युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने
Monday, 05.26.2014, 07:33pm (GMT+5.5)

हुनेखानेको छोरो हुँ घूस खानु पर्दैन : वैद्यनाथ
ससदीय सुनुवाई विशेष समितिमा सुनुवाईका लागि सबभन्दा पहिले पुग्नुभएका वैद्यनाथ उपाध्यायलाई सदस्यहरूले घुस खाएर फैसला लेख्ने गरेको आरोपका सम्बन्धमा स्पष्टिकरण दिन भनेपछि उहाँले “आफू हुनेखानेको छोरा भएकाले घूस खान आवश्यक नभएको र न्यायसेवामा प्रवेश गर्नुभन्दा अघिको तुलनामा अहिले आफ्नो सम्पत्ति घटेकाले घूस खाएको भन्ने कुरा नै गलत हुने बताउनुभयो । 

घुसको परिमाण हेरेर न्यायमूर्तिले फैसला लेख्ने गरेको प्रशस्तै गुनासा आउने गरेका बारेमा उपाध्यायको ध्यानाकर्षण गराउँदै सभासद्ले संविधानको रक्षा र जनताको हित गर्ने सन्दर्भमा न्यायालय चुक्दै गएको टिप्पणी गर्नुभयो । अदालत न्याय दिने मन्दिर हो भन्ने सन्देश जनतामा दिन तथा समग्र न्यायालयलाई सुधार्ने सम्बन्धमा उहाँसंग के कस्ता कार्ययोजना र लक्ष्य छन् भनी प्रश्न गर्दै सभासद्ले “यदि त्यस्ता सुधारका योजना छैनन् भने तपार्इंलाई किन न्यायाधीश बनाउने” भनेर समेत उपाध्यायसंग स्पष्टीकरण माग गर्नुभएको थियो ।

न्याय खरिद बिक्री हुन थालेको, लेनदेनका आधारमा मुद्दाको किनारा हुने गरेको, जनताको सार्वभौमसत्तासम्पन्न व्यवस्थापिका–संसद्को कार्यक्षेत्र प्रवेश गर्ने तथा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्णय सुनाउन थालेको घटनाले सर्वाेच्च अदालतले के निष्पक्ष न्याय देला भनी उहाँसंग सांसदले प्रश्न गर्नुभएको थियो । 
सभासद्को जिज्ञासालाई शान्त तुल्याउँदै उपाध्यायले समाजमा आएको विकृतिको प्रभावबाट न्यायालय अछुतो नरहेको तथा त्यसको प्रभाव न्यायालयसंगै सबैतिर परेको प्रतिक्रिया दिनुभयो । दुई दशकभन्दा बढी न्यायाधीश भएर न्यायसम्पादन गर्दा सकेसम्म आफूले जाने र बुझेसम्म मुलुक र जनताको भलो हुने पक्षमा नै ध्यान दिएर निष्पक्षतालाई ध्यान पु¥याएको बताउँदै उहाँले कतिपय अन्जानमा भएका घटनाबाहेक आफूमाथि परेका उजुरीको तथ्यका आधारमा प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपाध्यायले संसदीय सुनुवाइको व्यवस्थापन र सुधारको खाँचो औँल्याउँदै न्यायपरिषद्बाट न्यायाधीशको नाम प्रस्ताव भएपछि अप्रिय परिस्थिति बनेको तथा मानसिक तनाव उत्पन्न भए तापनि सुनुवाइ प्रक्रियाको आवश्यकतालाई भने स्वीकार्नुभयो । 

मेरो बाध्यता संचार माध्यमले बुझेन : पराजुली
न्याय परिषद्ले सिफारिश गरेकामध्ये सबैभन्दा धेरै आरोप लागेका गोपाल पराजुलीले आफूमाथि सामान्य मानवीय सम्वेदना पनि प्रकट नगरी संचार माध्यमले खबर लेखेको गुनासो गर्दै आफ्नो विवाहको स्पष्टिकरण दिनुभएको छ । ‘स्त्री लम्पट’ को आरोप लागेका पराजुलीले आफूमाथि लागाइएको बहुविवाहको आरोप भूmटो लान्छना भएको बताउनुभयो । 

