युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 04:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
राष्ट्रियताको वैचारिक नेतृत्व हुन सकेन - मोदनाथ प्रश्रित
Monday, 01.13.2014, 06:25pm (GMT+5.5)

० पृथ्वीनारायण शाहलाई आधुनिक नेपालले सम्झनुको खास कारण के हो ?
नेपालको मेची–महाकालीभित्र हामीले जे भूमिका निर्वाह गरिरहेका छौं । त्यो भूमि निर्माण गर्ने मान्छे को हो भन्दा पृथ्वीनारायण शाह भनेर सबैले भन्छन, चिन्छन् । आजको विविधता सहितको देशलाई जसले निर्माण गर्यो उसलाई प्रत्येक नेपालीले सम्झिन्छन् र पृथ्वीनारायण शाहलाई नेपालको माटोले नै सम्झाइरहेको हुन्छ । यो एउटा पक्ष हो । अर्को पक्ष भनेको नेपाल राष्ट्रको ऐतिहासिक–सांस्कृतिक विविधतालाई अक्षुण राख्दै यसको संरक्षण गरेर २२ से २४ सेमा विभाजित कमजोर अवस्थामा रहेको टुक्रा टुक्रा नेपाललाई एकीकरण गरी सबल राष्ट्र बनाउने जुन भूमिका पृथ्वीनारायण शाहबाट सम्पन्न भयो त्यो नै उहाँलाई सम्झनुपर्ने कारण हो । एक किसिमले भन्ने हो भने आधुनिक नेपालको जन्मदाता अर्थात् पिताका रुपमा पृथ्वीनारायण शाहलाई लिन सकिन्छ ।

० वास्तविकता यस्तो भए पनि वर्तमान परिप्रेक्ष्यमा पृथ्वीनारायण शाह उपेक्षित भएको देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ?
कहिलेकाहीं समय बौलाउँछ । कहिलेकाहीं ठूलो वर्षात भयो भने कहिल्यै नबगेका पहराहरू भत्किन्छन्, रुखहरू ढल्छन र प्रकृति साम्य भएपछि पुनः सबै कुरा ठीक ठाउँमा आउँछ । त्यसकारण अहिले परिवर्तनको घडी हो र यो भनेको वर्षातमा बाढी आउनु जस्तै हो । अहिले इतिहासको सही अध्ययन नगर्ने मान्छेहरूले इतिहासका निर्माताहरू तथा गौरबवली पूर्वजहरूका बारेमा अनावश्यक टीका टिप्पणीहरू गरेको अवस्था मात्रै हो । यो सदाकालका लागि सत्य सावित हुँदैन । अहिले देखिएको यो उर्लापात बाढी थामिने वित्तिकै ठीकठाक हुन्छन् । २०६२।०६३ पछिका सुरुवाती समयमा जस्तो किसिमले पृथ्वीनारायण शाहलाई दुत्कार्ने गरियो अहिले तिनै व्यक्तिहरू पृथ्वीनारायण शाहको गुणगान आउन थालेका छन् । अबको केही वर्षपछि पुस २७ गते राष्ट्रिय एकता दिवस नै मनाइन्छ । 

० लामो समयदेखि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने परम्परा तोडियो । यसलाई कसरी लिनुहुन्छ ?
यो ‘सौताको रिसले लोग्नेको नाक काट्ने’ नेपाली उखान जस्तै हो । वास्तविकता के हो भने राजा वीरेन्द्रको शासनकालसम्म राजतन्त्रका बारेमा मान्छेहरूले त्यस्तो केही प्रश्न उठाएकोे सुनिएन । स्वयं माओवादी पनि अघोषित कार्यगत एकता छ भन्थे । वीरेन्द्रको वंशनाश भएपछि राजा ज्ञानेन्द्रमा बढी आक्रामक प्रवृत्ति देखियो त्यो प्रवृत्ति देखिसकेपछि मानिसहरूमा रोष उत्पन्न भयो र त्यसले ठूलो आन्दोलनकै रुप थियो । मानिसहरूमा ज्ञानेन्द्र राजा भैसकेपछि शक्ति सबै राजामै गयो अनि राजतन्त्र नै खराब हो र उतिखेरदेखि नै देशमा राजतन्त्रले तानाशाही व्यवस्था ल्याएको थियो भन्ने भावनाको विकास हुन पुग्यो । राजनीति गर्नेहरूले पनि इतिहास विकासको नियम नबुझेका कारण पृथ्वीनारायण शाहमाथि एउटा पात्रको रिस पोख्न पुगे । 

