युगसम्बाद साप्ताहिक

अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी
Monday, 08.04.2014, 06:50pm (GMT5.5)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण यसअघि भारतीय पक्षबाट भएका भ्रमणको तुलनामा सरल, सहज, मित्रवत देखियो । प्रधानमन्त्री मोदीले नेपालसंग समानताका आधारमा सम्बन्ध कायम गर्न चाहेको स्पष्ट संकेत दिनुभयो । उहाँले उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा राख्ने धारणा र प्रस्तावहरु व्यवस्थापिका संसदलाई सम्बोधन गरेर दिनुभयो । मोदीले दुईवटा महत्वपूर्ण कुरा संसदमा बताउनुभयो । पहिलो लामो समयदेखि रोकिएको पञ्चेश्वर आयोजना एक वर्षभित्र सुरु गर्ने र नेपालबाट भारतले विजुली किन्न चाहेको सित्तैमा पानी चाहेको हैन भन्नुभयो । 

छिमेकीको हैसियतले नेपाल र नेपालीप्रति आफ्नो उच्च सम्मान रहेको र त्यसलाई भारतको विदेश नीतिमा समेत समावेश गरिएको उहाँको कथन थियो ।  प्रारम्भमा नेपालीमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले हिन्दीमा संसद्लाई सम्बोधन गर्नुभयो । त्यसक्रममा उहाँले नेपालको विकासको मुख्य बाहक विद्युत् उत्पादन नै भएकाले त्यसमा भारतको सहकार्यका निम्ति निर्णय गर्न नेपालका नेतृत्व तहलाई आग्रह गर्दै नेतृत्व वर्गलाई आफ्नो परिचय दिन आह्वान गर्नुभयो ।  

प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले आज नेपालको व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाल आउन पाउँदा निकै हर्षित भएको बताउनुभयो । धेरै वर्ष अगाडि आफू एक तीर्थयात्रीका रूपमा नेपाल आएको बताउँदै प्रधानमन्त्री मोदीले आज फेरि प्रधामन्त्रीको रूपमा नेपाल आउन पाउँदा भाग्यशाली सम्झेको छु भन्नुभयो ।

भगवात गौतम बुद्धको जनमस्थलका बारेमा भारतीय पक्षबाट बेलाबलामा सिर्जना गरिने भ्रम चिर्दै प्रधानमन्त्री मोदीले पशुपतिनाथ, जनक र बुद्धको भूमिमा आउन पाउँदा हर्षित लागेको उल्लेख गर्दै पटकपटक जनक र बुद्धको स्मरण गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले बुद्ध नेपालमा जन्मेका हुन् भनेर पटकपटक संसदमा बोल्नुयो ।

नेपाली पक्षबाट उठाइने हरेक आशंका र भारतबाट भैरहेका त्यस्तै खालका गतिविधिलाई लिएर उठिरहेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफूलाई निकै सरल, कुशल र मित्रवत रुपमा प्रस्तुत गर्नुभएको थियो । नेपालसंग जलस्रोत सम्झौता गर्दा पानीको विषय महत्वका साथ उठाउनुपर्ने र यसअघिका सम्झौताको कार्यान्वयन हुनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री मोदीले संसदमा सम्बोधन गर्ने क्रममा नेपालको विजुली भारतले किन्ने र यसैबाट नेपाल समृद्ध बन्ने बताउँदै “हिन्दुस्तानको अँध्यारो नेपालले हटाउन सक्ने” भन्दै नेपालमा जन्मेका गौतम बुद्धले मनको अँध्यारो हटाइदिएकाले अब अब नेपालको पानीबाट भारतलाई उज्यालो पार्न नेपालले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो र भन्नुभयो आफूहरुले नेपालको बिजुली सित्तैमा लैजान नचाहेको स्पष्ट पार्दै “नेपाल, जहाँबाट जन्मिएका बुद्धले मनको अँध्यारो हटाए, विचारको प्रकाश दिए र मानव जातिलाई नयाँ चेतना मिलेको थियो, यो नेपाल पानीको शक्तिको यस्तो धनी छ, उसले विजुलीको माध्यमबाट पनि हिन्दुस्तानको अँध्यारो हटाउन सक्छ ।” 

