चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गर्नुभयो । मानार्थ उपाधि प्राप्त गर्नेहरूमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत हुनुहुन्छ ।
चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा मङ्गलबार औपचारिक रूपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ ।
पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताउनुभयो ।
पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री हुनुहुन्छ । उहाँ सन् १९१५ मा जन्मनुभएको हो । उहाँ सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बस्नुहुन्थ्यो । चीनको चेङ्दुमा जन्मनु भएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि “चीनका पुराना मित्र” का रूपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रवद्र्धनमा उहाँले विशेष सहयोग गर्नुभएको थियो ।
यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरूमा क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहनुभएको छ ।
समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।
चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने
चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताउनुभएको छ । वाङले उक्त भनाई चीन–रूसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ बर्षगाँठका अवसरमा आयोजित एक कार्यक्रमबीच राख्नुभएको हो ।
विशेष मित्रताको स्थापना दिवसका अवसरमा गरिएको समारोहमा चीन र रूसबीचको लामो मित्रवत यात्रालाई अविश्मरणीय भन्दै यसलाई नयाँ प्रकारको सम्बन्ध र साझा जिम्मेवारीका रूपमा विकास गर्दै अघि बढ्ने वाङले बताउनुभयो ।
दुवै पक्षले सहकार्यलाई मजबुत पार्ने, बहुपक्षीयताको रक्षा गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्रको लक्ष अनुरूप साझा जिम्मेवारीसहित अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा चीनका लागि रूसी राजदूतले चीन–रूसबीचको सम्बन्धको चर्चा गर्नुभएको थियो ।
चीन र रूस इतिहासमा निकै राम्रो सम्बन्धका साथ अघि बढ्दै आएको र दुबै मुलुकले नयाँ युगका लागि बृहद् रणनीतिक साझेदारी विकास गरिरहेको पनि उक्त अवसरमा वाङले बताउनुभयो ।
पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए
अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।
ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरूले जनाएका छन् । बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ ।
छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर हरेको अधिकारीहरूले जनाएका छन् । छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।