० त्यसो भए हाम्रा राजनीतिकर्मीहरूले ज्ञानको कमी र मुख्र्याइ मात्र प्रदर्शन गरिरहेका हुन् भन्न सकिन्छ त ?
तपाईले एकदम ठीक भन्नुभयो । नेतामा हुनुपर्ने प्रमुख विशेषता र गुण भनेको पहिले आफ्नो देशलाई चिन्नु हो । आफ्नो देशको इतिहास, बनोट, छरछिमेकका समस्या, छिमेकीहरू कस्ता छन् भन्ने कुरा बुझेर मात्र कार्बाही चलाउनुपर्नेमा आक्रोशमा आएर जे मनलाग्छ त्यही काम गर्ने प्रवृत्तिले हाम्रा नेताहरूमा राष्ट्रलाई चिनेर सोही ढंगको नेतृत्व दिने किसिमको स्तरमा उनीहरूको योग्यता छैन भन्ने नै देखाउँछ । योग्यता नभएको हुनाले उनीहरूले राष्ट्रलाई नोक्सान हुने कुरामा अग्रसर हुन्छन् र बिगारिसकेपछि समाल्नसक्ने स्थिति उनीहरूमा देखापर्दैन । त्यसकारण नेतृत्व अदूरदर्शिता नै अहिलेको ठूलो कमजोरी हो ।

० अहिले मुलुकमा जेजस्ता प्रवृत्तिहरू देखापरिरहेका छन् त्यसको समस्या पनि त्यही हो ?
यी सब त्यसैको परिणाम हो । अहिले राष्ट्रिय एकता र राष्ट्रियता कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्दा मुलुक अखण्डित रहन सक्दैन । हाम्रो सवभन्दा ठूलो डर नै त्यही हो । यहाँ जनतालाई के भ्रममा पारिएको छ भने– सबै जाति–जनजातिका आ–आफ्ना राज्य थिए, हामी सबै स्वतन्त्र थियौं, पृथ्वीनारायण शाह आएदेखि नै हाम्रा सबै राज्य लुटेर लगे भन्ने व्याख्या भयो । इतिहास र विकास प्रक्रियाको समग्र ज्ञान नहुँदाखेरि जनतामा पृथ्वीनारायण शाहले तिमीहरूको राज्य खाइदिए भन्ने भ्रम फैलाएर यो देशलाई छिन्नभिन्न पार्न सकिन्छ भन्ने नियत राखेका षड्यन्त्रकारीहरू अग्रसर भए । केही अन्य मुलुकहरूको उक्साहटले पनि काम गरेको छ । नेपालभित्रै र बाहिरियाका कारण यहाँ आवश्यकताभन्दा बढ्दा अस्तव्यस्त देखापरेको छ । 

जब कि इतिहास त्यो होइन । यसका लागि पृथ्वीनारायण शाहभन्दा अघिको नेपालको स्मरण गर्नुपर्छ । पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण पाँचौं पटक हो । यसअघि चारपटक नेपाल एकीकरण भएको थियो । लिच्छवीकालमा नेपाल एक थियो । मध्यकालमा आएर विभाजन भएको हो । त्यसलाई आधुनिककालमा आएर पृथ्वीनारायण शाहले एकीकरण गरेका हुन् । नेपालको इतिहास बुझ्न ऋग्वेदसम्म पुग्नुपर्छ । 

० पृथ्वीनारायण शाहको योगदानको अपव्याख्याले नै नेपालको राजनीति र जनतामा रहेको सुसुप्त सोचलाई उग्रतामा परिणत गरेको हो भन्न सकिन्छ त ?
यहाँ दुई किसिमका प्रवृत्ति देखिएका छन् । एउटा जान्ने बुझ्नेहरूबाट सही र तथ्यगत कुरालाई जानीजानी बंग्याउने अर्थात्  अपव्याख्या गर्ने गरिएको छ भने अर्कोतिर बुझ्दै नबुझी अर्काको लहैलहैमा लागेर उफ्रने गरिएको छ । यसले गर्दा स्थिति विग्रदै गएको हो । स्थिति विग्रदै गैसकेपछि मान्छेलाई भड्काउनका लागि, आफ्नो पक्षमा पार्नका लागि तिमीहरूको राज्य पृथ्वीनारायण शाहले खाइदिएको हो, हामी तिमीहरूलाई मुक्ति दिन्छौं, स्वतन्त्र गणराज्य दिन्छौं भनेर उक्साएको अवस्था अहिले छ । अशिक्षित जनता त्यसैको भरमा उफ्रिन थाले । इतिहास नबुझिकन, भविष्य नसोचिकन उक्साइएको र उक्सिएको हुनाले मुलुक अखण्डित रहँदैन कि भन्ने अवस्था आएको छ ।