समितिमा अधिकांश सभासद्ले पराजुलीमाथि नैतिकताको प्रश्न तेस्र्याएपछि उहाँले आफ्नो बाध्यता र अवस्थालाई समेत विचार नगरी बिनाप्रमाण आरोप लगाएको र पत्रपत्रिकाले पनि आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेकामा दुःख प्रकट गर्नुभयो । उहाँले त्यस्ता पत्रकारहरू जेल समेत जानसक्ने चेतावनी समेत दिनुभयो ।
स्त्री लम्पट भएको भन्दै संचार माध्यममा आएका विषय र उजुरीमाथि स्पष्टिकरण दिंदै पराजुलीले विद्यार्थीकालमै भएको पहिलो पत्नीलाई सम्बन्ध विच्छेद गराउन बाध्य पारिएको, दोस्रो पत्नी क्यान्सरबाट बितेको र तेस्रो पत्नी दुर्घटनाबाट बितेको  यथार्थता बताउनुभयो । 
एक पूर्व प्रधान न्यायाधीशको मुद्दा आफ्नो इजलासमा परेको र सो मुद्दामा हार ब्यहोर्नुपरेपछि आफूमाथि नानाथरिका अपशब्द प्रयोग गरिएको र विभिन्न सञ्चार माध्यममार्फत आफ्नो तेजोबद गर्नुका साथै अधिकांश उजुरी पनि उहाँकै माध्यममार्फत गराइएको हो भन्नुभयो । 
सर्वोच्चका लागि प्रस्तावित आठ न्यायाधीशमध्ये आफूमाथि सबैभन्दा बढी २१ बटा उजुरी परेकामा पराजुलीले २३ वर्षसम्म न्यायाधीशको पदमा बहाल रहँदा आफूले १५ हजारभन्दा बढी मुद्दा छिनेको जानकारी दिँदै धेरै काम गर्नेले जस पनि नपाउने बताउनुभयो । सभासदहरूलाई सुझाव दिंदै पराजुलीले “आफूले गरेको फैसाला उल्टिएको छ छैन त्यस्ता मुद्दामा गल्ती भेटेर न्याय परिषद्ले कारबाही गरेको छ छैन हेर्न” पनि उहाँले सुझाव दिनुभयो । 
गोरखा विकास बैंकको मुद्दाको मिसिल आफूले नियन्त्रणमा लिएर नराखेको बरु त्यो मुद्दामा गठित वाणिज्य इजलासले गरेको निर्णयले राम्रो चर्चा पाएको, पोखरा फूलबारी रिसोर्टको जग्गा सार्वजनिक भनी फैसला गरेको, सर्वोच्चका अस्थायी न्यायाधीश प्रकाश वस्तीलाई हटाउनुमा आफ्नो सरोकार र सम्बन्ध नरहेको जानकारी दिँदै न्यायाधीश पराजुलीले आफू जहिले पनि मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेर काम गर्ने बताउनुभयो । 

खच्चडवालाले सडकको विरोध गरेजस्तो ः जोशी
आफ्ना बिरुद्ध परेको उजुरी र न्याय परिषद्का एक सदस्यको नोट अफ डिसेन्ट तथा पूर्व प्रधान न्यायाधीशले गरेको टिप्पटी ‘ऐरे गैरे नत्थु खैले’प्रति सभासदहरूको प्रश्नमा प्रस्तावित न्यायाधीश दीपकराज जोशीले आफूलाई ऐरे गैरे नथ्थु खैरे भन्नेहरूले नै आफूलाई खेदेको बताउँदै आफू मर्न तयार हुने तर यथास्थितिवादीसंग गठजोड नगर्ने प्रतिबद्धता जनाउनुभयो । पैसा लिएर बन्दी छाडे्को आरोपमा जोशीले आफू तलब भत्ता बाहेक कसैसंग पैसा नलिएको न्यायाधीश हुनुअघि काठमाडौंमा तीन ठाउँमा जग्गा रहेको र अहिले एक ठाउँमा मात्र रहेको बताउनुभयो ।

उहाँले आफूलाई फसाउने नियतले शाहीकालका कानुनमन्त्री निरञ्जन थापाको निर्देशनमा २०५६ सालमा फैसला भएको एक मुद्दा ब्यँुताउन लगाएर सरकारी वकिलले नै आफूविरुद्ध न्यायिक टिप्पणी उठाउन भनेको र त्यसै बमोजिम न्यायाधीशद्वय भैरवप्रसाद लम्साल र बलराम के.सी.को संयुक्त इजलासले आफ्नो कार्यक्षमतामाथि प्रश्नचिह्न उठाउँदै न्यायिक टिप्पणीका लागि न्याय परिषद्मा पठाएको हो भन्नुभयो । 

