| युगसम्बाद साप्ताहिक | ||||
|
यसरी खाइन्छ घूस Wednesday, 08.28.2013, 02:27pm (GMT5.5) काठमाडौ । सेवाग्राहीसंग घुस लिने र अख्तियारीको दुरुपयोग गर्ने राष्ट्र सेवकहरूलाई पक्रिदै जेल हालिरहेको अख्तियार दुरुपयोग अनुशन्धान आयोग यतिबेला निक्कै चर्चामा छ । अख्तियारले आफ्नो कर्तव्य पालन गर्न थालेपछि भ्रष्ट राष्ट्र सेवकहरू भटाभट जेल जादैछन् भने, फन्दामा नपरेकाहरू पनि त्रसित हुन थालेका छन् । पछिल्लो समय हरेक क्षेत्रलाई भ्रष्टाचारको जालोले यसरी जेलेको छ की जसले सेवाग्राहीलाई घुस ख्वाउनैपर्ने र राष्ट्र सेवकले घुस लिनैपर्ने अवस्था सिर्जना हुन थालेका छन् । भ्रष्ट राष्ट्र सेवकहरूको सञ्जालले अहिले नेपालको प्रशासन विश्वमै भ्रष्टहरूको संगठन भनेर चिनिन थालेको छ । सानो कामका लागि भए पनि सरकारी कार्यालयहरू लगातार धाइरहनुपर्छ भने जनताको गुनासो जहिले आई नै रहन्छ । जसलाई छिटो गराउनु छ या कानूनलाई मिचेर भए पनि आफ्नो काम गराउनु छ भने, खटिएका कर्मचारीको खल्ती न्यानो पारिदियो भने, त्यहाँ जादुको छडीले चमत्कार भए जसरी नै काम बन्छ । बुधबार अख्तियारको विशेष टोलीले अध्यागमनका कर्मचारीहरूले सेवाग्राहीबाट घुस लिदै गरेको भिडियो सहित केही कर्मचारीलाई रंगेहात पक्राउ गर्याे । उक्त भिडियोमा नेपालका सरकारी कार्यालयमा रहेका कर्मचारीहरूले कसरी घुस लिन्छन् भन्ने बलियो आधारको खुलासा गरेको छ । त्यही भिडियोमा घुसिया कर्मचारीहरूको हर्कत यस्तो छ । जुन भिडियो खिच्न अख्तियार र भ्रष्टाचार विरुद्धको अभियान नामक सामाजिक संस्थाको संयुक्त पहलमा स्टिङ अप्रेशन गरिएको थियो । भिडियोमा अध्यागमनका कर्मचारीहरू नियम कानून उल्लघंन गर्नेहरूलाई कसरी उन्मुक्ति दिन्छन् प्रष्ट देख्न सकिन्छ । भदौ चार गते अख्तियारले एक प्रेश विज्ञप्ति निकाली सञ्चार माध्यमलाई जानकारी दियो की, आयोगको विशेष टोली खटिएको अवस्थामा अध्यागमन विभागका कर्मचारीहरूले सेवाग्राहीसंग रकम लिदै गरेको अवस्थामा खिचिएको श्रव्यदृष्य सहित पक्राउ परे । पक्राउ परेका कर्मचारी र उनीहरूले गरेको हर्कत दृष्यलाई यहाँ शब्दमा उतारिएको छ । धनुषा जिल्लाका मनोज यादव पासपोर्टमा फोटो परिवर्तन गरेर विदेश गएका थिए । स्वदेश फर्किने क्रममा उनी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खटिएका अध्यागमन विभागका कर्मचारी मार्फत पक्राउ परे । उनलाई अध्यागमन विभागको थुना घरमा राखियो । उनलाई छुटाउन अध्यागमनको मुद्दा शाखामा पुगेका मनोजका आफन्तलाई शाखा अधिकृत सूर्यप्रशास दाहालले रकम दिए छुटाइदिने आश्वासन दिए । उनले रकमको मोलमोलाई गर्न मैतीदेवीस्थित एउटा गल्लीमा बोलाए । भिडियोमा मैतीदेवीको गल्लीमा पुग्नासाथ मनोजका आफन्त बनेकाले ‘सर के गर्न सकिन्छ ?’ भनेका छन् भने, अघिकृत दाहालले ‘मैले त कानूनको कुरा गर्ने हो तर त्यो कानूनलाई छिटोबाटो र छोटो समयमै राफसाफ गर्ने उपाए खोज्न सकिन्छ’ भन्ने जवाफ दिएका छन् । यसले रकम लेनदेनबाट मिलाउने भन्ने कुराकानी पहिलै भइसकेको देखिन्छ । अधिकृत दाहालले रकम दिए छुटाइदिने नदिएको खण्डमा कानून संगत मुद्दाको अन्तिम किनारा लगाउदा मनोजलाई ५ वर्षसम्म जेल र ५० हजारसम्म जरिवाना हुने बताउछन् । उनी भन्छन् मुद्दा अदालतमा त लानै पर्छ तर छिटो गरेर सरकारी वकिल, जिल्ला अदालत र अध्यागमन विभाग तीन अड्डाबाट कागर मिलाउने र थोरै जरिवानाबाट छुट्ने उपाए गर्ने हो । यो नै एकदमछिटो छुट्ने उपाय हो । तीनै अड्डालाई मिलाउने गरी गर्नुभयो भने तीन चार दिनमै छुट्छ । यदि तीनै अड्डालाई मिलाउने गरी वास्तै नगर्ने हो भने कानून संगत हुन्छ । अब तपाई पनि धनुषाकै, मेरो साथी पनि धनुषाकै उहाँसँग कुरा गर्नुस् उहाँसंग कुरा मिलाउनुभयो भने हाम्रो हाकिमदेखि, सरकारी वकिल, अदालत सबैमा मिल्छ । उहाँसंग कुरा गर्नुस् भनेर अधिकृत दाहालले सोही फाँटका नायब सुब्बा प्रदिप प्रसाद लामिछानेलाई देखाउछन् । संगैरहेका सुब्बा लामिछानेलाई ढ्याप मार्दै मोटरसाइकल छदैछ कहाँ लगेर कुरा मिलाउने हो मिलाउनुस् भन्छन् । उनले मैले चै भन्ने यही हो कानूनी रुपमा जे हुन्छ हुन्छ भन्नुहुन्छ भने त्यही हुन्छ हैन मिलाउ भन्नुहुन्छ भने चित्त बुझाउनुस् जो पनि विदेशबाट आएका हुन्छन् जसले पनि मिलाउछन्, जल्ले पनि मिलाउने चलन छ भन्दै तपाईको चै घरकहाँ भनेर प्रश्न गर्छन् । क्यामेरा बोकेका व्यक्तिले मेरो चै जनकपुर नै हो सर भन्न नपाउदै पुनः प्रश्न गर्छन् जनकपुर गाउँमा होला नि भने पनि पर्वाह पर्छ भन्ने जवाफ आउछ । संवाद सकिन नपाउँदै तराई मुलको टोन भएका क्यामेरा बोक्ने व्यक्तिले सर मेरो पान पसल पान खाएर जाउ भन्ने आवाज सुनिन्छ । यसले मैतिदेवीको कुनै गल्लीमा रहेको पान पसलमा यो वार्ता भएको पुष्टि हुन्छ । अधिकृत लामिछाने हिंडेपछिसंगै रहेका नासु प्रदिप प्रसाद लामिछाने बोल्न सुरु गर्छन । पान मिठो छ भाइ, म त रौतहट बस्या त्यही भएर भोजपुरी पनि बोल्छु यसो कामचलाउ । त्यसपछि दुवैले पान खान्छन् । त्यही समय सर कसरी मिलाउने त भन्ने प्रश्न गरेको श्रव्य सुन्न सकिन्छ । केही अन्कानाउदै रोकिदै नासु लामिछानेले १५ हजार दिनुस् भन्छन् । सर अलिक मिलाउन सकिदैन अलिक गरिब मान्छे हो भन्ने प्रतिउत्तरले केही मोलमोलाई गर्छ । त्यसपछि नासुले कस्तो छ भने सरकारी वकिल, अदालतका कर्मचारी र हाम्रा साथीहरू तीनथरि हुन्छन् तीनथरिमा तिनैथरिको कुरा नमिली कागज छिटो पेश हँुदैन । त्यसैले गर्दाखेरी न्युनतम पनि शुल्क पनि १५ सय लाग्छ तीनै अफिसलाई पाँच पाँचका दरले जरिवान थोरै भए पनि हामी आफैले तिरिदिनुपर्छ । त्यसले गर्दा सरले हामीलाई कति मार्जिन दिन सक्नुहुन्छ त्यत्ति हो । सरले मिलाइदिनुपर्याे भन्ने आवाज आउँछ । अनि अलिक पर