| युगसम्बाद साप्ताहिक | ||||
|
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ Wednesday, 08.13.2014, 11:17am (GMT5.5) - देवान राई, अध्यक्ष स्वास्थ्य व्यवसायी संघ नेपाल खोटाङको बाम्राङमा जन्मेका युवा उद्यमी तथा समाजसेवी देवान राई पेशाले स्वास्थ्य व्यवसायी हुन् । स्वास्थ्य व्यवसायी संघ नेपालका अध्यक्ष तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघका सल्लाहकार रहेका राई हाल नेपाल मेरिडियन हेल्थ केयर सेन्टर प्राईभेट लिमिटेडका कार्यकारी अध्यक्ष हुनुहुन्छ । नेपाल स्वास्थ्य व्यवसायी संघको अध्यक्ष भएका राई पछिबाट स्वास्थ्य व्यवसायी महासंघ नेपालको सल्लाहाकार रहेका छन् । राईसंग आगामी भदौ १ गते काठमाडौमा हुन लागेको महासंघको नवौ महाधिवेशनको सेरोफेरोमा रहेर युगसम्वाद साप्ताहिकका लागी गरिएको यो कुराकानीको सारांश– ० स्वास्थ्य व्यवसायी महासंघ नेपालको स्थापना कहिले र किन भएको गरिएको हो ? स्वास्थ्य व्यवसायी महांसघ नेपालको स्थापना ०६२०/०६३ मा भएको हो । कुनै रहर र लहडमा यस्को जन्म भएको होइन । तत्कालीन समयमा नेपालमा लगभग १५० वटा स्वास्थ्य व्यवसायी संस्थाहरु थिए । उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्न पाउनुपर्ने भन्दै माग राखेका थिए । सरकारले विभिन्न मापदण्ड बनाएर जम्मा ६३ वटा संस्थालाई मात्र परिक्षण गर्न दिने स्विकृती दियो । त्यसपछि तिनै ६३ वटाका प्रतिनिधित्व नेपाल स्वास्थ्य व्यवसायी संघले गरिरहँदा स्वीकृत नभएका संस्थाहरुले आन्दोलनलाई अगाडी बढाउन महासंघ ब्यानरबाट आन्दोलन गर्न थालियो । पछि सबैको साझा आन्दोलनको रुप दिएर अगाडी बढाइयो । जो अहिले पनि एउटा आन्दोलनको रुपमा स्थापित रहेको छ । यसको नवौ एतिहासिक महाधिवेशन यही भदौ १ गते हुन गैरहेको छ । त्यो अधिवेशनले कस्तो नीति तथा कार्यक्रम बनाउदै छ ? यसमा जम्मा ३१५ वटा संस्थाहरुको प्रतिनिधित्व रहेको छ । यस महासंघले आगामी दिनमा यी सम्पूर्ण स्वास्थ्य व्यवसायीहरुको हकहितका लागि भरपर्दो रणनीति तथा कार्यनीतिक बाटोहरु पहिल्याउने छ । जसले आमसमुदायको हितमा काम गर्न सम्पूर्ण व्यवसायीहरुलाई प्रेरित गर्ने काम गर्नसक्छ भन्नेमा म पूर्णरुपमा विस्वस्त छु । ० स्वास्थ्य परिक्षणमा बायोमेट्रिकको निकै चर्चा चलिरहेको छ । के हो यो बायोमेट्रिक सिस्टम भनेको ? बायोमेट्रिक सिस्टम भनेको प्रणालीको कुरा हो । जुन आधिकारीक हुन्छ । त्यसमा कुनै पनि नेपाली नागरीक वैदेशिक रोजगारीमा जाँदैगर्दा उस्का सम्पूर्ण विवरणसहित तस्विर तथा औंठाछाप समेत लिएर प्रमाणित गरिएको हुन्छ । त्यो प्रणाली लागू गर्दा एउटा सिस्टमको विकास हुनेछ । जस्ले नेपाली नागरिकहरु वैदेशिक रोजगारमा जानपूर्व उस्को व्यक्तिगत चालचलन तथा स्वास्थ्य अवस्थाको बारेमा पूर्ण जानकारी राख्नका लागि यो प्रणालीको विकास गर्न खोजिएको हो । अहिले यो प्रणाली हरेक देशले स्वीकार गरिसकेका छन् । नेपालको सन्दर्भमा पनि बहसको रुपमा आएको छ । बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो तथा व्यवस्थित हुने आशा गरिएको छ । ० नेपालमा यसको विरोध गरेको पनि सुनिन्छ नी नि ? खासमा यो प्रणालीको कुरा हो । अहिलेसम्म यो प्रणाली नेपालमा लागु भएको छैन । यसको कार्यान्वयन हुन बाँकी हुदै विरोधहरु पनि आइरहेको अवश्य हो । देशमा व्यवस्थित हिसाबले खुलेको स्वास्थ्य व्यवसायी संस्थाहरुले विरोध गर्नुको कुनै अर्थ नै छैन । किनकि नेपालको सन्दर्भमा यो लागु गराउने अर्को मित्रराष्ट्रले हो । अहिले मलेसियाको सरकारले बायोमेट्रिक प्रणालीको कुरा उठाइरहेको छ । यसमा नेपालको भूमिका सहयोगी हो । त्यसैले अन्य देशको सरकारले आफ्नो देशमा आवश्यक जनशक्ति माग्दा उस्को शारीरिक, मानसिक तथा सामाजिक हैसियत योग्यता, क्षमताको बारेमा निर्णय लिनसक्छ । त्यो एउटा विधि