| युगसम्बाद साप्ताहिक | ||||
|
मलाई डेकेन्द्रराज थापाको हत्या अनुसन्धानबाट हटाउन चाहिं नसक्लान - प्रहरी निरीक्षक विनोद शर्मा, Monday, 01.28.2013, 04:01pm (GMT5.5) ० सरकारले दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरेको छ । अब पत्रकार डेकेन्द थापा हत्या अनुसन्धान कहाँ पुग्ला ? पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान मलाई मेरो तत्कालीन कार्यालय प्रमुख शारदाप्रसाद चौधरीले दिनुभएपछि सुरु गरिएको हो । यसमा प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका सवालमा सरसल्लाह दिइरहनु हुन्थ्यो । एक्कासी उहाँहरूको सरुवा भएपछि अलिकति सरसल्लाह नपाइने भो, काममा सहयोग नहुने हो भन्ने त मलाई महसुस भएको छ तापनि म यो अनुसन्धानलाई अदालतमा बुझाउँछु । ० प्रधानमन्त्री स्वयंले नै यो प्रकरणलाई अगाडि बढाउन नदिने भनेर कडा रुपमा सार्वजनिक अभिव्यक्ति दिनुभएको छ भने तपाई जनतालाई न्याय दिनुपर्छ भनेर लागिरहनुभएको छ । यस्तोमा काम गर्न त साँच्चिकै कठिन होला नि हैन ? देशमा अहिलेसम्म पनि विधिको शासन छ भन्ने कुरालाई नेपाल प्रहरीले अंगिकार गरेको छ । हामीले कानुनको रक्षा गर्ने, पालन गर्ने र पालना गराउने हो । सर्वोच्च अदालतले अनुसन्धानलाई अगाडि बढाउनु भनी परमादेश दिइसकेपछि अरु कसले कहाँ के गर्नुभो, के भन्नुभयो, राजनीतिक कुरा के भनिरहनुभएको छ, उहाँहरूको धारणा के हो भन्ने बारेमा हामीले सोच्नुको कुनै मतलब नै छैन । हामी त सर्वोच्च अदालतको आदेश मान्छौं, विधिको शासन मान्छौं र जसलाई अन्याय परेको छ त्यसलाई न्याय दिलाउन लागिपर्छौं । ० पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान कहिलेसम्म टुंगिएला ? माघ ४ गते हामीले १२ दिनको म्याद थप गरेका थियौं । त्यो अनुसार १६ गते अन्तिम म्याद हो । यही बीचमा अनुसन्धानबाट खुलेका अन्य चार पाँच जना व्यक्तिहरू अन्य जिल्लामा लुकिछिपी बसेका छन् भन्ने हामीलाई जानकारी आएपछि हामीले तिनीहरूलाई पक्राउ गर्न प्रहरी खटाएका छौं । सम्बन्धित जिल्लालाई हामीले पौषको २१ गते नै यो यो मुद्दाका यी यी अभियुक्तहरू लुकेर बसेका छन्, पक्राउ गरी पठाइदिनु भनेर जानकारी गरे पनि उनीहरूले सो अनुसारको काम नगरेको हुनाले हामीले टोली पठाएका छौं । त्यसले पनि समय लागेको हो । अबब छिटै नै हामीले यो फयललाई अदालतमा बुझाउँछौं । ० दैलेखमा जाने नयाँ प्रजिअ लगायत प्रहरी नेतृत्वले यो प्रकरणलाई कसरी हेर्ला भन्ने यहाँको अपेक्षा छ । हेर्नुस, कुनै पनि घटनाको अनुसन्धान अधिकृत