युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद
Wednesday, 07.24.2013, 12:39pm (GMT+5.5)

ऐतिहासिक संविधानसभामा समानुपातिकका तर्फबाट सभासद बनेकाहरू कति बदनाम भए, कति गुमनाम भए । दलका नेताहरूले जस्तालाई पनि सभासद बनाए भनेर आलोचना पनि भयो । हुन पनि हस्ताक्षर समेत गर्न नसक्ने सभासद पनि संविधानसभा छिरे । त्यस्तैमा एक पर्नुभयो शान्ता चौधरी । कमलरी जीवन बिताएर कमलरी मुक्तिको अभियानमा होमिनुभएकी अधिकारकर्मी शान्ता चौधरीले अशिक्षित हुनुको पीडा भुल्दै सभासद भैसकेपछि कखरा सिकेर अहिले पुस्तक लेखिका बन्न सफल हुनुभएको छ । चौधरीको यो उपलब्धि जति अपत्यारिलो छ त्यति नै कष्टकर छ उहाँको विगत । संविधानसभा सदस्य हुँदा पनि आफ्ना अडानका कारण चर्चामा आउनुभएकी चौधरी यतिबेला झण्डै तीन दशक समय भोगेको कमलरी जीवनलाई “कमलरीदेखि सभासदसम्म” पुस्तक लेखेर वास्तविकता उजागर गरिदिनुभएको छ । पिछडिएको वर्ग, आदिवासी जनजाति मार्फत पहिलो संविधानसभाको सभासद बन्न सफल शान्ता चौधरी अग्रगामी सोंच राख्ने एक सफल महिलाका रुपमा स्थापित भैसक्नुभएको छ । कमलरी बस्दा जमिन्दारको शोषण, समस्या, कमलरी मुक्ति आन्दोलन, भूमिहीनहरूको अधिकारका लागि अहोरात्र लागि पर्नुभएकी पूर्व सभासद चौधरीसंगको कुराकानी यहाँ प्रस्तुत छ :

० तपाईंले जुन उपलब्धि हाँसिल गर्नुभयो यसका लागि यहाँको प्रेरणाको स्रोत के हो ?
जतिबेला सभासद भएर संविधानसभा भवनमा प्रवेश गरे, आफैंलाई आमाबाबु नभएको टुहुरो छोराछोरी जस्तो महशुस गर्थे । आज एउटा लुगा लगायो भोलिपल्ट फेर्ने लुगा हुन्थेन । सबैलाई पुलिसले स्यालुट गथ्र्यो । मलाई खानतलासी गथ्र्यो । मसंग धेरै सभासद हिड्न लजाउथे । बसेर चिया खान लजाउँथे । यस्ता पनि हुन्छन् सभासद ! अनि मिडियाले चुरा बेच्ने, भाडा माझ्ने, नोकर बस्ने पनि सभासद भनेर नलेख्ला ? मलाई औलो ठड्याएर देखाउँथे । प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा कतिपय सभासदहरूले औलाछाप सभापतिकोमा बस्दैनौं भनेर समिति छाडेर अर्को समितिमा प्रवेश गर्नुभयो ।  म गरीब भएकैले, नपढेकै कारणले हेपेको होला ? तर, गरीब भएर के भो त उनीहरूको जत्तिकै बोल्न सके भइहाल्यो नि ! भन्ने लाग्थ्यो । यिनीहरूका अगाडि पढ्नसक्ने हुन पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । 

मलाई पहिलेदेखि नै असाध्यै धेरै पढ्न मन लाग्थ्यो । जमिन्दारका छोराछोरी झोला बोकेर स्कुल जान्थे मलाई भित्रैदेखि रुन मन लाग्थ्यो । मलाई जन्म दिने भगवान र उनीहरूलाई जन्म दिने भगवान नै फरक हो कि भन्ने लाग्थ्यो । सभासद बनेर आउदा मलाई शान्ता लेख्न पाँच मिनेट लाग्थ्यो । नेतृ शान्ता अधिकारीले राष्ट्रपतिको चुनावमा हात समाएर सही गर्न लगाउनु भएको थियो । यसको प्रेरणाको स्रोत मेरो आफ्नो पीडा नै हो अनि अरुको व्यवहार पनि । यिनै दुईटा कुराको इख, जसले मलाई पढ्न लेख्न सिकायो । त्यस्तो अवस्थाबाट आएर, चार वर्षको अवधिमा किताव लेख्न सक्ने भएकी छु । 

