युगसम्बाद साप्ताहिक

यसपटक विगतमा जस्तो समस्या देखिन्न – युवराज ज्ञवाली, सचिव नेकपा एमाले
Tuesday, 12.24.2013, 07:07pm (GMT5.5)

० संविधानसभाको पूर्णता तथा सरकार गठन लगायतका विषयमा भैरहेको ढिलाईको कारण के हो ? समानुपातिक सभासदको नाम बुझाउन दुईपटक समय थप्न लगाउनुभयो । कतै तपाईंहरूको आफ्नै समस्याले त यस्तो भैरहेको छैन ?
हैन, निर्वाचन आयोगले समय दिइसकेपछि समानुपातिकको नाम बुझाउन अझै राम्रो र गहिरोसंग गृहकार्य गरौं र स्थिति परिपक्व भैसकेपछि निर्णय गरौंला भन्ने मात्र हो । समय पाएपछि स्वाभाविक रुपमा सबैले त्यस्तै सोच्छन् । त्यसले गर्दा विलम्ब भएको हो । जहाँसम्म नेकपा एमालेको कुरा छ– हामीले त पुस ३ गतेभित्र नै बुझाउने भनेर तयारी गरिरहेका थियौं । पुस १ गते स्थायी कमिटिको बैठक बसेर ३ गते बुझाउने निर्णय भएको थियो । बैठककै तयारीमा हामी थियौं । तर एनेकपा माओवादीले १० गतेसम्म म्याद बढाउनुपर्यो र हामी पनि संविधानसभामा आउँछौं भन्ने अनुरोध गरेको हुँदा तेस्रो शक्तिमा रहेको पार्टीलाई संविधानसभामा ल्याएर संविधान निर्माणको काममा लाग्नुपर्ने महत्वपूर्ण कार्यभार भएको हुनाले उसको पनि संलग्नता रहोस् भनेर म्याद थप्न आग्रह गरिएको हो ।

० एमाओवादीले १० गतेसम्म बुझाउँदै गथ्र्यो तर तपाईंहरूले त जनआशा अनुसार तोकिएकै समयमा बुझाउनु पथ्र्यो नि हैन ?
तपाईंले भनेको कुरा ठिकै हो तर के हुन्छ भने समय रहेको अवस्थामा ३३५ बाट ८४ जनामा झार्नुपर्ने भएको हुँदा त्यसका लागि अझै राम्रोसंग गृहकार्य गरेर जाँदा निर्णय गर्न सजिलो हुन्छ भनेर पनि समय छँदैछ भनेर मात्र विलम्ब भएको हो । 

० समय छँदै नाम पठाउनुपर्दा राम्रा मान्छे पठाउनुपर्ने वाध्यता हुने तर समय घर्किसकेपछि पठाउँदा आफ्नो मान्छे पठाउन पाइने हुँदा असन्तुष्टिलाई वाध्यताको उपज भनेर टार्न सकिन्छ भनेर हो भन्ने आरोप पनि छ नि ?
अरु पार्टीले के गर्छन् मलाई थाहा छैन । हामी हाम्रा मान्छे हैन कि राम्रा मान्छे, जो असल, सक्षम र योग्य र त्याग तपस्या गरेका र इमान्दारलाई बढीभन्दा बढी मिलाएर लग्नुपर्छ भन्ने कुरामा सचेत छौं । हाम्रा सबै नेताहरू त्यसमा सचेत हुनुहुन्छ । हामीले आपसमा कुराकानी पनि गरिरहेका छौं– संविधान निर्माण गर्ने कुरामा योगदान गर्नसक्ने मान्छेहरू लैजानुपर्छ भन्ने विषयमा । हुन त ३३५ जना सबै असल नै छन् तर त्यसमध्ये पनि तुलनात्मक रुपले योग्य, सक्षम, योगदान गरेका र संविधान निर्माणमा योगदान गर्नसक्ने क्षमता भएका मान्छे छान्नुपर्छ भनेर यो कुराकानी भैरहेको छ ।

