युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
योजनाले मात्र हुँदैन कार्यान्वनतिर जोड दिनुपर्छ
Monday, 08.22.2011, 03:24pm (GMT+5.5)

डा. दीर्घसिंह बम वरिष्ठ छातीरोग विशेषज्ञ हुनुहन्छ । नेपाल सरकारको निजामती सेवामा सेवारत रहनुभएका डा. बमलाई हालै सरकारले विशिष्ठ श्रेणीको वरिष्ठ स्वास्थ्यविज्ञमा बढुवा गरेको छ । उहाँ वरिष्ठ स्वास्थ्यविज्ञ हुने पहिलो व्यक्तित्व हुनुहुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त डा. बम यसअघि स्वास्थ्य मन्त्रालयमा का.मु. सचिव हुनुहुन्थ्यो । राष्ट्रिय क्षयरोग केन्द्र तथा सार्क क्षयरोग केन्द्रको निर्देशक पदमा रही लामो समयसम्म जिम्मेवारी बहन गर्नुभएको डा. बमले क्षयरोग उपचारका लागि डट्स विधि सुरु गरी नेपालमा क्षयरोगको उपचारमा नयाँ अभियान सुरु गर्नुभएको थियो । यो बिधि अहिले सार्क क्षेत्रभरि नै प्रयोगमा आएको छ । साहित्य क्षेत्रमा सशक्त उपस्थिति जनाउनुभएका डा. बमले सयौं गीत रचना गर्नुभएको छ । उहाँ नेपाली माटो, नेपाली जनता र यहाँका साधन स्रोतको उपयोग र संरक्षण हामी आफैंले गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । प्रस्तुत छ, उहाँसंग गरिएको कुराकानीको सारसंक्षेप ः

० लामो समयको प्रतिक्षापछि नेपाल सरकारले यहाँलाई सचिव पदमा बढुवा गरेको छ । कस्तो अनुभूति भैरहेको छ ?

मलाई अन्याय भएको थियो । अहिले चाँहि मैले न्याय पाएको छु भन्ने अनुभूति भैरहेको छ । अहिले मैले जुन न्याय पाएको छुयो मेरो नोकरीको अन्तिम बिन्दु हो । यसमा मैले नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले मेरो विषयलाई जुन चासोका साथ लिएर ढिलै भए पनि न्याय दिलाउनु भयो । मैले यस अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू विषेश आभार प्रकट गर्दछु ।

० नेपाल सरकारले तपाईंलाई बरिष्ठ स्वास्थ्यविज्ञ भनेर नियुक्त त ग¥यो, खास जिम्मेवारी चाहिं के दिएको छ नि ?

मैले चिठ्ठी पाएको पनि धेरै भएको छैन । चिठ्ठीअनुसार सम्माननीय प्रधानमन्त्रीको कार्यालयमा रहने गरी बरिष्ठ स्वास्थ्य विज्ञ भनिएको छ । नेपालको इतिहासमा यसरी कर्मचारीको तर्फबाट स्वास्थ्यविज्ञ बनाइएको पहिलो घटना हो । नेपाल सरकारको बरिष्ठ स्वास्थ्य विज्ञ बन्ने म पहिलो व्यक्ति हुन पुगेको छु । हुन त यसअघि पढेर नेपाल फर्किदा म पहिलो ब्रोङकोलोजिष्ट भएको थिएँ । यसैगरी टीवीको क्षेत्रमा नेपालबाट काम गर्ने पनि म नै पहिलो व्यक्ति थिएँ । एक किसिमको संयोग नै मिल्न गएको छ । अहिले मलाई जुन सम्मान दिइएको छ । यसमा म खुशी छु । प्रधानमन्त्रीको बरिष्ठ स्वास्थ्य विज्ञ भनिसकेपछि यो नीतिगत तहमा काम गर्ने हो भन्ने मलाई लागेको छ । यद्यपि मलाई नियुक्त गर्दाखेरिको अवस्था र अहिलेको अवस्थामा राजनीतिक भिन्नता आइसकेको छ । यसमा आगामी सरकारले के कस्तो निर्णय गर्दछ । त्यो अनुसार जिम्मेवारीमा हेरफेर पनि हुनसक्दछ ।

० तोकेरै भन्नु पर्दा आगामी दिनमा यहाँले कस्तो भूमिका अपेक्षा गर्नुभएको छ ?

