भेनेजुयलाको सरकारले संयुक्त राज्य अमेरिकाद्वारा एकतर्फीरूपमा भेनेजुयलामाथि दबाब दिने उद्देश्यसाथ नयाँ प्रतिबन्ध लगाउने निर्णयको आइतबार विरोध गर्दै यसको कानूनी समाधान खोज्ने बताएको छ । अमेरिकी ट्रम्प प्रशासनद्वारा दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको पेट्रोलियम उद्योगमाथि प्रतिबन्ध लगाउने निर्णयविरूद्ध सम्बन्धित अन्तर्राष्ट्रिय कानूनमार्फत प्रतिरोध गर्ने भेनेजुयलाले जनाएको छ ।
“भेनेजुयलाले अमेरिकाद्वारा प्रतिबन्ध लगाउने अमेरिकी ट्रम्प सरकारको निर्णयलाई स्वार्थी तथा अपराधी निर्णय भन्दै यसबाट आफ्नो मुलुकको अन्तर्राष्ट्रिय अधिकारको उल्लङ्घन भएको छ,” भेनेजुयलाको विदेशमन्त्री जर्ज अरियाजाले शनिबार ट्वीटरमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वासिङ्टनले भेनेजुयलाको राज्य सञ्चालित पेट्रोलियम उद्योग पीडीभीएसएका तेल बोक्ने विभिन्न ३४ पानीजहाजमाथि प्रतिबन्ध लगाउने घोषणापछि भेनेजुयलाको आधिकारिक प्रतिक्रिया आएको हो । यो निर्णयले आफ्नो तेल छिमेकी मित्रराष्ट्र क्युबामा तेल निर्यातमा समस्या परेको भेनेजुयलाको भनाइ छ ।
प्रतिबन्धले लाइबेरियास्थित बाल्लिटो सिपिङ कम्पनी, ग्रीसस्थित प्रोपर इन म्यानेजमेन्ट कम्पनी जसले क्युबाका लागि सामान ढुवानी गर्दै आएका छन्, लाई प्रभावित पार्ने बताइएको छ । “वासिङ्टनले प्रतिबन्ध लगाएर भेनेजुयला तथा क्युबाका जनतालाई मात्र सजाय दिने नभई तेलको ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनी तथा व्यापार सङ्गठनसमेतलाई प्रभावित पार्ने देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन गर्दै उहाँले मेक्सिको, बोलिभिया, उजुग्वे र क्यारेबियन देशहरुलाई वार्ताका लागि सहजीकरण गरिदिन र शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको हो ।
“हाम्रा सहयोगी र समर्थकहरुलाई हाम्रो देशको राजनीतिक संकट अन्त्यका लागि सहयोगी भूमिका खेल्न हामी आग्रह गर्दछौँ,” उहाँले भन्नुभयो ।
उहाँले भेनेजुएलाको हितका लागि विपक्षीसँग वार्ता, लचकता र सम्झौता गर्न आफू तयार रहेको पनि बताउनुभयो । “आउनु होस्, वार्ताको टेबुलमा बसौँ, एकअर्काप्रतिको आक्रमण बन्द गरौँ,” मदुरोले भन्नुभयो ।
उहाँले राजनीतिक परिवक्वता देखाउन र राष्ट्रिय चासोको ख्याल गर्न पनि विपक्षीहरुलाई आग्रह गर्नुभयो । भेनेजुएलाको सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानी कारकासमा गत शनिबार छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।
विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्ष समेत रहनु भएका हुवाँ गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट चर्किएको छ ।