युगसम्बाद साप्ताहिक

अनेरास्ववियुले विरासत गुमाएको छैन- किशोरविक्रम
Wednesday, 09.18.2013, 12:18pm (GMT5.5)

महाधिवेशनको तयारी कहाँ पुग्यो ? 
सबै हिसावले अन्तिम चरणमा पुगिसकेको छ । प्रतिनिधि चयन र व्यवस्थापन, प्रचारप्रसार, महाधिवेशनको उद्घाटन र बन्द सत्रको तयारी भइसकेको छ । 

महाधिवेशनमा कति प्रतिनिधि आउँदैछन् ? 
देशभरबाट लगभग १५ सय प्रतिनिधि आउँदैछन् । 

महाधिवेशन उद्घाटन र बन्दसत्र कहाँ हुँदैछ ? 
प्रदर्शनीमार्गलाई केन्द्रविन्दु बनाएर वाल्मिकी क्याम्पसमा परिसरमा हुँदैछ । 

महाधिवेशनबाट कस्तो सन्देश दिदै हुनुहुन्छ ? 
हाम्रो महाधिवेशन विगत भन्दा पृथक छ, किनभने हामी महासंघीय संरचनामा जाँदैछौं । अहिले सरकारीभन्दा बढी नीजि क्षेत्रका उच्चमावि तथा कलेजहरुमा विद्यार्थी अध्ययन गर्छन् । विद्यार्थी राजनीति सरकारी कलेजमा मात्रै केन्द्रीत छ । त्यसैले सबै ठाउँमा राजनीतिक जागरणका हिसाबले हामी पनि महासंघीय संरचनामा जाँदैछौं । त्यस्तै विभिन्न क्षेत्रहरु भाषा, संस्कृतिकाहरुलाई कसरी राजनीतिक मुल प्रवाहमा लैजाने भन्ने निर्धारण गरेर महासंघीय संरचनामा लैजादैछौं । यस बाहेक नेपालमा अहिले अध्ययन गरेकाहरु बेरोजगार रहने र विदेशिने प्रवृत्ति छ । यसलाई रोकेर सामाजिक परिवर्तनमा कसरी लगाउने भन्ने नीति निर्माण गर्न विषयगत विश्वविद्यालय निर्माण गर्ने नीति लिएर जानेछ । जुन समानुकूल शिक्षाको पक्षमा हुनेछ । 

राज्य पुनसंरचनाको सँघारमा हरेक पार्टीले घोषणापत्र निर्माण गर्दैछ, यो सन्दर्भमा कस्तो शैक्षिक संरचनाको योजना अघि सार्नुभएको छ ? 
हाम्रो माऊ पार्टी नेकपा एमालेले सात प्रदेशको संघीयतालाई अघि सार्दैछ । त्यो बहुपहिचानको आधारमा हुँदैछ । यसैलाई आधार बनाएर अनेरास्ववियुले शैक्षिक संरचना तय गर्नेछ । हामीले गत वर्ष शैक्षिक सम्मेलन गरेका थियौं । त्यस सम्मेलनबाट प्राथामिकदेखि विश्वविद्यालयसम्मको संघीय संरचनाबारे नीति तय गरिएको छ । अनेरास्ववियुले तय गरेको उक्त नीतिमा नेपालको तेह्र विद्यार्थी संगठनले समर्थन गरेको छ । हामीले आधारभूत शिक्षा अनिवार्य, माध्यमिक शिक्षालाई निशुल्क, उच्च शिक्षा व्यवसायिक तथा प्राविधिक र विश्वविद्यालयलाई खोज तथा अनुसन्धानको शिक्षा भनेका छौं । हाम्रो अवको शिक्षा विश्व बजारमा प्रतिपस्र्धा गर्नसक्ने, प्राकृतिक स्रोतसाधनको अध्ययन गर्नसक्ने विषयगत शिक्षा, वर्गीय शिक्षा र देशभक्तिपूर्ण शिक्षाको विकाससहितको संघीय शिक्षा नीति तयार पार्दैछौं । 

शैक्षिक नीति पर्याप्त हुँदाहुँदै पनि सरकारले लगानी गरेका शिक्षण संस्थाको साख दिन प्रतिदिन घटिरहेको छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सरकारी शिक्षण संस्थामा राज्यको ठूलो लगानी छ तर, लगानी अनुसारको प्रतिफल लिने सवालमा राज्य गम्भीर छैन । एसएलसीमा प्रतिविद्यार्थी एक लाख रुपैयाँ सरकारको लगानी भए पनि नतिजा शून्य छ । यसो भएकाले शिक्षामा एक रुपता ल्याउनुपर्दछ । अनेरास्ववियुले त्यसको लागि सशक्त आवाज उठाउँदै आएको छ । 

