युगसम्बाद साप्ताहिक

पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ
Tuesday, 10.21.2014, 10:34am (GMT5.5)

यो मेला किन आयोजना गरिएको हो ?
नेपालमा भइरहेको पुष्प व्यवसायको प्रबद्र्धन गर्न तथा बजारीकरण गर्न र आउँदै गरेको शुभ दिपावलीको स्वागत गर्न आयोजना गरिएको हो । 

० नेपाल पुष्प व्यवसायको अवस्था कस्तो छ ? 
निजी क्षेत्रबाट गरिएको यो प्रयास निकै कठिन रुपमा चलेको छ । राज्यले यसका बारेमा यसअघि नीति समेत नबनाएको अवस्थमा एकदमै गाह्रो थियो । भर्खर मात्र सरकारले पुष्प व्यवासाय सम्बन्धी नीति ल्याएको छ । यसले प्रवद्र्धन गर्न निकै मद्दत गर्ने आशा गरेका छौ । हामीले गरिरहेको प्रयासमा सरकारले सघाउ पुर्याउने कुराले हामी व्यवसायीहरुलाई निकै उत्साहित बनाएको छ ।   

० फूलको व्यापार चाहिं कस्तो छ ?
फूलको बजार साँघुरो रहेको छ । फूललाई मानिसहरु विलासिताको रुपमा लिने गरेको पाइन्छ जस्ले गर्दा धनीमानी तथा सौखिनहरुले मात्र फूल राख्छन भन्ने मान्यताले गर्दा यस्को बजार साँघुरिएको हो । तर फूल भनेको जीवन हो । जस्ले हरदम मानिसलाई उर्जा प्रदान गर्छ । फूलका फाइदाहरुका बारेमा बुझाउन नसक्दा व्यापार बढ्न सकिरहेको छैन । शुभकार्यदेखि लिएर पूजापाठमा समेत फूलको व्यापक प्रयोगलेले मानसिक तथा शारीरिक थकानको विश्राम दिने तथा स्वास्थ्य रहन समेत फूलले सहयोग गर्दछ भन्ने कुरा बुझाउन नसकिदाँ यस्को क्षेत्र अलि साँघुरो नै रहेको छ । 

० यसबाट व्यावसायीहरुलाई कतिको फाइदा पुगेको छ ? 
हामीले वर्षेनी नेपालको हावापानी सुहाउँदो फूल उत्पादन गरेर एक सवा अर्बको कारोबार गरिरहेका छौ । सिजन अनुसार नेपाली फूलहरु विदेशमा समेत विक्री गरिन्छ । विदेश मुद्रा आर्जन गर्न पनि फूलको खेती गर्न सकेमा राम्रो भविष्य रहेको छ । जसरी पर्यटन व्यवसायबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ त्यसरी नै फूल बेचेर पनि हामीले विदेशी मुद्रा आर्जन गर्न सकिने प्रशस्त आधारहरु हामीले पाएका छौ । 

० नेपालको पुष्प उत्पादनको अवस्था चाहिं कस्तो छ ? 
वास्तवमा नेपालमा पुष्प उत्पादनको अवस्था मध्यम तवरले चलिरहेको छ । सिजन अनुसार फूलहरु उत्पादन गर्ने गरेका छौं । यद्यपी सिजन नभएको अवसरमा बाहिरबाट समेत नेपालमा फूलहरु भित्रिने गरेका छन् । तिहारको बेला, सायपत्री र मखमखी फूलको अभाव हुन्छ । हिँउदको समयमा पनि फूलको अभावहरु हुने गर्छन । हामीले प्राकृतिक हिसाबमा मौसम अनुसारको फूल उत्पादन गरिरहेका छौं । विभिन्न प्रविधिको प्रयोगबाट १२ मास फुल उत्पादन गर्न नसक्दा हामीलाई थप चुनौति रहेको छ । 

० नेपालमा कति पुष्प व्यवसायीहरु यो एसोसिएशनको सदस्य हुनुहुन्छ ?
हामी देशभरका करिब छसय पचासको हाराहारीमा रहेका छौ । 

