| युगसम्बाद साप्ताहिक | ||||
|
राष्ट्रपतिसंग योभन्दा अर्को विकल्प नै थिएन - डा. दिनेश त्रिपाठी, संविधानविद् Monday, 12.03.2012, 03:58pm (GMT5.5) ० राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक सहमतिको आधारमा सरकार गठन गर्न जुन आव्हान गर्नुभयो यसबारेमा संविधानविद्हरूको धारणा फरक फरक रूपमा आएका छन । यसप्रति तपाईको धारणा के छ ? जेठ १४ गते संविधानसभा
विघटन भयो । संविधानसभा विघटन भएलगत्तै १६ गते राष्ट्रपतिले यो सरकार कामचलाउ भएको
कुरा पत्रमार्फत जानकारी गराउनुभयो । सरकार स्वयंले पनि त्यो कुरालाई स्वीकार गरयो
। काम चलाउ सरकार भन्नेवित्तिकै त्यो सरकार सीमित अधिकार र सीमित म्याण्डेट भएको
सरकार हो भन्ने बुझिन्छ । काम चलाउ सरकार भनेको नयाँ बन्ने सरकारले शपथग्रहण
नगरूञ्जेलसम्मका लागि दैनिक काम संचालन गर्ने सरकार हो । यस्तो सरकारलाई दैनिक
प्रशासन चलाउने अधिकार मात्र हुन्छ । अरू कुनै पनि महत्वूर्ण निर्णय गर्ने अधिकार
हुँदैन । नीतिगत कार्यक्रमहरू गर्न पाउँदैन । संवैधानिक रूपमा भन्दा काम चलाउ
सरकारको अर्थ प्रधानमन्त्रीको पद रिक्त छ भन्ने बुझिन्छ । यस अर्थमा राष्ट्रपतिले
नयाँ सरकार गठनका लागि प्रक्रियागत मार्ग प्रशस्त गर्नुपर्ने नै थियो । राष्ट्रपतिले यो काम धेरै
पहिले नै गर्नुपथ्र्यो । तर, उहाँले हतार गर्नु भएन ।
उहाँले राजनीतिक दलहरूले नै यो कार्यको पहल गरून भन्ने अभिप्रायले प्रतीक्षा
गर्नुभयो । ६ महिना बितिसक्दा पनि त्यो कार्य सम्भव भएन । राजनीतिक दलहरूबाट नयाँ
सरकार निर्माणको प्रक्रिया अगाडि बढाउन प्रभावकारी पहल गर्न नसकेको हुनाले अहिले
आएर राष्ट्रपतिले औपचारिक रूपमा सहमतिको सरकार गठन गर्न आव्हान भएको हो । ० राष्ट्रपतिले यो कदम
अलि छिटो अगाडि बढाए भन्नेहरू पनि छन नि ? यो कदम छिटो होइन ।
राष्ट्रपतिले लामो प्रतिक्षा गर्नुभएकै हो । ६–६ महिना बितिसक्दा पनि राजनीतिक
दलहरूबाट सार्थक पहल भएन । सहमतिको वातावरण बन्न सकेन । एकातिर सरकार कामचलाउको
हैसियतमा पुगेको अवस्था अर्कोतिर राजनीतिक दलहरूका बीच सहमतिको वातावरण पनि बन्न
नसकेको अवस्था– देशमा यस्तो खालको
अप्ठयारो स्थिति उत्पन्न भएको हुनाले राष्ट्रपतिले यो कदम चाल्नु परेको हो ।
राष्ट्रपतिसंग योभन्दा अर्को विकल्प नै थिएन । अहिले संविधानसभा विघटन भैसकेको छ ।
नयाँ संविधान बनेको छैन । नयाँ नयाँ खालका समस्याहरू जन्मिरहेका छन । महत्वपूर्ण
राजनीतिक निर्णयहरू गर्नुपर्ने अवस्था छ । यस्ता महत्वपूर्ण काम र निर्णयहरू
कामचलाउ सरकारबाट सम्पन्न हुन नसक्ने भएको हुनाले राष्ट्रपतिले राजनीतिक सहमतिको
