युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
सोमेश्वर गढीमा देखिएको दृश्य - अनिल शर्मा
Tuesday, 08.06.2013, 07:57am (GMT+5.5)

चितवनको दक्षिण सिमाना चुरे पर्वत शृङ्खलाको सोमेश्वर पर्वत खण्ड हो । सोमेश्वर पर्वत खण्डको दक्षिण पानीढलोमा भारतको विहार प्रदेश पर्दछ । सोमेश्वर पर्वतको उत्तरमा बघौडा र गर्दी गाविस पर्दछन् । दक्षिणतिर भारतको विहार प्रान्त अन्र्तगत पूर्वी चम्पारण जिल्लाको गोवर्धनवा गाउँ पर्दछ । जहाँ थारु, बोटे, दराई, लगायतका आदिवासीहरुको बसोबास छ । यी गाउँहरु द्योन क्षेत्र अन्तर्गत पर्दछन् । २०६२ सालपछि गोवर्धनवा गाउँको शिर सोमेश्वर पर्वतको दक्षिण पानीढलोमा दशगजाभन्दा पाँचसय मिटरभन्दा कम दूरीमा भारतीय सीमा सुरक्षा बल बसेपछि सो क्षेत्रमा भारतीय अतिक्रमण बढेर गएको छ । 

धेरै समय अघिदेखि सो अतिक्रमित भूमिमा जाने, केही न केही पहलकदमी लिने कर्तव्यबोध भैरहेको थियो । अझ नेपाली भूमिमा भारतीय पक्षले भौतिक संरचना बनाउन थालेको खबरले त उद्वेलन र आक्रोशको सीमा नाघ्दै थियो । देश भक्त भनिएका दलहरुले राष्ट्रियताका विषयमा बोलिरहेका हुन्छन् । तर भारतीय विस्तारवाद निर्णायक ढङ्गले प्रभावित हुने स्तरका कार्यक्रम भने कसैले बनाउँदैनन् । भारतले संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि नेपालले लिनु पर्दैन भन्ने विश्वेश्वरप्रसाद कोइराला, नेपालको रक्षा मामिला भारतले हुर्नुपर्छ भनी विन्ति भाउ गर्ने राजा त्रिभुवन, कालापानी भारतलाई दिएर पञ्चायती व्यवस्था टिकाउने राजा महेन्द्र, महाकाली सन्धि भयो भने सूर्य पश्चिमबाट उदाए झैं नेपालको आश्चर्यजन विकास हुन्छ भन्ने नेकपा (एमाले) हुँदै सुरुङ युद्धको घोषणा गरेर प्राणको भिक्षाटन माग्ने प्रचण्ड–बाबुराम प्रवृत्ति नेपालको राजनीतिमा सुगौली सन्धिपछि यथावत छ । 

जेठ १६ गते घननाथ सापकोटा ‘विकास’ सहित हामी १९ जना अतिक्रमित नेपाली भूमि सोमेश्वर गढीतिर लागेका थियौं । बघौडा गाउँमा विहान ८ बजे खाजा खाँदै गर्दा अम्बिका मुडभरी ‘अञ्जना’ ले फोनमा “भारतीयहरुका विरुद्ध एक्लै झडपमा नजाने हो कि ! तपाईमाथि यतिधेरै प्रहार भएको छ । घटना भयो भने तपाईमाथि नै सबै दोष जान्छ । त्यसैले अवलोकन मात्रै गरेर फर्किने होकि ? सीमा अतिक्रमण तपाईको मात्रै चिन्ताको विषय होइन त्यति धेरै जोखिम किन मोल्ने ?” भन्नुभयो । भारतीय अतिक्रमणकारीहरुसंग झडप भएर दुर्घटना होला कि भनेर अम्बिका त्रसित, चिन्तित हुनुहुन्थ्यो । स्ववियू निर्वाचनको चटारोका कारण हामीले माडीतिरका साथीहरु मात्रै लिएर जाने योजना बनाएका थियौं । हामीले साथमा हाम्रो भूमिमा निर्माण गरेका भारतीय भौतिक संरचना नष्ट गर्नका लागि खुर्पा, खुकुरी, हथौडा, घन लगायतका घरेलु साधन बोकेका थियौं । हाम्रो भूमिमा भारतीयहरु हर्कत गर्दैको अवस्थामा भेटिएमा लखेट्ने योजना समेत बनाएर अघि बढेका थियौं । संस्थागत पहलका लागि प्रयासहरु भैरहेका थिए । त्यो प्रभावकारी भएको थिएन । मलाई लाग्थ्यो “देशको माटोमाथि पराइले लुटपाट गर्दा एउटा देशभक्त नागरिक पार्टीको आदेश हेरेर चुपचाप बस्न सक्दैन । देशभन्दा पार्टी ठूलो हुन सक्दैन ।” चितवनका माटोमा जन्मे–हुर्केका कारण पनि मलाई भावनात्मक रुपमा सोमेश्वर गढीको अतिक्रमणले पीडानुभूति भैरहेको थियो । त्यसबेला मैले क. विप्लवको “सूर्य पूर्वबाट उदाउँछ भन्न पार्टीको परिपत्र हेरिरहनु पर्दैन” भन्ने भनाई सम्झिरहेको थिएँ । काम गर्नु अगाडि हल्ला नहोस भन्ने हामी चाहन्थ्यौं । त्यसकारण टोली बाहिर अम्बिका बाहेक अरुलाई भनिएको थिएन । तर टोलीबाटै विस्तारै हल्ला हुँदै गएको थियो । अतिक्रमणकारीसम्म सूचना नपुगोस् भन्ने हाम्रो सोच थियो । विहान ९ बजे घरघरेको सामुदायिक बनबाट हामी दक्षिणतिर जंगलको गोरेटो बाटो हुँदै उकालो लागेका थियौं । 

