| युगसम्बाद साप्ताहिक | ||||
|
खेलकूद राष्ट्रिय एकता र राष्ट्र विकासको आधार हो - खेलकूद मन्त्री पुरुषोत्तम पौडेल Monday, 03.24.2014, 04:31pm (GMT5.5) ० नेपाली क्रिकेट टोलीले बंगलादेशमा आशा गरेभन्दा स्तरीय प्रदर्शन गरेर फर्किएको छ । अब यसलाई निरन्तरता दिने के छ कार्यक्रम ? नेपाली क्रिकेट टोली यहाँबाट जुन आशा र विश्वासका साथ बंगलादेश गएको थियो त्यसलाई कायम राखे । नेपाली जनताको विश्वास र आशा अनुसार नै उनीहरूले खेल खेले । विश्वकपमा नेपाली खेलाडीहरूले जुन ढंगको प्रदर्शन गरे त्यो नेपाली क्रिकेटको इतिहासमा ठूलो उपलब्धि हो । यसले नेपालको खेलकूदलाई निकै उत्साहित गरेको छ । क्रिकेटको मात्र हैन सबै खेललाई यसले आशा जगाएको छ । यति ठूलो उपलब्धि हात पारेको नेपाली क्रिकेट टोलीलाई सरकारले उचित सम्मान गर्नेछ । ० खेलकूद मन्त्रीहरूले चाहेर पनि यस्तो प्रकारको खुसी साट्न पाउँदैनन् । तपाईं त भाग्यमानी हुनुभयो हैन, मन्त्री भएको एक महिनामै यति ठूलो खुसी पाउनुभयो । कस्तो महसुस भैरहेको छ ? मैले आफूलाई भाग्यमानी पनि ठानेको छु र चुनौति पनि लिएको छु । मन्त्री भएको केही दिनमै नेपाली क्रिकेटले यति ठूलो उपलब्धि हाँसिल गरेको छ । यो उपलब्धिले हामीलाई खेलकूद नीति बनाउने, खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न दवाव दिएको छ । खेल पूर्वाधारको विकास गर्न, खेल क्षेत्रको प्रवद्र्धनका लागि नयाँ नयाँ नीति तथा कार्यक्रम ल्याउन, खेलकूदमा बजेट वृद्धि गराउन क्रिकेट खेलाडीहरूले दवाव नै दिए । बंगलादेशमाा क्रिकेटले पाएको सफलताले राज्यलाई खेलकूदमा लगानी गर्न घच्घच्याएको छ । ० तपाईंले नेपाली क्रिकेट टोलीको खेल हेर्नुभयो ? मैले तीनवटै खेल हेरे । अन्तिम खेलका केही भाग छुट्यो । नेपाली खेलाडीहरूको बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्ष स्तरीय थियो । खेलाडीहरूले अत्यन्त मेहेनत गरेर खेलिरहेका थिए । उनीहरूमा राष्ट्रिय स्वाभिमान झल्किरहेको थियो । नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा फैलाउन मेहेनत गरिरहनुभएको मैले पाएँ । ० अलिकति प्राविधिक कुरा गरौं । नेपाल र बंगलादेशको समान चार अंक भए पनि बंगलादेश सुपर टेनमा पुग्यो । हङकङले बंगलादेशलाई हराए पनि नेपाललाई अघिल्लो चरणमा पुग्ने शौभाग्य मिलेन यसलाई कसरी लिनुभएको छ ? बंगलादेश नेपालको समूहमा रहेको चारवटै टीममध्ये सबैभन्दा बलियो टीम हो । टेष्ट म्याच खेल्ने भएकाले उसको अर्को चरणमा प्रवेश गर्ने सम्भावना धेरै थियो । तर क्रिकेटमा कहिलेकाहीं के हुन्छ भने सम्भावितहरू डुब्छन् र असम्भव ठानिएकाहरूले विजय प्राप्त गर्छन् । समूह चरणको अन्तिम खेलमा हङकङले बंगलादेशलाई त्यस्तै असम्भव ठानिएको पराजयको स्वाद चखायो । अलि बढी रनरेटले हराइदिएको भए नेपाललाई फाइदा