० कमलरी मुक्त घोषणा भएको दिन बिहिवार तपाईंको आत्मकथा  “कमलरीदेखि सभासदसम्म” सार्वजनिक गर्नुभएको छ । आम पाठकले यो पुस्तक किन पढ्ने ? 
विद्यालयको अनुहार नदेखेकी मैले यो किताब लेख्नु त्यति सहज थिएन । मेरो बाल्यकालदेखि अहिलेसम्मको आधा जीवन कमलरी भएरै बित्यो । कमलरी हुँदादेखि आफूले अनूभूत गरेका पीडाहरूलाई आम जनतासमक्ष ल्याउने मेरो चाहना थियो । अहिले त्यो पूरा भएको छ । गरिबीको चपेटामा परेका, चरम गरिबीको पीडाबाट गुज्रेका, खाली बाँच्नका लागि दासी जीवन बिताएका हजारौंका लागि संघर्ष, अधिकार प्राप्तिको संघर्षका प्रेरणा दिन पनि यो पुस्तक प्रकाशन गरेको हुँ । 
मेरो पुस्तक मुलुकका कमजोर, असहाय, पीडित समुदायका महिला–पुरुषले पढ्न लायक पुस्तक हो भन्ने लाग्छ ।  जसलाई मेरो व्यक्तिगत जीवनमा भोगेका गरीब हँदाको पीडा, महिला हुँदाको पीडा, गरिीबका छोराछोरीमा बालअधिकारका कुरा गर्दा ती बालबालिकाको पीडा, जातीय, आदिवासी, जनजाति थारु हुँदाको पीडा मैले लेखेकी हुँ । मानिसले अवसर पाए जे पनि गर्न सक्दो रहेछ । यतिबेला अवसरको खाँचो छ, अवसरको आवश्यकता छ भन्ने कुरालाई दर्शाउन पनि यो पुस्तक लेख्न बाध्य भए । 

० यो पुस्तक पढेर कस्तो प्रेरणा पाउँन सक्छन् आम मानिसले ?
जमिन्दारकोमा बस्दा एक अक्षर नचिनेकी मैले समाजसेवा गर्ने मनसायले कार्यक्रममा पहिलो चोटी जाँदा मलाई परिचय भन्ने पनि थाहा थिएन । म प्रेमप्रकाश देवकोटा भनेको सुनेर मैले त्यही भनेकी थिए । सबै हाँसे, त्यसबेला मलाई लाज भयो । त्यस्तो अवस्थाबाट सामाजिक क्षेत्रमा हात हाल्न पुगेको मान्छे । म आठ वर्षमा कमलरी बस्दाको पीडा, जमिन्दारको औंलामा सानो ठेस लाग्दा पनि हस्पिटल जान्थे । तर, हाम्रा काँध खोसिदा, शरीरका छाला जाँदासम्म सिटामोलको गोली खान पनि पाइदैन थियो । म आफंै त त्यो पुस्तकलाई राम्रो भन्दिन  तर, त्यो किताब पढेर मानवीय सम्वेदना भएको जो कोही मान्छे नरुने सायद होलान् । लेख्दा म पनि धेरै रोएकी छु । यसले जो केही गर्न चाहन्छन् त्यस्तालाई एक खालको उर्जा दिन्छ भन्ने लाग्छ । केही गर्न चाहनेलाई प्रेरणाको स्रोत बन्छ भन्ने लाग्छ । 

० यहाँको जीवन गाथा सुन्दा जो कोहीका लागि प्रेरणा र जिज्ञासा दुवै उत्पन्न हुन्छ । यहाँ आफैंलाई आफ्नो जीवनको अविष्मरणीय क्षण के हो भन्ने लाग्छ ?
म नौं दिनको सुत्केरी हुँदा मेरो घरमा आगो लगाइयो । पाँच दिनसम्म पानी मात्र खाएर बाँचे । नौं दिनको सुत्केरीले पानीमात्र खाएर बस्दा खेरी मेरो दूध आउन छाड्यो । २० दिनमा मेरो बच्चा मरेको छ । पहिलो पीडा चाहिं आमाले मलाई आठ वर्षको उमेरमा जमिन्दारको घरमा जिम्मा लगाउँदाको हो । जो अहिले  भर्खर जस्तो लाग्छ । 

