| युगसम्बाद साप्ताहिक | ||||
|
राजनीति पनि मोडलिङ जस्तै Wednesday, 09.18.2013, 12:16pm (GMT5.5) सुनिता बराल, अगुवा विद्यार्थी नेता हुन् । मुलुककै राजनीतिक केन्द्र विराटनगरमा जन्मिएकी बराल अहिले मुुलुककै अगुवा विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको २१ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन् । अखिलको सचिवालय सदस्य रहिसकेकि बराल आफ्नो जीतप्रति विश्वस्त छिन् । महाधिवेशनको पूर्व सन्ध्यामा चुनावी प्रचारमा जुटिरहेकी बरालसँग युगसम्वादको जम्काभेट भयो । विद्यार्थी राजनीतिमा किन लाग्नुभो ? विद्यार्थीहरुको समस्या, समाधान गर्न विद्यार्थी नै लाग्नुपर्ने प्रेरणा प्राप्त भएपछि यो आन्दोलनमा लागे । विद्यार्थी आन्दोलनमा लागेपछि नेपालको राजनीति बुझ्न पाइयो । विद्यार्थी आन्दोलनमा लागेर के पाउनुभो ? आफ्नो अधिकार स्थापित गर्न सकिएको छ । धेरै फराकिलो सोच्नसक्ने भएकी छु । विविध क्षेत्रका मान्छेसँग हुने भेटघाटले मेरो सोचाईलाई अझ परिमार्जित हुन सहयोग पुगेको छ । विद्यार्थी राजनीतिमा नलागेको भए ? सायद जागिरे हुन्थे कि ! राजनीतिमा लागेपछिको सपना ? सामाजिक आन्दोलनमार्फत समाजको रुपान्तरण गर्ने । त्यो दिन मेरो सपना हुन्छ होला । त्यसका लागि नै म अखिलको नेतृत्वमा जान चाहेकी हुँ । विद्यार्थी आन्दोलनले लिएको गतिप्रति सन्तुष्ट हुनुहुन्छ ? सतप्रतिशत छैन । तर, रुपान्तरण गर्दै जानुपर्छ भन्ने लाग्छ । असन्तुष्ट भएर भाग्दैमा समस्या समाधान हुँदैन नि । त्यसका लागि त हरेक समस्यासँग मुकाबिला गर्नैपर्छ । विद्यार्थी आन्दोलनको कमजोरी के हुन् त ? आन्दोलनलाई रचनात्मक बनाउन सकिएन । त्यसका लागि अझै रचनात्मक काम गर्न जरुरी छ । बन्द तोडफोडभन्दा सृजनात्मक काममा ध्यान दिनुपर्छ जस्तो लाग्छ । विद्यार्थीलाई उपयोग गरिएको जस्तो लाग्दैन ? समाजमा हुने प्रत्यक्ष अप्रत्यक्ष सबै मुद्दामा विद्यार्थी जोडिएका हुन्छन् । विद्यार्थी चेतनाको संवाहक भएकाले कतिपय मुद्दामा उपयोग भएको अवस्था पनि छ । तर, युवा, महिला तथा अन्यलाई आकर्षित पार्ने विद्यार्थी नै भएकाले त्यस्तो हुन पनि सक्छ । विद्यार्थी आन्दोलनका राम्रो पक्ष पनि होलान् नि ? थुप्रै छन् । हामीले विद्यार्थीका मात्रै होइनन्, मुलुकका समेत थुप्रै समस्या समाधान गर्न बाध्य पारेका छौं । शैक्षिक प्रगति, सामाजिक, आर्थिक, राजनीतिक र आर्थिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ठूलो देन छ । सचिव भएपछि के गर्नुहुन्छ ? महिलाहरु अधिकारका लागि लड्नुपर्छ भन्ने मेरो मान्यता छ । तर, म अब अधिकारलाई संस्थागत गर्नुपर्छ भन्छु । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार राज्यले ग्यारेन्टी गर्नुपर्छ । त्रिभुवन र महेन्द्र संस्कृत विश्वविद्यालय बाहिर लाखौं विद्यार्थी अध्ययनरत छन् । तिनीहरुलाई विद्यार्थी आन्दोलनमार्फत राज्यको मुल प्रवाहमा जोड्न भूमिका खेल्छु । तपाइँ चाहिं राजनीतिमा हुनुहुन्छ ? साथीसँगी नि ? राजनीतिमा थोरै छन् । कोही विदेश गए, कोही घरजम घरेर बसिसके । अनि, तपाइँ चाँही किन अविवाहित नि ? मलाई आफ्नोभन्दा विद्यार्थी आन्दोलनमै व्यस्त भइयो । यसको अर्थ विवाह नगर्ने भन्ने होइन । तपाइँका उमेरका धेरै मान्छे, रमाइलोमा व्यस्त छन् ? महिलाले साधन मात्रै बन्नुपर्छ भन्ने मान्यता म राख्दिन । साँस्कृतिक रुपमा महिलाले सिँगार गर्नु नराम्रो होइन । तर, सँधै त्यसमै रमाउनु भने हुँदेन । जीवनमा मोडलिङ त गर्नु भएन नि ? राजनीति पनि मोडलिङ जस्तै हो । कुनै पनि वस्तुको व्यापार प्रवद्र्धन गर्न मोडलिङ, विज्ञापन गरिन्छ भने समाजको चिरफार राजनीतिले नै गर्नेभएकोले यसलाई पनि मोडलिङ भन्न सकिन्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||