छर्छरे गाउँदेखि दक्षिण मितेरी कुञ्जमा नेपाली सीमा सुरक्षा बल राख्नका लागि सामुदायिक वन, मध्यवर्ती वन, गाविस सर्वदलीय बैठक सहित सर्वपक्षीय भेलाले सिफारिस गरेको थियो । भारतीय सीमा सुरक्षा चौकी दशजगाबाट पाँच सय मिटरभन्दा कम दूरी र सामरिक दृष्टिले प्रतिकुल भूगोलमा बसेको छ । तर नेपाली सीमा सुरक्षा चौकी ५० कि.मी. भन्दा पर भरतपुर, आँपटारीमा बसेको छ । भारतीय सीमा सुरक्षा बलले प्रत्येक दिन सिमानाको निगरानी गर्छ । चितवन जिल्लामा कार्यालय स्थापना गरेको नेपालको सीमा सुरक्षा बल दुई वर्ष पुगिसक्दा पनि एक पटकसम्म पनि सिमानामा पुग्दैन । 

जरायोमारे घाटको पाखामा २०५६ सालमा आएको भारतीय सीमा सर्भे टोलीले दशगजा भन्दा ५ कि.मी. उत्तर नेपालको वनमा एकतर्फी नक्कली स्तम्भ गाडेको छ । सो स्तम्भ ‘भारत’ लेखिएको छ । त्यो स्तम्भ भारतले लुकिचोरी किन गाडेको हो ? प्रश्न अनुत्तरित छ । दशगजालाई जरायोघाटसम्म सार्नका लागि भारतले सो स्तम्भ बनाएको जनधारणा छ । त्यो स्तम्भलाई खैरहनी गाउँका देशभकत युवा सरोज लामिछानेको टोलीले भाँचेर फालेका हुनाले भग्नावशेष –अद्र्धभाग) मात्र बाँकी रहेछ । 

जरायोमारे घाटबाट केही समय हिडेपछि हामी उडरा–उडरी पुग्यौं । त्यहाँ काटिएको मान्छे जस्ता दुई ढुङ्गाका मानव आकृति थिए । छेउमा मान्छेकै टाउकोको आकृति थियो । सल्यानको जारकोट ढुङ्गाको भन्दा सुन्दर मिथक थारु साथीहरुले सुनाए । दोनका एक जोडी पुनरविवाह गरेर भागेर माडीतिर लाग्ने क्रममा त्यहाँ पुगेपछि थकाई मार्दै गर्दा पिछा गर्दै आएका जारले भेटेछन् । त्यसपछि ती दुवैलाई त्यही टाउको काटेर फालेछन् । तिनै काटिएका जोडी, दुःखद प्रेमकथाको साक्षी बनेर उनीहरुको शरिर अझसम्म त्यहाँ रहिरहेको मिथक युरोपियनहरुले विस्तार गरेको ‘प्रेम दिवश’ भन्दा कम रोचक लाग्दैनथ्यो । गवई खोला र सोमेश्वर गढीको बीचमा उडरा–उडरी पर्छ भनिन्छ । उडरा–उडरीबाट सोमेश्वर गढी पुग्न ठाडो उकालो चढ्नुपर्ने रहेछ । त्यसैले थकित उडरा–उडरी थरकमार्न त्यहाँ बसेको कथन छ । 

