युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 04:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
हाम्रो देशको राजनीति हाम्रो हातमा छैन - जनार्दन आचार्य, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक
Wednesday, 08.14.2013, 12:21pm (GMT+5.5)

० मुलुकको अहिलेको राजनीति कता जाँदैछ जस्तो लाग्छ यहाँलाई ?
झट्ट हेर्दा मुलुकको राजनीति संविधानसभाको निर्वाचन हुने, त्यो संविधानसभाले संविधान बनाउने र एउटा निकास दिने भन्ने देखिन्छ र तयारी पनि त्यस्तै भैरहेको सुनिन्छ । तर, मुलुकको परिस्थिति हेर्दा अगाडिको बाटो त्यति सुगम छैन ।

० भनेपछि संविधानसभाको निर्वाचन हुनसक्छ भन्ने यहाँ लाग्दैन ?
संविधानसभाको निर्वाचनको चुनाव हुनसक्छ कि सक्दैन भन्दा पनि यसले दिने परिणामतिर हाम्रो विश्लेषण हुनुपर्छ । मेरो आफ्नो विचारमा संविधानसभाको निर्वाचन भएर पनि कुनै त्यस्तो निकास निस्केला जस्तो लाग्दैन । किनभने यो संविधानसभा नेपालको निमित्त कुनै नयाँ हैन । योभन्दा अगाडि चार वर्षसम्म संविधानसभा देखेकै हौं, भोगेकै हौं । त्यो संविधानसभाले नेपाल र नेपाली जनतालाई के दियो भन्ने सबैलाई थाहा छ । त्यसले गर्दा संविधानसभाको निर्वाचन नै भएर पनि निकास निस्कन्छ जस्तो लाग्दैन । मलाई मात्र होइन आम नेपाली जनतालाई पनि यस्तै लाग्छ जस्तो मलाई लाग्छ ।

० तपाई यस्तो विश्लेषण गर्दै हुनुहुन्छ तर अगुवा राजनीतिक दलका नेताहरु संविधानसभाको निर्वाचनले मात्र मुलुकले निकास पाउछ भनेर एकोहोरो कराइरहेका छन् नि ?
हैन, उनीहरु कराइरहेका छन्, त्यो आफ्नै ठाउँमा छ । अहिलेको प्रश्न के मात्र हो भने संविधानसभाको निर्वाचन दोस्रोपटक हुँदैछ । यसअघि संविधानसभाले चार वर्षसम्म काम गर्याे, त्यसले के दियो त ? त्यतिबेला त सबै राजनीतिक दलहरुको सहभागिता थियो । अबको संविधानसभाको निर्वाचनमा केही पार्टीहरु वहिष्कार गर्ने, केही पार्टीहरु चुनावमा जाने भन्ने छ । अहिलेको अवस्थामा चुनावमा जाने र नजानेमा मुलुक विभाजित छ । संविधानसभाको चुनाव संसदको अथवा विधायिकाको चुनाव हैन, यसको ठूलो महत्व छ । यति महत्वपूर्ण चुनावको घोषणा भए पनि पूरा मुलुक चुनावमय हुन सकेको छैन । यस्तो अवस्थामा चुनाव वहिष्कार गर्ने तागत देखिइसकेको छ भने कसरी शान्तिपूर्ण र सहज रुपमा चुनाव होला ? चुनाव भइनै हाल्यो भने पनि त्यसले मुलुकको समस्या कसरी समाधान गर्ला भन्ने प्रश्न जीवितै छ ।

किन भने, एकथरिले “चुनाव भाँडछौं” भनिरहेका छन् । नमूना मतपेटिका फुटाएर यसको सुरुवात गरेको दृश्य हामीले देखेकै हौं । अर्को शक्तिले वहिष्कार गर्नेहरु गाउँमा पसे भने तिनीहरुलाई लखेट्नु भन्ने आदेश दिन्छन् । यो भीडन्तको मूड हो । यसले के देखाउँछ भने मुलुकमा चुनाव प्रचार प्रसारको प्रतिद्वन्द्वीता हुनुपर्नेमा भीडन्तमा प्रतिद्वन्द्वीता देखिएको छ । यस्तो अवस्थामा चुनाव भएर पनि के, नभए पनि के भन्ने सवाल आम नेपालीको मनमा उठिरहेको छ । त्यसै भएर राजनीतिक दलका नेताहरुले संविधानसभाको अर्को निर्वाचन भएपछि सबै समस्याको समाधान हुुन्छ भने पनि देशको परिस्थिति हेर्दा अगाडिको बाटो त्यति सहज होला जस्तो मलाई चाहिं लाग्दैन ।