न्यायपरिषदको बैठकमा सर्वाेच्च अदालतका न्यायाधीश साहले पेश गरेको लिखित नोट अफ डिसेन्टको कुनै काम छैन भन्दै जोशीले सडक बनाउँदा खच्चडले काम पाउँदैन भनेर विरोध गरेजस्तै हो भन्दै साहको आलोचना समेत गर्नुभयो । सभासदहरूको जिज्ञासापछि जवाफ दिने क्रममा उहाँले थनुवलाई कानूनसम्तत धरौटीमा छाडेको स्पष्टिकरण दिनुभयो । उहाँलाई सभासदहरूले जेल भ्रमणका क्रममा मिसिल नै नहेरी थुनुवालाई छाड्ने गरेको आरोप लगाएका थिए ।

आरोप र उजुरी खेलको नियम हो : उपाध्याय
प्रस्तावित न्यायाधीश गोविन्दकुमार उपाध्यायलाई सभासदहरूले न्यायाधीश जस्तो व्यक्ति भएर आफै तरकारी समेत किन्न जाने र बिक्रेतासंग मोलमोलाई गर्ने भनी उठाइएका उजुरीको व्यङ्गात्मक शैलीले उत्तर दिनुभयो । “हो म आफैँ तरकारी किन्न जान्छु,  त्यो पनि दौरा सुरुवालमै कतै पैसा घटाउँछ कि भनेर ।” सभासद् बालकृष्ण खाँडले आफैँ तरकारी किन्न आफैँ जाने न्यायाधीशको सम्मान गर्नुपर्ने बताउनुभयो । 

त्यसपछि आफूमाथि लागेका आरोपको खण्डन गर्दै उपाध्यायले परिचरको तलब नलिएको, पदीय मर्यादाविपरीत हुने गरी महिलामाथि दुव्र्यवहार नगरेको र सम्पत्ति आर्जन भने पहिलेको तुलनामा केही बढेको र त्यसमा आफ्ना परिवारको पनि आय भएको जिकिर गर्नुभयो । 

विधिशास्त्र बनाउने र भावी प्रधान न्यायाधीश बन्ने अवस्थाका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले आफूमाथि मुद्दाको वास्तविक विषयवस्तुतर्फ ध्यान नदिई सतही र सामान्य खालको आरोप लगाएको पनि उहाँले बताउनुभयो । वरिष्ठ न्यायाधीश  साहकै  फैसलामा पनि भएका त्रुटिका बारेमा समेत बोल्नुभएका प्रस्तावित न्यायाधीश उपाध्यायले आफू सर्वोच्चमा पुगेपछि उहाँसंग कुनै तिक्तता नराख्ने र सायद उहाँले पनि राख्नु हुँदैन होला भन्नुभयो । 

सुनुवाईका क्रममा सभासदहरूले प्रस्तावित न्यायाधीश उपाध्ययसंग साहले नोट अफ डिसेन्टमा लगाएका आरोपबारे प्रश्न गरेका थिए । त्यसको उत्तरमा उपाध्यक्षले ‘रुल अफ दि गेम’ भन्दै सहज रुपमा लिनुपर्ने बताउँदै वरिष्ठ न्यायाधीश साहमाथि प्रश्नहरू समेत उठाउनुभयो । सर्वाेच्चको प्रधान न्यायाधीश हुने न्यायाधीशले लगाएको आरोपले आफू क्षतविक्षत भएको भन्दै उपाध्यायले आरोप सबैलाई लाग्ने गरेको र त्यागी नेता कृष्णप्रसाद भट्टराईलाई समेत आरोप लागेको दृष्टान्त दिंदै फरक मतलाई संसदीय समितिले टुंग्याउने र त्यसलाई दुबैलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।

न्यायाधीश नियुक्तिको क्रम लम्बिएका बेलामा परिषद्ले ऐतिहासिक काम गरेको छ भन्दै उहाँले सेवा गर्नका लागि कुनै पद र वातावरण आवश्यक नपर्ने हुँदा आफूले त्यसै बमोजिम सेवा गर्ने, अदालतको न्यायाधीश भए पनि नभए पनि त्यसलाई समयको खेलका रूपमा लिने, दलीय व्यवस्थामा दललाई बलियो बनाउनुपर्ने र समितिले गरेका निर्णय आफूलाई मान्य हुने पनि उहाँले बताउनुभयो ।