हुन्थ्यो । अनि नेपालले पनि अफगानिस्तानलाई अली बढी रनले हराउन सकेको भए फाइदा हुन्थ्यो । संजोग के थियो भने हामीलाई अफगानिस्तानलाई हराउनु थियो भने बंगलादेशलाई अघि जानुथियो । यसले गर्दा भारत, अष्ट्रेलिया जस्ता टीमसंग खेल्ने मौका नेपालको हातमा पनि थियो तर यसमा भाग्यले साथ दिएन । यसो भन्दैमा हामी निराश भएका छैनौं । जेजति उपलब्धि हात परेको छ यसबाट हामी उत्साहित नै छौं, अघि बढ्ने ठाउँ बनाएका छौं । त्यसकारण खेल भनेको हारजीतमा मात्र निर्भर नरहेर अघि बढ्नका लागि प्राविधिक पक्ष बलियो हुनुपर्छ भन्ने देखियो । नेपालको पक्षमा प्राविधिक संकट मात्र उत्पन्न भएको हो । बंगलादेश प्राविधिक कारणले मात्र नेपालभन्दा अगाडि बढेको हो । त्यसकारण यस्तो अवस्थामा निराश हुनुपर्ने कुनै कारण नै छैन । हाम्रो अगाडिको बाटो स्पष्ट छ । हामीले क्रिकेटमा गरेको लगानी र योगदानको तुलनामा कैयौं गुणा बढी उपलब्धि हाँसिल गरेका छौं । लगानीभन्दा बढी प्रतिफल हामीले पाएका छौं भने खेलाडीहरूमाथि खोट लगाउने कुनै ठाउँ छैन । ० यसको विकासका लागि अब के योजना बनाउनुभएको छ त ? हामीले क्रिकेटको जुन सम्भावना देखिएको छ यसलाई नीति, विधि र पूर्वाधारले जोगाउनुपर्छ, व्यवस्थित गर्नुपर्छ र संस्थागत गर्नुपर्छ । क्रिकेटलाई अगाडि जाने बाटो दिनुपर्छ । अब हामीले नेपाली खेलकूदको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सम्भावना भएका, प्रतिस्पर्धी क्षमता राख्नसक्ने खालका खेलहरूलाई पहिचान गर्ने र त्यसमा लगानी बढाउने पहिलो कुरा हो । दोस्रोमा जुन जुन खेलमा राम्रो प्रतिस्पर्धा गरेर नतिजा आएको छ ती खेलको पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी क्षमता भएका खेलाडीहरूको पहिचान गरी तिनको संरक्षण, प्रशिक्षण र लगानी गर्ने कामलाई प्राथमिकता दिनुपर्छ । त्यससंगै खेल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कुराहरूमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ र हुन्छ । अहिले खेलाडीहरूले जेजति उपलब्धि दिएका छन् यो त सीमित पूर्वाधारबाटै हो । हामीसंग अन्तर्राष्ट्रियस्तरको खेलकूद मैदान नै छैन । पूर्वाधारबिना नै हाम्रा खेलाडीहरूले यो स्तरको प्रदर्शन गरिरहेका छन् भने अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास हुने, सोही अनुसारको प्रशिक्षण र प्रतिस्पर्धाको वातावरण बनाउने हो भने हाम्रो नतिजा योभन्दा निकै उच्चस्तरको हुनेछ । ० खेल क्षेत्रको सफलताका लागि खलाडीले खेलेरै बाँच्नसक्ने वातावरण पनि बनाउनुपर्यो नि हैन ? मैले त्यही त भनिरहेको छु । खेलाडीहरूको संरक्षणलाई महत्वपूर्ण एजेण्डाको रुपमा उठाउनुपर्छ । अहिले कम्तिमा खेलेर रमाउनसक्ने बनाउन अलि अप्ठ्यारो छ तर खेलेर बाँच्नसक्ने, खेलेरै खानसक्ने, खेलाडीमा आफूले खेलेरै