मैले खेल्नसक्ने र गर्नसक्ने भूमिका भनेको स्वास्थ्य क्षेत्र नै हो । नेपालको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, विकसित र विश्वासनीय बनाउनुपर्ने आवश्यकता छ । नेपालको स्वास्थ्य क्षेत्रलाई विकास गर्न सकिने प्रशस्त सम्भावना छ । यस क्षेत्रमा हामीले सही योजना र नीतिका साथ त्यसलाई कार्यान्वयन गर्ने इमान्दार प्रयास ग¥यौं भने गुणात्मक फड्को मार्न सकिन्छ । हामी राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा पनि काम गर्न सक्छौ, त्यसमा उपलब्धी हासिल गर्न सफल हुन र स्थापित हुन सक्दछौं । टीबीको क्षेत्रमा हामीले गरेर देखाएका पनि छौं । तर, यसका लागि अनुकूल वातावरण चाहिन्छ । त्यो अनुकूल वातावरण तयार गरिदिने भनेको राजनीतिक क्षेत्रमा रहनुभएका उच्च तहका व्यक्तित्वहरूले । यो पक्षलाई विचार गरेर हामीले स्वास्थ्य क्षेत्रको विकासमा जोड दिनुपर्दछ । मैले स्वास्थ्य अन्तर्गतको जुनसुकै क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्न सक्दछु । सबैको सहयोग लिएर हामीले देशलाई केही न केही उल्लेखनीय योगदान दिनै पर्दछ ।

० अहिले नेपालको स्वास्थ्य क्षेत्र कस्तो अवस्थामा रहेको छ ?

अहिले नेपालको स्वास्थ्य क्षेत्रलाई बाहिरी रुपमा विश्लेषण गर्दा सन्तोषजनक छ भन्न सकिन्छ । यस क्षेत्रमा लगानी बढेर गएको छ । स्वास्थ्य सम्बन्धी संस्था, निकाय र अस्पतालहरूको संख्या पनि बढिरहेको छ । जनशक्ति र प्रविधिको विस्तार पनि भएको छ । औषधी र उपचारका विधि, ढाँचा र तरिकाहरूमा पनि नयाँपन भित्रिएको छ । यस हिसावले मूल्याङकन गर्दा अवस्था राम्रो देखिन्छ । तर जनताको पक्षबाट विश्लेषण गर्दाखेरि भने सन्तुष्ट हुन सकिदैन । जनता सन्तुष्ट छैनन् ।

० त्यस्तो किन भैरहेको छ त ?

स्वास्थ्य क्षेत्रमा केही खास खास समस्याहरू छन । जसले गर्दा आम जनताले त्यसमा आफ्नो पहँुच स्थापित गर्न सकिरहेका छैनन् । गरिब जनता अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्था छ । स्वास्थ्य शुल्क तुलनात्मक रुपमा महंगो छ । असन्तुष्टि यस कारणले पनि बढेको छ ।

० स्वास्थ्य क्षेत्रमा रहेका अहिलेका प्रमुख समस्याहरू के के हुन त ?

हाम्रो स्वास्थ्य क्षेत्रको अहिलेको प्रमुख समस्या भनेको व्यवस्थापकीय समस्या हो । स्वास्थ्य क्षेत्र अन्तर्गत व्यवस्थापन पक्षमा समस्या रहेको छ । चाहे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुरा होस् चाहे नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गछौं भनेर क्रियाशील रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको कुरा नै किन नहोस्सबै निकायमा व्यवस्थापकीय पक्षको प्रश्न उठने गरेको छ । तिनीहरूको व्यवस्थापनमा समस्या रहेको छ ।

० त्यो भनेको के हो त ?