उहाँले  २२ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन आगामी एक वर्षभित्रै प्रक्रिया सुरु गर्ने र त्यसबाट उत्पादन हुने पाँच हजार ६०० मेगावाट विद्युत्ले नेपालको विकासले नयाँ उचाइ लिने बताउनुभयो । हाल नेपालमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार तत्पर रहेकामा जोड दिँदै उहाँले अन्तरदेशीय प्रसारण लाइनमार्फत सङ्कट समाधान गर्न हाल उपलब्ध गराइरहेको विद्युत् दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले नेपालले आफूसँग रहेको अपार जलस्रोतलाई समुचित उपयोग गर्न सके आगामी दश वर्षपछि भारतको ऊर्जा सङ्कटसमेत समाधान गर्छ भन्नुभयो ।  

मोदीले यसो भनिरहँदा नेपालको ऊर्जा संकटलाई व्यंग्य गरेको देखिए पनि तत्कालका लागि भारतले नेपाललाई बिजुली दिने र नेपालले आफ्नो बिजुली बेचेर १० वर्षपछि भारतलाई उज्यालो बनाउनुपर्ने मोदीको प्रस्ताव थियो । तर, भारतले बिजुली सित्तैमा लिन चाहेको नभई किन्न चाहेको र सवा सय करोड जनसंख्या भएको भारतलाई विजुली बेचेर नेपाल सम्पन्न बन्नसक्छ ।

त्यसो त माथिल्लो कर्णालीको पिडिए र विद्युत व्यापार सम्झौतामा समेत हस्ताक्षर हुन नसकेको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको भाषणले नेपालीहरुलाई सित्तैमा विजुली लान नभई किन्न खोजेको बताएर मोदीले आश्वस्त पार्न खोजेको प्रष्ट देखिन्थ्यो । माथिल्लो कर्णालीको पिडिएका सवालमा निकै ठूलो विवाद उत्पन्न भएको थियो । 

नेपालको विकासको मार्ग जलविद्युत भएको भन्दै मोदीले भारतलाई मात्रै बिजुली बचेर पनि नेपाल सम्बृद्ध मुलुक बन्न सक्ने बताउँदै मोदीले निर्णय तपाई गर्नुस्, आफ्नो नेतृत्वको परिचय दिनुस् भारत विद्युत विकासमा हातेमालो गर्न तयार छ, हामी तपाईको विकास यात्रामा जोडिन चाहन्छौं । नेपाललाई अहिले चाहिने विद्युत दिन भारत दिन तयार रहेको छ । यसका लागि विद्युत ट्रान्समिसन लाइन विस्तार गर्न आग्रह गर्दै “आज हामी बिजुली दिइरहेका छौं, त्यसलाई दोब्बर गर्ने इच्छा छ । आज हामी नेपालको अँध्यारो हटाउन चाहन्छौं । दशकपछि नेपालले हिन्दुस्तानको अँध्यारो हटाउँछ ।”

आफ्नो सम्बोधनको लामो समय नेपालको जलस्रोत, कृषि, पर्यटन र विकासमा खर्च गर्नुभएका मोदीले नेपालको विकासमा काँध मिलाउन तयार रहेको भन्दै सोही अनुसारको प्रक्रिया अघि बढाउन नेतृत्वलाई आव्हान गर्नुभयो । “जडिबुटी प्रबद्र्धन, पर्यटनसहितको विकासको सम्भावना रहेको भन्दै पर्यटक आए चना बेच्नेले पनि कमाउँछ, बदाम बेच्नेले पनि कमाउँछ, चिया बेच्नेले पनि कमाउँछ । जब चिया बेच्नेको कुरा आउँछ त मलाई आनन्द हुन्छ ।”

