युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ
Wednesday, 05.27.2015, 11:38am (GMT+5.5)

डा. गोविन्दप्रसाद पोखरेल, उपाध्यक्ष राष्ट्रिय योजना आयोग
० विनाशकारी भूकम्पपछि अब नेपालको अवस्था कस्तो होला ?
प्राकृतिक विपतका कारण हामीले थुप्रै नेपाली गुमाएका छौँ । खबौैंको क्षति व्यहोरेका छौँ । यो पीडाको घाउ ओभाइसकेको छैन । विपतलाई ‘चान्स टु चेन्ज’ अर्थात् पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ । यसलाई पीडाबाट प्राप्त पुनर्जागरण पनि भनिन्छ । जापानिजहरू विपतलाई राम्रो गर्ने अवसरका रुपमा लिन्छन् । उनीहरू भन्छन्, ‘बिल्ड ब्याक बेटर’ अर्थात् अघि राम्रो नगरेकामा अब अझ राम्रो बनाउँ । त्यसैले सबै एकजुट भएर नेपाल बनाउने अभियानमा लाग्नुपर्छ ।

० क्षति कम गर्न सकिन्थ्यो नि हैन, विज्ञहरूले त धेरै पहिलेदेखि चेतावनी दिइरहेका थिए ?
यो प्राकृतिक प्रक्रियाले आएको विपत हो । यसमा कसैको दोष छ भने, हाम्रै छ । कि हाम्रा संरचनाका कारण हामीले बढी क्षति व्यहोर्नुपर्याे । यो पीडाका बेला हामी नेपालीमा जसरी भावनात्मक एकता जाग्यो, त्यो हाम्रो पुँजी हो, उज्यालो भविष्य हो र आशाको किरण हो । पहाडमा भुइँचालो जाँदा तराईले चामल पठायो, पहिले कोसीमा बाढी आउँदा पहाडले कपडा पठाएको थियो । यो नै देशको भाइचारा हो । अहिले स्वयंसेवकको रुपमा काम गर्छाैं भनेर युवा पुस्ताको हुल आइरहेको छ । मलाई काम गर्ने प्लेटफर्म चाहियो, पैसा चाहिँदैन भनेर युवाहरू आइरहेका छन्, यो भावना नै हाम्रो गर्व हो, हाम्रो सम्पत्ति हो । अहिले विभिन्न संस्थाले युवा परिचालन गरे, कतै युवाहरू स्वेच्छाले परिचालित भए ।

० अबको सम्भावना के देख्नुभएको छ ?
सहरको डिजाइन, ग्रामीण बस्तीको डिजाइन, घर यसरी बनाउनुपर्छ, पूर्वाधार यसरी बनाउनुपर्छ भनेर युवा पुस्ता स्वस्फूर्त रुपमा आएको छ । कतिपय युवा गाउँगाउँमा गएर अस्थायी बास निर्माणमा लागिसकेका छन् । यो हाम्रो ठूलो पुँजी हो । यसलाई राज्यले सम्बोधन गरेर अघि बढ्नुपर्छ । यही पुँजीले देश बनाउन सक्छौँ भन्ने आशा जागेको छ ।

० भूकम्पले नयाँ अवसर पनि दिएको भन्नुभयो । त्यो कसरी ?
अब यो विपतलाई अवसरका रुपमा हामीले लिनैपर्छ । यति धेरै युवाशक्ति छ, भाइचारा छ, हाम्रो अगाडिको बाटो उज्यालो छ । यो अकस्मातको भुइँचालो होइन । फेरि पनि यसले हामीलाई थप पाठ सिकाएको छ । पहिलो, अब हामी प्राकृतिक विपतबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न लागिहाल्नुपर्छ । नत्र हाम्रो भविष्य सुरक्षित छैन । दोस्रो, राज्यलाई बलियो बनाउनैपर्छ भन्ने कुरालाई यो विपतले थप सम्झाएको छ । यद्यपि राज्य बलियो हुनुपर्छ भनेर भनिराख्ने कुरा होइन । प्रत्येक जनताका पीरमर्का, दुःखलाई हेर्ने राज्यले नै हो । राज्य पनि उदार हुनुपर्छ । नयाँ विचार र प्रविधिको ज्ञान भएका युवालाई राज्यले समेट्नुपर्छ । यस्ता युवाले राज्यमा अवसर पाउनुपर्छ ।

अर्काे, यस विपतले हामी सबै नेपाली एक हौँ भनेर पनि बताएको छ । धर्ती काँप्दाखेरि महल र झुपडीमा बस्ने दुवैको मुटु काँपेको छ । विभिन्न कारणले आर्थिक हैसियत तलमाथि भए पनि आखिर जमिन थर्कंदा सबैको मुटु थर्कंदो रैछ । त्यसकारण हामी सबै एकै रहेछौँ भन्ने पनि यो विपतले हामीलाई सम्झाएको छ ।