० यस्तो किसिमको कुविचार रोप्नमा वैदेशिक शक्तिहरूको रणनीतिक उद्देश्य रहेको मान्नुहुन्छ ?
यसमा त शंका गर्नुपर्ने ठाउँ नै छैन । नेपाललाई उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने विदेशीहरूको केही रणनीतिक उद्देश्य रहेका छन् । हामीले त्यसलाई चिर्न सक्नुपथ्र्यो, तर नेताहरूले त्यसैलाई आफ्नो आदर्श माने । तत्कालका लागि यो राजनीतिक लाभ प्राप्त गर्ने मसला पनि बन्यो । विदेशीहरू विशेष गरेर अमेरिकाको नेपाललाई उपयोग गरेर चीनमा प्रहार गर्ने पहिलो रणनीति थियो । यो रणनीति विगतमा सोभियत संघलाई लक्ष्य बनाएर अफगानिस्तानबाट मिसाइल हानिएको जस्तै थियो । अर्कोतिर भारतले पनि नेपाललाई आफ्नो पक्षमा पार्न खोजिरहेको छ । तर अहिले परिस्थिति अलिक परिवर्तन भएको छ । दोस्रो संविधानसभा निर्वाचनले यसको संकेत दिएको छ । जातीयताका पक्षधरहरू पराजित भएका छन् । 

० नेपालको स्वतन्त्रता अखण्डता र राष्ट्रिय एकताका निम्ति सवभन्दा ठूलो चुनौति के देख्नुभएको छ ?
पहिलो त विदेशीहरूले उनीहरूको स्वार्थ बमोजिम अस्तव्यस्तता कायम गरिरहेका छन् । यो कुरा हामी सबैले बुझ्नुपर्छ र जनतालाई पनि बुझाउनुपर्छ । अर्को कुरा, हाम्रो अखण्डताका लागि सबभन्दा ठूलो चुनौति भनेको जनताको अशिक्षा हो । सयौं जाति छन्, तिनीहरू अशिक्षित छन् । शिक्षित भएका मान्छेहरू विदेशीको इशारामा घुमिरहेका छन् । तिनीहरूले अशिक्षित जनतालाई राज्य पाउछौ, अधिकार पाउछौ भनेर उकासिसकेपछि सधैंको अस्तव्यस्तता हुने भयो । नेपाललाई अस्थिर राख्न धेरै उपाय रचिएको थियो । ती उपायहरूले नसकेपछि नेपाललाई जातिय आधारमा भडकाइदिएपछि लामो समयसम्म अस्तव्यस्त गर्छ सकिन्छ, नेपालको विकास, औद्योगिकरणलाई रोक्न सकिन्छ र आफ्नो बजार विस्तार गर्न सकिन्छ अनि यसलाई टेकेर आफ्ना इच्छित काम गर्न सकिन्छ भन्ने चाहनाले पनि त्यहाँ काम गरेको छ ।

० पृथ्वीनारायण शाहले दिव्य उपदेशमार्फत राज्य संचालनका लागि जुन विचार प्रवाह गरेका थिए, अहिलेको पृष्ठभूमिमा त्यसको सान्दर्भिकता कत्तिको देख्नुभएको छ ?
प्रष्ट कुरा के हो भने पृथ्वीनारायण शाहको समय र अहिलेको समयमा धेरै अन्तर छ । त्यसो भए पनि उनले विदेशी महाजनलाई यहाँ आउन नदिनु भने । त्यो त्यतिखेरको परिस्थितिमा भन्नु एउटा कुरा हो । तर त्यसको अर्थ पूँजीपतिलाई आउन नदिनु भनेको होइन अवैध व्यापार गर्न नदिनु, हाम्रो राष्ट्रिय अर्थतन्त्र ध्वस्त हुने किसिमको अवैध पूँजीपतिहरूलाई आउन नदिनु, आफ्नो राष्ट्रियता संरक्षण गर्नु भन्ने अर्थमा बुझ्नुपर्छ । त्यो त त्यतिखेरको अर्थमा बुझेर भएन । 

