युगसम्बाद साप्ताहिक

नेपाल चीन सम्बन्धको नयाँ आयाम
Tuesday, 10.22.2019, 01:28pm (GMT5.5)

चिनिया राष्ट्रपति सी चीङफिङको अघिल्लो हप्ता सम्पन्न भएको दुई दिने नेपाल भ्रमणको ऐतिहासिक महत्व, उपलब्धि र द्विपक्षीय सम्बन्धको भावी दिशावारेका चर्चा–परिचर्चाहरू अझै ताजै छन् । नेपाल र चीनबीचको बहुआयामिक पारस्परिक सम्बन्धलाई भविष्य–दृष्टि र दिशा दिनेतर्फ लक्ष्योन्मुख रहेको यो भ्रमण दुई देशबीचको चासो र सरोकारको मात्र विषय नबनी दक्षिण एसियाली क्षेत्रकै ’कनेक्टिभिटी’ विस्तारसंग पनि जोडिएकाले यसको दूरगामी महत्व रहेको निर्विवाद नै छ । परिवर्तीत विश्व सन्दर्भमा चीनको आर्थिक (राजनीतिक क्षेत्रमा बढिरहेको अतुलनीय भूमिकाकै कारण पनि चीनसित भूसीमा जोडिएको नेपालसंग चीनको बढ्दो हिमचीम स्वाभाविक रूपमा नै अन्तर्राष्ट्रिय चासोको बनिरहेको देखिन्छ । नेपाल र चीनबीच सीमा जोडिएको र परम्परागत सम्बन्धको लामो इतिहास रहेको भए पनि उच्च हिमशृङ्खलाका कारण देखिएको असहजता चीनले आर्थिक र प्राविधिक क्षेत्रमा गरेको अद्भूत विकासकै परणाम भन्नुपर्छ– त्यो असहजता क्रमशः हट्दैगएको छ र भूपरिबेष्ठित अवस्थाबाट भूजडित अवस्थामा रूपान्तरित हुने अवस्थाको सिर्जनाले सम्भावनाका धेरै ढोकाहरू खुल्दैगएका छन् । यो स्वतन्त्र नेपालका लागि उज्यालो भविष्यको संकेत र सन्देश दुबै हो ।
नेपाल र चीनबीच स्वाभाविक रूपमा विकसित भैरहेको सम्बन्धलाई अरूचिको विषय बनाएर नेपाल चीनतिर ढल्किएको र चीनमय भएको भनेजस्ता भ्रमात्मक धारणाको बीजारोपण गर्ने कसरत अहिले जुन रूपमा भैरहेको छ त्यसका पछाडिका निहित उद्देश्यप्रति नेपाल बढी नै चनाखो र सतर्क हुनुपर्ने आवश्यकता एकातिर छ भने अर्कातिर विगत र वर्तमानमा भएका सम्झौता र सहमतिको द्रुततर कार्यान्वयनप्रति प्रतिबद्ध प्रयासको अपरिहार्यता पनि उत्तिकै महसुस छ । नेपालप्रति चीनले निरन्तर देखाउँदैआएको सदासयतापूर्ण सहयोग र उसको आर्थिक–प्राविधिक क्षमताबाट अधिकतम लाभ लिनसक्ने अवसरको उपयोग हाम्रै क्षमतामा भरपर्ने कुरा हो । विगतमा चिनिया सहयोगलाई बिक्रीका वस्तुको रूपमा उपयोग गर्ने महाभूलका पछाडिका अन्तर्र्नििहत कारण अप्रीतिकर छन् । प्राप्त अवसरलाई सही उपयोग गर्ने क्षमताको विकास गर्न नसक्दाका अनपेक्षित परिणामहरू हाम्रा वर्तमानका भोगाइ बनेका छन् ।  द्विपक्षीय सम्बन्ध विस्तारमा अन्य शक्तिको नकारात्मक प्रभाव हाम्रो निरन्तरको समस्या हो । हाम्रो राष्ट्रिय आकांक्षापूर्तिका लागि स्रोत र शक्तिको परिचालनका लागि हामी नै अग्रसर र सक्षम हुनुको विकल्प छैन ।
आर्थिक विपन्नता, स्रोत, साधन, प्रविधि र प्रशिक्षित दक्ष जनशक्तिको अभाव एकातिर र उपलब्ध अवसर र प्राप्त सहयोगको समयोचित उपयोगमा वाञ्छित तत्परता र क्षमताको कमी अर्को्तिर हाम्रा अहिलेका मूल समस्या हुन् । पराश्रयी सोच र व्यवहारका कारण मुलुक हरेक क्षेत्रमा परनिर्भर भन्दैगएको दारूण अवस्था नै हाम्रो वर्तमानको यथार्थ हो । चीनले छोटै अवधिमा आर्थिक र प्रविधिक क्षेत्रमा जुन अद्भूत विकास गरेर विश्वमा नै जुन उदाहरण प्रस्तुत गरेको छ त्यो हाम्रा लागि प्रेरणाकै स्रोत बन्नसक्छ । विश्वका अनेक मुलुकमा अहिले चिनिया पूँजी र प्रविधि विकासमा आधार बनिरहेका छन् । दक्षिण एसियाली राष्ट्रहरूमै हेर्दा चिनिया लगानी कम भएको देश नै नेपाल हो । राष्ट्रिय विकास र समृद्धिका लागि चिनिया पूँजी र प्रविधिको उपलब्धताको उपयोग गर्ने जुन अवसर नेपाललाई प्राप्त छ त्यसको उपयोग गर्ने क्षमताको विकास नै हाम्रो अहिलेको राष्ट्रिय आवश्यकता हो । चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले खोलेका अवसरका ढोकाहरू अधिकतम उपयोग गर्ने राष्ट्रिय सोच र क्षमताको विकास एवं प्रतिबद्ध प्रयासको थालनीमा कुनै बिलम्ब हुनुहुन्न । नेपालको भविष्य उज्यालो हुने र द्विपक्षीय मित्रताको गाँठो कसिलो हुने आधार पनि यही हो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com