युगसम्बाद साप्ताहिक

दुर्नियतिको घनचक्कर
Tuesday, 07.30.2019, 12:33pm (GMT5.5)

देशको वर्तमान अवस्था कुनै पनि दृष्टिले उत्साहप्रद र भविष्यप्रति आश्वस्त हुनसक्ने नदेखिनु गम्भीर चिन्ताको विषय हो । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक हरेक क्षेत्रमा प्रत्यक्ष रूपमा देखिँदैआएका परिदृश्यहरूले मुलुक स्थायित्व, विकास र समृद्धि, सद्भाव, आफ्नोपनाको रक्षा र सन्तुलित वैदेशिक सम्बन्ध विस्तारको वाञ्छित दिशामा अगाडि बढेको आभास र प्रत्याभूति दिने प्रकृतिका कुनै लक्षण देखिन नसक्नु वर्तमान समयले खडा गरेको सर्वा्धिक ठूलो चुनौती हो । मुलुकमा अहिले पाँच वर्ष राज्य सञ्चालन गर्ने लोकप्रिय जनादेश पाएको सरकार स्थापित छ तापनि स्थायित्वबोध हुनसक्ने विश्वसनीय वातावरण सिर्जित छैन । सत्ताधारी दलभित्रैबाट खडागरिएका एकपछि अर्का सवालहरूले एकातिर पारस्परिक सद्भाव र विश्वास खण्डित गरिरहेका छन् भने अर्कातिर वैदेशिक शक्तिहरूबाट नियन्त्रित अस्थिरता सिर्जना गर्ने प्रपञ्च भैरहेको कथन पनि सुन्नमा आइरहने गरेको छ । नेपालको आन्तरिक राजनीतिमा दिशानिर्देश गर्ने र सुक्ष्म व्यवस्थापन गर्ने चासो र तदनुकूलको भूमिकामा बाह्यशक्तिको निर्णायक उपस्थितिको लामो शृङ्खलाका दुष्परिणामहरू राजनीतिक स्थायित्व र एकीकृत राष्ट्रिय दृष्टिकोण निर्माणका लागि सर्वा्धिक ठूला व्यवधान बनेका छन् । मुलुक दुर्नियतिको घनचक्करबाट अहिले पनि पिल्सिइरहेको छ ।
नेपालमा निरन्तर देखिँदैआएको राजनीतिक रन्थमोलले खडा गरेको सर्वा्धिक ठूलो समस्या भनेको सामाजिक आर्थिक विकासका आधारहरू विशृङ्खलित हुँदैजानु र हरेक क्षेत्रमा विचलन र विसङ्गतिको लहर उठ्नु नै हो । वैदेशिक क्षेत्रबाट प्रत्यक्ष र परोक्ष रूपमा प्रायोजन र प्रक्षेपण गरिएका कतिपय मुद्दाले एकातिर सामाजिक सम्बन्धको आधारभूत सेतु भत्काउँदै अनपेक्षित विद्वेषको बिषाक्त वातावरण सिर्जना गरेको छ भने अर्कातिर सांस्कृतिक विचलनले राजनीतिक–सामाजिक अगुवाहरूलाई समेत प्रभावित पारेका ‘होली वाइन’ प्रसङ्गदेखिका अनेक प्रकरणहरू क्रमशः उजागर हुँदैआएका छन् । ‘चार वर्ण छत्तीस जातिको फूलवारी’मा विध्वंश गर्न वैदेशिक लगानीमा खटिएका खेतालाहरूले मच्चाएको बितण्डाले मुलुकको हरेक क्षेत्र प्रदूषित र प्रताडित भैरहेको छ । यसको समग्र असर मुलुकको भविष्यमाथि परिरहेको छ । राष्ट्रिय चिन्तनधार नै धमिलिँदैगएपछि त्यसको प्रतिकूल प्रभावबाट मुलुक प्रताडित हुने बाहेक कुनै परिणाम आउँदैन भन्ने कुराको यथेष्ठ प्रमाण त मुलुक हरक्षण हरपल कमजोर बन्दैगएको अवस्थाले नै दिइरहेको छ । आन्तरिक कलहका बीजहरू रोपिँदै र फैलिँदैगएका छन् । जिम्मेदार ओहदामा बस्नेहरूलाई आआफ्नो डम्फू बजाउँदैमा फूर्सद छैन ।
नेपालको राजनीतिक इतिहासमा शासनतन्त्र परिवर्तनका अनेक अध्याय थपिँदैगएका छन् भने सिंहदरबारको घुम्ने मेचमा बस्नेहरूको अनुहार पनि बदलिँदैगएको छ । शासनसत्ताको आसनमा बसेपछि आफूलाई सर्वज्ञ र मर्मज्ञ ठान्ने अनि आफूले भनेको सवैले पत्याउनुपर्ने र मान्नुपर्ने मनोदशालाई तन्त्र परिवर्तन र अनुहारको फेरबदलले पनि परिवर्तन गर्नसकेन । नातावाद, कृपावाद र अर्थमोहको अपसंस्कृतिको बोलबाला झन् झन् मौलाउँदैगएको वास्तविकतालाई कसैले पनि ढाकछोप गर्नसक्ने अवस्था छैन । परनिर्भरता आर्थिक क्षेत्रमा मात्रै विस्तारित छैन सत्तामुखी राजनीतिक क्षेत्रमा पनि उत्तिकै व्याप्त छ । बाह्यशक्तिको आशीर्वाद लिने  अवाञ्छित होडले राजनीतिक विकार र विसृङ्खलताका दुष्परिणामदायी अध्यायहरू अभिलिखित हुँदैगएका छन् । पर्दापछाडिको निर्देशनमा चल्ने नाटकीय शैलीको शासनसत्ता वा राजनीतिक गतिविधिले स्वाभिमान र राष्ट्रिय सम्मानमाथि सधैं प्रहार गरिरहेको हुन्छ । दुर्दान्त नियतिको यस्तो खेलले प्रताडित हुँदैआएको नेपालको नियति बदलिएको कुनै लक्षण नदेखिनु अहिलेको वास्तविक चित्र हो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com