युगसम्बाद साप्ताहिक

नेताहरूको रहस्यमय मौनता
Tuesday, 09.10.2019, 08:20am (GMT5.5)

नेपालको आन्तरिक राजनीति परिवर्तनमा बाह्यशक्तिको रणनीतिक भूमिकाबारेलाई लिएर बेलाबखत गम्भीर प्रकृतिका विषय प्रसङ्गहरू उजागर हुनेगरेका गरेका छन् । भारतको जासुसी संस्था ’रअ’का एक पूर्व अधिकारी अमर भूषणको हालै प्रकाशमा आएको ’इनसाइड नेपाल’ नामक पुस्तकले पनि भारतको रणनीतिक स्वार्थअनुरूप नेपालको आन्तरिक राजनीतिक परिवर्तन र दिशा निर्धारणका निम्ति आर्थिक लगानीसमेत गरी राजनीतिक समूहहरू र नेताहरूलाई प्रभावकारी ढंगले उपयोग गरेको रोमाञ्चक कथा प्रस्तुत गरेको छ ।  केही वर्ष अगाडि प्रकाशनमा आएको ‘रअ’कै अर्का पूर्व अधिकारी आर.के. यादवको ‘मिसन रअ’ ले पनि पाकिस्तानको विभाजन र बंगलादेशको उदय, सिक्किमको विलय र श्रीलङ्काको तामिल विद्रोहका सन्दर्भमा ‘रअ’ले गरेको जासुसी चलखेलदेखि लिएर इन्दिरा गान्धीको शासनकालमा नेपाललाई बिखण्डित गर्न बनाइएको षडयन्त्रात्मक कार्य योजनावारेका अनेक प्रसङ्गहरू उजागर गरेको पनि सार्वजनिक भएकै थियो । नेपालमा राजनीतिक परिवर्तनका लागि पटकपटकका आन्दोलनमा होमिएका र लामो समयसम्म जेलको कठोर यातना भोगेका अनि कोही भूमिगत र कोही निर्वासनमा रहेका राजनीतिक नेताहरूसमेत ‘रअ’को षडयन्त्रात्मक योजनामा कसरी उपयोग हुँदैआएका रहेछन् भन्ने कुराको खुलाशा क्रमशः भैरहेको वास्तविकताले यस्ता गोप्य र षडयन्त्रात्मक जासुसी गतिविधिको निरन्तरता र त्यसको अवाञ्छित प्रभावबाट नेपालको आन्तरिक अवस्था कति समस्यामूलक ,कति दिशाहीन र समग्रतामा कति प्रदुषित हुन पुगेको होला भनी स्वतः अडकल गर्न सकिन्छ ।
नेपाली जनताले २००७ सालको प्रजातान्त्रिक राजनीतिक परिवर्तन, २०४६ सालको जनआन्दोलन, २०६२–०६३ को आमूल परिवर्तनकारी राजनीतिक आन्दोलनमा उत्सर्गपूर्ण सहभागिता देखाएको कुरा निर्विवाद नै छ । तर समय समयमा ती परिवर्तनका लागि आफ्नो रणनीतिक संलग्नता रहेको र त्यसका निम्ति आर्थिक लगायतको विविध सहयोग उपलब्ध गराउँदैआएको भारतको दावी र स्वामित्व ग्रहणको कसरत नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिक क्षेत्राधिकारका लागि प्रत्यक्ष चुनौतिका रूपमा देखापरिरहेको छ । माओवादीको दशवर्षे हिंसात्मक जनयुद्ध आन्तरिक राजनीतिक द्वन्द्व, अन्तर्विरोध र समग्रतामा आन्तरिक परिस्थितिकै उपज थियो वा बाह्यशक्तिकै रणनीतिक योजनाअनुरूप प्रायोजित थियो भन्ने निरन्तर खडा भैरहेको अहं प्रश्नको निर्कोल त भविष्यले नै गर्ला तर सो चरणमा भएको राष्ट्रिय क्षतिको भर्ताल भने कुनै हालतमा पनि हुन नसक्ने कुरा अकाट्य नै छ । नेपालको आन्तरिक राजनीतिक उथलपुथल र राज्यबाट हुनेगरेका शृङ्खलाबद्ध दमनका परिघटनाहरूको अन्त्य अझै पनि हुनसकेको छैन । नेपाली जनताको बलिदानीपूर्ण सहभागितामा भएका परिवर्तनहरू अहिलेसम्म देशको सबलीकरण र जनताको जीवनस्तर वृद्धिका लागि निर्देशित र सकारात्मक परिणामदायी हुननसक्नुको अन्तर्यमा वैदेशिक शक्तिका षडयन्त्रात्मक गतिविधिमा संलग्न हुनजाने  र रणनीतिक उपयोगमा आइरहने अवाञ्छित प्रवृत्ति नै मूल कारण रहेको पुष्टि हुँदैआएको छ र त्यस्तो अनपेक्षित शृङ्खला अझै टुटेको अनुभूत नहुनु र आभास पनि नदेखिनु राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान रक्षाका निम्ति खडा भैरहेको सर्वाधिक ठूलो चुनौती हो ।
नेपालको आन्तरिक राजनीति राष्ट्रिय चिन्तनधारबाट विचलित हुने क्रम बढ्दैगएपछि बाहिरी क्षेत्रबाट दुर्नियतिवश प्रक्षेपण गरिने गरेका प्रायोजित मुद्दाहरू स्थापित हुने क्रम द्रुत गतिमा अगाडि बढिरहेको छ । वैदेशिक शक्तिकेन्द्रहरूलाई आश्रयदाता, मुक्तिदाता, मार्गदर्शक र  सत्ताप्राप्तिको स्रोत मान्ने सोचको विकास र तदनुकूलकै लम्पसारवादी व्यवहारका कारण उत्पन्न हुँदै झ्याङ्गिँदै आएका विकराल समस्याहरूको खातमा मुलुक उभिएको छ । वैदेशिक शक्तिहरूको उपयोगमा आउनेहरूले देश र जनताको हितका वारे जति नै फलाको गरे पनि त्यस्ता गुमस्ता चरित्रका पात्रहरूबाट मुलुकले कुनै पनि क्षेत्रमा अग्रगामी छलाङ् मार्न सक्दैन भने राष्ट्रिय स्वाभिमानको रक्षा पनि हुनसक्दैन । रअ’का पूर्व अधिकारीको ‘इनसाइड नेपाल’ ले नेपालमा राजतन्त्र फाल्ने नाममा आन्तरिक द्वन्द्वको स्थिति खडा गर्न रचेको षडयन्त्रको एउटा पाटो यसैबेला किन उघारेको हो भन्ने कुतुहलता एकातिर जागृत छ भने अर्कातिर उपयोग गरियो भनिएका पात्रहरूको मौनता पनि उत्तिकै रहस्यमय र आश्चर्यजनक छ । नेपालको आन्तरिक मामिलामा विदेशी जासुसी संस्थाको षडयन्त्रात्मक चलखेल राजतन्त्र समाप्त पार्ने खेलमा मात्र सीमित नभएको र अन्ततः मुलुककै भविष्यको रक्षाका लागि खतराको सङ्केत हो भन्ने कुरा स्वाभिमानी सवै नेपालीले बुझ्नुपर्ने कुरा हो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com