युगसम्बाद साप्ताहिक

कसैलाई फाइदा हुन्छ भनेकै भरमा त्यसैको पछाडि सम्पूर्ण पार्टी लाग्नुपर्छ भन्ने हुँदैन : सीपी गजुर
Monday, 11.21.2011, 04:11pm (GMT5.5)

० एकीकृत नेकपा माओवादीभित्र देखापरेको पछिल्लो विवाद उत्कर्षमा पुगेको देखिन्छ । यसको खास कारण के हो ?
अहिले पार्टी नेतृत्वसंग विभिन्न महत्वपूर्ण राजनीतिक विषयमा हाम्रो असहमति छ । त्यही कारणले गर्दा पार्टीभित्रको अन्तरसंघर्षमा एउटा उत्कर्षमा पुगेको छ । तिनै विषयहरूलाई लिएर केन्द्रीय समितिको माग गरिएको हो र बैठकहरू बस्ने क्रम चलिरहेको छ । वरिष्ठ उपाध्यक्ष क. किरणले १३ वटा बुँदाहरूमा हाम्रो असहमति छन् भनेर केन्द्रीय समितिमा प्रस्तुत पनि गरिसक्नुभयो ।
खासगरी नेतृत्वले गत केन्द्रीय समितिको निर्णयलाई उल्लंघन गरेर आफ्नै किसिमको निर्णय गरेर लागू गर्ने कोसिस गरेको छ त्यसले गर्दा यो स्थिति उत्पन्न भएको हो । पार्टीभित्र भएका असहमति र विवादहरू केन्द्रीय समितिमा लगेर बहस गराएर टुङ्गो लगाउने भन्ने हाम्रो उद्देश्य रहेको छ ।
० पार्टीभित्र मतभेद वा असन्तुष्टिहरू कायम रहे पनि तपाईंहरूले चुनवाङ बैठकदेखि नै पार्टी नेतृत्वलाई सहयोग गर्दै आउनुभयो । अहिले आएर तपाईंहरूको विवादले मुलुकलाई नै अनिर्णयको बन्दी बनाउन लाग्यो भनिन्छ । यसमा के भन्नुहुन्छ ?
यसभन्दा अगाडि कैयौं विषयहरूलाई केन्द्रीय समितिमा छलफल गराइन्थ्यो र केन्द्रीय समितिले गरेका निर्णयहरू लागू हुन्थ्यो । हामीले सहयोग गर्दैआएको यही होे । पछिल्लो चरणमा के भयो भने केन्द्रीय समितिले एउटा निर्णय गर्ने र नेतृत्वबाट अर्कै कुरा लागू गर्ने काम भयो । त्यसो भैसकेपछि पार्टी पद्धतिको, केन्द्रीय समितिको कुनै अर्थ र मतलब नै रहेन । पार्टीका एक–दुईजना नेतालाई जे इच्छा लाग्छ त्यही लागू गर्ने र ‘यही हो पार्टीको निर्णय’ भन्ने भैसकेपछि पार्टीले कुन निर्णयलाई आधिकारिक मान्ने ? केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुन्छ कि एक–दुईजना नेताले गरेको निर्णय आधिकारिक हुन्छ ? हाम्रो लागि केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक हुन्छ । त्यसैले हामी केन्द्रीय समितिको निर्णयको पक्षमा उभिएका हौं । केही नेता चाहिं आफ्नो मनोमानी ढङ्गले निर्णय गर्दै अगाडि बढ्नुभएको छ । अहिलेको दैनिक राजनीतिक जीवनमा पनि त्यो कुरा लागू भएको हुनाले त्यहाँ दुईवटा विचारहरू सडकमै पोखिएका हुन् ।
० शान्ति प्रक्रिया टुंग्याउन जसरी दलहरू सहमतिमा पुगेका छन् तपाईंहरू यसप्रति पनि असहमत हो ?