० तपाईंले यसो भनिरहे पनि कतिपय सभासदका आकांक्षीहरू नेताहरूको घरघरमा धाइरहेका छन् । यो अस्वाभाविक होइन तर तपाईंहरूले यो यो मापदण्ड पूरा गरेकालाई मात्र सभासद बनाइने भनेर भन्न चाहिं सक्नुभएन हैन ?
हाम्रो केन्द्रीय कमिटिले एउटा मापदण्ड पारित नै गरिसकेको छ । त्यो मापदण्डमै आधारित भएर हामीले निर्णय गर्ने हो । जहाँसम्म नेताहरूको घरघरमा गैरहेको भन्ने कुरा छ त्यसमा हामीले त्यतिबेलै सबैलाई आआफ्नो गाउँ फर्किनु, निर्वाचनको समीक्षा गर्नु र पार्टी संगठन सुदृढ गर्ने काममा लाग्नु भनेर निर्देशन दिएका छौं । त्यसपछि धेरै साथीहरू फर्किसक्नुभएको छ । कसैकसैको भेट्ने क्रम जारी पनि छ तर तपाईंले भनेजस्तो भीडभाडको स्थिति छैन । अहिले निर्वाचनको समीक्षा गर्ने काममा देशभरिका साथीहरू लागिपर्नुभएको छ । हामी सभासदहरूको संख्या टुंग्याउने अवस्थामै छौं ।

० तपाईंहरूले सभासदको संख्या टुंग्याएर कहिलेसम्म संविधानसभाको बैठक बोलाउने योजना बनाउनुभएको छ त ?
अहिलेसम्म संविधानसभाको बैठक कहिले बस्छ भन्न सकिन्न । पहिलो कुरा त संविधानसभालाई पूर्णता दिनुपर्यो । सबै राजनीतिक दलहरूले १० गतेभित्र निर्वाचन आयोगमा नाम बुझाउनु पर्यो । यसमा विलम्ब गर्नु भएन । जति ढिलो गर्यो त्यति संविधान निर्माण गर्ने काममा ढिलाई हुन्छ । 

० संविधानसभाको समानुपातिक सभासदको नाम बुझाउन त पटकपटक म्याद थप गराउनेहरूले संविधान निर्माणमा पनि यसरी नै म्याद थप्दै जान्छन् भन्न थालिसकिएको छ नि ?
निर्वाचन आयोगले पनि पुस १० गतेउता म्याद थप्न सकिन्न भनेर विज्ञप्ति नै जारी गरिसकेको छ । त्यसो भएको हुनाले १० गतेभित्रमै बुझाउने गरी सबै पार्टीहरूले तयारी गर्नुपर्छ ।
ढिलो भएको साँच्चै नै हो । यसरी विलम्ब गर्न हुन्थेन । तर संविधानसभाले पूर्णता पाइसकेपछि संविधान निर्माणमा बाँकी रहेको नमिलेका कुराहरूका विषयमा छलफल गरेर टुंग्याउने हो र यदि सहमति भएन भने प्रक्रियामा गएर टुंग्याउनुपर्छ भनेर हामीले भनिरहेका छौं । विगतमा संविधान नबनेर म्याद बढाउँदै गएको हुनाले कतै त्यस्तै प्रवृत्ति दोहोरिने त हैन भनेर प्रश्न उठ्नु स्वाभाविक छ । यो प्रश्नको उत्तर हामीले कुराबाट हैन कामबाट दिनुपर्छ । 

० तपाईंले यसो भने पनि संविधानसभाको बैठक बसेपछि तपाईंहरू सरकार बनाउनमै लफडा गर्ने होला नि ?
सरकार बनाउन त्यति ठूलो लफडा होला जस्तो मलाई लाग्दैन । किनभने अहिले कुनै एउटा पार्टीको बहुमत छैन । दुईवटा पार्टी मिलेपछि सहज रुपमा बहुमत पुग्छ । तर दुईवटा पार्टी मात्र हैन अरु पार्टीहरूलाई पनि मिलाउने प्रयास गर्नुपर्छ । विगतमा जसरी सरकार गठनमा समस्या देखियो यसपटक त्यस्तो देखिन्न ।

० अहिले त झन दुई पार्टीबीचमै पो विवाद देखिएको छ त ?
एमाले र कांग्रेस मिल्ने बित्तिकै अत्यधिक बहु्मत पुग्छ तर यी दुई पार्टी मात्र मिलेर नभै अरुलाई पनि मिलाएर लैजाँदा राम्रो हुन्छ । विगतमा धेरै पार्टी मिलेर जानुपर्ने र यो वा त्यो भन्ने स्थिति रहेको भए पनि अहिले त्यो स्थिति रहन्न । मूलतः कांग्रेस र एमाले मिल्नुपर्छ जसले गर्दा संविधान निर्माण गर्ने कुरा होस् या सरकार निर्माण गर्ने कुरा स्थिति सहज रुपमा अघि बढ्छ ।