अकुत सम्पत्तिको छानबिन गरे हुन्छ : मिश्र
न्याय परिषद्ले सिफारिश गरेका न्यायाधीशमध्ये सबैभन्दा कम उजुरीको सामना गर्नुभएका ओमप्रकाश मिश्रले आफूले अकुत सम्पत्ति कमाएको लागेमा सम्पत्तिको छानबिन गर्न सभासदहरूलाई अग्रह गर्नुभयो । सुनुवाईका क्रममा मिश्रले आरोपहरूको छानविन गरेर योग्य छ भने मात्र सिफारिस गर्नुहोला । मिश्रले सभासदहरूसंग आग्रह गर्दै न्यायपालिकाले अपेक्षित काम गर्न नसकेको गुनासोमा आशिंका सत्यता रहेको भने स्वीकार्नुभयो । 

केही सभासदले मिश्रविरुद्ध अकुत सम्पत्ति कमाएको गम्भीर आरोप लगेको भन्दै हिसाव किताब खोजेपछि मिश्रले त्यस्तो उत्तर दिनुभएको हो । एमाले सभासद अष्टलक्ष्मी शाक्यले पेट वकिल मार्फत झगडियासंग पैसा लिने गरेको उजुरी परेको भन्दै कमाएको अकुत सम्पत्ति कुन कुन बैंकमा राखेको छ भनि प्रश्न गरेपछि मिश्रले आफ्नो बैंक खाता दिन तयार रहेको बताउनुभएको हो ।

त्यस्तै एमाओवादी सभासद प्रभु साहले मुद्दामा सेटिङ मिलाउने गरेको, न्याय सम्पादनमा सुधार नभएको बरु अवस्था विगिएको र विभिन्न बैंकमा अकुत सम्पत्ति रहेको उजुरी परेको भन्दै प्रष्ट पार्न माग गर्नुभएको थियो । सभासद रविन्द्र अधिकारीले सेटिङ, विचौलिया भन्ने शब्दको अर्थ आफूले नबुझेको भन्दै उनले कसरी सेटिङ हुन्छ अदालतमा भनि सोध्नुभएको थियो ।

जवाफमा प्रस्तावित न्यायाधीश मिश्रले आरोप ठूलो भए पनि सानो भए पनि आरोप नै भएको भन्दै यसले आफूलाई दुःखी बनाएकाले आर्थिक लाभको आरोपको जवाफ आफ्नो र परिवारको नाममा रहेका बैंक खाताहरूको छानविन गर्न आग्रह गर्नुभयो ।

सुनुवाईका क्रममा कतिपय सदस्यले भने न्याय परिषद्ले गरेको आठ नाममध्ये मिश्रविरुद्ध कम उजुरी परेको भन्दै क्लीन चिट दिएको बताएका थिए । 

प्रमाणित नभएपछि छोड्दैपर्छ : श्रेष्ठ
सर्वाेच्च अदालतमा न्यायाधीशको सिफारिशमा पर्नुभएकोमध्ये सबैभन्दा गम्भीर आरोप लागेका देवेन्द्रगोपाल श्रेष्ठले आफूमाथिको आरोपको सुनुवाईमा जो कोहीलाई अभियोग लाग्दैमा थुन्न नसकिने प्रष्टिकरण दिनुभएको छ । उहाँमाथि संसदीय सुनुवाइ विशेष समितिमा सभासदहरूले करोडौं रकम लिएर चरेश तस्करलाई तारेखमा छाडेको भन्ने आरोपबारे प्रश्न गरेपछि त्यस्तो उत्तर दिनुभएको हो ।

जवाफमा श्रेष्ठले ७ क्वीन्टल चरेश काण्डमा आफूले तारेखमा छोडेर गल्ती नगरेको दावी गर्दै सो व्यक्ति ७ क्वीन्टल चरेश तस्करीमा संलग्न भएको कुनै आधार नदेखेकाले तारेखमा छोडेको बताउनुभयो । यो मुद्दामा न्यायपरिषद्ले छानविन गर्दा आफूले नियतबस ढंगले छाडेको नदेखिएको र कारबाही नगरेको पनि बताउनुभयो ।