यो असहमति त पहिले पनि रहँदै आएको हो । जब कार्तिक १५ गते उहाँहरूले एउटा निर्णय गर्नुभयो । यसभन्दा अगाडि चाबी बुझाउने प्रकरणबाट यो अलि बढी छताछुल्ल भएको हो । चाबी बुझाउने जुन काम भयो– जनमुक्ति सेनालाई समायोजनमा जानुभन्दा अगाडि निशस्त्रीकरण गर्ने काम हो र त्यो पार्टीको निर्णय होइन । पार्टीमा त्यस्तो निर्णय भएकै छैन । चाबी बुझाउने प्रस्ताव अध्यक्षले ल्याइरहनु हुँदा त्यसलाई अस्वीकार गरिएको, खारेज गरिएको हो । पार्टीले खारेज गरिसकेको कुरालाई उहाँहरू दुईजनाले लागू गरिदिनुभयो । त्यसपछि हामीले विरोध ग¥यौं । जुन कुरा गलत छ भनेर खारेज गरियो त्यही कुरालाई कसैले लागू गर्छ भने त्यसको विरोध गर्नु त स्वाभाविकै हो ।
जहाँसम्म शान्ति प्रक्रियाको कुरा छ– कार्तिक १५ गते राति जुन सहमति भयो । त्यतिबेलै हामीले के भनेका थियौं भने– अहिले नै हतार नगरौं, केन्द्रीय समितिको बैठक बस्दैछ त्यही बैठकमा छलफल गरेर टुंग्याउभन्दा अध्यक्षले मान्दै मान्नुभएन र जसरी पनि नेपाली कांग्रेस, एमाले, अरु बाहिरी कोकोसंग गरेको प्रतिबद्धताको आधारमा निर्णय गर्नुभयो । त्यसलाई मिडियाहरूले पनि बडो उत्साहका साथ प्रसारित ग¥यो, उहाँहरूले हात उठाएर त्यो निर्णयको स्वागत गरिएको, हामी सबै प्रफुल्ल भएको, विजय हाँसिल गरेको भन्ने मुडमा उहाँहरूले ती कुराहरूको निर्णय गर्नुभयो । त्यतिखेरै उपाध्यक्ष क. किरण र क. बादलले हाम्रो असहमति छ भनेर भन्नुभयो र भोलिपल्ट पत्रकार सम्मेलन नै गरेर यसलाई सार्वजनिक गर्नुभयो । जुन जुन विषयमा अध्यक्ष र प्रधानमन्त्री पार्टी निर्णयको विरुद्धमा जानुभयो ती सबै विषयहरू हामीले सार्वजनिक गरेका छौ ।
० विगतका १२ बुँदे सम्झौतादेखि यहाँसम्म आइपुग्दा तपाईहरूको पनि सहमति भएकै हो । यतिबेला आएर किन विरोध गर्नुभएको ?
विगतमा भएका निर्णयहरू केवल इतिहासको मूल्यांकनका विषय मात्र थिए । ती विषयलाई हामीले एउटा प्रक्रियाद्वारा मूल्यांकन गरौंला, महाधिवेशनमा गएर मूल्यांकन गरे पनि हुन्छ, राष्ट्रिय सम्मेलनमा मूल्यांकन गरे पनि हुन्छ भनेर त्यसलाई टुंग्यायौं । पालुङ्टार बैठकपछि हामीले जुन कार्ययोजना बनाएर गयौं त्यो कार्ययोजना बन्दाखेरी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवैजनाको सहमतिबाट बनेको हो । त्यो सहमति बनेपछि त्यसमा बाबुरामजीले असहमति राख्नुभएको थियो । त्यो असहमतिलाई उहाँले पनि बाहिरै लैजानुभएको थियो । त्यसपछि अध्यक्षले ‘यू टर्न’ लिनुभो र पार्टीले गर्दै नगरेको निर्णयलाई ‘यै हो निर्णय’ भन्दै दुईजना मिल्दै लागू गर्दै जान थाल्नुभयो । ४ बुँदे सहमतिपछि त यस्तो गरी निर्णय हुन थाल्यो कि आधारातमा गएर निर्णय गर्ने अनि ‘यै हो पार्टीको निर्णय’ भन्दै लागू गर्दै जान थाल्नुभयो । त्यसपछि हामीले पनि यो त हदै भयो भन्ने महसुस गरेका हौं । पार्टीको केन्द्रीय समितिको बैठक बसाउनु छैन, केन्द्रीय समितिले गरेको निर्णयको विपरीत निर्णय गर्दै लागू गर्दै गएपछि हामीले के गर्ने ? जुन निर्णय पार्टीले गर्दै गरेको छैन त्यो लागू गरेपछि त्यसको सार्वजनिक रुपमा विरोध गर्नुबाहेक हाम्रो लागि कुनै विकल्पै बाँकी रहेन नि ।
० माओवादी पार्टीभित्र तीन नेताबीच विचित्रको सम्बन्ध देखिन्छ । जतिबेला अध्यक्ष क. प्रचण्ड र वरिष्ठ उपाध्यक्ष क. किरण मिल्नुहुन्छ उपाध्यक्ष डा. भट्टराई एक्लिनु हुन्छ, जब प्रचण्ड र भट्टराई मिल्नुहुन्छ त्यतिबेला किरण एक्लिनुहुन्छ । जोसंग नजिक रहे पनि अध्यक्ष प्रचण्ड सबैमाथि भारी हुने गर्नुभएको छ । यसमा कसले कहाँबाट खेल खेलिरहेको छ भन्ने लाग्छ ?