माडीका देशभक्त जनताले वर्कत र चेतनाले भ्याएसम्म सोमेश्वर गढी बचाउन निरन्तर मेहनत गरिरहेका छन् । उनीहरुले गढीको दक्षिण पानीढलोमा केही वर्षअघि अंग्रेजी भाषामा ‘सोमेश्वर जाने बाटो’ भनेर धातुफलक राखेका रहेछन् । त्यो धातुफलकमा नेपालको खैरहनी गाउँ लेखेको थियो । भारतीयहरुले त्यसलाई उप्काएर फालेछन् । त्यो फलक हाल सरोज लामिछानेले नेपालपट्टी टाँसेका रहेछन् । बाटो निलकण्ठ सापकोटाले मर्मत सुधार गरेका रहेछन् । त्यो पानीट्यांकीबाट जति पानी झिके पनि नघट्ने र कहिल्यै नझिके पनि नबढ्ने अद्भूत शक्ति छ भन्ने जनविश्वास रहेछ । हाल भारतीय पक्षले त्यो पानी ट्यांकीसम्म दावी गरिरहेको छ । पानी लिन आउने भारतीयसंग कर असुली गर्ने सल्लाह गर्यौं हामीले ।

सोमेश्वर गढीमा पुगेपछि हामी ४५ नम्बर स्तम्भ हेर्न नाकनचुली शिखरतिर गयौं त्यहाँ पुग्नै कठिन रहेछ । भीरबाट लडिएला जस्तो, बुट्यान समाल्दै हामी शिखरमा पुग्यौं नाकनचुलीको मुख्य थुम्कोमा चढ्नका लागि काठको भर्याङ थियो । मचान र भर्याङ भारतीय सुरक्षा फौजले नष्ट गरेछ । नाकनचुलीको ४५ नम्बर स्तम्भ आधा कि.मी. जति नेपालतिर सारिएको जानकारहरु बताउँछन् ।

नाकनचुलीको ४५ नम्बर स्तम्भ हेरेर हामी कालिका मन्दिरतिर लाग्यौं । सोमेश्वर पर्वतमा थुप्रै मिथकमध्ये सारंगी वादकको मिथक पनि रोचक र अर्थपूर्ण लाग्थ्यो । आदिवासीका अनुसार, त्यो बाटो हुँदै सारंगीवादकहरु भारतको दुन क्षेत्रमा जान्थे रे । श्राप परेपछि त्यो बाटो हिड्यो कि मर्न थालेछन् । त्यसपछि सारंगीवादकहरु हिड्न छोडेरे । सायद गोरखातिरका गन्धर्वहरु हिउँदमा माडी हुँदै दुनतिर जाँदा हुन । 