अर्को कुरा पृथ्वीनारायण शाहले भनेको सबै कुरा मिचियो । जस्तो ‘खेतीयोग्य ठाउँमा बस्ती बसेको छ भने त्यहाँबाट बस्ती हटाएर खेती गर’ भनेका छन् । तर त्यसको पालना नभएको ज्वलन्त उदाहरण त काठमाडौं उपत्यका नै छ । उर्बर काठमाडौं भूमि घरैघरले भरिएको छ । अर्कोतिर परराष्ट्र नीतिमा पृथ्वीनारायण शाहले दिएको ‘दुई ढुङ्गा बीचको तरुल’को संज्ञालाई पनि पालना गरिएन । यसको अर्थ के हो भने नेपालले दुबैतिरबाट शतर्क भएर बस्नुपर्छ भन्ने हो । अवस्था के भैदियो भने– धेरैजसो नेताहरू फुत्त फुत्त भारतको दलाली गर्न जाने, उतातिर गएर उनीहरूकै दलाली गर्ने र नेपालमा आएर भारतको विरोध पनि गर्ने देखिएको छ । नेताहरूले दलाली गर्ने प्रवृत्ति बढाएको हुनाले उनीहरूले मौका पाएका छन् । नेताहरूले नै भारतीय हस्तक्षेप बढाउन सजिलो गरिदिएका छन् । त्यसो भएर यो अस्तव्यस्तता झन्पछि झन बढिरहेको छ । 

० नेपाललाई जोगाउन र जगाउन पृथ्वीनारायण शाहको योगदानबारे नेपाली जनतालाई सचेत गराउन राज्यस्तरबाटै प्रयास हुनुपर्छ भन्नेबारेमा यहाँको अभिमत के छ ?
त्यस्तो कार्य राज्यले गर्दाखेरी सजिलो हुन्छ र प्रभावकारी पनि हुन्छ । तर राज्यमा गएका हाम्रा नेताहरू कस्ता छन् भने– उनीहरू वास्तविकता बुझ्नै चाहँदैनन् । परार साल म एमालेमा हुँदाखेरी राष्ट्रिय एकता दिवसका दिन पृथ्वीनारायण शाहको सालिकमा फूल चढाए । त्यसपछि माधव कुमार नेपाल लगायतका नेताहरूले के भन्नुभयो भने– ‘तपाईं त्यहाँ गएर बेकारमा विवादमा फस्नुभो, नगएको भए राम्रो हुन्थ्यो ।’ तर मैले अडान लिंदै गए । आज राष्ट्रिय एकता दिवस मनाउनेहरूको संख्या बढिरहेको छ । जनस्तरबाट मात्र होइन राजनीतिक तहबाट पनि यसको महत्व आत्मसात गर्न थालेको मैले पाएको छु । यो सब समयक्रमले विकास गर्दै लाने कुरा हो ।

अर्को समस्या के देखिएको छ भने हाम्रा नेताहरूमा इतिहास, राष्ट्र, राष्ट्रियता सम्बन्धी अध्ययन नै कमजोर छ । त्यस्ता विषयमा अध्ययन नै र भएको हुनाले पहिले ठम्याउन सक्नुहुन्न तर अरुले राम्रोसंग बताइदिएपछि क्रमशः सच्चिन थाल्नुहुन्छ । यतिबेला तीन वर्षअघि पृथ्वीनारायणको सालिकमा हेर्न समेत हच्किने थुप्रै नेताहरू राष्ट्रिय एकता दिवस मनाउन थाल्नुभएको छ । मलाई के लाग्छ भने राष्ट्र, राष्ट्रियताका सवालमा यहाँ उल्टो भयो । नेताले अरुलाई नेतृत्व गर्नुपर्नेमा अरुले नेतालाई नेतृत्व गर्नुपर्ने अवस्था छ । नेताहरूले राष्ट्रियताको वैचारिक नेतृत्व गर्न सकेनन् ।