० व्यवसाय संचालनमा के समस्या रहेको छ ?
थुप्रै समस्याहरु रहेका छन् । निजी लगानीमा यो व्यवसाय संचालन गरिरहेका छौ । हाम्रो लगानी उठ्ने नउठ्ने भन्ने कुनै ग्यारेन्टी छैन । प्राविधिक ज्ञान तथा सिपहरुको खाँचो छ । यो व्यवसायमा कुनै वित्तिय संस्थाहरुको लगानी छैन् । सरकारले यसका बारेमा निश्चित कार्यक्रमहरु ल्याउन सकेको छैन । दक्ष जनशक्तिको अभाव रहेको छ । लगानीको वातावरण राज्यले निर्माण गरेर बजारीकरणको पहल गर्ने हो भने यो व्यवसायको भविष्य सुन्दर छ । तर धेरै प्रकारका अभावहरुका कारण हामी लक्ष्य सम्म पुग्न सकिरहेको छैनौ । अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका र भएका प्रविधिहरु नेपालमा ल्याउन नसक्दा समेत अवस्थामा खास सुधार आउला भन्न सकिने अवस्थामा रहेको छैन ।

० सरकारले सहयोग गरेको छैन त ? 
सरकारले खाशै सहयोग गरेको छैन । भर्खर मात्र पुष्प प्रवद्र्धन नीति ल्याएको छ । यस बीचमा हामीले स्थानीय स्तरबाट नै धेरै छलफल, गोष्ठि, सेमिनारहरु गरेका छौ जस्ले व्यवसायीहरुलाई उत्साहित बनाउने काम गरेको छ । तर सरकारको तर्फबाट नीति नै नबनेको अवस्थामा केही सहयोग लिन सकिएन । अब आशा छ यो पुष्प प्रवद्र्धन नीतिसँगै सरकारले यो क्षेत्रको प्राविधिक तथा बजार व्यवस्थापन गर्न मद्दत गर्ने छ । 

० हाल पुष्पबजार स्वदेशमा मात्र सिमित छ कि बाहिर पनि जान्छ ? 
हाम्रो उत्पादन सिजन अनुसार बाहिर पनि पठाउने गरेका छौ । यद्यपी नेपालको सबै माग पूरा गर्न नसकिएको अवस्था पनि छ । कतिपय बेला विदेशबाट समेत फूलहरु आयात गरिएको पनि छ । 

०  तपाईंहरुको भावी नीति के छ ?
उत्पादनमा क्वालिटी, क्वान्टीटी र कन्टीन्युटी नै आजको हाम्रो मुख्य कार्यभार हो । यसलाई कसरी लैजान सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायका प्रतिनिधीहरु  र व्यावसायीहरु बसेर छलफल गरिरहेका छौ । 

० व्यवसाय प्रर्वद्धन हुन नसक्नुमा व्यवसायीहरुको चाहिं केही हात छैन त ?
अवश्य हात छ । हामी लगानीको गरेको भोलिपल्ट नाफा खोज्ने बानिका छांै । परम्परागत शैलिले यो व्यवसाय संचालन गरिरहेका छौ । मन्दिर वरीपरी मात्र फूललाई बुझिरहेका छौं । आर्थिका समृद्धका लागि मात्र सोचिराखेका छौ । हामीलाई फूलहरुमा औषधीजन्य कुराहरु अधिक पाउन सकिन्छ भन्ने बुझाउन सकिएको छैन 

० पुष्प व्यवसायको प्रवद्र्धनले विदेशी मुद्रा आर्जन गर्न सकिने कुरा अघि भन्नुभाथ्यो नि, त्यो कसरी सम्भाव छ ?
नेपाल हावापानीका हिसाबले अत्यन्तै उत्तम प्राकृतिक सैन्दर्यता भएको देश हो । यहाँको उत्पादनहरु एकदमै प्राकृतिक प्रकारका हुन्छन् । जसले गर्दा यी फूलहरु नेपालबाट विदेश निर्यात गर्न सकिने प्रशस्त संभावना रहेको छ । नेपालको पर्यटन व्यवसाय जस्तै यो व्यवसायमा समेत लगानी गर्ने र व्यवसायीहरुको लगानी सुरक्षित बनाउने ग्यारेन्टी मात्र हुने हो भने प्रशस्त यस्को संंभावना रहेको छ । 

०  अन्त्यमा ?
विशेष गरेर यो फूलहरुको पर्व शुभ दीपावली तथा भाइ टीका तिहार, नेपाल संवात तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना 
प्रस्तुति- भिम राई 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com