खास गरी पार्टीभित्रको अन्तरसंघर्ष डा. बाबुराम भट्टराईजी एकातिर र अरु पक्ष अर्कोतिर हुँदैआएको हो । यो जनयुद्धकालमा पनि भएको हो । पार्टीका धेरै बैठकहरूमा त्यो हुँदैआएको हो । चुनवाङ बैठकमा गएर उहाँहरू एउटा सहमतिमा पुग्नुभयो । त्यसपछि प्रायः कार्ययोजना र कार्यदिशा लागू गर्दा बाबुरामजीले सार्वजनिक रुपमा त्यसलाई नभने पनि पार्टीभित्र आफ्नो विमति राख्दै आउनुभएको हो । तर पछिल्लो चरणमा आएर अध्यक्ष कहिले बाबुरामजीपट्टी, कहिले किरणजीपट्टी । यसलाई उहाँको सफलता भन्ने कि विफलता भन्ने ? एउटा नेतामा त आफ्नै दृष्टिकोण, लाइन हुनुपर्छ र त्यसले अरुलाई सन्तुष्ट पारेर अहिलेका लागि यही नै सही हो भनेर समग्र पार्टीलाई गोलबद्ध गराएर लैजान सक्नुपर्छ । यो नै एउटा सफल नेतृत्वको खुबी हो । त्यसको बदला कहिले एउटा नेतासंग मिल्ने त कहिले अर्कोसंग मिल्ने । यो सफलता हो कि असफलता हो ? त्यो त आफ्नो ढङ्गले मूल्यांकन हुँदै जाला ।
जहाँसम्म पछिल्लो चरणमा अध्यक्ष र बाबुरामजीबीच खास गरेर धोवीघाट प्रकरणपछि जुन नाटकीय ढङ्गले एकता भएको छ, त्यसलाई कुन शक्तिले मिलाइदियो त्यो त हामीलाई थाहा छैन । बाहिर पत्रपत्रिकामा त कुन शक्ति हो भनेर आएको छ । तर अहिले हामीले चाहिं त्यस्तो आरोपित चाहिं गर्न चाहँदैनौ ।
० महासचिव रामबहादुर थापाले त अध्यक्ष प्रचण्ड रअको एजेण्ट हो भनेर आरोप लगाउनुभएको कुरा सार्वजनिक भयो नि ?
रामबहादुरजीले सार्वजनिक रुपमा आफूले अध्यक्ष प्रचण्डलाई रअको एजेण्ट भनेर नभनेको तर पार्टीलाई छलेर रअका प्रमुखलाई भेट्न जानुभएको कुरासम्म मैले भनेको हुँ भनेर भन्नुभयो ।
० त्यही त भन्या । एकातिर राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउने, जनयुद्धकालमा भारतसंग सुरुङ युद्ध गर्ने भन्दै जनता र कार्यकर्तालाई उचाल्ने अनि लुकिलुकी भारतकै नेताहरूसंग भेट्दै जाने । नेपालको वामपन्थी राजनीतिको यो कस्तो विचित्रपन हो ?