सम्बोधनकै क्रममा मोदीले नेपाललाई एक अर्ब अमेरिकी डलर सहुलियत ऋण दिने घोषणा गर्नुभयो । त्यस्तै पेट्रोलियम पदार्थलाई पाइपलाइनबाट ल्याउने, भारतमा छात्रवृत्ति पाउने विद्यार्थीको संख्या बढाउने लगायतका योजना मोदीले सुनाउनुभयो । कृषि विकासका लागि सिक्किमबाट सिक्न र सोही अनुसारको प्रविधि अपनाउन नेपाल तयार हुने हो भने भारत सघाउन तयार रहेको बताउँदै मोदीले नेपाल अर्गानिक कृषिको केन्द्र बन्ने सम्भावना औंल्याउनुभयो ।

आफ्नो मुलुकको प्राकृतिक सम्पदा र शक्ति चिन्न नसकेर भारतसँग हात पसार्ने हिन मानसिकताले ग्रसित नेपाली नेताहरुलाई मोदीले नेपालको पहाडी क्षेत्रको पानी, हिमालयको जडीबुटी, तराईको कृषि र लुम्बिनी एवं जनकपुरको महत्वबारे पनि सुझाइ दिनुभएको छ । नेपाललाई कस्तो बनाउने भन्नेबारे कम्तिमा सय वर्षपछिका लागि सोच्न मोदीले नेपाली नेतालाई सल्लाह दिनुभयो ।

उहाँले दक्ष जनशक्ति उत्पादनमा सघाउन शैक्षिक छात्रवृत्तिको सङ्ख्यामा वृद्धि गरिएको घोषणा गर्दै नेपालको सामाजिक, आर्थिकलगायत चौतर्फी विकासका लागि भारतको निरन्तर सहयोग रहने बताउनुभयो । दुई देशबीच जनस्तरमा सुदृढ बन्दै गएको घनिष्ठ सम्बन्धलाई अझ व्यापक बनाउन भारत र नेपालबीच दूरसञ्चार सेवालाई सहज एवम् सर्वसाधारणको पहुँचभित्र पुर्याउन आफ्नो देशका सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने उद्घोष गर्दै नेपाल सरकारलाई पनि त्यसनिम्ति आवश्यक निर्णय गर्न आग्रह गर्नुभयो ।  प्रधानमन्त्री मोदीको उक्त भनाइ भारतबाट नेपाल फोन गर्दा र यहाँबाट भारतमा कुराकानी गर्दा तिर्नुपर्ने उच्च महसुलप्रति परिलक्ष्यित थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का सबै सदस्य मुलुक मिलेर यस क्षेत्रको गरिबी निमिट्यान्न पार्नुपर्नेमा जोड दिँदै भारतले सार्क स्याटलाइट स्थापना गरेर शिक्षा, स्वास्थ्य र सञ्चारमा योगदान गर्ने चाहना व्यक्त गर्नुभयो । नेपालको समृद्धिका लागि पर्यटन, जडिबुटी, जलस्रोत, युवा शक्ति र वैज्ञानिक कृषि प्रणाली नै महत्वपूर्ण रहने भन्दै भारतीय प्रधानमन्त्री मोदीले त्यसका लागि सहयोग गर्न आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

४५ मिनेट लामो सम्बोधनमा मोदीले नेपालले अहिले विश्वकै ध्यान खिचिरहेको उल्लेख गर्दै नेपालले उदाहरण सफल भए विश्वबाट हिंसाको अन्त्य हुने आशा व्यक्त गर्नुभयो । “बुलेट छाडेर व्यालेटमार्फत संविधान लेख्ने नेपालको प्रयास सफल भए त्यसले विश्वमै हिंसा अन्त्य गर्नको लागि प्रेरणा दिनेछ” युद्ध छाडेर मूलधारको राजनीतिमा फर्किएको माओवादीतर्फ इंगित गर्दै “म युद्ध छाडेर बुद्धको बाटोमा हिड्ने नेपालीहरुको प्रशंसा गर्छुु । नेपालको संबिधान यहाँको लागि मात्रै होइन, संसारकै लागि उदाहरण बन्नेछ ।”