एउटा इन्स्पेक्टरलाई तोकेको हुन्छ र उसैको जिम्मामा हुन्छ । पहिले पनि धेरै कुराहरू आए, पत्रपत्रिकाहरूमा पनि धाक–धम्की, दवाव छ भन्ने कुराहरू आए तर यी कुरालाई मैले महसुस नै गरेको छैन । मलाई प्रत्यक्ष धम्की आएको छैन तर संचार माध्यमहरूमा मलाई दवाव आएको, धम्की आएको कुरा चाहिं सुनेको छु । अर्को कुरा मलाई कसैले धम्की दिन पनि सक्दैनन् किनभने धम्की भनेको कानुन विपरीत हो । कानुनले जे भन्छ त्यो गरेरै छाड्ने हो । होइन भने प्रहरीको जागीर खाएको मतलब नै रहेन । दाल भात खानकै लागि त अरु काम गरेको भए हुन्थ्यो, अरब, मलसिया गएको भए पनि भैहाल्थ्यो नि । प्रहरीको जागीर खाएपछि गर्नुपर्ने काम के हो त्यो चाहिं गर्नैपर्छ र त्यो म गरेरै छाड्छु भनेर म अहिलेसम्म एकचित्तले लागिरहेको छु । तर केही धम्की आएको हुनाले मेरो आफ्नै बालबच्चा चाहिं आफ्नो घरबाट अन्यत्र सारेको छु । यसबाहेक अरु केही छैन । ० प्रधानमन्त्री डा बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरू दैलेख गएका बेलामा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा संयन्त्रले राम्रो काम गर्न नसकेकै हो ? प्रधानमन्त्रीको कार्यक्रममा ढुंगामुढा हुनु अत्यन्तै निन्दनीय काम हो । लोकतन्त्रमा सत्तापक्षी र विपक्षी सबैले आआफ्नो आमसभा गर्न पाउनुपर्ने हो । समस्या के भयो भने– विपक्षी दल जो विरोधमा आइरहनुभएको थियो उहाँहरूलाई रोकिएको छ र पछाडिबाट सत्तापक्षका कार्यकर्ताले ढुंगा हान्ने काम भयो । त्यसबाट अलिकति उग्र रुप लिएको हो तर त्यसमा पनि प्रजिअज्यूले गोली चाहिं नचलाउनु भन्नुभएको थियो । हामीसंग अहिले एसएलआर हतियार छ, ठूलो क्षति हुन्छ त्यसैले गोली नचलाउनुस् भनेर धेरै पहिलेदेखि नै भन्नुभएको थियो । त्यो दिन पनि म ‘अपरेशन अफिसर’कै रुपमा कार्यरत थिएँ । ० केन्द्रबाट त प्रजिअलाई गोलीसम्म हान्ने आदेश आएको रहेछ । प्रमुख जिल्ला अधिकारीले केन्द्रको निर्देशन मान्नुपर्दैन ? फेरि प्रधानमन्त्रीले नै नागरिकमाथि गोली चला भनेपछि प्रजिअले त्यस्तो आदेश दिनुपर्यो नि हैन ? राजाका शासनका पालामा १९ दिने जनआन्दोलनमा गोली हान्नु भनेर हामीलाई पचासौंचोटि भनिएको थियो । गोली भटाभट हानिएका भए त्योबेला १२–१४ हजार मान्छे मर्थे । हामीले कसैको आदेशभन्दा पनि सबैभन्दा माथि जनता छन् भनेर हेर्नुपर्छ । जनताका लागि गर्ने भनेर जनआन्दोलनले गणतन्त्र ल्याएको हो गोली हान्न भनेर हैन । हामीसंग १०४ नाल एसएलआर थिए । बुधबारको दिन सिडिओ साबले गोली ठोक भनेर हामीले गोली ठोकेको भए कति मान्छे