युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 09:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
पृथ्वीजयन्तीको सान्दर्भिकता
Tuesday, 01.14.2020, 12:18pm (GMT+5.5)

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह देशभक्त, स्वाभिमानी र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपालीका आस्थापुञ्ज हुन् । बाह्रहजार घरधुरी भएको सानो पहाडी राज्य गोरखाको शाहवंशमा राज्य सञ्चालनको उत्ताधिकार लिएर विक्रम सम्वत १७७९को पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको कलिलो उमेरमा राजा बनेपछि २२ से २४ राज्यमा विभक्त भएर रहेको भूभागलाई विराट महत्वाकांक्षा, दूरदृष्टि, अदम्य साहस, विलक्षण राजनीतिक–कुटनीतिक क्षमता र अविराम सक्रियता देखाएर एकीकृत गर्न सफल रहेकाले नै आज हामी कसैको औपनिवेशिक दासतामा नपरी सदा स्वतन्त्र रहेको स्वाधिन नेपालका नागरिक भएर शीर ठाडो पारेर बाँच्न पाएका छौं । उनै पृथ्वीनारायण साहको जन्मदिन पुस २७ गतेलाई ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउने र त्यो दिन सरकारी विदा दिने प्रचलन रहिआएकोमा २०६३ सालपछि बनेका कृतघ्न सरकारहरूले त्यो प्रचलन तोडेर पृथ्वी जयन्तीको महत्व र राष्ट्रिय एकता दिवसको सार्थकतालाई ओझेलमा पार्ने धृष्टता गरे पनि जनस्तरबाट यो परम्परालाई निरन्तरता दिएर राष्ट्रिय जागरणको अभियानकै रूपमा जीवन्त राख्नु गौरवको विषय बनेको छ । यस वर्ष राष्ट्रपति विद्या भण्डारीबाट जारी भएको सन्देश, नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा आयोजित पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कार्यक्रम र जनस्तरबाट देशव्यापी रूपमा भएका विविध कार्यक्रम, विचार गोष्ठी र बहस कार्यक्रमहरूले राष्ट्रनिर्माताको अमूल्य योगदानलाई उजागर गरेर राष्ट्रिय जागरणको अपरिहार्यतालाई आत्मसात गरेको अनुभूत गराएका छन् । आगामी वर्षहरूमा यस्ता कार्यक्रमहरूको आयतन विस्तार हुँदैजाने विश्वास बढेको छ ।
पृथ्वीनारायण शाह स्वतन्त्र नेपालको क्षितिजमा कहिल्यै नअस्ताउने उज्वल नक्षत्र हुन् । गतिशील समाजलाई निरन्तर मार्गनिर्देशन गर्ने काम इतिहासको खालखण्डमा यस्तै महापुरूषबाट हुने गर्दछ । इतिहासप्रतिको चेतना र इमान्दारीले मात्र आफ्नो समाज तथा सिङ्गो राष्ट्रको पहिचान सुरक्षित गर्न सक्दछ । परचक्रीको प्रभावमा परी इतिहासको अपव्याख्या र घटना सन्दर्भको तोडमोड गरी अवाञ्छित रूपमा लाञ्छनाको लहर उठाउने कुपात्रहरू नेपाली समाजमा निरन्तर जुर्मुराइरहेका अनेकौं घटना सन्दर्भहरू अभिलेखित हुनआएका दुःखद पक्षहरू पनि छन् । सामाजिक, सांस्कृतिक एवं धार्मिक सहिष्णुताको सद्भावनापूर्ण विशालताविरुद्ध सुनियोजित रूपमा बीजारोपण गरिएका विद्वेषपूर्ण गतिविधिले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि नै प्रहार गरिरहेको वास्तविकताले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बिशिष्ठ योगदानलाई नै बिर्साउने धृष्ठता गरिरहेको छ । 