र प्रक्रियामा बाँधेर गर्ने उसको कुरा हो । यसलाई विरोध गर्न जरुरी नै छैन । ० राम्रो प्रणाली हो भने विरोध किन त ? खोई म त विरोध गर्नुपर्ने कुनै कारण देख्दिन । तर किन विरोध भैरहेको हो ? राज्यले आफ्नो नागरिकको शारिरिक तथा मानसिक रुपमा सवल सक्षम रहेका छ भनेर प्रमाणित गरेर पठाउनु पर्ने हुन्छ । यसका लागि केही व्यवसायीहरु पनि विरोधमा छन् भन्ने सुनिएको छ । तर यसको विरोध गर्नु भन्दा पनि उनीहरुले ल्याएको नीति अनुरुप काम गर्न सक्ने गरी आफ्नो संस्थाको विकास गर्न जरुरी छ । यो प्रणालीमा जानको लागि व्यवस्थापन गर्न केही खर्च अवश्य लाग्छ त्यस्को व्यवस्थापन गरेर आफ्नो संस्थालाई सवल बनाएमा विरोध गरिरहननै पर्दैन । ० नेपालमा बायोमेट्रिक सिस्टम लागु भएमा ३८ वटामात्र संस्थाले काम गर्न पाउने भएकाले अन्य सदस्य संस्थाहरुले विरोध गरेको भन्ने छन् नि ? मैले सुन्दा ३८ वटाले मात्र पाउँछ भन्ने हल्ला आएको छ । आधिकारिक जानकारी छैन । तर यदि यस्तो हो भने मेरो भनाई के हो भने महासंघको सम्पूर्ण ३१५ वटा सदस्य सस्थाहरुले काम गर्न पाउनुपर्छ । सरकारले तोकेको मापदण्ड अनुरुप संस्थाहरुले समेत क्षमताको विकास गर्नु पर्दछ । जहाँसम्म हामीले काम गर्न किन नपाउने भन्ने प्रश्नहरु छन । यो कुनै आधिकारिक जानकारी बिनाको कुरामा कागले कान लगेको उखानको पछि नलाग्दा नै राम्रो होला । ० नवौ महाधिवेशनमा नेतृत्वको कुरा पनि होलान नि ? हो, यो ऐतिहासिक नवौ महाधिवेशनले स्वास्थ्य व्यवसायी महासंघ नेपालको नेतृत्वको चयन गर्ने छ । मलाई विस्वास छ यो महाधिवेशनबाट कुशल सक्षम तथा क्रियाशिल नेतृत्वको स्थापना हुने छ । ० तपाईको समर्थन चाहिं ? मैले अगाडि पनि भनिसके हामीले यो व्यवसायीक संस्थालाई व्यवसायीहरुको साझा संस्थाको रुपमा विकास गर्न सक्नु पर्दछ । जस्का लागि प्रक्रिया गत हिसाबमा वर्तमा अध्यक्षज्यूले आफुले अब यो कार्यकालबाट नेतृत्व नगर्ने घोषणा गर्नुभएको छ । स्वाभविक रुपमा संस्थाको वरिष्ठ उपाध्याक्ष रहनु भएका कैलाश खडकाले आफूलाई उम्मेदवारको रुपमा ल्याउनु भएको छ । मेरो पूर्ण समर्थन कैलासजीलाई रहन्छ । उहाँसग संस्थालाई गाईड गर्नसक्ने खुबी म देख्छु । ० यो संस्थाले सर्वसाधरणको लागि के काम गर्छ ? हाम्रो यो संस्थाले वास्तवमा निकै ठूलो ऐतिहासिक कामहरु गर्दै आएको छ । हामी स्वाभाविक रुपमा वैदेशिक रोजगारमा जान चाहनेहरुको स्वास्थ्य परीक्षण गर्ने लगायतका काम गर्छौ । केही यस्तो समस्याहरु आएका छन । जो विदेशमा पुगेर स्वास्थ्यका कारणले फिरेका छन उनीहरुका लागि हामीले ४० हजार रुपैया राहत स्वरुप प्रदान गर्ने गरेका छौं । एउटा गरिब मुलुकबाट दुःखका साथ पैसा कमाउन गएको व्यक्तिमा यस्तो विपत्ती पर्दा सहयोग गर्ने हाम्रो निर्णय नै एतिहासिक हो जस्तो लाग्छ । ० स्वास्थ्य परिक्षणमा चर्को शुल्क लिने गरेको पनि आरोप छ ? यो निरर्थक आरोप मात्र हो । जब हामीले नेपाल सरकारले तोकेको मापदण्डभन्दा कममा काम गरिरहेका छौं । सरकारले खाडी मुलुकका लागि स्वास्थ्य परिक्षण गराउन रु २९०० तोकेको भए पनि हामीले २५०० रुपैया मात्र लिएर काम गरिरहेका छौ । मान्यता प्राप्त संस्थाहरुबाट गरिने परिक्षणमा यस्तो ढाँटछल हुदैन । ० अन्त्यमा केही भन्नु छ ? नेपाल स्वास्थ्य व्यवासायी महासंघको नवौ महाधिवेशन हुँदैछ । यसको सल्लाहाकार तथा नेपाल स्वास्थ्य व्यवसायी संघको अध्यक्षको नाताले हालसम्म व्यवासायीहरु बीचमा देखिएको फरक बुझाइलाई एउटै साभाथलोमा राखेर छलफल गरौं । हामी बीचमा रहेका अन्यौलताको अन्त्य गरांै । बायोमेट्रिक जस्ता महत्वपूर्ण विषयमा खुलेर बहस गरौं । आगामी कार्यसमिति क्षमतावान तथा दूरदर्शी नेतृत्वका साथ अगाडी बढ्नसक्ने आओस् यो नै शुभकामना । प्रस्तुति : भिम राई |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||