सरकार निर्माणका लागि कदम चाल्नु परेको हो । राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको
कारणले नयाँ सविधान निर्माणका एजेण्डाहरू अवरूद्ध हुन पुगेका छन । यो अवस्थालाई
मध्यनजर गरी राष्ट्रपतिले चालेको चालको हो । यो कदम अगाडि किमार्थ ढिलाई गर्नु
हुँदैन थियो । राष्ट्रपतिले यो पक्षलाई जिम्मेवारीताका साथ लिएको देखिन्छ । ० राष्ट्रपतिले अहिले
चालेको कदम राजनीतिक रूपमा औचित्यपूर्ण छ त भन्नुभयो । तर, संविधानसभा नभएको वर्तमान अवस्थामा राष्ट्रपतिलाई संविधानले
यस्तो अधिकारका दिएको छैन भनिन्छ नि ? त्यस्तो होइन । अन्तरिम
संविधान २०६३ ले सरकार गठन गर्ने अधिकार राष्ट्रपतिलाई प्रदान गरेका छ । साविकको
सरकार संवैधानिक रूपमा कामचलाउ भैसकेपछि नयाँ सरकार गठन गर्नपर्ने हुन्छ । अन्तरिम
संविधान अनुसार नयाँ सरकार गठनका लागि आव्हान गर्ने भनेको राष्ट्रपतिले नै हो ।
यस्तो आव्हान अरू कसैले गर्ने कुरा भएन । यसर्थ अहिले राष्ट्रपतिले चालेको कदम
पूर्ण रूपमा संविधानसम्मत छ, अन्तरिम संविधानको
चारकिल्लाभित्रै छ, संविधानको अक्षर र
भावनाअनुरूप छ । वर्तमान सरकार काम चलाउ भैसकेको हुनाले नयाँ सरकार गठनका लागि
मार्ग प्रशस्त गर्नु राष्ट्रपतिको कर्तव्य नै हो । राष्ट्रपतिबाट जिम्मेवारीका
आफनो कर्तव्य निर्वाह भएको छ । यसप्रति नकारात्मक रूपमा टीका टिप्पणी गर्नु आवश्यक
छैन । अझ संवैधानिक हिसावले बुझ्नुपर्ने कुरा के छ भने राष्ट्रपति संविधानका
संरक्षक हुन । कहिले काहीं देशमा संवैधानिक अवरूद्धताको अवस्था उत्पन्न हुन्छ ।
संवैधानिक अवरूद्धता उत्पन्न भएको अवस्थामा बाटो फुकाउने अधिकार पनि संविधानको
संरक्षकको हैसियतमा राष्ट्रपतिलाई हुन्छ । हामीले यो पक्षलाई बुझ्नु पर्दछ । ० राष्ट्रपतिले गरेको
आव्हानलाई वर्तमान मन्त्रिपरिषदले असंवैधानिक कदम भनी निर्णय गरेको छ ।
मन्त्रिपरिषदको यो निर्णयप्रति तपाईको के छ टिप्पणी ? राष्ट्रपतिले
संविधानसम्मत ढंगले गरेको आव्हानलाई कामचलाउ सरकारले असंवैधानिक भनी टिप्पणी गर्नु
आफैमा गम्भीर, लज्जास्पद र आपत्तिजनक छ
। सरकारको यो अभिव्यक्ति अमर्यादित पनि भयो । काम चलाउ सरकारलाई राष्ट्राध्यक्षको
कदमप्रति अनावश्यक रूपमा टिप्पणी गर्ने न त हैसियत छ न त अधिकार नै छ । राष्ट्रपति
संविधानको संरक्षक र राष्ट्राध्यक्ष भएको हैसियतले पूरा गर्नुपर्ने संवैधानिक
दायित्व गर्दैजानुपर्ने हुन्छ । यदि राष्ट्रपतिको कदमप्रति सरकारलाई चित्त बुझेको
छैन भने प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्नुपर्छ
