युगसम्बाद साप्ताहिक

एक लाख ६० हजारमा सङ्क्रमण, मृत्यु हुनेको सङ्ख्या छ हजारभन्दा बढी
Monday, 03.23.2020, 09:02am (GMT5.5)

कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यस्तै युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक  हजार ९०७ व्यक्तिको मृत्यु भएको छ । शनिबार पाँच हजार ७५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या आइतबार साँझसम्म सात हजार ७५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।
शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उहाँकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराइरहेको बताइएको छ ।
प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ ।
इटालीमा मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो
विश्व स्वास्थ्य सङ्गठनले महामारी रोगको सङ्ज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो ।
त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् । 
पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ । 
चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीयरुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।
तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ । 
त्यसैगरी दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ । 
यसैबीच अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीव्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी सङ्ख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ । सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् । 
अष्ट्रियामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ ।
अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले आइतबार जनाएको छ । उहाँका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको सङ्क्रमण फैलिएको र सङ्क्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ । लगभग छ हजारको सङ्ख्यामा सङ्क्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
सङ्गठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा युरोपमा सङ्क्रमणको प्रकोप बढी देखिएको बताउनुभयो ।

ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उहाँमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । 
खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उहाँको प्रतिनिधिमण्डलका सदस्यको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो ।
राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकार्नु भएको र रिपोर्टमा कोरोना सङ्क्रमण नदेखिएको बताउनुभयो । 
संयुक्तराज्य अमेरिकामा कोराना सङ्क्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गर्नु भएको छ । देशभरका स्कुल र कलेज बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ ।
अमेरिकी शहर न्यूयोर्कमा शनिबार एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यहाँ डिपार्टमेन्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिस सामान खरिद गर्न तँछाडमछाड गरेका दृश्य देखिएको छ । 



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com