जाउँ न भनेर नासुले भन्छ । पर सरेपछि खिचिएको दृश्यमा नासु लामिछानेको पछाडी डिल्लीबजार सडक ३१८ लेखिएको प्रष्ट देखिन्छ । त्यसपछि नासुले १५ हजार न्युनतम भनेको हो भन्न नपाउदै यसो गर्नुस् न १२ सम्ममा मिलाइदिनुस् न भन्ने आवाज आउछ । नासुले अह कुनै हालतमा हुँदैन त्यो मैले न्युनतम भनेको हो भन्ने जवाफ फर्काउछन् । त्यो भने कहिले छुट्छ सर भन्ने आवाजमा भोलि पेश हुन्छ पर्सि छुट्छ । ठीक छ आज मैले ल्याइदिएको छु यो सर लिनुस् भन्दै नासुको हातमा यही आवज मात्र निकालिरहेको व्यक्तिले पैसा थमाइदिन्छ । नासुले एकएक नोट गर्दै गनिरहेको दृश्य पनि भिडियोमा देख्न सकिन्छ । उनले दुईपटकसम्म गन्छन् हातले सुम्सुम्याउछन् र १५ चै न्युनतम लाग्छ है सर तीन वटा अफिसलाई पाँच पाँचका दरले भन्छन् । आज अलिक पुग्दैन सर भनेपछि भोलि नै गर्नुस् न त भन्दै रकम फर्काउन खोज्छन् । त्यसपछि उनले फेरि पाँच पाँच सयका नोटलाई एक दुई गर्दै ३० पुर्याउछन् र १५ भयो है भन्ने जवाफ दिन्छन् । अनि नाम दिनुस् भनेपछि त्यसको चै पासपोर्टमा मनोज यादव नाम लेखेको छ खास नाम चै नन्दकुमार मण्डल हो भनिएको छ । नासु लामिछानेले पैसाकै खाली भागमा नाम लेख्छन् । त्यसपछि सरको नामचै के पर्याे भनेपछि मेरो प्रदिप प्रदिप के प्रदिप लामिछाने सरको बरु मोवाईल नम्बर दिनुस्न यसो तराईको केटाहरू आयो भने मेरो ९८०३७५०४७८ हुन्छ ल अनि पानको पैसा मैले दिइसके सर । ल तपाई जानुस् काम भइहाल्छ हाम्रो सबै पियन ले गर्छ यो पैसा पनि लगेर पियनलाई दिने हो । पियनले नै अदालतलाई पनि दिन्छ सरकारी वकिलको कार्यालयमा पनि पुर्याउँछ । सबै काम उसैले गर्छ । हामी सकेसम्म कहीं पनि इन्भल्व हुनुहँुदैन देखिदैनौ । यति भनेपछि सम्वाद सकिन्छ । अख्तियारले नै गरेको स्टिङ अप्रेशनको दोस्रो दृश्यमा पनि शैली एउटै छ । घटना पनि उही अध्यागमन विभागकै छ । महोत्तरीका उपेन्द्र सहनी पनि पासपोर्टमा नक्कली तस्विर प्रयोग गरेर विदेश गएका थिए । स्वदेश फर्किने क्रममा विमानस्थलबाट पक्राउ परे । उपेन्द्रलाई पनि छुटाइदिन अध्यागमन विभागका शाखा अधिकृत देवर्षि सापकोटा नायब सुब्बा विश्वरावज खरेल र पियन जयनारायण नापितको एउटा सञ्जाल तयार हुन्छ । शैली एउटै प्रयोग गर्दै शाखा अधिकृत सापकोटाले नासु विश्वराज खरेलसंग कुरा मिलाउनु सबै काम हुन्छ भन्दै विश्वस्त दिलाए । नासु खरेलले माथिकै तरीकाले रकमको मोलमोलाई गरे र १५ हजारमै टुंगो लगाए । नासु खरेलले रकमको डिल गरिसकेपछि पियन जयनारायण नापितलाई रकम दिन भने, पियन नापितले कार्यालयको ट्वाइलेटमा बुझ्ने त्यही आएर दिन आग्रह गरे । नापितले कार्यालयको ट्वाइलेटभित्र १५ हजार रकम लगातार बुझेको दृश्य प्रष्टसंग देख्न सकिन्छ । पियन नापितले रकम बुझिसकेपछि एक दुईदिन मै तपाईको मान्छे छुट्ने जवाफ दिएको छन् । दृश्यमा कानून उल्लंघन