| युगसम्बाद साप्ताहिक | ||||
|
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर Tuesday, 09.02.2014, 08:40pm (GMT5.5) ० एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ स्थपानाको उद्देश्य के हो ? एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ स्थपानाको मुख्य उद्देश्य भनेको हरेक क्षेत्रबाट प्रताडित भएका होटल व्यवसायीहरुको व्यवसायिक एकता, सरल सहज ढंगबाट सेवा सुविधा प्रदान गर्नसक्ने दक्षता तथा क्षमताको विकास गर्नु, होटल व्यवसायमा गुण्डाहरुको विगविगीको नियन्त्रण, प्रहरी प्रशासनले गर्ने ज्यादतीको विरोध तथा होटलहरुलाई करको दायरामा ल्याउने पहल गर्ने लगायतका समस्याहरुको निराकरणका लागि संघको स्थापना गरिएको हो । ० स्थापना कसरी गर्नुभयो ? शुरुमा दशदेखि बाह्रजना व्यवसायी मिलेर एउटा समूह बनायौं र केही सहकार्य गर्न थालेका थियौं । पछि अन्य व्यवसायीहरु पनि सहभागी गराउँदै तीन वर्ष अघिदेखि प्रकृया अगाडि बढाइयो र अहिले आएर औपचारिक रुपमा दर्ता गराएर संस्थाको स्थापना गरिएको हो । ० संघको स्थापनापछि व्यवसाय संचालकहरुलाई राहत दियो त ? अवश्य राहात दिएको छ । शुरुमा हामीले जसरी काम अगाडि बढायौं यसप्रति सबै व्यवसायीको विश्वसनियता बढ्दै गएको छ । हाल १२७ जना होटल व्यवसायी यसमा आबद्ध छौँ । हामीले हप्ता उठाउने चलन निरुत्साहित गर्न सफल भएका छौं । प्रहरी प्रशासनले गर्ने ज्यादती कम भएको छ । उधारो खाएर भाग्ने गरेकालाई रोक्न सफल भएका छौं । होटलहरुलाई करको दायरामा आउन पान तथा भ्याटमा दर्ता गराउन सफल भएका छौं । ० प्रहरी प्रशासनको ज्यादति भन्नु भो, कसरी प्रहरी प्रशासनले दुःख दिन्थ्यो ? प्रहरी प्रशासनका मान्छे रात विरात आउने सबै ग्राहकको ढोका ढकढक्याउने चलन थियो । त्यसो गर्दा हाम्रा ग्राहकहरु भड्किने गर्थे । यो समस्याको लागि हाम्रो संघको पहलमा प्रहरी प्रशासनसंग छलफल तथा अन्तक्र्रिया भयो । हामीले आफ्नो होटलमा आउने ग्राहकहरुको विवरण लिएर राख्ने र प्रहरी प्रशासनलाई सन्दिग्ध लागेका मान्छे हो भने शुरुमा त्यसको विवरण भिडाएर हेर्दा आपराधिक व्यक्ति रहेछ भने उसलाई कार्यवाही गर्न मद्दत गर्ने सहमती भएपछि सबै ग्राहकहरुलाई तनाब नहुने अवस्थाको सिर्जना भएको छ । ० व्यवसायीहरु करको दायरामा आउनै नचाहेको आरोप पनि छ नि ? हो, योभन्दा अगाडि त्यस्तो पनि पाइएकै हो । तर हाम्रो संघको पहलमा करको बारेमा जानकारी दिने काम भयो । करको दायरामा बस्नु भनेको व्यावसायिक हिसाबमा आधिकारिक हुनु पनि हो । यसले राज्यलाई करमात्र तिर्दैन आफैंलाई व्यवसाय संचालनमा मद्दत गर्छ भन्ने कुराको ज्ञानको अभाव थियो । हामीले कर कार्यलयमा दर्ता भएपछि आफ्नो व्यवसायमा लेखा प्रणालीमा सुधार पनि हुन्छ । हिजोको समयमा मुखैले तथा हातको औँला भाँचेर हिसाब किताब राख्दा पारदर्शिता हुँदैन थियो । तर, अहिले हाम्रा व्यवसायीहरुले दैनिक हिसाब किताब राख्छन् । नाफा घाटाको अवस्था जानकारी भइरहन्छ । यसले व्यवसाय संचालनमा आगामी कार्ययोजना बनाउन समेत महत्वपुर्ण काम गरेको छ । ० व्यवसायीहरुले अपराधीलाई लुकाउन होटलमा राख्छन् भन्ने आरोप पनि लाग्ने गर्छन नी ? पहिलो कुरा त हामी प्रहरी होइनौं । हामीकहाँ भद्रभलादमीदेखि चोरसम्म बस्न