० कमलरी भएर बस्दाका क्षणहरू केही सम्झनु हुन्छ ?  
मेरो बाल्यकाल, किशोरी अवस्था र विवाह गरिसकेपछि छोराछोरी जन्मिसक्दासम्म मेरो जीवन जमिन्दारको घरमा बित्यो । हजुरआमा, आमा, हामी छ दिदीबहिनी सबै कमलरी बस्यौं । मेरो हजुर बुबा, बुवा, जम्मा एउटा दाजु पनि कमैया हौं । दासी जीवन त्यति सहज थियो तपाईहरूलाई भन्नै पर्दैन । कमलरी भनेको नदेखिने रुपमा एउटा बेचिएकी चेली हो । मालिकले अह्राएको काम मान्नु भन्दा अरु विकल्प थिएन । सानो उमेरमा आफूभन्दा ठूला बच्चा खेलिरहेका हुन्थे आफू चार बजे उठेर काम गर्नुपर्ने हुन्थ्यो । आफ्नो क्षमताभन्दा बढी भारी बोक्नु पर्ने हुन्थ्यो । सबै काम सकि–नसकि गर्नुपर्ने, सानो गल्ती हुँदा पनि धेरै पिटाई खानु पर्दथ्यो । बिरामी हुँदा आमाको सारै याद आउँथ्यो । यति धेरै भोक लाग्थ्यो– भोक लागेको बेला पेटभरी खान र जीउ ढाक्ने कपडा पनि लाउन पाइदैन थियो । आफ्नै जीवनप्रति धिक्कार्न मन लाग्थ्यो । पीडा सहनभन्दा म मरे पनि हुन्छ भन्ने लाग्थ्यो । वर्षको ज्याला सात सय रुपैयाँ थियो । त्यो पनि गिलास फुटाए बापत, कचौरा हराएमा काटिदिने, घैटो फुटाउँदा काटिदिने गरेर वर्षभरिका लागि तोकिएको न्यूनतम पारिश्रमिक पनि पाइँदैनथ्यो । वर्षभरि गरेको कामको फल अन्त्यमा हातलाग्यो शून्य हुन्थ्यो ।

० कमलरी आन्दोलन कहाँसम्म पुग्यो ?
दाङकी कमलरी काठमाडौंमा जलेर रहस्यमय ढंगले मृत्यु भएपछि भर्खरै निरन्तर डेढ महिना आन्दोलन गयो । प्रहरीको दमनबाट केही साथीलाई गम्भिर चोट समेत लागेको छ । यद्यपि हाम्रो वर्षौंदेखिको माग सम्बोधन गर्दै सरकारले बिहिबार   कमलरी मुक्त घोषणा गर्यो । कमलरी मुक्त संघर्ष समितिद्वारा उठाइएका मागहरूमा कमलरीलाई मुक्त घोषणा, पुनःस्थापनाका लागि पहल, बेपत्ता पारिएका तथा कुमारी आमाका दोषीलाई कारवाही गर्न, परिचयपत्र वितरण कार्यक्रम, पुनःस्थापना सहितको कमलरीलाई मुक्त गरिनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका थियौं । केही पूरा भएका छन् भने केही गराउनका लागि राज्यलाई दबाब दिदैं आइरहने छौ ।      

० यहाँले माथि एक ठाउँमा कमैयाको प्रसंग उठाउनुभएको थियो । सरकारले कमैया मुक्तिको घोषणा गरेको त १२ वर्ष बितिसक्यो । कमैया र कमलरीबीच के भिन्नता छ ?
कमैया पुरुष हो । कमलरी महिला हो । कमलरीले घरभित्रको काम गर्छन् भने कमैयाले घरबाहिरको गर्छन् । प्रकृतिले महिलालाई ठगेको छ । कमैया बलात्कृत त भएको छैन नि । कमैयालाई श्रम शोषण भयो, कमलरीलाई शारीरिक शोषण बढी भयो । २०५७ सालमा कमैया मुक्ति घोषणा भयो । भर्खरै कमलरी मुक्त घोषणा भयो ।  