० लामो समयदेखि राजनीतिक विश्लेषण गर्दै आउनुभएको नाताले अब मुलुकको निकासको बाटो के हो जस्तो लाग्छ ?
हामीहरुले सर्सस्ती हेर्दा देशमा भएका प्रमुख राजनीतिक दलहरुबीचमा न्यूनतम कार्यक्रमहरुमा सहमति खोज्नुपर्छ । अहिले जसले चुनावमा भाग लिदैनौं भनिरहेका छन् उनीहरुको के कति माग पूरा गर्न सकिन्छ त्यसको प्रयास गर्नुपर्छ । एउटा सहमतिको बाटो निकाल्नुपर्छ । एक प्रकारले भन्ने हो भने अहिले मोटामोटी रुपमा मुलुक संविधानसभाबाट संविधान बनाउने भन्ने जुन बाटोबाट हिंडिरहेको छ त्यो कुरालाई सफल बनाउने हो भने संविधानसभालाई व्यापक राष्ट्रिय सहमतिको निमित्त सबैभन्दा पहिले प्रयास गर्नुपर्छ । त्यसका निमित्त केही समय चुनाव सारेर हुन्छ कि, वृहत किसिमको भेला बोलाएर हुन्छ कि के गर्दा हुन्छ ती बाटाहरु खोज्नुपर्छ । अहिले दुबै तर्फबाट जुन किसिमले भीडन्तका संकेतहरु आइरहेका छन् त्यसले राम्रो गर्दैन ।

० मुलुकका जिम्मेवार राजनीतिक दलहरुबीच किन सहमति हुन सकेन र किन मुलुक ओरालो लागिरह्यो भन्ने लाग्छ यहाँलाई ?
यसको भित्री कारण के हो त्यो त थाहा छैन तर बाहिरबाट हेर्दा मुलुकका ठूला पार्टीहरुकै हातमा देशको भविष्य छ । त्यसकारण यहाँ सहज रुपमा निकास निस्कियो भने त्यसको जस तिनीहरुलाई नै जान्छ र आजको जुन अप्ठ्यारो छ यसले मुलुकलाई योभन्दा बढी भूमरीमा पार्दै जाने अवस्था आयो भने यसको अपजस पनि उनीहरुले नै लिनुपर्छ । जसको हातमा मुलुकको लगाम छ उसले नै मुलुकले निकास पायो भने जस पाउँछ, नसके अपजस पनि उसैले पाउँछ ।

० तर राजनीतिक दलहरुले निकास दिन सकिरहेका छैनन् । यसको कारण के हुनसक्छ ?
राजनीतिक दलका नेताहरुको भित्री इच्छा संविधानसभाको निर्वाचन गरेर मुलुकलाई एउटा निकास दिने भन्ने गन्तव्यमा नलागेर कसरी सत्तामा जाने र कसरी आफ्नो पार्टी, आफ्ना मान्छेलाई सत्तामा पुर्याउने र सत्तामा पुगेर कसरी आर्थिक लगायत अन्य लाभ लिने भन्ने बाहेक मूल कुरातिर ध्यानै गएन । त्यसकारण अहिलेसम्म पार्टीहरुबीचको विवाद सत्ताकै लागि हो । उनीहरुले भनेअनुसार बाँडफाँड गरेर जो अहिले सरकार बनाएको छ त्यो पार्टीका मान्छे हैन भने पनि उनीहरु चार दलले बाँडफाड गरेर नै बनाएका हुन । उनीहरु दिलोज्यानले सरकार टिकाउन लागिपरेका छन् । जो यो बाँडफाडमा संलग्न छैन उनीहरुले चाहिं पहिला यो सरकार विघटन गर्नुपर्छ भनिरहेका छन् ।

