युगसम्बाद साप्ताहिक

" कर्मचारीतन्त्रले आफ्नो वर्चश्व देखाइदियो " : नारायणमान विजुक्छे
Tuesday, 12.10.2013, 11:17am (GMT5.5)

० संविधानसभाको दोस्रो निर्वाचनलाई एकीकृत नेकपा माओवादी लगायतका दलहरूले विवादित बनाइरहेका छन् । यहाँलाई निर्वाचन कस्तो भयो भन्ने लाग्छ ?
पूँजीवादी निर्वाचन भएको हुनाले धाँधली त निश्चित छ । उदाहरणका निम्ति शासक दलहरूले हेलिकोप्टर प्रयोग गर्याे त्यो आचारसंहिताभन्दा बाहिरको कुरा हो । यदि कमजोर पार्टीले त्यस्तो गरेको भए उनीहरूको उम्मेदवारी नै बदर गर्थे होला । शासक दल, ठूलठूला दलहरूले गरेपछि निर्वाचन आयोग पनि मौन रह्यो । जहाँसम्म एमाओवादीले धाँधली भयो भन्दैआएको विषय छ यो भनेको पूँजीवादी पार्टीहरूको एक आपसमा घाँटी काटाकाटको स्थिति हो । पूँजीवादी पार्टीहरूमा उनीहरूको एकाधिकारको ‘कट फट’ प्रतिस्पर्धा भएको मात्र हो ।

० एकीकृत नेकपा माओवादीले भनेजस्तै पहिलेकोभन्दा कम सिटमा विजयी भए पनि परिणाम अस्वीकार गर्ने अवस्थामा त तपाईंहरू हुनुहुन्न ?
निर्वाचनमा प्राप्त मप परिणामलाई स्वीकार्नुपर्छ । धाँधली, अनियमितता भएको त्यस्ता प्रमाणहरू आफूसंग छ भने अदालत जाने हो तर अदालतमा जीत हारको सम्भावना कम हुन्छ र शासक दलहरूले नै जित्ने सम्भावना धेरै हुन्छ । पूँजीवादी राज्य सत्तामा यस्तै हुन्छ । पूँजीवादी राज्य सत्ता भनेको सेना, प्रहरीका साथै अड्डा अदालत पनि हो । त्यस्तै स्थायी सरकार भनेको कर्मचारीतन्त्र हो । यसपटक कर्मचारीतन्त्रले आफ्नो वर्चश्व खुब मज्जासित देखाइदियो । 

पहिले पहिले कम्युनिष्ट आन्दोलनमा राज्य सत्तालाई कब्जा गर भन्ने थियो । पेरिस कम्युनिको बेलामा राज्यसत्ता त कब्जा गर्याे तर त्यसबाट काम नलाग्ने कुरा देखापर्याे । त्यसपछिका कम्युनिष्ट आन्दोलनमा राज्यसत्तालाई ध्वंश गर भन्ने आयो । जहिलेसम्म यो कर्मचारीतन्त्रलाई ध्वंश गर्न सक्दैन तहिलेसम्म कामदारवर्गले इमान्दारीपूर्वक काम हुन्छ भन्ने नचिताए पनि हुन्छ भन्ने अक्टोबर क्रान्तिको सन्देश, चिनीया क्रान्तिको सन्देश र क्युबाली क्रान्तिको सन्देश हो ।

० त्यसो हो भने एमाओवादीले धाँधली भयो भन्दै संविधानसभामा पनि नजाने र समानुपातिकको नाम पनि नपठाउने निर्णय गरेको छ । यो के हो त ?
उहाँहरूले रिसको झोंकमा एकैबाजी बोलिहाल्नुभो र फस्नुभो । यदि उहाँहरूले जस्तै हामीले पनि व्यवहार देखाउने हो भने १२७ ठाउँमा हामीले उम्मेदवारी दिएका थियौं, यदि पैसा खर्च गरेन भने, भोज भतेर गरेन भने, जातको कुरा गरेन भने, सरकारमा जाने पार्टीलाई भोट देउ भन्न नपाइने हो भने र जित्ने पार्टीलाई भोट दिनुपर्छ भन्ने खालका अराजनीतिक र अनैतिक, अप्रजातान्त्रिक कुराहरूलाई हामीले बन्देज लगाउने हो भने १२७ स्थानमै हामी जित्छौं । यसको मतलब धाँधली भो र हामी चुनाव परिणाम मान्दैनौं र भाग लिदैनौं भन्न पाइँदैन । यो पनि एउटा वर्ग संघर्ष हो र राजनीतिक संघर्ष नै हो । यसमा पनि हामी संघर्ष गर्छौं । यस्तोमा हामीलाई बहुमत दिए पनि समाजवाद आउँदैन भन्ने हाम्रो विश्वास हो ।