० मुक्त घोषणा भएपछि कमलरीले के राहत पाउँछन् त ?
कमैयाको जस्तो हालत कमलरीको नहोस् । राज्यले प्याकेज सहित, कमलरीको पुनःस्र्थापनाको कस्तो प्याकेज ल्याउँदा उनीहरू सुरक्षित हुन सक्छन् त्यो काम गर्नुपर्छ । कमलरीको जीवन सहज बनाउने र उनीहरूको शैक्षिक–आर्थिक विकास गर्नका लागि राज्य नै पहिले अग्रसर हुनुपर्छ । केवल घोषणा मात्र गरेर केही हुँदैन । भविष्यमा कोही पनि कमलरी बस्न बाध्य नहोउन् भन्नेतिर चनाखो भएर सोही अनुसारको रणनीति बनाउनुपर्छ । यो क्षेत्रमा लामो समय काम गरेकाले सरकारले हामीसंग सरसल्लाह लिएर काम गरे त्यति गाह्रो छैन । पुनःस्थापना गर्न, परिचयपत्र वितरण गर्न हामीले सरकारसंग छलफल गर्ने क्रममै छौं । कमलरीले सांसद मन्त्री बनाइदेउ भनेका छैनन् । जहाँ बसेका छन् त्यहाँ पेटभरि खान पाउनु र सुरक्षितसाथ बस्न पाउनु भनेर माग गरिरहेका छन् । 

० सरकारले कमलरी मुक्तिको घोषणा त गर्यो तर अब उनीहरूको जीवनयापनको विकल्प के हुन्छ ?
वर्षौदेखिको जरा गाडेर बसेको कमलरी प्रथा मुक्त भएको छ । पहिले त मुक्त हुनु नै मुख्य कुरा हो । तर, मुक्त गरिनु आफैमा सम्पूर्ण होइन । राज्यले कमलरी प्रथा औपचारिक रुपमा मुक्त गरेको छ । मुक्त संगसंगै पुनःस्थापना प्याकेज ल्याउनुपर्छ भनेका छौं । १३ वर्ष अघि कमैयालाई मुक्त गर्यो तर राज्यले उनीहरूको सुरक्षाका लागि कुनै पुनःस्थापना गर्न सकेको छैन । यस्तै अवस्थामा कमलरीलाई रहन दिदैनौ । माग पूरा नभएसम्म हामी आन्दोलन गरिरहन्छौं ।    

० कमलरी भने पनि घरेलु श्रमिकै रुपमा लिएर शिक्षा, स्वास्थ्य जस्ता आवश्यक कुराको व्यवस्था गरे त बेरोजगारीको समस्या कम हुन्थ्यो भन्नेतिर सोच्नुभएको छैन ?
सीपमूलक, जनचेतना जगाउने जस्ता कार्यक्रम ल्याएर डलर खेती गर्नेहरूलाई कमलरी भजाउने नाम भएको छ । त्यसैले कमलरी शब्द नै नभएको बेस, यो प्रथा कायम नरहेकै राम्रो । कमलरी जस्तै देउकी, झूमा प्रथा पनि गरिबीसंग जोडिएकाले सबभन्दा पहिला गरीबी उन्मूलन नै मुख्य कुरा हो । 

० सभासद भएपछि कमलरीका बारेमा के गर्नुभयो ?
म सभासद भएपछि कमलरीका लागि बजेट छुट्याइएको छ । कमलरी मुक्त घोषणा भएको छ । म प्रमाण दिन त सक्दिन तर कमलरी मुक्तिका लागि आवाज उठाउनेमा पहिलोमा मै पर्छु  भन्ने मलाई लाग्छ । सभासद एउटा व्यक्तिसंग जोडिएको कुरा हो । म परिवर्तन भए तर, सिंगो समुदाय परिवर्तन हुन सकेन जसले मलाई आधा खुशी आधा दुःखी तुल्याइरहेको छ । सभासद भएर मैले जिम्मेवारी पुरा गरे की गरिन भन्ने मलाई लागिरहन्छ । 
हरेक समस्याको समाधान राजनीति रहेछ तर हामी अरुको भर पयो अरुका लागि लड्यौं तर, आफ्नो अधिकार लिन हामी अघि सरेनौं । त्यसैले अलिकति समय निकालेर भए पनि राजनीति गर्न म सबैलाई भन्दै आइरहेकी छु । जसले हाम्रा समस्यमालाई राज्यको नीति निर्माण तहमा पुयोउन मद्दत गर्छ भन्ने मलाई लाग्छ ।  