भनेको मतलब के हो भने सबैको ध्यान सत्तातिर नै छ । सत्ताबाट हुने फाइदातिर नै सबैको दृष्टिकोण भैसकेपछि कसरी मुलुक बनाउने, कसरी संविधानसभाबाट संविधान बनाउने, मुलुकलाई निकास दिने, मुलुकलाई कसरी बचाउने भन्नेतिर कसैको ध्यानै गएन ।

० त्यसो भए संविधानसभाको निर्वाचनलाई कमाइखाने भाँडो बनाइएको हो ?
संविधानसभाको निर्वाचन हुनु, संविधानसभाबाट संविधान बन्ने कुरालाई नेपाली जनताले स्वागत गरेका थिए । तर, संविधानसभाबाट संविधान बनेन । अहिले फेरि संविधानसभाकै निर्वाचन गर्न लडाइँ भैराखेको छ । निर्वाचन हुने कि नहुने भन्ने टुंगो छैन । अब हुने राम्रो–नराम्रो सबै कुराको जस–अपजस यिनै पार्टीहरुले लिनुपर्छ । हामी सबैले देखिराखेका छौं कि हाम्रो देशबाट निकास निस्कदैन भनेर । मैले उहिल्यैदेखि लेखिरहेको छु, बोलिरहेको छु कि ‘नेपालको राजधानी अब काठमाडौं होइन दिल्ली भयो’ भनेर । कुनै महत्वपूर्ण निर्णय गर्नुपर्याे भने त्यो काठमाडौंमा हुनै सक्दैन, दिल्लीमा हुने गरेको छ । अहिलेसम्म त्यही देखिएको छ ।

माओवादीले गरेको सबभन्दा ठूलो निर्णय गरेको भनेको १२ बुँदे सहमति हो, त्यो दिल्लीमै भयो । अहिले पनि दिल्ली जान्छन्, फर्किएर आएपछि अब यहाँ चुनाव मंसिर चारमै गर्नु भन्या छ भन्छन्, कोही संघीयता यस्तो हुनुपर्छ भन्या छ भन्छन् । सिकाउने सबै उतै छन् । चुनाव चारको साटो पाँच या छ गते गर्ने त हाम्रो अधिकारको कुरा हो नि, संघीयता कस्तो बनाउने भन्ने पनि हाम्रै अधिकार हो । उनीहरुले भन्ने हैन नि । यसले के देखाउँछ भने निर्णय गर्ने अधिकार हाम्रो हातमा कम छ ।

० यहाँको विश्लेषण अनुसार मुलुक हाम्रो हातमा छैन र नेताहरु निर्देशित रुपमा काम गरिरहेका छन् हो ?
नेपाली नेताहरु (सबैलाई नभनौं) हरेक पटकको महत्वपूर्ण निर्णय गर्न उहिल्यैदेखि नै दिल्ली पुग्ने गरेका हुन् । नेपालमा नाकाबन्दी गरिदिनुपर्याे भनेर पनि दिल्ली पुगे, दिल्लीले नाकाबन्दी गरिदियो, एक मधेश एक प्रदेश भएन भने मेरो मुटु चिरिन्छ भनेर भारतीय काउन्सिलरले वीरगञ्जमा बोले । एक मधेश एक प्रदेश भएन भने हाम्रो मुटु चिरन्छ भनेर त यहाँका मधेशीले पो भन्नुपर्ने, भारतीयको मुटु किन चिरिने ? उनीहरुले पनि त्यसरी नै भन्ने र यहाँका नेताहरुले पनि त्यस्तै गर्ने । खुर्सीदलाई भेट्न नेपाली नेताहरु कसरी लाइन लागेर होटलमा पुगे ? यी सबै कुरा पत्रपत्रिकामा आइसकेका छन् र आम नेपाली जनतालाई थाहा छ कि हाम्रो देशको राजनीति हाम्रो हातमा छैन ।