० कांग्रेस र एमालेबीच नै अनेक आशंका उब्जिएका छन् नि ?
हामी नमिली सुखै छैन । हाम्रा बीचमा विभिन्न किसिमका मतभेदहरू छन् त्यो स्वाभाविक हो । दुई पार्टीका बीचमा दर्शन, सिद्धान्त र राजनीतिक र अहिलेका तत्कालिन विषयहरूमा पनि फरक विचार छ । तर, यथार्थ के हो भने संविधान निर्माण गर्ने सवालमा हामीबीच धेरै कुरामा समानता छन् । यो सबैको साझा चासोको विषय पनि हो । हाम्रो लक्ष्य र उद्देश्य संविधान निर्माण गर्ने नै हो । त्यसो भएको हुनाले कतिपय कुरामा लचिलो भएर निश्चित सहमतिमा पुग्नुपर्छ र मेरो गोरुको बाह्रै टक्का भनेर अल्झिनु हुँदैन । संविधान भनेको कुनै एउटा पार्टीको घोषणापत्र हैन ।

० तपाईंले यसो भनिरहँदा तपाईंकै कतिपय नेताहरू ‘कांग्रेसका कारण हामी प्रतिपक्षमा पुग्ने भयौं’ भनिरहेका छन् ? तपाईंले भनेजस्तो सहज सहमतिको यात्रा छ र ?
सहज त छैन तर नमिलिकन हुँदैन । जटिलता र चुनौतिहरू छन् । हामी आपसमा नमिलिकन समस्याको समाधान पनि हुँदैन । जहाँसम्म सरकारको कुरा छ हामी संगै जाऔं भनेर नेपाली कांग्रेस लचिलो भएर आउँदा हामी मिलेरै सरकारमा जाने हो हैन कांग्रेसले अरु नै पार्टीलाई लिएर सरकार बनाउन लाग्यो भने हामीलाई प्रतिपक्षमा बस्न कठिनाई पनि छैन । हामी लामो समयसम्म प्रतिपक्षमै बसेको हो । त्यसैले सरकारमा बस्नैपर्छ भन्ने छैन । तर, संविधान चाहिं सबै मिलेर सहमति गरेरै बनाउनुपर्छ । सकेसम्म सरकारमा पनि सहमतिका साथ संयुक्त रुपमा जाने कुरामा ध्यान दिनुपर्छ । सरकार बनाउँदा पक्ष–प्रतिपक्ष भएर एमाले कांग्रेस आपसमा अन्तरद्वन्द्व बढाएर जाँदा संविधान निर्माण बनाउने कुरामा पनि संकट उत्पन्न हुनसक्छ । त्यसैले सरकार निर्माण र संविधान लेखनमा पनि सकेसम्म मिलेर जानैपर्छ, सहमति गर्नैपर्छ । त्यसो भएको हुनाले सकारात्मक ढंगले नै अगाडि बढ्नुपर्छ ।

० पछिल्लो समय कांग्रेस–एमालेका नेताबीच प्रतिद्वन्द्वीता बढ्यो, एकले अर्कोलाई छिर्के हान्न थाले भन्ने कुरा आइरहेका छन्, यसमा कत्तिको सत्यता छ ?
कसैले कसैलाई छिर्के हानेर पार लाग्ने अवस्था छैन । कोही पनि छिर्के हान्ने, दाउ खेल्ने, षड्यन्त्र गर्ने, जालझेल गर्ने काममा लाग्नु हुँदैन । जसले त्यो काम गर्छ ऊ आफैं फस्छ । हाम्रो मुख्य काम भनेको हो संविधान बनाउने हो । त्यसका लागि सहमति नगरिकन सुख्खै छैन । जालझेल र षड्यन्त्र गर्न थालेपछि सहमति हुँदैन र त्यसले संविधान निर्माण गर्ने लक्ष्य नै समाप्त हुन्छ र हामी फेरि असफल हुन्छौं । यो असफलता कुनै एउटा पार्टीको मात्र नभएर देश नै असफल हुन्छ । यो कुरा सबैलाई थाहा छ, सबै नेताहरूले कुरा बुझेका छन् । त्यसो भएको हुनाले आपसी मतभेद र विवादहरू रहेका भए पनि तिनलाई समाधान हुने गरी टुंग्याउनुपर्छ र विवादले समाधान खोज्नुपर्छ ।