मर्थे तपाईं नै आँकलन गर्नुस् । साधारण लाठी चार्जले हुने काममा जनतालाई गोली हानेर, पचासौंजना मारेर अगाडि बढेको भए आज देशको के हुन्थ्यो ? ठिकै छ आज सिडिओ साब यहाँबाट जानुभो, डीएसपी साब जानुभो, मेरा दुईजना इन्स्पेक्टर साथी गए र म पनि जान्छु होला । यो कुनै ठूलो कुरा भएन । सरुवा भनेको नियमित प्रक्रिया हो । अहिलेसम्म १२ वर्षको बीचमा १५–२० ठाउँमा सरुवा भैसक्यो । ० तपाईंको निडरता, तपाईंले गर्न खोजेको काम र सरकारले देखाएको रबैयाले गर्दा तपाईंको घर परिवारले चाहिं कसरी लिएको छ ? २०६३।०६३ को आन्दोलनमा म प्रहरी सेवामा प्रवेश गरिसकेको थिएँ । जनआन्दोलनको बेला म मोरङमा ‘अपरेसन अफिसर’ थिए । तत्कालीन अवस्थामा झापा, सुनसरी लगायतका जिल्लामा मान्छे मरे तर मोरङमा साधारण लाठी चार्जको भरमा आन्दोलन सकिएको हो । त्यहाँका नेताहरूलाई सोधे हुन्छ । मेरो घरकै सदस्य जुलुशमा आइरहेका थिए तर म लाठी चार्ज गरिरहेको थिएँ । यसको मतलब यो हो कि प्रहरीले आफ्नो काम कुनै हालता पनि छोड्नु हुँदैन भनेर लागिपर्ने हो । पछिल्लो अवस्थामा चाहिं मेरा घरका मान्छे अत्यन्त चिन्तित छन् । उनीहरू ‘म राज्यको बिरुद्ध लागेको हो’ भन्ने सोचिरहेका छन् । म उनीहरूलाई सम्झाइरहेको छु । म राज्यको बिरुद्धमा होइन कानुनको शासन, विधिको शासन र देशमा न्याय मर्नु हुँदैन भन्ने पक्षमा लागेको हुँ र मैले जागीर त्यही कारणले खाएको हुँ त्यसकारण तिमीहरूले मलाई सहयोग गर्नुपर्छ भनिरहेको छु । ० दैलेखबासीको प्रतिक्रिया के छ ? तीन लाख दैलेखबासी मलाई सुरक्षा दिन, सहयोग गर्न तत्पर भएर लागेका छन् । उहाँहरू मलाई जे चाहिन्छ त्यही उपलब्ध गराउँछु भनिरहनुभएको छ । लगभग सबैको सहयोग छ । ० प्रहरीले काम गरेन, भ्रष्ट छ, सुशासन कायम गर्न सकेन भनेर कहिले काहीं प्रधानमन्त्री, मन्त्री समेत जंगिन्छन् तर काम गर्न खोज्दा यस्तो अप्ठ्यारो किन आएको होला ? प्रहरी भनेको कस्तो पेशा हो भने घरका बालबच्चा र परिवारले पनि राम्रो भन्दैनन् । बाहिर गयो जनताले पनि राम्रो भन्दैनन् । डेकेन्द्रराज थापाको हत्या अनुसन्धान गरिराखेको थिए सबै जनता विनोद शर्मा विनोद शर्मा भनिराखेका थिए । बुधबारको विरोध प्रदर्शनका क्रममा लाठी चार्ज भो । त्यतिबेला मेरै अफिस अगाडि आएर ‘यो पुलिसलाई कार्वाही गर्नुपर्छ, यसलाई छोड्नु हुँदैन’ भन्दै कराए । यसैले हामीहरूलाई सधैं राम्रो भन्ने कोही पनि हुँदैन । जनता मात्र होइन, स्वयं पनि आफूभन्दा तल्लो दर्जाकालाई ‘ए तैले गरिनस्, यो भएन, त्यो भएन’ भनेर कराइरहन्छु । यो