तर, सरकारी शिक्षाको साख घट्नुमा तपाइहरु जस्तो विद्यार्थी राजनीति दोषी भनिन्छ नि ? 
यो नितान्त गलत र प्रतिगमनकारी कुरो हो । हरेक संस्कार, प्रवृत्तिको नेतृत्व राजनीतिले गर्दछ । जसले राजनीतिका कारण सरकारी शिक्षाको गुणस्तर विग्रियो भन्छ त्यसप्रति म घोर निन्दा गर्दछु । र, विद्यार्थी राजनीतिको विग्रिएको प्रवृत्ति र संस्कारलाई सुधार्ने म पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु । 

विद्यार्थीहरुले अनावश्यक राजनीति गरिरहेको त स्वीकार्नुहुन्छ नि ? 
विद्यार्थी हक, अधिकारका लागि गरिएको राजनीतिलाई गलत हो भन्नुहुन्छ भने स्वीकार्दिन । 

तपार्इँहरुका कतिपय राजनीतिले शैक्षिक कार्यक्रम नै प्रभावित पारेको त सत्य हो नि ? 
हुँदै, होइन । अनेरास्ववियुले त्यसो गर्दैन । अनेरास्ववियुले हरेक कार्यक्रम रचनात्मक गर्ने नीति पारित गरिसकेको छ । योसँगै संगठन निर्माण गरिने अवधि र विद्यार्थी प्रतिभाको विकास गर्न हरेक शुक्रवार रचनात्मक बनाउँदैछौं । 

तपार्इँहरुले कल्पना गर्नुभएको शैक्षिक नीतिलाई संस्थागत गरिने संविधानसभाको चुनाव हुँदैछ, अखिलको भूमिका के हुन्छ ? 
विगतको विद्यार्थी आन्दोलन सम्झन्छु । ३६ सालको आन्दोलन, त्यसपछिको शान्तिपूर्ण आन्दोलनताका विद्यार्थीहरुले नयाँ एजेण्डा उठाएर राजतन्त्रलाई अन्त्य गर्न सघायो । शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न बाँकी छ । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभा घोषणा भएको छ । त्यो निर्धारित मितिमै हुनुपर्छ । त्यसका निम्ति आम विद्यार्थीलाई रचनात्मक भूमिकाका हिसाबले उतार्छाैं । यसका लागि अन्य विद्यार्थी संगठनलाई संयुक्त रुपमा अघि बढ्न पनि अनेरास्ववियुको तर्फबाट आग्रह गर्दछु । 

दोस्रो संविधानसभाको निर्वाचनका लागि ठोस कार्यक्रमहरु के–के छन् ? 
राजनीतिप्रतिको घृणा र संविधानसभाप्रतिको वितृष्णाले चुनाव भए पनि केही हुँदैन भन्ने जनधारणा बनेको छ । सचेत नागरिकका हिसाबले यो कुराको नकरात्मक पक्षलाई समाजबाट हटाउन जागरण अभियानबाट प्रशिक्षित गरी अघि बढ्छौं । 

राजनीति कि शैक्षिक परिवर्तनलाई महत्व दिनुहुन्छ ? 
मुलुकको राजनीति सही ढंगले अघि बढ्न सकेन भने कुनै पनि परिवर्तन संभव छैन । मुलुकको राजनीति सही ढंगले परिवर्तन हुँदा शैक्षिक परिवर्तन हुन्छ । 

