सुशासन र मितव्ययिताको आकर्षक नारा घन्काएर सत्ता शिखरमा पुग्नुभएका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एकपछि अर्को गरी आफ्ना भनाइ विपरीतका बिष्मयकारी कदम चालेर सत्ता मोह र दम्भको नराम्रो प्रदर्शन गर्नुभएको छ । शान्ति र सम्बिधानको पक्षमा सहकार्य गर्ने गरी दुई हप्ता अघि भएको राजनीतिक सम्झौतालाई समेत बेवास्ता गर्दै उहाँले चालेका कदमहरूले देशको समग्र राजनीतिक वातावरणलाई उत्तेजित पार्ने र धमिल्याउने काम गरेको छ भने आम जनमानसमा घोर निराशाको लहर उठाएको छ । आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिने सपना डा.भट्टराईले साँचे पनि उहाँले अनपेक्षित शैलीमा मन्त्रिपरिषद बिस्तार गरी मितव्ययिताको घोर उपहास गर्नुभएको छ भने सर्वोच्च अदालतले हत्याको आरोपमा सजायको फैसला गरिसकेको सभासद् बालकृष्ण ढुंगेलको मुद्दालाई राजनीतिक सहमति नै नजुटाइकन राष्ट्रपतिबाट माफ गराउन चालेको कदमले राजनीतिक क्षेत्रमा समेत उत्तेजनाको लहर उटाएको छ । प्रधानमन्त्री डा. भट्टराईले भारत भ्रमणका बेला गर्नुभएको बिपा सम्झौताको विवाद एकातिर यथास्थानमा छ भने अर्कातिर उहाँले मन्त्रिपरिषद बिस्तार र ढुंगेल प्रकरणमा चालेका कदमहरू उत्तिकै विवादास्पद र अनुत्पादक छन् । प्रधानमन्त्री हुँदाताका उहाँप्रति जनमानसमा जुन आकषण, विश्वास र भरोशा पैदा भएको थियो त्यो अब समाप्त प्रायः भएको छ भने बल्ल बल्ल बन्दैगरेको सहमति र सहकार्यको राजनीतिक वातावरण पनि भङग हुनसक्ने आशंका उत्पन्न भएको छ ।
भट्टराई नेतृत्वको सरकारले मुलुकमा सुशासनको प्रत्याभूति दिनसक्ने र राष्ट्रिय सहमतिको वातावरण सिर्जना गरी शान्ति र सम्बिधानको जन आकाङ्क्षा पूरा गर्ने झिनो सम्भावना पनि टरिसकेको घटनाक्रमले नै इङ्गित गरिरहेका छन् । सत्तामोहले ग्रस्त राजनीतिक व्यक्तिले सत्ता पाउनका लागि जस्तोसुके अपवित्र गठबन्धन पनि स्वीकार गर्दछ र सत्ता टिकाउनका लागि जस्तो कदम चाल्न पनि अगाडि सर्छ भन्ने पछिल्लो उदाहरण डा.भट्टराई बन्नु भएको छ । नेपाली जनताले उहाँको शासनकालमा सिर्जनात्मकता र सकारात्मकताको जुन अपेक्षा गरेका थिए त्यो भ्रम सिवाय केही थिएन र उहाँ त अरु कसैको आकाङ्क्षापूर्तिका लागि अगाडि सारिनु भएको थियो भन्ने कुरा क्रमशः सिद्ध हुँदैगएको देखिनु मुलुककै लागि ठूलो दुर्भाग्यको कुरा हो ।
नेपाली आमाका सोह्र–सत्र हजार सपुतको आहुति दिएर एनेकपा माओवादीले खडा गरेको बिरासतलाई भजाएर सत्ताको सिंढी उक्लनुभएका प्रधानमन्त्री भट्टराईले आफना पूर्व धारणा र मान्यता विपरीत कस्को काँधमा चढेर देश र जनताको आवश्यकता र आकाङ्क्षा विपरीतका कदम चालिरहनुभएको छ भन्ने कुरा अज्ञात छैन भने सत्तामोहले कतिसम्म बिकार उत्पन्न गर्दोरहेछ भन्ने नयाँ उदाहरण पनि उहाँका पछिल्ला कदमले प्रस्तुत गरिरहेका छन् । मुलुकलाई ठूलो आर्थिक भार बोकाउने, दण्डहीनतालाई मलजल गर्ने र आर्थिक उपनिवेश बिस्तारको नयाँ ढोका खोल्ने उहाँका कदमहरूले क्रान्तिकारी जुझारुपन र विवेकशील सम्वेदनाशीलताको घोर उपहास गरेको छ भन्ने कुरामा कुनै सन्देह छैन । क्रान्तिचेत आत्मसमर्पणवादमा रुपान्तरित भैसकेको स्थितिले मुलुकलाई कुन कुन क्षेत्रमा कति घात गर्दैजाने हो भन्ने सवालमात्र अहिले खडा भएको छ ।
मुलुकको वर्तमान अवस्था अत्यन्त जटिल छ । राजनीतिक संक्रणकालको यो क्षणमा सत्ताधारीहरूले विवेक र संयम गुमाउँदा उत्पन्न हुने थप जटिलताले मुलुकलाई घोर अनर्थको दिशातिर धकेल्ने निश्चित प्रायः नै छ । शान्ति र सम्बिधान निर्माणको गहन ऐतिहासिक दायित्व बिर्सिएर ठूला राजनीतिक दलहरूले सत्तास्वार्थका जेजस्ता अवाञ्छित खेलहरू हिजो खेले र आज पनि खेल्दैछन् त्यसले मुलुकलाई धेरै क्षतविक्षत पारिरहेको छ । आधुनिक उच्च शिक्षा र राजनीतिक रुपान्तरणको क्रान्तिचेतको पृष्ठभूमि बोकेका प्रधानमन्त्री डा. भट्टराईले राजनीतिक विकृति र सत्ता स्वार्थ केन्द्रीत अतीतका यावत घटनालाई उछिन्ने गरी सत्ता केन्द्रीत अवसरवादलाई जुन रुपमा मलजल गरिरहनुभएको छ त्यसले उहाँको राजनीतिक छवि मात्रै धमिलो पारेको नभै मुलुकलाई नै धरापमा पार्दैलगेको छ । उहाँले सत्ता निरन्तरताको दूराकाङ्क्षा राखेर भीमकाय मन्त्रिमण्डल बनाए पनि उहाँको सत्ताको आधार खोक्रो छ । सत्ता केन्द्रीत अवसरवादले राििष्ट्रय समस्याको समाधान कदापि गर्न सक्दैन भने मुस्ताङ् म्याक्सको ढोंङले वैचारिक स्खलन र सत्ता केन्द्रीत अवसरवादलाई पनि कदापि ढाकछोप गर्न सक्दैन । दूरस्थ नियन्त्रण यन्त्रबाट सञ्चालित सत्ताले देश र जनताको आवश्यकता र आकाङ्क्षालाई कदापि सम्बोधन गर्न नसक्ने कुरा सदा मननीय छ । अवाञ्छनीय शैलीमा भएको मन्त्रिमण्डलको बिस्तार, दण्डहीनताको प्रश्रय र राष्ट्रहित विपरीतका कदमले यो सरकारको उपादेयता नै समाप्त भएको सन्देश प्रवाहित गरेको छ । मुलुकलाई राजनीतिक सहमति र सहकार्यको बाटोमा अगाडि बढाउन भट्टराई सरकार विफल हुँदैगएको छ । अवसर अवसादमा परिणत भएको छ ।