२००७ सालदेखि नै मुलुकमा परिवर्तनको लहर देखिए पनि सत्तामा जाने राजनीतिक दलका नेताहरूले आफ्नो सुविधा लिने र मुलुकलाई विदेशीको खेलमैदान बनाउने भूमिकालाई मात्र निरन्तरता दिए । प्रजातान्त्रिक समाजवादको कुरा होस् वा साम्यवाद, सबै देखाउने दाँत मात्र भए । हामीले मुलुकको आर्थिक रुपान्तरण नै गर्ने र समाजवादको सुरुवात गर्ने हो भने करोडपति, अर्बपति सांसदलाई तलब–भत्ता दिन बन्द गर्नुपर्छ । त्यस्तै आफ्नो व्यवसाय भएकालाई पनि दिनुहुँदैन । जो मजदुर, काम नभएका र गरीबहरू जनप्रतिनिधि भएर आएका छन् भने उनीहरूलाई मात्र भत्ता दिनुपर्छ । क्यूवामा शिक्षक, कर्मचारी, मजदुर अर्थात् रोजगार भएकाहरू चुनिएर आए भने उनीहरूलाई भत्ता दिने चलन छैन । हामीकहाँ पनि त्यस्तै गर्नुपर्छ ।

० तपाईंले भनेको कुरा शतप्रतिशत ठीक । तर तपाईं आफैं तुलनात्मक रुपमा यसलाई व्यवहारमा ल्याउन सक्नुहुन्छ ?
पेशाले म एउटा शिक्षक हुँ या पत्रकार हुँ । राज्यले मलाई त्यस्तो किसिमको बन्दोबस्त गरिदियो भने म भत्ता लिन्न । हाम्रै पार्टी हो जसले संसद सदस्यहरूले पेन्सन खाने प्रस्ताव ल्याएका थिए, त्यसको विरोध गरेको । किनभने वर्षौंसम्म काम गरेपछि मात्र मजदुर या कर्मचारीहरूले मात्रै पेन्सन पाउँछ, १–२ वर्ष बस्दैमा संसद सदस्यहरूले पेन्सन पाउन हुन्न भनेर हामीले त्यसको विरोध गरेका हौं ।

० तपाईं बाहिर बसेर गरीब, मजदुर, किशान, श्रमजीवीको कुरा गर्नुहुन्छ, राजनीतिमा नैतिकता र आदर्श पनि कायम राख्नुभएको छ । आफ्ना दृष्टिकोण र मान्यता लागू गर्न त सरकारमा जानैपर्छ तर यहाँ त कहिल्यै पनि सरकारमा जानुहुन्न ? किन होला ?
त्यस्तो हैन, सबै सरकारमा गएर मात्र समस्याको समाधान हुँदैन । जस्तो कि डाक्टरहरूले रोगीको उपचार गर्छन् तर सबै डाक्टरलाई सरकारमा ल्याएर वा संसदमा राखिदिएर त सबैको उपचार हुँदैन नि ? त्यस्तै सरकारमा जानु भनेको फोहोरी खेल पनि हो । अहिलेको चुनावमा हामी सरकारमा नजाने पार्टी भएकोले यसलाई भोट नदिनु भनेर खुब प्रचार गरे ।
प्रजातन्त्रमा जनताले जसलाई धेरै मत दिएको हुन्छ वा बहुमत दिएको हुन्छ, उसलाई सरकार चलाउनु भन्ने आदेश हुन्छ । दोस्रो साना पार्टीहरू जसले धेरै मत ल्याएका छैनन् उनीहरूलाई प्रतिपक्षमा बसेर काम गर्नु भन्ने आदेश हो । त्यो आदेशलाई हामी पालन गर्छौं । साथसाथै पूँजीवादी सरकार भनेको फोहोरी खेल नै हो । एक किसिमले पूँजीवादी सरकार भनेको नर्क हो, हामी नर्कमा जाँदैनौं ।

० तर, पूँजीवादी सरकार गठन गर्ने निर्वाचनमा भाग लिनु पनि त नर्कको बाटो हिंड्नु नै हो नि हैन र ?
हैन, यो नर्कको बाटो हिंडेको नभएर संघर्ष गरेको हो । नर्कमा जानेहरूसंग, अपराधीहरूसंग हाम्रो संघर्ष हो । यो वर्ग, राजनीतिक र सैद्धान्तिक संघर्ष हो । हामी यो संघर्षलाई जारी राख्छौं र छोड्दैनौं ।

० तपाई यस्तो राज्य व्यवस्थाको परिकल्पना गर्नुहुन्छ तर आम मतदाता भने विपरीत दुई ध्रुवका राजनीतिक दललाई मत दिएको देखियो । एकै व्यक्तिले ‘एकभोट दाइलाई, एक भोट गाईलाई’ भनेर यसलाई कसरी लिनुहुन्छ ?
यो अराजनीतिक र अप्रजातान्त्रिक चरित्र नै हो । यसको शिकार हाम्रो पार्टी स्वयं भएको छ भक्तपुरमा । नेपाली कांग्रेस र राप्रपा नेपालले भित्रभित्रै सम्झौता गरेको देखियो । नेपाली कांग्रेस भनेको गणतन्त्रवादी छ, धर्म निरपेक्षतालाई स्वीकार गरेको र प्रजातान्त्रिक समाजवादको वकालत गर्छ भने राप्रपा नेपालले राजतन्त्रलाई मान्छ, हिन्दु राज्य हुनुपर्छ भन्छ । यो त कुनै पनि बिन्दुमा मिल्न नसक्ने भए पनि नेपाली कांग्रेस र राप्रपा नेपालले मिलेर भोट लिए । यो अप्रजातान्त्रिक गठबन्धन हो जसको हामी विरोध गर्छौं ।