सोमेश्वर पर्वतको एक ठाउँमा पत्थरमा मानव पाइलाको आकृति थियो । एक जना आदिवासीले त्यो पाइला उज्जैनका राजा विक्रमादित्यकै समकालिन राजा भार्तृहरीको भएको बताए । विद्धान तथा धार्मिक भावनाका राजा भार्तृहरीले नै सोमेश्वरमा शिवालय स्थापना गरेको बताइन्छ । त्यहाँ हाल भग्नावशेष मात्र बाँकी छ । त्यसको रक्षा र पुनःनिर्माण गर्नुपर्नेमा भारतीयहरुले नेपाली भूमिमा नेपालको अनुमति नलिई मन्दिर निर्माण गर्दै छन् । जथाभावी फालिएका मध्ये एउटा चौडा पत्थरमा वि.सं. १५१५ लेखिएको थियो । हाँडामा यत्रतत्र झिंगटीका टुक्रा, लुम्बिनी कै जस्ता ईंटाका टुक्रा, पत्थरमा कँदिएका बुर्जा, साँढे, शिवलिङ्ग, चक्र, ढुङ्गामा खोपेका ओखल र भवनका जगहरु देखिन्थे । त्यहाँबाट ईुंटा लगेर खैरहनीमा केहीले घर समेत बनाएका रहेछन् । त्यहाँ गढी रहेको बताइन्छ । तर त्यहाँ गढीमात्र नभएर दरबार या वस्ती नै भएको हुनुपर्दछ । त्यहाँ महान प्राचीन सभ्यताका झलकहरु अनुमान गर्न सकिने भग्नावशेषहरु देखिन्छन् । यो क्षेत्र पाँच पाण्डवको नगरी पनि हो । अयोध्याका राजा राम १४ वर्ष वनबास व्यतित गर्न यही क्षेत्रमा आएका थिए । रामायणका प्रथम संस्कृत भाषाका लेखक तथा कवि वाल्मिकीको आश्रम पनि यही क्षेत्रमा पर्दछ । वाल्मिकी आश्राम गर्दी गाविसमै पर्दछ । आदिवासी थारु जतिका आदिपूर्खा ‘विक्रमबाबा’ पनि यहीं रहेका छन् । यसर्थ ऐतिहासिक र पौराणिक दृष्टिले प्राचीन मानव सभ्यताका अथाह रहस्य गर्भमा बोकेर त्यो भूभाग बसेको छ । जसको अनुसन्धान र संरक्षण हुन सकेको छैन । हामी कस्तुरीको बास्ना खोज्दै भौंतारिइरहने मूर्ख मृग झै भएका छौं । 

सोमेश्वर मन्दिर नजिकै ‘रहसो गुरों’ को मूर्ति रहेछ । जसको छेउमा बेडमाको ढुङ्गाको ढुङ्गा थियो । प्राचीनकालमा माही तलाउ थियो । ‘रहसो गुरौ’ त्यही ढुङ्गा चढेर कसरामा विक्रमबाबाको दर्शन गर्न जान्थे रे । राजा भार्तृहरीले सोमेश्वर कालिकाको मन्दिर स्थापना गरेर ‘रहसो गुरौं’ लाई प्रथम पूजारी राखेको बताईन्छ । स्थानीय थारु भषामा ‘आहाल’ पदावलीलाई ‘माड’ भनिन्छ । आहाल क्षेत्रलाई थारु भाषामा ‘माडर’ भनियो र कालान्तरमा ‘माडर’ अप्रभम्स भएर ‘माडी’ नामाकरण भयो भन्ने तर्कपूर्ण थियो । उसबेला माडी हात्ती र गैंडाको आहाल थियो रे । ‘रहसो गुरौं’ को ढुङ्गा भन्दा पश्चिमपट्टी एउटै चट्टानमा गुफा रहेछ । राम बनवास आउँदा त्यही गुफामा बास बसेको जनविस्वास रहेछ । सोमेश्वर पर्वतदेखि दक्षिणपट्टी दून क्षेत्रको वनलाई भारतले बाघ संरक्षण क्षेत्र घोषणा गरेको छ । 

वि.सं. २०५० सालसम्म सोमेश्वरमा कालिका मन्दिरको भग्नाबशेष मात्र थियो । खैरहनीका निलकण्ठ सापकोटाले २०५० सालमा सो मन्दिर निर्माण गरे । मन्दिर निर्माण भएपछि भारतीय श्रद्धालुहरुको भीड लाग्न थाल्यो । २०६२ सालपछि भारतीय सीमा सुरक्षा चौकी स्थापना भएपछि छापा र तरंग माध्यममार्फत सो क्षेत्र भारतको भएको प्रचार गर्न थालियो । सरकारी योजनामा भारतीय चाप बढ्दै गयो । २०६६ सालमा नेपाली पुजारी निलकण्ठ सापकोटालाई हातपात गरेर लखेटियो । भेटी लुटेर भारतीयले लगे । नेपाल झल्काउने सबै लेखोट, झण्डा, फलक नष्ट गरे । नेपालको राजधानी पशुपतिमा भारतीय पुजारीको हैकम छ । तर नेपालकै जमिनमा नेपालीले नै बनाएको र परम्परादेखि पुजारी रहँदै आएको सोमेश्वर कालिकाको मन्दिरबाट नेपाली पुजारीलाई सादा पोशाकका भारतीय सुरक्षा फौजले लखेटेका छन् । विष नभएको सर्प र ईख नभएको मान्छे काम लाग्दैन भन्थे पूर्खाहरु । तर हामीमा संवेदनशीलता मर्दै गएको छ । 

