उत्तर कोरियासंगको निर्धारित वार्ता रद्द भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई आएको केही दिनमै उहाँले नै र उत्तर कोरियाली नेता किम जोङ संग आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने बताउनुभएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरूपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताउनुभएको हो ।
शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददातासमक्ष उहाँले भन्नुभयो, हामी पूर्वनिर्धारित मितिमै वार्ता गर्ने पक्षमा छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ । उत्तर कोरियासँगको शिखर वार्ता समयमै हुन्छ, यसका लागि हामीले वार्ताको माध्यमबाट धेरै नै प्रगति गरेका छौँ, मलाई लाग्छ हाम्रो र उत्तर कोरियाको तर्फबाट पनि अभूतपूर्वरूपमा प्रगति जारी रहेको छ ।
उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्र बताउनुभएको थियो । तर समाचारमा आएजस्तै फेरि उक्त वार्ता समयमै सम्पन्न गर्नेगरी परिस्थिति अघि बढेको बताएपछि भने पुनः कोरियाली प्रायद्वीपमा शान्तिको आशा जागेको बताइएको छ ।
सो सिंगापुर शिखर वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फीरूपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले आफू दुःखी भएको बताएको थियो । साथै राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त भएलगत्तै नै उत्तरका नेता किमले आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।
उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्ने तयारीमा लागिरहेको बताएको थियो । यी दुई देशबीचमा पनि मन्त्रिस्तरको बैठक स्थगित भएको र उता अमेरिकाले पनि सिंगापुर वार्तामा बस्न नसक्ने जानकारी गराएकोले त्यसको मध्यस्थतास्वरूप भूमिका निर्वाह गर्ने काम दक्षिण कोरियाले गरेको बताइएको थियो ।
अमेरिकाले एकतर्फीरूपमा वार्ता स्थगित गरेपनि अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्न उत्तर कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिण कोरियाले लिएको हो ।
यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको एक गाउँ पानुमजोममा भेट भएको हो । यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरूलाई जारी राख्ने सहमति भएको जनाएको छ । उहाँहरूको भेटवार्ताका क्रममा गत अप्रिल २७ मा भएको पानमुनजोम शान्ति सम्झौताकोे कार्यान्वयनबारे एक आपसमा विचार विमर्श र अनुभव आदानप्रदान भएको समाचारमा जनाइएको थियो ।
उहाँहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर वर्तालाई कसरी सफल पार्ने भन्ने विषयमा समेत छलफल गर्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।
शनिबारको उक्त शिखर बैठकमा भएका सहमति र कुराकानीका बारेमा स्थानीयलाई आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको थियो । सोही बमोजिम नै यी सहमतिका कार्यक्रम आएका हुन् । अमेरिकाले सिंगापुर वार्तामा नबस्ने भनी अकस्मात उत्तर कोरियालाई पत्र लेखेपछि उत्तर र दक्षिणका नेताकाबीचमा यो भेटवार्ता भएको थियो ।
त्यस क्रममा उत्तरका नेताले आपूm अमेरिकासँग जुनसकै समय र स्थानमा पनि वार्ता गर्न तयार रहेको जानकारी गराएपछि त्यो कुरा दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमार्फत अमेरिकालाई जानकारी गराइएको छ । यस उच्च बैठकपछि पुनः अमेरिका निर्धारित मितिमै वार्ता गर्न तयार भएको समाचार आएको अधिकारीले जनाएका छन् ।
यसैबीच आइतबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ता सर्ने भनिएको तर आइतबार एकाएक पूर्वनिर्धारित मिति जुन १२ मा नै हुने भनी समाचार आएपछि उक्त फोनवार्ता भएको बताइएको छ ।
दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको प्राप्त समाचारमा जनाइएको छ । उहाँहरूबीच बिहीबार अकस्मात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग जुनमा सिंगापुरमा हुनलागेको शिखर वार्ता स्थगित गरेको जनाएको केही समयपछि गएको बिहीबार पनि वार्ता भएको थियो ।
आइतबार पुनःउक्त वार्ता समयमै हने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएपछि पुनःउहाँहरूबीच त्यसका विषयमा विकसित परिस्थितका बारे उक्त फोनवार्ता भएको अनुमान गरिएको छ ।