सब राम्रो होस्, नविग्रियोस् भन्नका लागि हो । त्यसैले मान्छेले आफ्नो अगाडि जे परेको छ त्यही अनुसारको व्यवहार गर्दछन् । अहिले दैलेखबासीले डेकेन्द्रराज थापाको अनुसन्धान गरिरहेको बेला प्रहरीलाई अत्यन्त राम्रो भनिरहेको छन् भने त्यही प्रहरीलाई अर्को जिल्लामा नराम्रो भनिराखेको होला । समग्रमा कुरा के हो भने ‘पर परमा पहरा दिने’ नै प्रहरी हो । लगभग ६१ हजार दरबन्दी रहेको नेपाल प्रहरीमा ४० हजार जनाले फिल्डमा काम गर्नुपर्छ र बाँकी साथीहरू पनि यसैको पछिपछि लागिरहनुभएको छ । समग्रमा राम्रो नराम्रो सबै ठाउँमा हुन्छ । नेपाल प्रहरी विश्वमा धेरै उत्कृष्ट प्रहरी हो । हामी मिसनमा जाँदा पनि अरु देशका प्रहरीभन्दा नेपाल प्रहरी अत्यन्तै राम्रो काम गर्ने, अनुशासनमा बस्ने र इमान्दार भएर काम गर्ने देखिएको छ । त्यसैले मान्छेले के भन्छन्, कसो भन्छन् भन्दा पनि आफू राम्रो बन्नुपर्ने हुन्छ । ० एउटा अनुमान गरौं– अनुसन्धान प्रक्रियाबाट विनोद शर्मालाई हटाइयो भने के हुन्छ ? प्रहरी निरीक्षक विनोद शर्मालाई डेकेन्द्रराज थापाको हत्या अनुसन्धानबाट हटाउन चाहिं नसक्लान तर यो मुद्दा बुझाइसकेपछि मलाई हुने के के हो र ममाथि पर्ने वज्रपात के कस्तो हुने हो त्यो चाहिं थाहा छैन । यो चुनौतिको सामना गर्नुपर्छ भन्नेमा म शतप्रतिशत विश्वस्त छु । माघ १७ गतेपछि के हुने हो भन्ने पूर्व अनुमान मलाई सपनामा आइरहेको छ । ० यस्तो अवस्थामा आइपुग्दा तपाईंलाई कस्तो महसुस हुन्छ ? कहिले काहीं त किन प्रहरी सेवामा प्रवेश गरिएछ भन्ने लाग्छ तर कुनै बेला यसरी उत्कृष्ट काम गर्न पाएकोमा गर्व लाग्छ । मैले प्रहरीको जागीर खाएको १२ वर्ष भयो । यो १२ वर्षको अवधिमा मैले आफूलाई सन्तुष्टि मिल्ने खालका १०–१५ वटा कामहरू सम्पन्न गरेको छु । ती सबै सम्झेर ल्याउँदा बडा रमाइलो लाग्छ । ० तपाईंलाई डेकेन्द्रराज थापाको हत्या अनुसन्धान दिनुको कारण तपाईको विगतको कार्य क्षमता पनि हो भन्ने संचार माध्यममा आएका छन् । हामीलाई तपाईले सम्पन्न गर्नुभएको जटिल किसिमका एक दुईवटा कामहरू सुनाइदिनुस न ? जनआन्दोलन २०६२।०६३ पछि म पोखरा सरुवा भएर गएको थिएँ । त्यहाँ बट्टु घिमिरे भन्ने व्यक्तिलाई दिउँसो ११ बजे नदीपुरमा घाटी काटेर हत्या गरिएको थियो । म त्यतिबेला भुजुङ खोला जलविद्युत आयोजनामा समस्या आयो भनेर त्यहाँ गएको थिएँ । म फर्केर आएपछि त्यहाँका स्थानीय जनताले वडा प्रहरी कार्यालयमा आएर घेरेर ‘यो इन्स्पेक्टरका कारणले गर्दा यो मान्छे मरेको हो यसलाई कार्वाही हुनुपर्छ’ भन्न थालेपछि