प्रहरीले अभियोगपत्र दायर गर्दैमा थुन्ने पक्षमा आफू नरहेको भन्दै श्रेष्ठले “ ७ क्वीन्टल त के २०० क्वीटन नै बरामद भए पनि सवुत र प्रमाण नहेरी थुनामा राख्ने पक्षमा म हिजो पनि थिइँन, आज पनि छैन र भोलि पनि हुने छैन” भन्दै अभियोग पत्र ल्याउँदैमा थुनामा पठाउने हो भने कोही पनि स्वतन्त्र नरहने दावी गर्नुभयो । 

यसअघि प्रस्तावित न्यायाधीश श्रेष्ठमाथि प्रश्न गर्दै पूर्व कानुनमन्त्री समेत रहनुभएका एमाओवादी सभासद प्रभु साहले चरेश काण्डमा अदालतले नै छानविन गरेर दोषी देखिएकाले किन फेरि न्यायाधीश हुन खोजेको भन्दै प्रश्न गर्नुभएको थियो । 

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले न्यायाधीश श्रेष्ठलाई दाग लागेको बताउँदै न्याय क्षेत्रले छानविन गरेर जिल्ला अदालतबाट हटाएको भन्ने छ । माथिल्लो तहमा जाने इच्छा राख्नु भएको छ । आफूले गरेको गल्तीप्रति पश्चाताप छैन भन्दै प्रश्न गर्नुभएको थियो । एमाले सभासद राजेन्द्र पाण्डेले सात क्वीन्टल चरेशका संलग्नलाई छुटाउन करोडौं लिएको र ती चरेश क्यानडामा पक्राउ गरेको भन्दै के हो प्रष्ट पार्न माग गर्नुभएको थियो ।

कांग्रेस सभासद बालकृष्ण खाँडले चरेश तस्करलाई छाड्न सेटिङ मात्र मिलाएको नभइ लाइसेन्स नै छ कि भनेर प्रश्न गर्नुभएको थियो । अर्का सभासद चित्रबहादुर केसीले यति धेरै मुद्दा मामिला लागेका न्याय परिषद् नै भ्रष्ट भएर यस्तो भएको हो भनेर मैले भनेँ के हुन्छ भन्दै न्यायाधीशसंग सोध्नुभएको थियो ।

२ करोड बोक्न सक्दिन : राणा
न्यायपरिषद् सदस्य खेमनारायण ढुंगानासहितका सदस्यलाई २–२ करोड दिएको आरोप लागेका प्रस्तावित न्यायाधीश चोलेन्द्र शमशेर जबराले म ५५ किलोको मान्छेले २–२ करोड बोक्नै सक्दिन । त्यसलाई पक्कै पनि टेम्पो वा ट्याक्सीमा लगेको होला भन्दै आफूले त्यस्तो नगरेको सुनुवाईमा बताउनुभयो । 

पुनरावेदन अदालतका कामु मुख्य न्यायाधीश रहनुभएका जबराले पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दालाई आधार बनाएर आफूहरूलाई हटाउने षड्यन्त्र भएको आरोप लगाउँदै आफूहरूले विचलन भएर निर्णय गरेको भए पूर्व प्रधान न्यायाधीशहरू दिलीपकुमार पौडेलदेखि रामकुमार श्रेष्ठसम्मको पालामा आफूविरुद्ध कुनै पनि कारबाहीको सिफारिस नभएको  दाबी गर्नुभयो । 

सो मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयक्त इजलासले २०६८ माघमा विशेष अदालतमा कार्यरत जबरासहितका तीनजना न्यायाधीशलाई न्याय सम्पादनमा विचलन भएको भनी कारबाही गर्न न्याय परिषद्का नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सो आदेश जारी गर्नुअघि आफूलाई सुनुवाइको मौका नदिएको उल्लेख गर्दै प्रस्तावित न्यायाधीश जबराले एक न्यायाधीशले अर्को न्यायाधीशलाई मुद्दाको विषयवस्तुभन्दा बाहिर गएर आदेश जारी गर्दै जाने हो भने भोलि न्यायका क्षेत्रमा नसोचेको परिणाम आउने बताउनुभयो । 

मुद्दा हार्ने पक्षले उजुरी गरे : पौडेल
संसदीय सुनुवाई विशेष समितिमा तीनवटा मात्र उजुरीको सामना गर्नुभएका प्रस्तावित न्यायाधीश जगदीश शर्मा पौडेलले काठमाडाँै जिल्ला अदालतमा रहँदा आफ्नै छोरासंगको मिलोमतोमा लागूऔषधका कारोबारीसँग आर्थिक अपचलन गरेको आरोप असत्य भएको तथा मुद्दा हार्ने पक्षले बेनामी उजुरी गरेको स्पष्टिकरण दिनुभयो ।

