युगसम्बाद साप्ताहिक

नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी
Tuesday, 10.22.2019, 01:21pm (GMT5.5)

भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ ।
उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बङ्कर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।
यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल असिफ गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारीअनुसार उक्त घटनामा एक पाकिस्तानी सैनिक र तीन सर्वसाधारणको मृत्यु भएको छ भने दुई सैनिक र पाँच सर्वसाधारण घाइते भएका छन् । पाकिस्तानी अधिकारीले उक्त क्षेत्रमा दोहोरो भिडन्त भएको बताएका छन् ।
उहाँले भन्नुभयो, “भारतीय पक्षले जुरा, शाहकोट र नौसेरी क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरेर युद्धबिराम उल्लङ्घन गरे । यसको सशक्त प्रतिरोध गर्ने क्रममा नौ भारतीय सैनिक मारिएका छन् भने कैयौँ घाइते भएका छन् । उक्त घटनामा भारतीय सेनाको सुरक्षार्थ बनाइएका दुई ‘बङ्कर’लाई नस्ट गरिएको छ ।”
घटनाबारे जानकारी दिँदै उहाँले थप्नुभयो, “दोहोरो भिडन्तमा पाकिस्तानतर्फका एक सैनिक र तीन सर्वसाधारणले शाहदत प्राप्त गरेका छन् । घटनामा दुई सैनिक र पाँच पाकिस्तानी घाइते भएका छन् ।”
आइतबार पाकिस्तानी पक्षले तोप आक्रमणमार्फत ताङधार क्षेत्रमा हमला गरेपछि दोहोरो भिडन्त भएको भारतीय पक्षको दाबी रहेको छ । भारतीय सैनिकको दाबीअनुसार भारतले पाकिस्तानविरूद्ध गरेको प्रत्याक्रमणमा चार÷पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको थियो । 


चीनमा छैटौँ विश्व इन्टरनेट सम्मेलन शुरु
छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार शुरु भएको छ । सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गर्नुभएको छ । सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाउनुभएको छ । सन्देशमा उहाँले इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क भाग्य समुदायको निर्माण गर्ने सदिच्छापूर्ण इच्छा अभिव्यक्त भएको उल्लेख गर्नुभएको छ ।
नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट शुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भविष्य’ रहेको बताइएको छ ।
नयाँ शुरुआतमा विकास अवसरलाई कायम राख्दै चुतौतीको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पूरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयास गर्नुपर्ने सीले बताउनुभएको छ । उहाँले भविष्य उन्मुख चीनले ठूलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदानकर्ताको हैसियतले प्रयास गर्दै जाने बताउनुभयो । 
यसैबीच चालू आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । औद्योगिक उत्पादन लगातार विकसित भइरहेको, निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको चीनले जनाएको छ ।
बजारमूलक बिक्रीमा स्थिरता कायम हुँदै गएको र अघिल्ला तीन त्रैमासिक अवधिमा सामाजिक उपभोक्ता वस्तुको कूल खुद्रा बिक्रीबाट २९६ खर्ब ६७ अर्ब ४० करोड युआन आम्दानी भएको अधिकारीहरूले बताएका छन् । गत वर्षको तुलनामा यो ८.२ प्रतिशतको वृद्धि हो । 
अघिल्ला तीन त्रैमासिकमा तेस्रो व्यवसायको वृद्धिले कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रामा ६०.६ प्रतिशत योगदान सिर्जना गरेको छ । समष्टिगत दृष्टिकोणबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र स्थिररूपमा विकसित भइरहेको तथ्याङ्कमा छ । 

सर्वाधिक लामो यात्रुवाहक उडान
करीब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो । 
अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकाँक्षी योजना अघि सारेको छ ।
न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जना मात्र यात्रु थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो ।
क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताउनुभयो । 
लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ । यात्रुहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ ।
क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान शुरु गरेको थियो । यो उडान करीब १७ घण्टाको छ, र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com