० अहिलेको अवस्थासम्म आइपुग्ने ‘रोडम्याप’ दिल्लीमा भएको १२ बुँदे सहमति थियो । त्यो रोडम्यापले मुलुकलाई निकास दिएन देखिएन । १२ बुँदेको रोडम्याप असफल भएको हो ?
खै त्यो १२ बुँदे सहमतिको रोडम्याप के हो मलाई थाहा छैन । त्यसको भावनामा हाम्रा नेताहरु पनि अल्मलिएका हुन् कि ? जो दिल्ली जान्छन्, भारतीय नेताहरुसंग भेटछन् त्यसको भित्री कुरा त उनीहरुलाई नै थाहा होला । हामीले त पत्रपत्रिकामा पढे अनुसार र बुझे अनुसार हाम्रो हातमा केही पनि छैन । अहिले नेपाल असफल राष्ट्रतिर गैरहेको छ । वेथिति, शान्ति सुरक्षाको अभाव लगायत यावत कुराहरु जे भैरहेको छ त्यसलाई नियन्त्रण गर्न सकिरहेका छैनौं । सरकार नै अरुले बनाउँछ भनेर यहींका पार्टीहरुले बताइरहेका छन् । अहिलेको सरकार विदेशीले नै बनाएको हो भनेर एकथरि पार्टीले भनिरहेकै छ । अहिलेको सरकार विदेशीले नै बनाएको हो भनेर एकथरि पार्टीले भनिरहेकै छ । हामीले देखेकै छौं कि १७ पटक चुनाव गर्दा पनि हामी प्रधानमन्त्री बनाउन सक्दैनौं । यस्तो काम धेरै अगाडिदेखि भैरहेको छ ।

० अब मुलुक नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने यहाँको धारणा हो ?
अहिले मुलुक जुन प्रकारले चलिरहेको छ यो ब्रेक फेल भएको र इन्धन सकिएको गाडी ओरालो गुडिरहेको अवस्था हो । विग्रिएको गाडीलाई ओरालोमा गुडाउन इन्धन चाहिंदैन । हामीले ओरालोमा गुडिरहेको गाडी देखेर सब ठीकठाक छ भन्ने ठानिरहेका छौं । गाडी गुडिरहेको हुँदा इन्धन पनि छ, ब्रेक पनि ठीकठाक छ भन्ने भ्रम परेको छ । अहिले त्यस्तै अवस्था छ । चुनाव हुन्छ भनिएको छ, नेताहरु चुनावी भाषण पनि गरिरहेका छन् । पार्टी प्रवेशको लहर पनि चलिरहेको छ । यो सब कुरा जो घटित भैरहेको छ त्यसलाई हामीले मुलुक चलिरहेको ठानेका छौं तर मुलुक ओरालो लागेको मात्र हो ।

० दुर्घटना भयो भने के हुन्छ त मुलुकको अवस्था ?
गाडीको दुर्घटना भैसकेपछि यसै हुन्छ भनेर भन्न सकिन्न । जे पनि हुनसक्छ ।

० कतिपयले यो सब सिक्किमीकरण, भुटानी करणको अभ्यास हो भनिरहेका छन् । यहाँलाई के लाग्छ ?
हैन, यो सिक्किमीकरण वा भूटानीकरणभन्दा पनि नेपाली करणका लागि भैरहेको हो भन्ने आशा म गर्छु । हामीले के अपेक्षा गर्नुपर्छ भने मुलुकको यस्तो अप्ठ्यारो अवस्थाबाट पार लगाउन कोही न कोही नेपाल आउँछ भनेर । 

० त्यसो भए राजनीतिले कोल्टे फेर्ने परिस्थिति आयो । त्यसका लागि अलिक पछाडि फर्कनुपर्छ अथवा राजतन्त्र ब्यूँताउनुपर्छ पनि भन्नेहरुलाई बल पुगेको हो ?
केही न केही त हुनै पर्याे नि । ओरालो लागेको गाडीलाई सधैंभरि यसै गरी छाडदिन त भएन । कोही न कोही बहादुर मान्छे गाडी र यात्रु बचाउन निस्कन्छ । मुलुक कसैको ठेक्कामा परेको हैन नि । जहाँसम्म राजसंस्थाको करा छ त्यसलार्ई ब्यूताउने अथवा नब्यूताउने भन्ने हाम्रो हातमा छैन । २०६३।०६३ मा राजाको अवस्था सबैले छिःछिः र दुरदुर गर्ने थियो । अहिलेको अवस्था के छ ? अहिले कसरी त्यो अवस्था भएन । 