संविधान तत्कालका लागि नभएको भन्दै त्यसले आगामी सय वर्षसम्म मुलुक सञ्चालन गर्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले बुद्ध जन्मेको पावन मुलुक नेपाल संस्कृति र सम्पदाको विरासत हो भन्दै सांस्कृतिक, धार्मिक एवम् परम्परागत रूपमा विद्यमान भारत नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । उहाँले नेपालको समृद्धि र उन्नति नै भारतको प्रमुख चासोको विषय भएको बताउँदै त्यसका लागि हरसम्भव प्रयत्न गरिने स्पष्ट पार्नुभयो ।  

नेपाल–भारत सम्बन्धलाई हिमाल र सागरजत्तिकै पुरानो भन्दै सम्बोधन सुरु गर्नुभएका मोदीले द्विदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यति निकट रहेर पनि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको १७ वर्ष बितेकोमा आश्चर्य प्रकट गर्नुभएका मोदीले नेपालको सडक, पर्यटन र सूचना प्रवधिको लागि भारत सहयोग गर्न तयार रहेको जनाउनुभयो ।

सम्बोधनका क्रममा नेपाल र नेपालीप्रति भावनात्मक नाता जोड्दै मोदीले भारत र नेपालको सम्वन्ध हिमालय र गंगा जस्तै पुरानो रहेको भन्दै “हिन्दुस्तानले कुनै लडाइँ जितेको छैन, जुन जितसँग कुनै नेपालीको रगत नबगेको होस् । भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुरहरु मार्न र मर्न पछि परेनन्, आज म उनीहरुलाई अभिवादन गर्न चाहन्छु ।”

कुनै भारतीय सैनिकले म मृत्युसँग डराउँदिन भन्यो भने भने कि त उसले झुटो बोलेको हुने कि गोर्खा हुने भनेर भारतीय सेनाका फिल्ड मार्सलले आफूलाई भनेको मोदीले संसदमा सुनाउनुभयो । “उनी भन्थे, कोही सेनाका जवाफ म मृत्युसँगै डराउँदिन भन्यो भने मान्नुस् या त ऊ झुट बोलिरहेको छ वा उ गोर्खा हो । यदि गर्खाले म मृत्युसँग डराउँदिन भन्छ भने त्यो सत्य हो ।”

विश्वका अति सुरक्षा दिनुपर्ने चार नेतामध्येमा पर्नुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा सडकमा ओर्लेर आफ्ना शुभचिन्तकसंग नजिकिनुभयो । नेपालका राजनीतिक दलका नेता तथा सर्वसाधारणमा भारतप्रति रहेको नकारात्मक भावना मेटाउने प्रयासमा रहनुभएका मोदी सर्वसाधारणसंग पनि नजिकिनुभयो । संविधानसभा भवन जाने क्रममा सडकको दाया बायाँ उभिएका सर्वसाधारणको छेउमा पुगेर उहाँले हात मिलाउनुभयो । नयाँ वानेश्वरस्थित एलिनाज बेकरी अगाडि आफू चढेको गाडीबाट मोदी उत्रिएपछि त्यहाँ रहेका सबै आश्चर्यमा परेका थिए । उहाँ सर्वसाधारण उभिएको ठाउँमा आएर हात मिलाउनुभयो । दायाँपट्टीको सडक किनारामा बसेकासँग हात मिलाएपछि पुनः फर्केर बायाँपट्टीका सर्वसाधारणसँग पनि हात मिलाउनुभयो । 

त्यस्तै संसदमा सम्बोधन गरेर हायात होटल फर्कने क्रममा पनि मोदीले गौशाला, मित्रपार्क र चावहिमा त्यसै गरी सडकमा ओर्लेर सर्वसाधारणसंग हात मिलाउनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com