यो सबै पाठको निष्कर्ष हो, अब हामीले भावी पुस्तालाई केही दिनैपर्छ । हामीले भावी पुस्तालाई दिने भनेको सुरक्षित नेपाल, सबैको नेपाल नै हो । यो विपतले तिमीहरू आत्मनिर्भर बन भनेको छ । हामीसँग पाल छैन, खाद्यान्न छैन, औषधि छैन, उद्धार गर्ने हेलिकोप्टर छैन । अब हामी आत्मनिर्भर हुनैपर्छ ।

यो विपतले यो आशाको किरण देखाएको छ कि वल्लो गाउँमा पहिरो जाँदा पल्लो गाउँका मान्छे सहयोग गर्न आउँछन् नै । यसरी एक नेपालीको अर्काे नेपालीप्रतिको सद्भाव, सहयोग, स्वयंसेवा देखेर हामी धेरैले महसुस गर्दैछौँ कि म एक्लो छैन । यो विपतपछि खासगरी युवाहरू जागेको पाइएकाले हामी अब नयाँ ढंगले अघि बढ्न सक्छौँ । यो क्षतिपछिको विकासलाई पुनर्निर्माणभन्दा पनि नवनिर्माण भन्न उचित होला ।

० नेपालले अब चाल्नुपर्ने कदम के के हुन् जस्तो लाग्छ ?
अब हामीले आफ्नै उत्पादन, आफ्नै अर्थतन्त्र, आफ्नै विवेकले बलिया संरचना र बस्तीहरू बनाउनुपर्छ । अहिलेसम्म हामी अव्यवस्थित थियौँ, अरुको नक्कल गरिरहेका थियौँ । हाम्रो देश भूकम्पीय जोखिमको क्षेत्र हो । यो जान्दाजान्दै पनि सहरमा हामीले विदेशको नक्कल गरेर अग्ला भवन बनाउन लाग्याँै । यहाँनेर, यो विपतले शासन–प्रशासनमा बस्नेले प्राविधिक, विज्ञ, विशेषज्ञको कुरा पनि सुन्नुपर्छ भन्ने कुरा सिकाएको छ । विशेषज्ञले मापदण्ड बनाए तर सरकारी संयन्त्रले त्यसको अनुगमन गरेन, त्यसको ख्यालठट्टा गरे । आज आफैँले बनाएका स्कुलहरू भत्किए, आफैँले बनाएका भवनहरू भत्किए । त्यसकारण नीति–नियम नमान्दा आफैँलाई घाटा रहेछ भनेर सरकारी संयन्त्रमा बस्नेहरूलाई पनि अहिले चेत आएको हुनुपर्छ ।

भविष्यका लागि यो विपतले हामीलाई अनुशासित बनाएको छ, जवाफदेही बनाएको छ । कि म मेरो पेसाप्रति, पदप्रति उत्तरदायी हुनुपर्छ ।

० पुनःनिर्माण गर्दा अहिलेकै जस्तो भद्रगोले त हुँदैन होला नि ?
भूकम्पपछि तुरुन्तै नीति–नियमका कुरा आए । भवन निर्माण, सडक निर्माणमा यस्तो नीति हुनुपर्छ, कडा नीति हुनुपर्छ, यस्ता कारबाही हुनुपर्छ भन्ने खालका कुरा आए । पहिले नीति, मापदण्ड बनाउँदा सरकारको विरोध गर्ने हाम्रो समाजले विपतपछि सरकारलाई त्यही नीति बनाउ भन्न थालेको छ । सरकारलाई नीति–मापदण्ड बनाउन त जनताबाट अवरोध नहुँदो रैछ । यसकारण पनि अब हामी व्यवस्थित किसिमले अघि बढ्छौँ ।

भूकम्पको सानो धक्कामै के–कसो भयो भनेर कार्यालय गएका श्रीमान् वा श्रीमतीलाई फोन गरेर सोध्नुपर्ने भयो । बुद्धिमानीले अरुको भोगाइबाट सिक्छ, हामीले आफ्नै भोगाइबाट सिक्नुपर्ने भएको छ । यो भोगाइले देश बनाउनुपर्छ, समाज बनाउनुपर्छ, नीति–नियम बनाउनुपर्छ, हामी आत्मनिर्भर हुनुपर्छ, भन्ने कुरा सिकाएको छ ।

० अब कसरी अघि बढ्ने त ?
योजना आयोग सरकारको सल्लाहकार मात्र हो । हामीले योजना बनाउने हो, सरकारले त्यसको कार्यान्वयन गर्ने हो । सरकारले कार्यान्वयन गरेन भने हाम्रो योजना असफल हुने हो ।