। राष्ट्रपतिलाई विश्वास दिलाउन सक्नुपर्छ र मतभिन्नता सल्टाउनुपर्ने हुन्छ ।
अन्यथा संवैधानिक शिष्टाचार प्रतिकूल भएको ठहर्छ । किनभने हाम्रो संविधानमा
राष्ट्राध्यक्ष र सरकारबीच मतभेदको परिकल्पना गरिएको छैन । हाम्रोजस्तै संसदीय
लोकतान्त्र भएका मुलुक भारत, क्यानडा, बेलायत र अष्ट्रेलियामा पनि त्यस्तो किसिमको मतभिन्नता हुने
परिकल्पना गरिएको छैन । यो सन्दर्भलाई विश्लेषण गर्दा सरकारको अभिव्यक्ति
संवैधानिक शिष्टाचारको प्रंतिकूल छ भन्नुपर्ने हुन्छ । ० सहमतिको सरकार गठनका
लागि राष्ट्रपतिले पहिलो पटक तोकेको समयसीमा त्यत्तिकै सकियो । दोस्रो पटक थपेको
समयसीमा पनि सकिनै लागेको छ । सहमति हुने कुनै लक्षण देखिएको छैन । यो क्रम अब कति
समयसम्म लम्बिएला जस्तो लाग्छ यहाँलाई ? राजनीतिक सहमति कायम हुन
त समय लाग्छ । दुई तीन हप्ता जाँदैमा चिन्ता लिनुहुँदैन । राजनीतिक सहमतिको
सम्भावना टरिसकेको छैन । अहिलेको अवस्थामा राजनीतिक सहमति बाहेक अर्को विकल्प पनि
छैन । विकल्पहरू नभएको हुँदा राजनीतिक दलहरू बाध्य भएर राजनीतिक सहमतिमा नआइकन धरै
पाउँदैनन् । हिजोको अवस्था र आजको अवस्थामा भिन्नता छ । हिजो व्यवस्थापिका संसद
थियो । आज संसदद छैन । हिजो संसद हुँदाको अवस्थामा सहमतिबाट नभए बहुमतीय पद्धतिबाट
सरकार गठन हुनसक्थ्यो । तर, अहिले बहुमतीय पद्धतिबाट
सरकार बन्ने अवस्था छैन् । बहुमत सिद्ध गर्ने संयन्त्र छैन । यस्तो अवस्था भनेको
विकल्पहीन अवस्था हो । अवस्था विकल्पविहीन भएको हुनाले राजनीतिक दलहरू सहमतिमा
आउनै पर्दछ । उनीहरू ढिलै पनि एउटा राजनीतिक सहमतिमा पुग्छन । नयाँ सरकार राजनीतिक
सहमतिकै आधारमा बन्न भन्नेमा म विश्वस्त छु । ० पटक पटक समयसीमा थप
गर्दा पनि राजनीतिक सहमतिको आधारम सरकार गठन हुन सकेन भने त्यस्तो अवस्थामा अगाडि
बढने संवैधानिक बाटो के छ ? हामीले आशा गर्नैपर्छ ।
राजनीतिक दलहरूले बुद्धिमत्तापूर्वक राजनीतिक सहमति गर्ने छन । राष्ट्रिय सहमतिमा
पुगेर मुलुकलाई निकास दिने छन । अहिलेको अवस्था भनेको संवैधानिक रित्तता र संवैधानिक
जटिलताको स्थिति हो । यस्तो अवस्थामा अगाडि बढ्ने तरिका भनेको राजनीतिक सहमति र
समझदारी नै हो । ० नेपालमा राजनीतिक
सहमतिको कुरा एकदमै धेरै भयो । तर, राजनीतिक सहमतिको वातावरण
बन्ने र त्यसले सही ढंगले काम गर्ने अवस्था कहिल्यै पनि निर्माण हुन सकेन । यस्तो
अवस्थामा अर्को बैकल्पिक सूत्र कही छ कि ? तपाईंले भन्नुभएको कुरा
एकदमै ठीक हो । नेपालका राजनीतिक सहमति र समझदारीको कुरा धेरै भयो । राजनीतिक