भारतले नेपालका ७१ स्थानमा सिमा अतिक्रमण गरेको छ । सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । त्यो नाका तिब्बतको केरुङबाट ठोरी भन्दा पनि नजिकको नाका हो । राप्ती र रेखा नदीमा पुल बनिसकेका कारण भारत र चीनलाई १० घण्टा भन्दा कम समयमा सडक सञ्जालले जोड्ने नाका हो सोमेश्वर पर्वत । जुन नाकाबाट प्राचीनकालदेखि आदिवासीहरु उठबस गर्ने गरेका छन् । सोमेश्वरको दक्षिण भारतीय गाउँहरु गोवर्धनवा, रामनगर आदिमा चीनले भारतमा आक्रमण गर्दैछ भन्ने हल्लाहरु पनि हुने गरेका छन् । भारतीय शासकमा पैदा भएको लघुता भासका कारण सामरिक दृष्टिले महत्वपूर्ण उच्चस्थल कब्जा गर्ने नियतले सोमेश्वर कालिका मन्दिर सहित त्यो क्षेत्रमा भारतले अतिक्रमण बढाएको देखिन्छ । भारतले सोमेश्वरमा आँखा गाड्नुको अर्को कारण सो क्षेत्रको ऐतिहासिक र पौराणिक महत्व हो । 

ऋषि वाल्मिकीको आश्रम, विक्रमबाबाको कुटी, लवकुशको जन्मस्थल, वाल्मिकी ऋषिको शिक्षा दानस्थल पाँच पाण्डवको वस्ती, राम बनबास क्षेत्र र रहसो गुरौको बस्ति भएका कारण त्यो क्षेत्रमा प्राचिनकालमा महान सभ्यता निर्माण भएको हुनुपर्दछ । प्राकृतिक प्रलयले ती नष्ट भई हाल भग्नावशेषमात्र रहेका छन् । त्यसकारण धार्मिक पर्यटनका दृष्टिले त्यो क्षेत्रको ठूलो महत्व छ । भारतीय अतिक्रमणको तेस्रो लालच त्यसक्षेत्रको  प्राकृतिक सौन्दर्य हो । घना जंगल, तरेली परेका वनमा गीत गाईरहेका पक्षी र नाचिरहेका पुतलीहरु निकै मनोहारी लाग्छन् । काठमाडौंको त्यत्रो बखान गर्ने भानुभक्तले त्यो स्थल देख्न पाएका भए के भन्दा हुन ! जेठमा चिसो हावा चलिरहेको शिखरबाट दक्षिणतिर भारतको विहार, पूर्वी चम्पारणका दून क्षेत्रका गाउँहरु, चुरेबाट धरती चिरेर बहने नागवेली नदी र वन तरेली भूदृश्यहरु शब्दमा उतार्न सकिन्न । त्यसै गरी उत्तरतिर माडी, पश्चिम चितवनका भूस्वर्गहरु छर्लङ्ग देख्न सकिन्छ । रातको समयमा नारायणगढ, माडी र मौलाकालिकाको झिलिमीलि मनमोहक लाग्छ । जसको दृश्यावलोकनका लागि कृत्रिम मचान आवश्यक पर्दैन । प्राकृतिक सौन्दर्यलाई पर्यटन व्यवसायमा बदल्ने लोभी आँखाले पनि भारतीय अतिक्रमण भएको हुनसक्छ । 