अनेरास्ववियुले विरासत गुमाउँदै गयो । भ्रष्टाचार, गुटबन्दी र नीतिभन्दा नेतालाई महत्व दिन दिन थाल्यो भन्नेहरुलाई के भन्नुहुन्छ ? 
चर्चा चलेकै विषय हो । यसमा केही सत्यता छन् । समग्रतामा त्यो होइन । प्रवृत्तिगत रुपमा हुर्कन खोजेको पनि देखिन्छ । तर, विरासत गुमेको चाहिं होइन । आजको समाजको गति र हिजोको गतिलाई बुझ्नुपर्छ । हिजो र आजलाई एउटै मानियो भने त्यो माक्र्सवाद हुँदैन । गतिशील हुनु नै माक्र्सवाद हो । संगठनभित्र विकृति र विसंगति नभएको भने होइन । तर, संगठनलाई मर्यादित, स्वच्छ र योग्यताका आधारमा जिम्मेवारी प्रदानकै लागि छुट्टै विधान सम्मेलन गरियो । किनभने, महाधिवेशनमा नेतृत्वतिर ध्यान जाँदा नीतिमा बहस नभएको विगत हामीसँग छ । योसँगै गल्तीलाई सच्याएर लैजाने निर्णय गरिसकेका छौं । लेखा आयोग बनाएर आय¬–व्यय पारदर्शी बनाउँदैछौं । जहाँसम्म गुण्डागर्दी जस्ता अराजनीतिक संस्कार छ त्यसलाई अन्त्य गर्न शक्तिशाली अनुशासन आयोग बनाएका छौं ।

अनेरास्ववियुलाई आफ्नै ठाउँमा ल्याउन तपाइँको भूमिका के हुन्छ ? 
विधान सम्मेलनबाट पारित नीतिलाई कार्यान्वय गर्ने, आधारभूत तहसम्म पुग्ने । अहिले हामी मावि र नीजि क्षेत्रमा पुग्न सकेका छैनौं । महासंघीय संरचना अनुसार संगठन परिचालन गर्ने नीतिलाई कार्यान्वयन गर्नेछु । यो नीति कार्यान्वयन गर्नलाई मेरो योग्यता पुगेको महशुस गरेको छ । अनेरास्ववियुका साथीहरुले मलाई जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास लिएको छु । 

तपाइँको उम्मेदवारी कुन पदमा हो ? 
मेरो उम्मेदवारी अध्यक्षमा हो । कार्यकर्ता साथीहरुबाट अनुमोदित हुन्छ भन्नेमा शतप्रतिशत विश्वस्त छु । 

अनेरास्ववियुमा किन किशोरविक्रम मल्ल नै अध्यक्ष हुनुपर्ने ? 
अनेरास्ववियुका सबै साथीहरु सक्षम हुनुहुन्छ । तर, सक्षमहरुमध्ये पनि उत्कृष्टता हाँसिल गर्ने कुरामा अरु साथीभन्दा म अघि छु भन्ने मेरो दावी हो । अनुभव र वरिष्ठताका हिसाबले पनि म अगाडि छु । नेतृत्व तहमा भावनात्मक रुपमा नभई आवश्यकताले पुर्याउँछ । त्यो आवश्यकता साथीहरुले ममा देख्नुहुन्छ भन्ने विश्वास छ ।

विधान सम्मेलनबाट अनेरास्ववियुले शैक्षिक कार्यक्रमहरुको फेहरिस्त नै तयार पारेको रहेछ । तपार्इँहरु नेतृत्वको लडाईमा हुनुहुन्छ । यो अवस्थामा अखिल कि किशोरविक्रमले जित्नुपर्छ ? 
अखिलले जित्नुपर्छ । तर, किशोरविक्रम मल्लले जित्दा पनि अनेरास्ववियुले जितेको हुनेछ । अरु साथीहरुले हार्दा व्यक्तिले हारेको हुँदैन । संगठनले बोकेको नीतिलाई सामुहिक भावनाबाट अघि बढाउन सकेनौं भने त्यहाँ अनेरास्ववियुले हार्नेछ । संगठनलाई जिताउन नीति प्रधान हो नेता होइन । विधान सम्मेलनले पारित गरेको योग्यता र क्षमताका हिसाले जिम्मेवारी प्रदान गरिनु प्रधान हो । त्यसो भएकाले म योग्य छु, त्यसैले किशोरविक्रमले जित्दा जीत अनेरास्ववियुकै हुनेछ । 

अनेरास्ववियु भनेको के हो ? 
अनेरास्ववियु सचेतताको नाम हो । देशभक्तिपूर्ण आन्दोलनको नाम र सहयोद्धा हो । शैक्षिक आन्दोलनको पर्याय हो । राष्ट्रियताको पहरेदार हो । जनजिविकाको अगुवा हो । 

अरु र अनेरास्ववियुमा के फरक छ ? 
विचार र दृष्टिकोण सबैको राम्रो होला । व्यवहार र भूमिकालाई विवेचना गर्ने काम तपार्इँहरु र विद्यार्थी साथीहरुको हो । राष्ट्र, राष्ट्रियता र जनजिविकाका हिसाबले अनेरास्ववियु अग्रपंक्तिमा छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com