म कार्यालय अगाडि ड्रममा उभिएर ‘१० दिनभित्र हत्याराहरूलाई पक्राउ गरेर ल्याइन भने मलाई जस्तोसुकै कार्वाही गर्नुहुन्छ गर्नुस्’ भनेपछि उहाँहरूले मान्नुभयो । मैले घटना घटेको सातौं दिनमा काठमाडौं, ललितपुर र पूर्व धरानबाट त्यस हत्यामा संलग्न भएका पाँच जना अभियुक्तहरूलाई हिंडाउँदै जिल्ला प्रहरी कार्यालयमा लगेपछि दशौं हजार जनता आएर मलाई वडा प्रहरी कार्यालयमै राख्नुपर्छ भनेर मलाई त्यहाँ पुनःस्थापित गरे । त्यस्तै पश्चिम बंगालका तत्कालीन गृह राज्यमन्त्रीका छोरा तारिफ उस्मानी भन्ने मेडिकल कलेजमा पढ्दै थिए, उनलाई अपहरण गरेर चितवन पु¥याइएछ । अपहरणकर्ताले उस्मानीलाई होइन अर्कैलाई अपहरण गर्न खोजेका रहेछन् । त्यसपछि छोडौं पनि नहुने र नछोडु पश्चिम बंगालका नेताको छोरा । अपहरणकर्ताहरू यस्तै अलमला परेका बेला मैले १० दिनपछि चितवनबाट अपहरणमुक्त गराएर ल्याए । त्यसपछि मेरो धनकुटा सरुवा भयो । त्यतिबेला नेकपा माओवादीका जिल्ला सदस्यलाई चुनवाङ भन्ने ठाउँमा तीन वर्ष अघि मारेर फालेका थिए । मैले सो हत्याका अभियुक्तिहरूलाई साँढे तीन वर्षपछि पक्राउ गरेर पुर्पक्षका लागि थुनामा राखें । अर्को एकजना तत्कालीन राज्यमन्त्रीको छोरा कि भाइ पर्नेमाथि लागेको हत्या अभियोगको अनुसन्धान गर्ने क्रममा मेरो सरुवा भयो । सुरुको मुद्दामा सबैले स्याबासी र धन्यवाद दिए, पत्रपत्रिकामा चार पाँच दिनसम्म शुभकामना समेत दिइयो । त्यस लगत्तै अर्को अनुसन्धान थालेपछि सरुवा भयो । त्यस्तै नेपालगञ्जमा मेरो कार्यकाल राम्रो रह्यो । त्यहाँ दुई तीन चोटी नै मलाई नागरिक सम्मान गरियो । नेपालगञ्जमा प्रकाश शाह भन्नेको घरमा राति डाँका लागिराखेको बेलामा गएर डाँकाहरूलाई पक्रेर ल्याएको थिएँ । ० दैलेखबाट पत्रकार विस्थापित भएको अवस्था छ । त्यहाँको अहिलेको स्थिति कस्तो छ ? पहिले यहाँ डीएसपी साब हुनुहुन्थ्यो, अहिले एसी साबलाई पठाइएको छ । यसले त शान्ति सुरक्षा स्थिति त सुध्रिनैपर्ने हो । हामी लागिपरेकै छौं । पत्रकार मित्रहरू राति नै हिंडुनुभो भन्ने जानकारी आएपछि हामीले जिल्लाको माथिल्लो डुंगेश्वर, रानिमत्ता चौकीलाई के छ स्थिति भन्ने जानकारी लिन खोजेको थिएँ तर उहाँहरू गैसक्नुभएछ । पत्रकार मित्रहरूले कसले कहाँबाट कस्तो खालको धम्की दियो भन्ने हामीहरूलाई जानकारी दिनुभएन । उहाँहरूलाई के डर पसेर हो हिंड्नुभो । उहाँहरूले भन्नुभएको भए हामी शान्ति सुरक्षा मिलाउँथ्यौं । यो त पुस २१ गतेदेखि हुँदैआएको हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||