैध कटान, कमलो चूरे पहाडको दोहन र नदी किनारहरूमा मानव बस्तीको विस्तारले निम्त्याएको समस्यालाई प्राकृतिक वा दैवी प्रकोप भनेर प्रकृति र नदेखिने दैवलाई दोष दिनु आत्मबञ्चना मात्र हो । यस कारण पनि अब उत्पन्न समस्याको मूल कारण पहिचान गरी स्थलगत रूपमा निराकरणका उपायको अवलम्बन कसरी गर्न सकिन्छ र क्रमिक रूपमा समस्याको न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर गम्भीर अध्ययन–अनुसन्धान गरी कार्ययोजना बनाउनु बुद्धिमानी ठहर्दछ । जहाँसम्म भारत निर्मित संरचनाबाट उत्पन्न समस्याको निराकरणको सवाल छ यसमा नेपाल सरकारले राष्ट्रहितको पक्षमा दह्रोसंग उभिएर अन्तर्राष्ट्रिय अभिसन्धिअनुरूपको अधिकार सुरक्षित गर्न भारतसंग कुरा राख्नु र सहमति कायम गर्नुको अर्को विकल्प नै छैन । नेपालका सत्ताधारीहरू सधैँ भारत रिसाउँछ कि भन्दै त्रसित भएर राष्ट्रहितको पक्षमा बोल्न हिच्किचाउने गरेकाले नै  खास गरी बाढी र डुबानको समस्याले यति बिकराल रूप लिएको हो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)



 
::| Latest News

 
[Page Top]