० जे भए पनि निर्वाचन परिणाम आइसक्यो र दलहरूबीच विवाद पनि सुरु भएको छ । राष्ट्रपतिका विषयमा पनि विवाद छ, यसलाई कसरी लिनुहुन्छ ?
संविधानसभाको निर्वाचन भएकाले सबैको ध्यान संविधान निर्माणतिरै जानुपर्ने हो तर यससंगै सरकार पनि बन्ने भएकाले सरकारको निर्माणका निम्ति राष्ट्रपतिले संसदमा बहुमत दललाई या सबभन्दा ठूलो दललाई सरकार बनाउनका निम्ति समय दिने हो । बहुमत सिद्ध गर्नसक्ने दलले सरकार गठन गर्छ । यदि यो कुरालाई नमान्ने हो भने सबभन्दा पहिला राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भो । तर राष्ट्रपतिको निर्वाचन गर्ने त प्रावधान नै छैन । हामी त संविधानसभामा छौं । त्यसकारण नयाँ संविधान बनेर त्यसले राष्ट्रपतिको बन्दोबस्त के गर्ने भन्ने टुंगो लागेर नयाँ राष्ट्रपति नआएसम्म पुरानो राष्ट्रपतिले राजीनामा दिनुपर्दैछ । मैले बुझेको यही हो ।

० त्यसो भए नेकपा एमाले लगायतका दलले यो कुरा किन उठाइराखेको छ त ? नबुझेर हो ?
घरज्वाईको त खानेकै धन्दा हो नि । निर्वाचनमा भाग लिंदा हामी ६ महिनाभित्र नयाँ संविधान बनाउँछौं, ढिलोमा एक वर्षभित्र त पक्का भन्दै जनतालाई भन्ने तर सदन खुलेको छैन राष्ट्रपति हामीलाई चाहिन्छ, प्रधानमन्त्री तिमी लेऊ, यो मन्त्रालय मलाई, त्यो तलाई  भन्दै कराउन थालेका छन् । यिनीहरूले कहिल्यै आफ्नो बुद्धि सुधारेका छैनन् । स्थिति त्यही हो । 

० त्यही त संविधान बनाउन पठाइएका दलहरू सत्ताकै लागि मात्र मरिहत्ते गरेको देखियो । के अब पनि संविधान नबन्ने छाँटकाट हो ?
हामीले त जनतालाई सचेत पार्ने हो । उनीहरूले खानकै लागि तीघ्रा ठटाएको हेरेर बस्ने हैन, हामी प्रतिपक्ष भनेको खबरदारी गर्ने हो । संविधान बनाउन भनेर पठाइएका ठूला शासक दलहरू खानकै लागि मात्र जन्मिएका हुन्, भ्रष्टाचार गर्न, आफ्ना मान्छे भर्ती गर्न मात्र जान्छन् भन्दै जनतालाई सचेत पार्ने काम हाम्रो हो । 
यस्तो अवस्थामा जनताले के गर्ने भन्ने प्रश्न पनि आउँछ । म त भन्छु यस्ता विकृति–विसंगति बिरुद्ध संघर्ष गर्नुपर्छ । आज आम जनतालाई निर्वाचन परिणामपछिको राजनीतिक अवस्थाले चित्त बुझाउन सकेको छैन । जनतामा निरासा छाउन थालिसकेको छ । यस्तो अवस्था आउनु हुँदैन । जनतालाई त हामीले त शासक दलहरूले के के गरे, कसरी शोषण गरे भनेर भन्ने हो र भन्दै आएका पनि छौं ।

० मलाई एउटा कुरा बताइदिनुस न ? तपाई संगै अरु कम्युनिष्ट नेताहरू अरुलाई शोषक भन्दै खुब चिच्याउँछन् । खासमा शोषक भनेको के हो ?
जसले १०० रुपैयाँको काम गराएर १० रुपैयाँ दिन्छ अनि ९० रुपैयाँ आफ्नो खल्तीमा हाल्छ त्यसलाई शोेषक भनिन्छ । हामी त्यस्तो अवस्थाको अन्त्यको अभियानमा छौं । कामदार वर्गले काम अनुसारको ज्याला पाउनुपर्छ चाहे त्यो बौद्धिक होस् वा शारीरिक काम गर्ने तिनीहरू सबै कामदार हुन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com