० यसको कारण नेपालको शिक्षा पद्धति, सोही अनुसारको पाठ्यक्रमको अभाव र बौद्धिक–राजनीतिक र संचार क्षेत्रले त्यति महत्व नदिएको मान्न सकिन्छ ?
यसमा कुनै एउटा मात्र कारणलाई दोष दिन सकिन्न । यसका धेरै कारणहरू छन् । पृथ्वीनारायण शाहले नेपालबाट पादरीहरू निकालेपछि त्यसको रिसले पृथ्वीनारायण शाहका बारेमा पश्चिमाहरूले जेजस्तो अतिरञ्जनापूर्ण तरिकाले लेखे त्यो सबभन्दा भयंकर चित्र हो । “कीर्तिपुरमा १७ धार्नी नाक काटिए, यो गरे, त्यो गरे” भनेर तथानाम लेखियो । यसले जनतामा एउटा गलत सन्देश गयो । तर यथार्थ त्यो होइन । १७ धार्नी नाक काटिन कम्तिमा पनि १०–१५ हजार मानिस चाहिन्छ । तर त्यतिबेला कीर्तिपुरको जनसंख्या नै २–३ हजारभन्दा बढी थिएन । यसै विषयमा एकजना कीर्तिपुरका बासिन्दालाई मैले बताएपछि उनले चित्त बुझाएका थिए । 

दोस्रो कुरो, नेपालमा नेतृत्व गर्ने हरेक पार्टीका नेताहरू आफ्नो स्वाभिमान नलिइकन हरेक कुराका लागि दिल्ली जाने र त्यहीबाट निर्देशित भएर आउने गर्दछन् । दिल्ली गएर साखुल्ले बन्ने अनि यहाँ आएर भारतको गाली पनि गर्ने गर्दछन् । सबै पार्टीभित्र भारतको एजेण्ट पनि छन् र अमेरिकाको एजेण्ट पनि छन् । यो दोस्रो खतरनाक कुरा हो । 

तेस्रो कुरा पार्टीहरूले राष्ट्रियता के हो, राष्ट्रवाद के हो भन्ने कुरा बुझेनन् । हिजो पञ्चायतकालमा राष्ट्रियताको कुरा गर्दा यो पञ्चे हो, राजावादी हो मात्र भन्ने गरियो । राष्ट्रियता पञ्चतायत वा राजाको मात्र हैन नि । त्यसकारण राष्ट्रियता भन्ने कुरा हरेक मुलुकको हुन्छ र त्यहाँभित्र रहेका हरेक वर्ग, समुदाय, क्षेत्र र राजनीतिक विचार तथा आस्था बोक्नेको हुन्छ । राष्ट्रियता, कम्युनिष्टको पनि हुन्छ, कांग्रेसको पनि हुन्छ, राजतन्त्रवादीको पनि हुन्छ भन्ने कुरालाई हामीले जनतामा ठीक ढङ्गले बुझाउन सकेका छैनौं । 

त्यसकारण राष्ट्रियताको प्रचार प्रसार हामीले ठीक ढंगले गर्न सकेका छैनौं । यो दिशामा व्यापक जनचेतना बढाउन नसक्नु हामी सबैको कमजोरी हो । बुद्धिजीवी, लेखक, पत्रकार सबैको यसमा दोष देखिन्छ । नेपालमा संचार क्षेत्रले सानासाना कुराहरूलाई बढ्ता स्थान दिने गर्छन् । अहिले विज्ञापनको युग आएको हुनाले वैचारिक प्रकारका लेखहरू त्यति प्रकाशनमा आइरहेको देखिंदैन । राष्ट्रियताका सम्बन्धमा राम्रोसंग प्रशिक्षण दिने व्यवस्था पनि छैन । यो काम राजनीतिक दलहरूले गर्नुपर्ने हो तर त्यो भैराखेको छैन । राष्ट्रियताकै सवालमा दलहरूको भिन्नभिन्न विचार प्रस्तुत भैरहेका छन् । 

० राजनीतिक दलहरूलाई राष्ट्रियताका सवालमा अग्रसर गराउन र जनतामा सम्वेदनशील भावना जागृत गर्न कस्तो मार्ग अवलम्बन गर्नुपर्छ त ?
यसका लागि त बुद्धिजीवीहरूका बीचमा अन्तरक्रिया हुनुपर्छ । पृथ्वी जयन्तीकै सन्दर्भमा पनि हिजोका दिनसम्म दलका कुनै नेता सहभागी हुन हिच्किचाउथे भने आजको परिस्थिति त्योभन्दा अगल छ । नेताहरूलाई इतिहासको प्रशिक्षण दिनु आवश्यक छ । यसका लागि नेताहरूलाई राखेर इतिहासविद्हरूले कार्यक्रम चलाउँदा पनि राष्ट्रियताको जागरण पैदा हुन्छ । एवंरितले गर्दै जाने हो भने स्थिति निकै सकारात्मक हुँदै जान्छ । जब नेता राष्ट्रियताका सवालमा प्रशिक्षित हुन्छन्, उनीहरू स्पष्ट हुन्छन्, त्यसपछि उनीहरूको पछिलाग्ने ठूलो समुदाय स्वतः प्रशिक्षित हुन्छ । यसरी जागरण पैदा गराउन सकिन्छ ।