हामीले आजभन्दा ५० वर्ष अगाडि सोचेको स्वास्थ्य क्षेत्रको अवस्था र अहिलेको अवस्थामा व्यापक परिवर्तन आएको छ । अहिले नेपालको जनसंख्या ३ करोड पुगिसकेको छ । त्यसबेलाका आधारभूत तत्व, भौतिक पूर्वाधार र जनशक्तिको जुन अवस्था छअहिलेको मागसंग त्यसको समायोजन हुन सक्दैन । त्यतिबेलाको अवस्था र अहिलेको अवस्था तथा मागसंग सामनजस्यता मिलाउन नसक्नु अहिलेको प्रमुख समस्या हो । यो नै अहिलेको प्रमुख चुनौती पनि हो । मलाई थाहा छहरेक नेपाली नैतिकवान छन । उनीहरूले इमान्दार ढंगले काम गर्न सक्दछन । उनीहरूमा क्षमता र सिप दुबै छ । तर उसको दिमागमा अभावै अभाव भरिएको छ । जसले गर्दा उसले अभावको मात्रै गीत गाउछ । यो भएन, उ भएन भनेर अभाव मात्रै औल्याउँने गर्दछ । तर, यथार्थ त्यस्तो होइन । यहाँ सम्भावना पनि प्रशस्त छ । सकारात्मक सोचका साथ सम्भावनाको खोजी गर्नुपर्दछ । अधिकारको खोजी गर्ने क्रममा व्यक्तिले आफ्नो दायित्व र कर्तव्यलाई पनि पूरा गर्नुपर्दछ । यसलाई सबैले आआफ्नो ठाउँबाट आत्मसात गर्ने हो भने समस्यालाई सजिलै किनारा लगाउन सकिन्छ ।

० अहिले नेपालको सबै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको विस्तार हुनसकेको छैन । निजी क्षेत्रमा खुलेका अस्पतालहरूमा शुल्क निकै मंहगो रहेको छ । यस्तो अवस्थामा आम जनतालाई सुलभ ढंगले स्वास्थ्य सेवा प्रदान गर्न राज्यले कस्तो योजना बनाउनु पर्ला ?

यो अत्यन्तै सामयिक विषय हो । आमजनता समस्यामा छन । उनीहरूको स्वास्थ्य अधिकारलाई राज्यले सुनिश्चित गर्नुपर्दछ । यसका लागि म व्यक्तिगत रुपमा पनि गम्भीर छु । हाम्रो देशमा निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा सहयोगी हात अगाडि बढाएको छ । यो एकदमै राम्रो पक्ष हो । तर, यसको निरीक्षण, सुपरीवेक्षण, व्यवस्थापन र नियन्त्रण सही ढंगले हुनसकेको छैन । यसका लागि न त स्पष्ट नीति र कार्यक्रम छ न त प्रभावकारी संयन्त्र नै छ । व्यवस्थापन तथा नियन्त्रण गर्ने नीति र संयन्त्र न त राज्यसंग छ न त निजी क्षेत्रले नै बनाएका छन । निजी क्षेत्रबाट त्यो आशा गर्ने कुरो पनि भएन । यो पक्षबाट हेर्दा आमजनताले निजी क्षेत्रबाट खोलिएका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सहज र सुलभ पँहुच नभएको अनुभूति गरिहेका हुन । सेवाको स्तरका आधारमा शुल्कको व्यवस्था हुनुपर्दछ । राज्यले सेवा, स्तर र शुल्कको मापदण्ड निर्धारण गरी त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ ।

जहाँसम्म राज्यद्वारा संचालित स्वास्थ्य संस्थाहरूको कुरा छराज्यले सबै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पताल, स्वास्थ्य चौकी र संस्थाहरूको विस्तार गरेको छ । यस किसिमको सञ्जाल विस्तार भैसकेको छ । तर, प्रभावकारी अनुगमन नहुँदा ती निकायहरूबाट सेवाको वितरण हुन सकिरहेको छैन । यसलाई सुधार गर्न सरकारले राज्यद्वारा संचालित स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी बनाउनु पर्दछ । प्रयाप्त मात्रामा जनशक्ति र साधन स्रोतको व्यवस्था गरी ती संस्थाहरूप्रति विश्वसनीयता बढाउनु पर्दछ । म त के भन्दछु भने प्रधानमन्त्री, मन्त्री, सचिव लगायत उपल्लो निकायका पदाधिकारी र उनका परिवारले अनिवार्य रुपमा सरकारी अस्पतालमा उपचार गर्नुपर्दछ । अनि बल्ल त्यसप्रति विश्वासको वातावरण तयार हुन्छ । र, सरकारी स्वास्थ्य संस्था र निकायहरू प्रभावकारी ढंगले सेवा प्रदान गर्न सक्दछन ।

० सरकारी अस्पताल, स्वास्थ्य चौकी र उपस्वास्थ्य केन्द्रमा जनशक्ति र औषधीको अभाव हुने कारणले गर्दा मानिसहरूले अविश्वास गरेका हुन कि ?