बाँच्नसक्छु, खेल जीवनपछि अरुकहाँ काम खोज्न जान नपरोस्, भविष्यका बारेमा चिन्ता गर्नुनपरोस् भन्ने स्थिति खेलाडीहरूलाई पैदा गर्नका निम्ति यसै वर्षदेखि “खेलाडी संरक्षण आयोजना” कार्यक्रम भनेर नेपाल सरकारबाटै बजेट छ्ुट्याउने प्रयत्नमा लागेका छौं । मलाई लाग्छ राज्य त्यसमा सकारात्मक देखिएको छ । ० नेपाली खेलक्षेत्रको सुधारका लागि तपाईंका अगाडि चुनौति र अवसर दुबै छ हैन यतिबेला ? हो, मेरा लागि अवसर धेरै छ र संगसंगै चुनौति पनि । मैले काम गर्न सकिने भने म डुब्ने पनि खतरा छ । तर मलाई के विश्वास छ भने अवसरलाई व्यवस्थित गरेर अगाडि बढियो भने चुनौतिको सामना गर्न सक्छौं । जहाँसम्म क्रिकेटको कुरा छ, मैदान बनाउने कुरामा नीतिगत रुपमा सरकारलाई सहमत गराइसकिएको अवस्था हो । त्यसलाई बजेटरी सपोर्ट कसरी जान्छ भन्ने कुरामा अलि मेहेनत गर्नुपर्ने छ । जस्तो कि क्रिकेट एकेडेमी, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने कुरा, काठमाडौंमा ‘स्पोर्टस् भिलेज’ बनाउने कुरा, काठमाडौं बाहिर जहाँजहाँ क्रिकेटको सम्भावना छ त्यहाँ मैदान बनाउने कुरा नीति तथा कार्यक्रममा समावेश गर्न सफल भएका छौं । यो नीति कार्यक्रमले मात्र पुग्दैन । हाम्रो बजेटको अहिलेको भोलमले पुग्दैन । बजेट बढाउनैपर्छ । मैले त बजेटको एक प्रतिशत हिस्सा खेलकूदलाई चाहिन्छ भनेको छु । त्यति बजेट पाउने हो भने नेपाली खेलकूदले चमत्कार गर्छ भनेर पनि भनेको छु । ० त्यो सम्भावना त छ नि हैन, क्रिकेट खेलाडीहरूलाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले फोन गरेर बधाइ दिनुभएको छ । हो, चासो पक्कै बढेको छ । अहिले खेल माहोल बनेको छ । नेपालको सम्पूर्ण राजनीतिको आकर्षण नै खेलकूद बनेको छ । मैले सुरुदेखि नै भनेको छु कि खेलकूदलाई राजनीतिले एजेण्डा बनायो भने राज्यले एजेण्डा बनायो भने हामी खेलकूदमा प्रगति गर्न सक्छौं । वास्तवमा राजनीतिले खेलकूदलाई एजेण्डा बनाएकैले अहिले राज्यले पनि यस क्षेत्रलाई एजेण्डा बनायो भन्ने मलाई लाग्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले खेलकूदमा चासो दिएर खेल हेर्ने, खेलाडीहरूसंग कुरा गर्न चाहने, बस्न चाहने, रम्न चाहने, उनीहरूलाई बधाई, शुभकामना दिने जुन अग्रसरता देखिएको छ यसले पनि खेललाई राज्यले एजेण्डा बनाउँदैछ भन्ने संकेत दिन्छ । ० राजनीतिले सबैलाई वाक्क दिक्क बनाइरहेको बेला क्रिकेट खेलले जुन किसिमको उत्साह दियो यसले के देखायो भने– खेलले सबैलाई एकसूत्रमा बाँध्दो रहेछ हैन ? खेल त राष्ट्र निमाणको आधार बन्नसक्छ, राष्ट्रिय एकताको प्रतीक बन्नसक्छ । संसारमा यस्ता पनि देश छन् जहाँ खेलले जनतालाई एक ठाउँमा ल्याएका छन् । जात, भाषा, धर्म, क्षेत्र, लिंग कुनै विवेधबाट मुक्त हो खेल क्षेत्र । रंगशाला प्रवेश गर्नुभयो भने कुन