माडीको छरछरेबाट उडरा–उडरीसम्म सडक विस्तार गर्ने, प्रचार–प्रसार गर्ने, राष्ट्रिय जागरण श्रृजना गर्ने र भारतीय पक्षसंग सरकारले कुटनीतिक पहल गर्नुपर्छ । सीमा सुरक्षा बल दशगजाबाट भारतीय सीमा सुरक्षा बल जत्तिकै दूरीमा बसेर नियमित निगरानी गर्नुपर्छ । ऐतिहासिक प्रमाण, कागजपत्र, नक्शाका आधारमा उठेका प्रश्नको समाधान नहुञ्जेल पूर्ववत् स्थितिमा रहन दिनुपर्दछ । नेपाली भूमिमा नेपालीले नै बनाएको र नेपालीले नै भोगचलन गर्दै आएको स्थितिमा नेपाली पूजारी लखेट्ने, भेटी लुट्ने, काठ तस्करी गर्ने, नेपालको अस्तित्व झल्कने प्रमाण नष्ट गर्ने, नयाँ भौतिक संरचना बनाउने जस्ता भारतीय ज्यादती स्वीकार्य छैन । माडीका जनता निरन्तर सीमा अतिक्रमणका विरुद्ध लडिरहेका छन् । तर सरकारी पक्ष र बौद्धिक समुदाय रमिते बनिरहेको छ । राष्ट्रियता नारामा होइन दैनिक जीवन व्यवहार र कर्ममा अभिव्यक्त हुनुपर्दछ । यो पक्ष झनै त्रासदीपूर्ण छ । 
(शर्माको प्रकाशोन्मुख कृतिबाट उद्धृत। शीर्षक हामीले दिएका हौं)


Rating (Votes: )   
Share     Print


Other Articles:
जनमतबाटै राजसंस्था फर्काइन्छ - कमल थापा, अध्यक्ष राप्रपा नेपाल (07.30.2013)
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद (07.24.2013)
नेपाल यतिखेर हाम्रो मात्र नियन्त्रणमा छ जस्तो मलाई लाग्दैन - डा. नारायण खड्का, नेता नेपाली कांग् (07.09.2013)
निर्वाचनमा भाग लिनुको अर्थ राष्ट्रिय स्वाधीनता समाप्त पार्ने कामलाई स्वीकृति दिनु हो - सीपी गजु (07.05.2013)
सर्वदलीय सहमति बनाएर निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्छ - मणि थापा, महासचिव क्रान्तिकारी कम् (06.26.2013)
नेपाल र भारत गृह सचिवस्तरीय बैठक औपचारिक मात्र बन्दैछ - बुद्धिनारायण श्रेष्ठ, सीमाविद (06.12.2013)
अहिले जे भैरहेको छ विदेशी शक्तिको योजना मुताविक भैरहेछ - भरत दाहाल, राजनीतिक विश्लेषक (06.05.2013)
मुलुकलाई सही मार्गमा ल्याउन आन्दोलन - हरिकृष्ण कार्की, अध्यक्ष नेपाल बार (05.28.2013)
६०१ को आवश्यकता नै छैन - अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस (05.21.2013)
नेपाली जनतालाई संविधान र समृद्धिको मृगतृष्णामा फसाइएको छ - किशोर कुमार विश्वास (05.14.2013)
भारत जस्तो छिमेकी भएपछि हामीलाई शत्रु खोज्नै पर्दैन - सीपी मैनाली, महासचिव नेकपा माले (05.07.2013)
देशको शासन–प्रशासन हेर्ने मेरो काम होइन – राष्ट्रपति डा. रामवरण यादव (04.29.2013)
सरकार स्वतन्त्र हो कि चार दलको छायाँ हो स्पष्ट हुनुपर्छ - शरदसिं भण्डारी– अध्यक्ष राष्ट्रिय मधे (04.29.2013)
विदेशी शक्तिले चाहेजस्तो संविधान बन्ने ग्यारेन्टी नहुँदासम्म चुनाव हुँदैन - नारायणमान विजुक् (04.22.2013)
महासमितिपछि नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको छ – विमलेन्द्र निधि, नेपाली कांग्रेस (04.16.2013)
यो निर्वाचनले मुलुक भड्खालोमा जान्छ - सीपी गजुरेल– उपाध्यक्ष नेकपा–माओवादी (04.01.2013)
सरकारका बारेमा उठिरहेको संवैधानिक प्रश्नहरूको यथोचित जवाफ नदिंदा विश्वासको वातावरण बन्दैन - श (03.25.2013)
प्रधान न्यायाधीश नेतृत्वको सरकार हानीकारकमध्ये कम हानिकारक विकल्प हो - डा. नारायण खड्का (03.18.2013)
"कमसेकम एउटा विषयमा त सहमति भयो नि भनेर खुसी हुनुपर्छ " - डा. रामशरण महत, केन्द्रीय सदस्य, नेपाली (03.11.2013)
प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन भए धेरै अनिष्ट निम्तिन्छ - सीपी मैनाली (03.04.2013)



 
::| Latest News

 
[Page Top]