० सहमतिको विकल्प छैन र कांग्रेसका नेताहरूले एमाले मात्र हैन, अरु दललाई पनि लिएर जानुपर्छ भनिरहेका छन् तर एमालेका नेताहरूले किन प्रतिपक्षमा बस्ने कुरा बहसमा ल्याएको त ?
हाम्रा नेताहरूले सरकारमा जान्न पनि भन्नुभएको छैन र सरकारमा नगै हुन्न भनेर पनि भनिएको छैन । कुरा के हो भने एमाले सरकार नभै टिक्कै सक्दैन, बस्नै सक्दैन भनेर जुन खालका कुराहरू आइरहेका छन् नि त्यसमा कुनै सत्यता छैन । हामी लामो समयदेखि संघर्ष गर्दैआएका छौं । सरकारमा बस्दा राम्रो काम गरेर देखाएका पनि छौं र अधिकांश समय प्रतिपक्षमा पनि बसेका छौं । त्यसैले हामी प्रतिपक्षमा बस्नु पर्छ भनेर डराएका पनि छैनौं र सरकारमा जिम्मेवारी लिन पनि पछि हट्दैनौं ।

० अहिलेको तपाईंहरूको आवश्यकता प्रतिपक्षमा बस्ने हो कि सरकारमा गएर सकारात्मक भूमिका निभाउने हो ?
अहिलेको आवश्यकता सरकारमा गएर सकारात्मक भूमिका निर्वाह गर्ने नै हो । ठूलो दल नेपाली कांग्रेस पनि त्यही अनुसार जिम्मेवार हुनुपर्छ । अहिले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा राम्रै कुरा आएको छ र नेताहरूको अभिव्यक्ति पनि राम्रो आइरहेको छ । यो सकारात्मक कुरा हो । त्यसैले यसलाई बित्यास पर्यो, विग्रने भयो भन्ने ढंगले हैन कि सबै ठाउँबाट सकारात्मक सोचको विकास भैरहेको ढंगले हेर्नुपर्छ । अहिले समानुपातिकको नाम बुझाउन जुन विलम्ब भैरहेको छ यसले गर्दा आशंका बढाइरहेको हो । अब यो छिट्टै बुझाउनुपर्छ र राजनीतिक पार्टीहरू यसमा लागिरहेकै छन् ।

० यहाँ त नके स्वार्थी समूहले खेलेर मिल्नै लागेको स्थितिलाई बिगार्ने गरेका छन् । फेरि पनि त्यस्तो नोला भन्न सकिन्छ र ?
जेजस्तो अवस्था भए पनि दुई पार्टीका नेताहरू नमिली सुखै छैन । कुनै स्वार्थी समूहको उक्साहटमा लागेर नमिल्ने कुरा हुन थाल्यो भने त्यो डुब्ने स्थिति मात्र हुन्छ । त्यो दिशाहिनता हो, कोही पनि गुटबन्दी गरेर, ध्रुवीकरण गरेर जाने हो भने त्यो मासिने र समाप्त हुने बाटो हो । त्यसकारण नेताहरू त्यो बाटोमा जाँदैनन् । बहस, विवाद हुने कुरा समान्य हो यसलाई अन्यथा लिनु हुँदैन । यो बहस, विवाद, छलफल जुन चलेको छ यसले बिग्रन्छ कि भन्ने आशंका उत्पन्न भएको छ तर आशंका मात्र नगरेर पार्टीहरूले समाधान पनि निकाल्छन् भन्ने ढंगले बुझ्नुपर्छ । अहिलेकै परिस्थितिले मुलुकको राजनीति ध्रुवीकरणको स्थितितिर जाँदैन । 

० राष्ट्रपतिको कारणले पनि आशंका बढ्दै गएको छ नि ?
विवाद त विभिन्न विषयमा हुन्छ नि । संविधान निर्माण गर्ने लगायत तमाम प्रक्रियामा बहस हुन्छ, छलफल हुन्छ । कांग्रेसले जेजे भन्छ त्यही त्यही गर्दै जाने र एमालेले जेजे भन्छ त्यही गर्नुपर्छ भन्ने पनि होइन । जायज के हो त्यो हेर्नुपर्छ । हामीले राष्ट्रपतिको सवाललाई लोकतान्त्रिक विधि र प्रक्रिया के हो भनेर मात्र सवाल उठाएको हो । हामीले पद्धति र प्रणालीको कुरा गरेको हो । त्यसो भएको हुनाले हामीले उठाएको कुरा बेठीक छ भने त्यो पनि आउनुपर्यो यत्तिकै जवर्जस्ती गरेर होइन भन्नेखालको कुरा गर्नु हुँदैन । यिनै कारणले सबै भताभुंग हुने र मिल्नै नसक्ने स्थिति आउँछ भन्ने चाहिं मलाई लाग्दैन र त्यो तरिकाले जानु पनि हुँदैन । यसमा कांग्रेसले पनि गम्भीर रुपमा सोच्नुपर्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com