सहमतिको कुरा सुन्दासुन्दा नेपाली जनता वाक्क दिक्क भैसकेका छन । यो यथार्थ हो ।
फेरि पनि अहिलेको सन्दर्भमा राजनीतिक सहमतिको अर्को विकल्प छैन । अहिलेको अवस्थामा
एउटा न्यूनतम् साझा विन्दुमा राजनीतिक दलहरूका बीचमा सहमति हुनै पर्दछ । राजनीतिक
सहमति भएन भने संविधान निर्माण र शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन ।
संक्रमणकालीन समयको विशेषता यस्तै हुन्छ । ० राष्ट्रपतिले चालको
कोर्ष अनुसार राजनीतिक दलहरू अगाडि बढेनन् भने देशमा कस्तो परिस्थिति आउँला ? यहाँले केही अनुमान गर्नुभएको छ ? नयाँ सरकार बनाउने
प्रक्रिया अगाडि बढिसकेको छ । यो प्रक्रिया भनेको अन्तरिम संंविधानको धारा ३८ को
उपधारा १ अनुसारको प्रक्रिया हो । या प्रक्रिया अनुसार सरकार बन्न सकेन भने
बहुमतको प्रक्रियामा जाने कुरा त भएन । अर्को कुनै नयाँ तरिका अपनाउन पर्ने हुन्छ
। ० डा.बाबुराम भट्टराईको
वर्तमान सरकारले नै निरन्तरता पाउने संभावना कत्तिको रहन्छ ? अहिलेको परिस्थितिमा डा.
बाबुराम भट्टराईको सरकारले निरन्तरता पाउन सक्दैन । राष्ट्रपतिको अगाडि पनि एउटा
चुनौतिपूर्ण समय आइसकेको छ । उहाँले यो सरकारलाई औपचारिक रूपमा कामचलाउ सरकार
भनिसक्नु भएको छ । काम चलाउ सरकारबाट मुलुक चलाउन सकिँदैन । संविधानसभा विघटन
भैसकेको अहिलेको अवस्थामा धेरै महत्वूर्ण निर्णयहरू गरेर अगाडि बढनुपर्ने बेला आएको
छ । फेरि संविधानसभाको निर्वाचान गराउनेपर्ने भएको छ । त्यसका लागि आवश्यक कानुन
बनाउनुपर्ने छ । संविधान कसरी बनाउने ? त्यसको मोडालिटी
बनाउनुपर्ने छ । शान्ति प्रक्रियाका धेरै कामहरू बाँकी छन । द्वन्द्व पीडितहरूको
समस्या, संक्रमणकालीन न्याय, मानवीयता लगायताका विषयहरू थाँती नै छन । संवैधानिक जटिलता
फुकाउनुपर्ने छ । यी सब कामहरू सम्पन्न गर्न वर्तमान काम चलाउन सरकारबाट सम्भव छैन
। राष्ट्रपतिले यो कुरालाई महसुस गरेर कदम चाल्नु भएको हो । अहिले साँच्चै भन्ने
हो भने सहमति नभएको खण्डमा तलमाथि दाया बायाँ कतैतिर अगाडि जान सकिने अवस्था छैन ।
तर, यसो भन्दैमा देशलाई
यथास्थितिमा राख्ने कुरा पनि भएन । राष्ट्रपतिले प्रक्रिया शुरू गरिसक्नुभएको छ ।
अब पछाडि फर्किन मिल्दैन । अब नयाँ वैकल्पिक सरकार बन्ने पर्ने हुन्छ । अधिकतम्
राजनीतिक दलहरूको भावना के छ त्यसको आधारमा पनि अगाडि बढ्न सकिन्छ । ० सरकार गठनको कुरा त
प्रस्थान विन्दुमात्र हो । त्यसपछिको राष्ट्रिय अभिभारा चाहिँ के हो त ? राष्ट्रिय अभिभारा स्पष्ट
छ । शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन । शान्ति प्रक्रियालाई पूर्णतामा