नेपाली समाजले सामाजिक, सांस्कृतिक, आर्थिक ,राजनीतिक, कुटनीतिक क्षेत्रमा जे जति रजस्ता समस्याहरू भोगिरहेको छ त्यसको मूल कारण इतिहासप्रति सचेतताको अभाव र बाह्य क्षेत्रबाट प्रक्षेपित अफवाहपूर्ण भ्रमात्मक धारणाकै उपज हो र त्यसको सही निधान खोज्ने हो भने पृथ्वीनारायण शाहको मार्गदर्शनको सान्दर्भिकता प्रष्ट रूपमा झल्किनसक्छ । स्वप्नदर्शी पृथ्वीनारायण शाहको युगान्तकारी अवधारणा र ऐतिहासिक योगदानलाई विर्साउने प्रपञ्चका प्रायोजित गतिविधिहरू यथार्थमा नेपालको राष्ट्रिय एकता र अखण्डताका विरुद्धमा लक्षित छन् । यो तत्वज्ञान नेपाली समाजले विस्तारै गर्नथालेको आभास पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसप्रति व्यापक रूपमा बढिरहको जनचासोबाट अनुभूत गर्न सकिन्छ ।
आजका दिनमा नेपालको मूलभूत समस्या भनेको आन्तरिक मामिलामा बह्यशक्तिहरूको चलखेल र अनपेक्षित हस्तक्षेप, दिन प्रतिदिन बढ्दो परनिर्भरता, आन्तरिक स्रोत–शाधन र जनशक्तिको उपयोगप्रतिको उदाशिनता, आर्थिक उत्पादकत्वले वाञ्छित वृद्धिको दिशा नसमात्नु ,लगानी मैत्री वातावरण नबन्नु , आर्थिक(राजनीतिक भ्रष्टाचारले जताततै फँणा फैलाउनु बाहिरिया रणनीतिमा बहकिनु र आन्तरिक क्षमताको विकासका लागि ध्यान नपुग्नु नै हो । यसको मूल कारण भनेको मौलिक चिन्तनको अभाव र जवाफदेहिताविहीन प्रवृतिको विस्तार हो । देशको मूलधारको राजनीति राष्ट्रिय चिन्तनधारबाट विमुख हुनु र देशहित लक्षित मार्गचित्र बन्नै नसक्नुकै कारण प्रतिकूल परिस्थितिको निर्माण भैरहेको छ । पृथ्वीनारायण शाहले विशाल नेपालको निर्माण गर्दा अवलम्बन गरेको नीति , समभाव राखेर हरेक तह र तप्काका जनताको विचार र भावनाअनुकूल निर्णय गर्ने प्रजातान्त्रिक संस्कारको वरण र राष्ट्रको स्वाधीनता अक्षुण राख्न लक्षित अनुभवजन्य विचारहरूको ग्रहण नै हो । जनविचारको सम्मान गर्दै योग्य, इमान्दार र क्षमतावानहरूलाई अधिकतम उपयोग गर्न सक्ने क्षमताले नै विशाल नेपाल निर्माणको लक्षप्राप्तिमा उहाँलाई सफलता मिलेको हो । उहाँको दिव्योपदेश नेपालको  राष्ट्रिय एकता र समृद्धिका लागि आज पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने प्रचलनलाई पुनस्थापित गर्न सरकारले बिलम्ब गर्नु सङ्गतिपूर्ण छैन । इतिहासको सही मूल्याङ्कन गर्ने परिपाटी बसोस् । राष्ट्र निर्माताप्रति भावपूर्ण श्रद्धाञ्जली ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अर्थतन्त्रको उल्टो गति ! (12.17.2019)
जनता सधैं नछक्किउन (11.27.2019)
सीमा अतिक्रमणको पीडा (11.14.2019)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (10.22.2019)
राष्ट्रपति सीको नेपाल भ्रमण (10.15.2019)
बडादशैँको शुभकामना (10.02.2019)
संविधानको चारवर्ष (09.25.2019)
कुटनीतिक सन्तुलनको समस्या (09.17.2019)
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)



 
::| Latest News

 
[Page Top]