यद्यपि, पहिलेको तुलनामा अहिले जागरण आएको छ । बाहिर हेर्दा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा वर्षको ७ दिन मात्र अग्रसर हुने जस्तो देखिन्छ । वास्तविकता त्यो होइन । राष्ट्रिय एकताका सन्दर्भमा पत्रपत्रिकाहरूमा पहिलेको तुलनामा उत्साहजनक तवरबाट लेखहरू प्रकाशित हुन थालेका छन् । इतिहासका तथ्यपरक अनुसन्धामूलक रचनाहरू प्रकाशित भैरहेका छन् । यसले गर्दा जागरण बढिरहेको र मानिसले पृथ्वीनारायण शाहको योगदानको कदर गर्न थालेको मैले पाएको छु । तर पनि हामीले चाहेजस्तो गर्न सकिरहेका छैनौं । यसमा हाम्रो कमजोरी छ ।

(युगसंवाद साप्ताहिकमा २०६७ सालमा प्रकाशित अन्तरवार्ताको सम्पादित अंश)


Rating (Votes: )   
Share     Print


Other Articles:
मिश्रित प्रणाली निर्वाचनमा दोष बढी गुण कम देखियो - पूर्णबहादुर खड्का, सहमहामन्त्री नेपाली कांग (01.06.2014)
अहिलेको विवाद संविधानवादका निश्चित मापदण्ड आत्मसात गर्न नसकेर - हरिहर दाहाल (12.30.2013)
यसपटक विगतमा जस्तो समस्या देखिन्न – युवराज ज्ञवाली, सचिव नेकपा एमाले (12.24.2013)
" कर्मचारीतन्त्रले आफ्नो वर्चश्व देखाइदियो " : नारायणमान विजुक्छे (12.10.2013)
अनेरास्ववियुले विरासत गुमाएको छैन- किशोरविक्रम (09.18.2013)
राजनीति पनि मोडलिङ जस्तै (09.18.2013)
यसरी खाइन्छ घूस (08.28.2013)
हाम्रो देशको राजनीति हाम्रो हातमा छैन - जनार्दन आचार्य, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक (08.14.2013)
सोमेश्वर गढीमा देखिएको दृश्य - अनिल शर्मा (08.06.2013)
जनमतबाटै राजसंस्था फर्काइन्छ - कमल थापा, अध्यक्ष राप्रपा नेपाल (07.30.2013)
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद (07.24.2013)
नेपाल यतिखेर हाम्रो मात्र नियन्त्रणमा छ जस्तो मलाई लाग्दैन - डा. नारायण खड्का, नेता नेपाली कांग् (07.09.2013)
निर्वाचनमा भाग लिनुको अर्थ राष्ट्रिय स्वाधीनता समाप्त पार्ने कामलाई स्वीकृति दिनु हो - सीपी गजु (07.05.2013)
सर्वदलीय सहमति बनाएर निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्छ - मणि थापा, महासचिव क्रान्तिकारी कम् (06.26.2013)
नेपाल र भारत गृह सचिवस्तरीय बैठक औपचारिक मात्र बन्दैछ - बुद्धिनारायण श्रेष्ठ, सीमाविद (06.12.2013)
अहिले जे भैरहेको छ विदेशी शक्तिको योजना मुताविक भैरहेछ - भरत दाहाल, राजनीतिक विश्लेषक (06.05.2013)
मुलुकलाई सही मार्गमा ल्याउन आन्दोलन - हरिकृष्ण कार्की, अध्यक्ष नेपाल बार (05.28.2013)
६०१ को आवश्यकता नै छैन - अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस (05.21.2013)
नेपाली जनतालाई संविधान र समृद्धिको मृगतृष्णामा फसाइएको छ - किशोर कुमार विश्वास (05.14.2013)
भारत जस्तो छिमेकी भएपछि हामीलाई शत्रु खोज्नै पर्दैन - सीपी मैनाली, महासचिव नेकपा माले (05.07.2013)



 
::| Latest News

 
[Page Top]