आउँछन् । को के हुन् हामीलाई सबै कुरा थाहा हँुदैन । निधारमा देखिने गरी लेखेर कोही आउँदैनन् । हाम्रा लागि होटलमा बस्न आउने सबै पाहुना हुन । हामी अतिथि देवो भवः को रुपमा हेर्छौँ । तर कोही त्यस्ता अपराधीहरु पहिचान खोलेर आएमा पहिले प्रहरीमा खबर गर्ने काम हाम्रो हुन्छ । अथवा कुनै शंकास्पद गतिविधि गरेको जानकारी प्राप्त भएमा तथा हामीलाई त्यस्तो लागेमा कार्यवाहीको दायरामा पठाउने कर्तव्य त हाम्रो पनि हो । किनकी त्यस्तो प्रवृत्तिको व्यक्तिले हामीलाई पनि बाँकी राख्दैन नि । ० होटलहरुमा अमर्यादित धन्दाहरु पनि हुने गर्छन भन्ने आरोप पनि छ ? तपाईले भन्नुभएको अमर्यादित धन्दा भनेको गैरकानुनी कार्यहरु होलान । त्यस्ता गैरकानुनी कार्य संचालन गर्ने गरेको हामीले पनि सुनेका छौं तर हाम्रो सदस्यहरुमा त्यस्तो हुनै सक्तैनन । यौन व्यवसाय संचालन गर्ने, लागुऔषधको कारोबार गर्ने जस्ता कृयाकलाप हुने कुराहरु आएका छन् । हाम्रो संघको तर्फबाट यस्ता कृयाकलाप गर्नेहरुलाई कडा कार्यवाहीको माग रहेका छ । हाम्रो संघमा आवद्ध कुनै व्यवसायी यस्ता कृयाकलापमा संलग्न रहेको जानकारी प्राप्त भएमा हाम्रो तर्फबाट समेत हामी तत्काल कार्यबाही गर्नेछौ । ० संघले व्यावसायिक कामको अलवा के के गर्ने लक्ष्य राखेको छ । यो एकदम महत्वपूर्ण विषय उठाउनु भएको छ । हामीले यही समाजमा व्यवसाय संचालन गर्ने हो । हाम्रो व्यवसाय सेवामुखी व्यवसाय हो । त्यसकारण हामीले समाजको हितका लागि पनि केही काम गरेका छौ । रक्तदान कार्यक्रम संचालन गरेका छौं । वाग्मति सरसफाई अभियानमा संलग्न छौं । भर्खरै बाढी पिडितहरुका लागी राहात दिन सिन्धुपाल्चोक नै पुग्यौं । प्रधानमन्त्री राहत कोषमा समेत हामीले रकम जम्मा गर्न तयारी गरेका छौ । स्थापनाको शुरुवातमा नै आफ्नो व्यवसायसँगै समाजसेवाका यी कामहरु अगाडी बढेका छन् । आगामी दिनमा अझ यसलाई निरन्तरता दिदै लैजाने हाम्रो लक्ष्य रहेको छ । ० साधारणसभाको एजेण्डा चाहिं के के छन् ? मूलतः यो साधारण सभाले हाम्रा व्यवसायीहरुको हकहितको संरक्षण गर्दै व्यावसायिक हिसाबमा दक्ष बनाउने प्रयत्न गर्नेछ । त्यस्तै नयाँ नेतृत्वको चयन पनि गर्ने छ । समग्र संस्थागत हितका लागि निश्चित कार्यदिशा यो साधरण सभाले पास गरेर ल्याउने छ । ० नेतृत्वका बारेमा ? हाम्रोमा अरु जस्तो प्रतिस्पर्धा हुने स्थिति रहँदैन । हामी जो आए पनि काम सबैले मिलेर गर्ने हो भन्ने मान्यता सबै सदस्यहरुसँग रहेकाले नेतृत्व जो आए पनि केही फरक पर्दैन । ० राज्यको दायित्व व्यवसायीप्रति कस्तो होस भन्ने अपेक्षा हो ? राज्यले होटल व्यवसाय निर्वाध चलाउन पाउने वातावरणको सिर्जना गरिदिनु पर्याे । हाम्रो दायित्व हामीले पुरा गर्छौ । बन्द हड्ताल जस्ता कामहरु बन्द हुनुपर्छ । लोडसेडिङ हटाउनु पर्याे । मुख्य रुपमा अर्गानिक खेतीमलाई प्राथमिकता दिनुपर्छ । हामीले सबैभन्दा बढी तरकारीको प्रयोग गर्ने गर्ने भएकाले बजारमा यस्को अनुगमन गरेर विषादिरहित तरकारी उत्पादन द्रुत गतिमा लैजानु पर्छ । पर्यटन क्षेत्रको विकासमा हामी पनि छौ । जसले हाम्रो अर्थतन्त्र मजबुद पनि बनाउने भएकाले पर्यटन विकासमा जोडदिनु पर्याे । प्रस्तति : भिम राई |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||