पुराउनु र नयाँ संविधान जारी गर्नु नै अहिलेको राष्ट्रिय अभिभारा हो । अहिले पनि
शान्ति र संविधानलाई प्रमुख लक्ष्य बनाएर राजनीतिक दलहरू अगाडि बढनु पर्दछ । ० नेपालमा संविधान बनाउने
कार्य निकै जटिल जस्तो भयो । यसलाई सरल बनाउने कुनै तरिका छ कि ? तपाईले भनेजस्तो नेपालमा
संविधान बनाउने कुरा निकै जटिल कार्य भयो । विगतको अनुभवले पनि यही कुरा देखायो ।
संविधानका दुईवटा पाटाहरू हुृन्छन– राजनीतिक पाटो र
प्राविधिक पाटो । हिजोको दिनमा राजनीतिक पाटोलाई मात्र बढता महत्व दिएको कारण
संविधान बन्न सकेन । यो प्रक्रिया जटिल बन्यो । यसलाई सरल बनाउन प्राविधिक पक्षमा
पनि जोड दिनुपर्छ । यसले संविधान निर्माण कार्यलाई सरल बनाउन मद्दत गर्छ । संविधान
बनाउने भनेको संविधानसभाले नै हो । संविधानमा जनताका भावना प्रतिविम्वित हुनुपर्छ
। यो राम्रो पक्ष हो । तर, यो प्रक्रियालाई सजिलो
बनाउन एउटा विशेषज्ञ आयोग बनाउनु पर्दछ । जनताको भावना, वर्तमान राजनीतिक व्यवस्थाको मार्ग निर्देशन र समाजको
चाहानाअनुसार उक्त विशेषज्ञ आयोगले संविधानको प्रारूप तयार पार्छ । यसरी विशेषले
तयार पारेको संविधानको प्रारूप उपर संविधानसभामा छलफल गरी अन्तिम निर्णय लिन
सकिन्छ । संविधानसभाले उक्त खाकाको प्रत्येक घारामा छलफल गर्नुपर्छ । यसो गरियो
भने संविधान सरल तरिकाले बन्न सक्दछ । अबका दिनमा संविधान निर्माणका लागि यस्तो
तरिका अपनाउनु उपयुक्त हुन्छ । ० अन्त्यमा, नेपालका राजनीतिक सहमतिको वातावरण बन्न नसकिरहेको अहिलेको
अवस्थामा भारतीय नेता करण सिंह नेपाल आउनु भयो ? यसले केही सहज वातावरण निर्माण गर्ला त ? भारतीय नेता करण सिंह
नेपाल आउनुभयो । यहाँका राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्नुभयो । यो यथार्य हो
। तर, उहाँले नेपालका
नेताहरूसंग के कस्तो कुरा गर्नुभयो । त्यसको विस्तृत विवरण बाहिर आएको छैन ।
राजनीतिक दलहरूको कमजोरीको कारणले यस्तो भएको हो । हामीले पहिले आफ्नो घरलाई बलियो
रूपमा राख्न सक्नुपर्दछ । हामीले आफ्नो निर्णय आफैंले गर्नसक्ने क्षमता विकास
गर्नुपर्दछ । हामीहरूका बीच मतभेद भयो भने हाम्रोजस्तो भूराजनीतिक अवस्था भएको
देशमा विदेशीहरूले अवश्य खेल्छन । नेपालमा सहमतिको वातावरण वनाउन अरूले भूमिका
खेलिदेला भनेर राजनीतिक दलहरूले याचना गर्नुहुँदैन । यहाँको निर्णय आफैले गर्ने
तहमा विकास हुनुपर्छ । बाहिरको सहमति गराए सहमति हुने बाहिरकोले सहमति नगराइ नुहने
भन्ने कुरा गम्भीर कुरा हो । प्रस्तुतिः देवराज अर्याल
|
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||