सर्वोच्च अदालतका लागि आफ्नो नाम प्रस्तावित भएपछि प्रधान न्यायाधीशसँग बिचौलियाको सहयोगमा एक होटलमा बसेको विषयमा उहाँले आफू चितवनस्थित विशेष अदालतको कार्यबाहक मुख्य न्यायाधीश भएकाले आफ्नो क्षेत्रमा प्रधान न्यायाधीश आएका बेलामा सत्कार गर्ने तथा त्यहाँको गतिविधिबारे जानकारी गराउनु आफ्नो दायित्व थियो, त्यो दायित्व आफूले निर्वाह गरेको र राति होटलमा नबसी जिल्ला अदालतको अतिथि विश्राम कक्षमा गई बसेको पनि पौडेलले बताउनुभयो । 

सभासदहरूले सर्वोच्च अदालतको न्यायाधीश भएपछि के कसरी काम गर्नुहुन्छ भन्ने सभासदहरूको प्रश्नमा पौडेलले “विभिन्न अदालतमा ३९ वर्ष काम गरेको अनुभव म सँग छ । पाटन, हेटौडा लगायतका पुनरावेदन अदालतमा पनि काम गरिसकेको छु । नागरिक स्वतन्त्रता मौलिक हक र स्वतन्त्र न्यायपालिकाप्रति प्रतिवद्ध हुने छु” भन्नुभयो । न्यायपालिका र व्यवस्थापिकाबीचको द्वन्द्वका विषयमा न्यायाधीश पौडेलले संविधान निर्माणको सङ्घारमा दुई छुट्टाछुट्टै निकायले द्वन्द्वको स्थिति सिर्जना नगरी संयमता अपनाउनुपर्छ भन्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)
स्वास्थ्यलाई पैसा कमाउने पेशा बनाइयो - डा. प्रवीण मिश्र, स्वास्थ्य सचिव (04.08.2014)
खेलकूद राष्ट्रिय एकता र राष्ट्र विकासको आधार हो - खेलकूद मन्त्री पुरुषोत्तम पौडेल (03.24.2014)
घोषणापत्र कार्यान्वयन गर्ने हाम्रो हैसियत पनि छैन र वाध्यता पनि छैन- दिनानाथ शर्मा, प्रवक्ता एम (03.19.2014)
कसैको प्रेरणाले होइन मेहनेतले गीतकार भए - गायत्री थापा (02.03.2014)
राष्ट्रियताको वैचारिक नेतृत्व हुन सकेन - मोदनाथ प्रश्रित (01.13.2014)
मिश्रित प्रणाली निर्वाचनमा दोष बढी गुण कम देखियो - पूर्णबहादुर खड्का, सहमहामन्त्री नेपाली कांग (01.06.2014)
अहिलेको विवाद संविधानवादका निश्चित मापदण्ड आत्मसात गर्न नसकेर - हरिहर दाहाल (12.30.2013)
यसपटक विगतमा जस्तो समस्या देखिन्न – युवराज ज्ञवाली, सचिव नेकपा एमाले (12.24.2013)
" कर्मचारीतन्त्रले आफ्नो वर्चश्व देखाइदियो " : नारायणमान विजुक्छे (12.10.2013)
अनेरास्ववियुले विरासत गुमाएको छैन- किशोरविक्रम (09.18.2013)
राजनीति पनि मोडलिङ जस्तै (09.18.2013)
यसरी खाइन्छ घूस (08.28.2013)
हाम्रो देशको राजनीति हाम्रो हातमा छैन - जनार्दन आचार्य, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक (08.14.2013)
सोमेश्वर गढीमा देखिएको दृश्य - अनिल शर्मा (08.06.2013)
जनमतबाटै राजसंस्था फर्काइन्छ - कमल थापा, अध्यक्ष राप्रपा नेपाल (07.30.2013)
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद (07.24.2013)
नेपाल यतिखेर हाम्रो मात्र नियन्त्रणमा छ जस्तो मलाई लाग्दैन - डा. नारायण खड्का, नेता नेपाली कांग् (07.09.2013)
निर्वाचनमा भाग लिनुको अर्थ राष्ट्रिय स्वाधीनता समाप्त पार्ने कामलाई स्वीकृति दिनु हो - सीपी गजु (07.05.2013)



 
::| Latest News

 
[Page Top]