० यहाँसम्म आइपुग्न तपाईलाई कसको साथ र सहयोग छ ? 
विशेष गरी मलाई यहाँसम्म पुयोउने मेरो पीडा हो । त्यसपछि मलाई सभासद बनाउने नेकपा एमाले नै हो । भूमि अधिकारबाट बञ्चितहरूको राष्ट्रिय भूमि अधिकार मञ्च पनि हो । जहाँ म मेरो जन्मस्थान दाङमा दुई कार्यकाल अध्यक्ष भएर काम गरें । अहिले पनि केन्द्रीय उपाध्यक्ष भएर काम गर्दैछु । जसबाट मलाई यहाँसम्म आइपुग्ने आधार तयार भयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल यतिखेर हाम्रो मात्र नियन्त्रणमा छ जस्तो मलाई लाग्दैन - डा. नारायण खड्का, नेता नेपाली कांग् (07.09.2013)
निर्वाचनमा भाग लिनुको अर्थ राष्ट्रिय स्वाधीनता समाप्त पार्ने कामलाई स्वीकृति दिनु हो - सीपी गजु (07.05.2013)
सर्वदलीय सहमति बनाएर निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्छ - मणि थापा, महासचिव क्रान्तिकारी कम् (06.26.2013)
नेपाल र भारत गृह सचिवस्तरीय बैठक औपचारिक मात्र बन्दैछ - बुद्धिनारायण श्रेष्ठ, सीमाविद (06.12.2013)
अहिले जे भैरहेको छ विदेशी शक्तिको योजना मुताविक भैरहेछ - भरत दाहाल, राजनीतिक विश्लेषक (06.05.2013)
मुलुकलाई सही मार्गमा ल्याउन आन्दोलन - हरिकृष्ण कार्की, अध्यक्ष नेपाल बार (05.28.2013)
६०१ को आवश्यकता नै छैन - अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस (05.21.2013)
नेपाली जनतालाई संविधान र समृद्धिको मृगतृष्णामा फसाइएको छ - किशोर कुमार विश्वास (05.14.2013)
भारत जस्तो छिमेकी भएपछि हामीलाई शत्रु खोज्नै पर्दैन - सीपी मैनाली, महासचिव नेकपा माले (05.07.2013)
देशको शासन–प्रशासन हेर्ने मेरो काम होइन – राष्ट्रपति डा. रामवरण यादव (04.29.2013)
सरकार स्वतन्त्र हो कि चार दलको छायाँ हो स्पष्ट हुनुपर्छ - शरदसिं भण्डारी– अध्यक्ष राष्ट्रिय मधे (04.29.2013)
विदेशी शक्तिले चाहेजस्तो संविधान बन्ने ग्यारेन्टी नहुँदासम्म चुनाव हुँदैन - नारायणमान विजुक् (04.22.2013)
महासमितिपछि नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको छ – विमलेन्द्र निधि, नेपाली कांग्रेस (04.16.2013)
यो निर्वाचनले मुलुक भड्खालोमा जान्छ - सीपी गजुरेल– उपाध्यक्ष नेकपा–माओवादी (04.01.2013)
सरकारका बारेमा उठिरहेको संवैधानिक प्रश्नहरूको यथोचित जवाफ नदिंदा विश्वासको वातावरण बन्दैन - श (03.25.2013)
प्रधान न्यायाधीश नेतृत्वको सरकार हानीकारकमध्ये कम हानिकारक विकल्प हो - डा. नारायण खड्का (03.18.2013)
"कमसेकम एउटा विषयमा त सहमति भयो नि भनेर खुसी हुनुपर्छ " - डा. रामशरण महत, केन्द्रीय सदस्य, नेपाली (03.11.2013)
प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन भए धेरै अनिष्ट निम्तिन्छ - सीपी मैनाली (03.04.2013)
लोकतन्त्रको बिरुद्ध उभिने विलाएर जान्छन् : कोइराला (02.11.2013)
जनतामा भएको सार्वभौमसत्ता पार्टीलाई दिएपछि यस्तो समस्या उत्पन्न भएको हो - सूर्यप्रसाद श्रेष्ठ (02.04.2013)



 
::| Latest News

 
[Page Top]