जातिको खेल भनेर कसैले भन्दैन, त्यहाँ नेपालले खेलिरहेको हुन्छ । सबैको हातमा राष्ट्रिय झण्डा हुन्छ र सबैले ‘नेपाल–नेपाल’ भनेर नारा लगाइरहेका हुन्छन् । ० त्यही त नेपाली क्रिकेट टिमको संसरचना पनि राष्ट्रिय एकताकै प्रतीक देखिन्छ । यो टोली हेर्ने हो भने यहाँजत्तिको समावेशी त कहीं पनि छैन जस्तो देखिन्छ हैन ? हैन, खेलाडीहरू समावेशी हुनैपर्दैन । त्यहाँ राष्ट्रिय आकर्षण स्वतः पैदा हुन्छ । तर नेपाली क्रिकेट खेडालीको संयोजन भने संयोगले समावेशी देखिएको छ । बंगलादेशको चटगाउँमा पारस खड्का र ज्ञानेन्द्र मल्ल ब्याटिङ गरिरहेका थिए तर त्यहाँ कुनै मल्ल र खड्का मात्र खुसी नभएर सिंगो नेपाल रमाइरहेको थियो । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुँदा त्यहाँ कुन जातको खेलाडीले गोल हान्यो भन्ने हुँदैन त्यहाँ कुन जातको खेलाडीले गोल हान्यो भन्ने हुँदैन त्यहाँ नेपालले गोल हान्छ, सिंगो नेपाली जनता त्यहाँ रमाइरहेका हुन्छन्, राष्ट्रिय एकता प्रदर्शन गरिरहेका हुन्छन् । त्यहाँ कुनै प्रकारको विभेद हुँदैन । खेलकूद नै यस्तो क्षेत्र हो जहाँ जाति, धर्म, भाषा, लिंग, वर्गबीच विभेद हुँदैन । खेलकूद राष्ट्रिय एकताको प्रतीक भएर उपस्थित हुनसक्छ । ० काठमाडौंको मूलपानीमा क्रिकेट एकेडेमी र रंगशाला बन्ने भनिएको लामो समय बितिसक्यो । अब त्यहाँ बन्ने के हो ? त्यहाँ क्रिकेट एकेडेमी र मैदान भन्ने भन्ने योजनाका साथ अघि बढेको र राज्यको लगानी पनि भएको छ । यस वर्ष पनि अडाई–तीन करोड छुट्याइएको रहेछ । अब त्यसलाई अन्तर्राष्ट्रियस्तरको पीच बन्ने गरी बजेट छुट्याउने र त्यहाँँ क्रिकेट खेलाडीलाई वर्षायाममा पनि अभ्यास गर्न सकिने गरी व्यवस्था मिलाउने करीब करीब तय भएको छ । त्यसको निम्ति मन्त्रिपरिषद्मा छलफल भएको छ, प्रधानमन्त्री र अर्थमन्त्री पनि यसमा सकारात्मक हुनुहुन्छ । त्यसै गरी अरु खेलका निम्ति पनि हामीले सोच्नुपर्छ । अहिले क्रिकेटका लागि वर्षायाममा पनि अभ्यास गर्नसकिने पूर्वाधार र अन्तर्राष्ट्रियस्तरको पिच निर्माणमा हामी केन्द्रित हुनेछौं । ० अहिलेलाई खेलकूदको विकासका लागि अवरोधको रुपमा खेलकूदमा राजनीति छिरेको स्पष्टै देखिन्छ । त्यसलाई कसरी हटाउने होला ? खेलकूदमा राजनीति छिरेर म चिन्तित छैन । खेलाडीमा राजनीति छिर्नु हुँदैन । खेलूदलाई राजनीतिक एजेण्डा बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । खेलकूदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सबैले आआफ्नो पार्टीमा छलफल र बहस गराएर नीति र कार्ययोजना बनाउने तर खेलाडीलाई पार्टीको झण्डा चाहिं नबोकाउनुस् भनेर मैले सबैलाई भन्ने गरेको छु । खेलकूदमा राजनीति छिरेर म चिन्तित छैन राजनीतिसंगै बजेट पनि छिर्नुपर्याे । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||