० त्यही त अब कस्ता योजना बनाउनुहुन्छ त तपाईंहरू ?
योजना बनाउने सन्दर्भमा अब हाम्रा सोचाइ परिवर्तन हुन्छन् । योजनाका प्राथमिकतामा पनि केही फेरबदल हुन्छ । भलै अहिले देशभरिका २०–२५ प्रतिशत जनता यो विपतबाट प्रत्यक्ष प्रभावित भएका छन् । ७५ देखि ८० प्रतिशत जनता अहिले प्रत्यक्ष प्रभावित छैनन् । विपतबाट प्रभावित नभएका जनताको पनि विकासको चाहना छ । भूकम्प प्रभावितको जनजीवन सामान्य अवस्थामा ल्याउनु छ । अन्यत्र क्षेत्रमा पनि विकास गरी लगानीको वातावरण सिर्जना गर्नुपर्नेछ । त्यसकारण अहिलेका प्राथमिकता जनजीवन सामान्यीकरण गर्ने, पुनर्निर्माण र नवनिर्माण गर्ने र लगानीको वातावरण सिर्जना गर्ने नै हो ।

० राष्ट्रिय योजना आयोगको अबको प्राथमिकता पहिलेकै जस्तो हुन्छ कि बदलिन्छ ?
पहिले हाम्रा योजना गरिबी निवारणमा केन्द्रित थिए । अब हामी पुनर्निर्माण र लगानीमा केन्द्रित हुन्छौँ । अबको हाम्रो उद्देश्य यो विपतको व्यवस्थापन नै रहन्छ । अब हामी भूकम्पप्रति सजग हुनेछौँ ।

अब हाम्रो योजना भुइँचालोले भत्केका घरहरूको पुनर्निर्माणमा केन्द्रित हुनेछ । अबको निर्माण भूकम्प प्रतिरोधात्मक हुनेछ । त्यहाँ मापदण्ड सहितको घर बनाउन, एकीकृत बस्ती बसाउन सरकारलाई हाम्रो सुझाव रहन्छ ।

हामीले सुरक्षित र सम्भव भएका स्थानमा एकीकृत बस्तीको योजना ल्याउँछौँ । मापदण्ड सहितका घर बनाउँदा पनि हाम्रो मौलिकतामा नयाँ प्रविधि जोड्नेछौँ । सरकारले दुई लाख रुपैयाँ राहत दिने भनेको छ । यसबाट ग्रामीण भेगमा भूकम्प प्रतिरोधात्मक सामान्य घर बनाउन सकिन्छ । यसो हँुदा गरिबलाई पनि राहत हुने भो । योसँगै अहिले भुइँचालोको प्रभावमा नपरेका तर भविष्यमा खतरा रहेका ग्रामीण खासगरी गरिब बस्तीका लागि पनि हामीले योजना ल्याउँछौँ । ग्रामीण भेगमा स्थानीय साम्रगी बाँस, गोबरको प्रयोगबाट घरलाई बलियो बनाउन सकिन्छ । ग्रामीण बस्तीका घरलाई पनि नयाँ ढंगले संरक्षण गर्न सकिन्छ । जसलाई अंग्रेजीमा रेट्रोफिट भनिन्छ । यो रेट्रोफिटको योजना ल्याउने हाम्रो तयारी छ । विपत पर्दाका लागि आवश्यक संयन्त्र, सामग्री, संरचना निर्माणमा पनि हामी लाग्छौँ ।

० तत्कालका लागि के के काम भए ?
अहिले हामी राहत र उद्धारकै चरणमा छौँ । त्यसपछि जनजीवन हामीले सुरुवातमा गरेको काम सामान्यीकरणको चरण हो । यो अल्पकालीन योजना भयो । अनि, दीर्घकालीन योजना पुनर्निर्माण र नवनिर्माण चरणमा हामी लाग्छौँ । अहिले विपतबाट भएको क्षतिको मूल्यांकन अर्थात् पोस्ट डिजास्टर निड्स एसेसमेन्ट्स (पीडीएनए) को काम भइरहेको छ । यसमा योजना आयोगको नेतृत्व, मन्त्रालयहरूको समन्वय, सम्पूर्ण दातृनिकायको संलग्नता छ । यो काम एक महिनामा सकिएला । अहिले हामीले जनजीवन सामान्यीकरण गर्ने तत्कालीन योजना हामीले सरकारलाई दिइसक्यौँ । त्यसपछि हामी दीर्घकालीन योजनामा लाग्छौँ ।
(रातोपार्टी डट कमबाट)



Rating (Votes: )   
Share     Print


Other Articles:
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा (07.02.2014)
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने (05.26.2014)
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)
स्वास्थ्यलाई पैसा कमाउने पेशा बनाइयो - डा. प्रवीण मिश्र, स्वास्थ्य सचिव (04.08.2014)
खेलकूद राष्ट्रिय एकता र राष्ट्र विकासको आधार हो - खेलकूद मन्त्री पुरुषोत्तम पौडेल (03.24.2014)
घोषणापत्र कार्यान्वयन गर्ने हाम्रो हैसियत पनि छैन र वाध्यता पनि छैन- दिनानाथ शर्मा, प्रवक्ता एम (03.19.2014)
कसैको प्रेरणाले होइन मेहनेतले गीतकार भए - गायत्री थापा (02.03.2014)



 
::| Latest News

 
[Page Top]