हिजोको अवस्था अहिले छैन । पूर्व राजा हिंडिरहेका छन्, उनको स्वागत भैरहेको छ । राजा चाहिन्छ भन्ने पार्टी पनि हिजोकोभन्दा बलियो हुँदै गैरहेको देखिन्छ । यहाँ कम्युनिष्टहरु नै ‘कि त हामीसंग एजेण्डा छ कि राप्रपा नेपालसंग छ’ भन्न थालेका छन् । अर्काथरि माओवादीहरु ‘राजावादीहरुसंग सहकार्य गर्नुपर्छ’ भनिरहेका छन् । यसले एउटा नयाँ परिस्थिति त सिर्जना गर्याे नि ? यो हामीले बनाएको हो ?


Rating (Votes: )   
Share     Print


Other Articles:
सोमेश्वर गढीमा देखिएको दृश्य - अनिल शर्मा (08.06.2013)
जनमतबाटै राजसंस्था फर्काइन्छ - कमल थापा, अध्यक्ष राप्रपा नेपाल (07.30.2013)
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद (07.24.2013)
नेपाल यतिखेर हाम्रो मात्र नियन्त्रणमा छ जस्तो मलाई लाग्दैन - डा. नारायण खड्का, नेता नेपाली कांग् (07.09.2013)
निर्वाचनमा भाग लिनुको अर्थ राष्ट्रिय स्वाधीनता समाप्त पार्ने कामलाई स्वीकृति दिनु हो - सीपी गजु (07.05.2013)
सर्वदलीय सहमति बनाएर निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्छ - मणि थापा, महासचिव क्रान्तिकारी कम् (06.26.2013)
नेपाल र भारत गृह सचिवस्तरीय बैठक औपचारिक मात्र बन्दैछ - बुद्धिनारायण श्रेष्ठ, सीमाविद (06.12.2013)
अहिले जे भैरहेको छ विदेशी शक्तिको योजना मुताविक भैरहेछ - भरत दाहाल, राजनीतिक विश्लेषक (06.05.2013)
मुलुकलाई सही मार्गमा ल्याउन आन्दोलन - हरिकृष्ण कार्की, अध्यक्ष नेपाल बार (05.28.2013)
६०१ को आवश्यकता नै छैन - अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस (05.21.2013)
नेपाली जनतालाई संविधान र समृद्धिको मृगतृष्णामा फसाइएको छ - किशोर कुमार विश्वास (05.14.2013)
भारत जस्तो छिमेकी भएपछि हामीलाई शत्रु खोज्नै पर्दैन - सीपी मैनाली, महासचिव नेकपा माले (05.07.2013)
देशको शासन–प्रशासन हेर्ने मेरो काम होइन – राष्ट्रपति डा. रामवरण यादव (04.29.2013)
सरकार स्वतन्त्र हो कि चार दलको छायाँ हो स्पष्ट हुनुपर्छ - शरदसिं भण्डारी– अध्यक्ष राष्ट्रिय मधे (04.29.2013)
विदेशी शक्तिले चाहेजस्तो संविधान बन्ने ग्यारेन्टी नहुँदासम्म चुनाव हुँदैन - नारायणमान विजुक् (04.22.2013)
महासमितिपछि नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको छ – विमलेन्द्र निधि, नेपाली कांग्रेस (04.16.2013)
यो निर्वाचनले मुलुक भड्खालोमा जान्छ - सीपी गजुरेल– उपाध्यक्ष नेकपा–माओवादी (04.01.2013)
सरकारका बारेमा उठिरहेको संवैधानिक प्रश्नहरूको यथोचित जवाफ नदिंदा विश्वासको वातावरण बन्दैन - श (03.25.2013)
प्रधान न्यायाधीश नेतृत्वको सरकार हानीकारकमध्ये कम हानिकारक विकल्प हो - डा. नारायण खड्का (03.18.2013)
"कमसेकम एउटा विषयमा त सहमति भयो नि भनेर खुसी हुनुपर्छ " - डा. रामशरण महत, केन्द्रीय सदस्य, नेपाली (03.11.2013)



 
::| Latest News

 
[Page Top]