त्यो एउटा पक्ष होला । तर, तोकिए अनुसारको जनशक्ति, भौतिक सुविधा, प्रविधि र औषधीको व्यवस्था गर्न सकिन्छ । वास्तवमा त्यो छ पनि । तर, ती निकायहरूको अवस्था के कस्तो छ भनेर सही ढंगले अनुगमन तथा सुपरीवेक्षण हुन सकको छैन । जसले गर्दा केही न केही अभाव देखिन्छ । अविश्वास हुने गर्दछ । यसलाई नियन्त्रण गर्न उच्च तहका व्यक्तिहरूबाटै अभियान शुरु गर्नुपर्दछ । उनीहरूले विश्वास गरेर सरकारी अस्पतालमा उपचार गर्न गए भने संस्थाप्रतिको विश्वास आर्जन हुन्छ । अरुले पनि त्यसको अनुशरण गर्न थाल्दछन । त्यसपछि सरकारी अस्पताललाई प्रभावकारी बनाउन समुदाय नै लागिपर्दछ । अहिले केन्द्रदेखि लिएर क्षेत्र, अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका र गाउँ विकास समितिसम्म राज्यले अस्पताल, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रको स्थापना गरिसकेको छ । हामीले तिनैलाई प्रभावकारी र सुदृढ बनाउनु पर्दछ । सेवाको गुणस्तर बढाउनतिर लाग्नु पर्दछ । महत्वाकांक्षी योजना बनाएर मात्र हुँदैन । कार्यान्वयनको पक्षलाई बलियो बनाउनु पर्दछ । काम गरेर देखाउनु पर्दछ । डाक्टरले सेतो कोटको मर्यादा र प्रतिष्ठालाई ख्याल गरेर काम गर्नु पर्दछ भने राजनीतिक तहबाट हुने हस्क्षेपलाई पनि निर्मूल पार्नु पर्दछ ।

० पछिल्लो समयमा चिकित्सक र आमजनताबीच द्वन्द्व बढ्न थालेको देखिन्छ । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा भएको घटनाले पनि यही पक्षलाई इंगित गरेको छ । यस्तो किन भैरहेको होला ?

यो अविश्वासको कारणले भएको हो । दुबै पक्षबाट विश्वासको वातावरण तयार गर्नुपर्दछ । डाक्टरसाबहरूले पनि दुईखाले चरित्र देखाउनु हुँदैन । सरकारी अस्पतालमा गर्ने व्यवहार र निजी अस्पतालमा गर्ने व्यवहार समान हुनपर्दछ । सेवालाई व्यापारीकरणको दृष्टिले हेर्नु हुँदैन । दोहोरो चरित्र र व्यापारीकरणको दृष्टिकोण कारणले अविश्वास पैदा हुन्छ । मानवीय कमजोरी हुने एउटा कुरा हो । त्यो एक तहसम्म हुुन्छ । एउटा सीमासम्मको लागि मानवीय कमजोरीलाई स्वीकार गर्न सकिन्छ । तर भरतपुर क्यान्सर अस्पतालमा जुन तहको कमजोरी भयो त्यो स्वीकार हुनसक्ने र क्षमा गर्न योग्य प्रकारको होइन । यो सवालमा म जनता भनाइसंग सहमत छु ।

प्रस्तुतिः देवराज अर्याल



Rating (Votes: )   
Share     Print


Other Articles:
उच्च माध्यमिक शिक्षा निर्विकल्प बनेको छ (08.09.2011)
नेताहरू सत्ता स्वार्थभन्दा माथि उठनुपर्छ : सुनिलकुमार मानन्धर, मन्त्री- वातावरण (06.20.2011)
हामी अहिले पनि मुद्दाकेन्द्रित नभएर व्यक्ति वा पार्टीकेन्द्रित भैरहेका छौं (06.06.2011)
संविधान बनाउने विषयमा संविधानसभाभित्र र बाहिर पनि बहस भएको छैन : अधिवक्ता टीकाराम भट्टराई (05.24.2011)



 
::| Latest News

 
[Page Top]