गर्नेहरूलाई समेत रकमको चलखेलमा राष्ट्रसेवकहरूले उन्मुक्ति दिने गर्दछन् भन्ने पुष्टि गरेको छ । यसले कानूनको शासनलाई खिल्ली उढाएको मात्र छैन राष्ट्रलाई भ्रष्टाचारको माध्यमबाट खोक्रो बनाइरहेको छ । जसले सरकारी कर्मचारीको खल्तीलाई मोटाउन सक्यो उसैको काम बन्छ कानून उल्लंघन गरे पनि उन्मुक्ति पाउछ । घुस लिने र दिने दुवै राष्ट्रका अपराधी हुन् । उनीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिइनु हुन्न । राष्ट्रसेवक इमान्दार, व्यवस्थित र कर्मठ हुने र प्रत्येक नागरिक सचेत र इमान्दार बन्न जरुरी छ । उनीहरूलाई इमान्दारिताको सवक सिकाउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य तत्तत्का निकायहरूले इमान्दारिसाथ आफ्नो काम गर्नुपर्छ । पछिल्लो समय अख्तियारको कार्यले सर्वसाधारणको हाईहाई पाएको छ भने त्यस्ता घुस्याहाहरू डरले त्राहिमाम भएका छन् । सरकारी कर्मचारी भनेको राष्ट्रसेवक हुन् । उनीहरू इमान्दार, व्यवस्थित र कर्मठ हुनुपर्ने हुन्छ । घुस लिनु र घुस दिनु दुवै पाप हो, भन्ने कुराको जानकारी एउटा राष्ट्र र हरेक नागरिकले ममन गर्नुपर्छ राष्ट्र सेवकले आफ्नो धर्म विर्सनु र अग्रज नागरिक नै घुसको दलदलमा फस्नु भ्रष्टाचार मौलाउनुको प्रमुख कारण हो । राष्ट्रसेवक र नागरिक दुवै इमान्दार, सत्यवान, समयको कदर गर्ने र राष्ट्रको हितको ख्याल गर्ने हुनुपर्छ । यस्ता घटनामा कर्मचारीमात्र दोषी छैनन् । तपाई हामी सबै दोषी छौ । घुसखोरी र भ्रष्टाचारीलाई प्रतिकार गर्नुको सट्टा सहज तरिकाले दिएर तपाईहरू वानी पार्दै हुनुहुन्छ । काम ढिला भएमा वा कसैले घुस मागेमा वा लेनदेन गरेको देखेमा मात्र त्यसको प्रतिकार सामुहिक रुपमा समाज र राज्यका अन्य प्रशासनमा खुलासा गर्ने बाँनी गर्नुहोस् । राज्यलाई भ्रष्टाचार मुक्त बनाउनु हामि प्रत्येक नागरीकको कर्तव्य हो ! कति मुद्दामा घुस लिए होलान् ? काठमाडौंको डिल्लीबजार, कालिकास्थानरस्थित अध्यागमन विभाग, जसले नेपाली र विदेशीलाई प्रस्थान र आगमनको प्रवेश अनुमति दिने, पर्यटकलाई गैरपर्यटक भिसा जारी गर्ने, भिसाको म्याद थप गर्ने, पदयात्रा अनुमति पत्र जारी गर्ने र अध्यागमन नियम कानून उल्लंघन गर्नेउपर कानूनी कारवाही गर्ने काम गर्दछ । कानून उल्लंघन गर्नेलाई यसरी नै मिलोमतो गरिन्छ भन्ने संकेत देखिएपछि सूचना सम्बन्धी हक २०६४ को अधिकार प्रयोग गर्दै आर्थिक बर्ष २०७०–२०७ को मुद्दा फैसलाको विवरण माग गरियो । विवरणमा पछिल्लो ४ महिनामा अध्यागमन विभागमा नियम कानून उल्लघंन गर्नेहरूबाट १५ सय ९८ वटा मुद्दा दर्ता भएको देखिन्छ । जसमा ५ सय ७८ वटा मात्रै मुद्दा अदालतमा दायर भएका छन् भने, बाँकी १ हजार २० वटा मुद्दा प्रशासनिक निर्णयबाटै छाडिएको छन् । - इन्द्र आचार्य |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||