राजनीतिमा सधैंभरि एउटा स्थायी दुश्मन पनि नहुनसक्छ । विशेष गरी उसको चरित्र बदलियो भने फेरि त्यसको विश्लेषण एकपल्ट यो थियो भनेर त्यही गरिरहनुपर्छ भन्ने हुँदैन । तर एउटा कुरा के सही हो भने भारतको विषयमा हाम्रो विश्लेषण चाहिं बदलिएको छैन । त्यो नबदलिइकन घरीघरी गोप्यरुपमा उसंग एउटा सहमति गरेर आउने, बाह्य रुपमा चाहिं पुरानै विश्लेषण गर्ने । यो चाहिं मिल्दैन । यसमा इमान्दारिता देखिंदैन ।
० तपाईंहरूले माओवादी लडाकुलाई समायोजनमा नजान आह्वान गर्नुभयो । यसको खास कारण नेताहरूको इगो हो कि शान्ति प्रक्रिया र सेना समायोजनको मोडालिटीप्रतिको असन्तुष्टि हो ?
समायोजनको मोडालिटी लगायत यससंग सम्बन्धित जति पनि विषयहरू छन् त्यसमा पार्टीको आधिकारिक निर्णय उल्लंघन गरेर अपमानजनक ढङ्गले समायोजन गर्ने प्रयास गरिएको छ । समायोजनको नाममा जनमुक्ति सेनालाई विसर्जन गरिएको छ । त्यसकारण यो आत्मसमर्पण गरिएको हो भनेर नै उपाध्यक्ष वैद्यले सात बुँदे सहमतिको विरोध गर्दैआउनुभएको हो र कार्तिक १६ गतेको पत्रकार सम्मेलनमा त्यो कुरा राख्नुभएको थियो । अहिले त त्यसैको निरन्तरता मात्र हो ।
विगतमा राख्दै आउनुभएको अडानकै आधारमा समायोजनमा जानेको संख्या र स्वेच्छिक अवकाशमा जानेहरूको लागि तोकिएको रकम सोही हाराहारीमा तय गर्ने सहमति भयो । जब यो सहमति कार्यान्वयनमा जाने बेला भयो तब तपाईंहरूले चर्को विरोध गर्नुभयो । यो पनि रहस्यमय नै भएन र ?
यस विषयमा अलिकति पनि रहस्यात्मक कुरा छैन । किनभने हामीले  संख्या पहिले तोकौं भनेकै होइन । पहिलो कुरा के हो भने– सेना समायोजन गर्नुपूर्व पहिला राष्ट्रिय सुरक्षा नीति बनाऔं, त्यस आधारमा राष्ट्रका लागि कति सेना चाहिन्छ त्यो निक्र्योल गरौं र त्यसपछि कति नेपाली सेनाबाट राख्ने र कति जनमुक्ति सेनाबाट राख्ने हो त्यो संख्या यकिन गरी राष्ट्रिय सेनाको निर्माण गरौं भन्ने हाम्रो प्रस्ताव हो । दोस्रो कुरा– पहिल्यै के आधारमा संख्य निर्धारण गर्ने ? १९ हजार छ सय दुईजना समायोजनका लागि योग्य छन् भनेर संयुक्त राष्ट्रसंघले नै ठहर गरेको हो । १९ हजार छ सय दुईजनामा के आधारमा ६ हजार पाँच सयमा झारिदिने ? हामी को हौं र त्यो अधिकार कहाँबाट पायौं ? छ हजार पाँचसयलाई समायोजन गर्ने र जनयुद्धको क्रममा रगत बगाएका, घाइते भएका, त्याग बलिदान गरेका बाँकी सेनालाई के जवाफ दिने ?
त्यसकारण यस्तो निर्णय नगरौं, उनीहरूको पनि राय बुझौं, जति संख्यामा समायोजन भए पनि बाँकी स्वेच्छिक अवकाशमा जाने र उहाँहरूलाई पार्टीले भूमिका दिन्छ भनेर विश्वास दिलाऔं भनेको हो । तेस्रो कुरा भनेको जनमुक्ति सेनाको जति संख्या समायोजन हुन्छ उनीहरूलाई छुट्टै राखौं, जसले गर्दा माथिल्लो दर्जाकाले तल्लो दर्जाकालाई अपमानित गरेको महसुस नहोस् । त्यो ढङ्गले समायोजन गरौं र त्यसको मोडालिटी तय गरेपछि संख्या निस्कन्छ र संख्या निस्किसकेपछि वर्गीकरण गरौं भनेर हामीले एउटा वैज्ञानिक योजना नै प्रस्तुत गरेका थियौं । तर नेतृत्व पक्षले के आधारमा छ हजार पाँचसयलाई मात्र समायोजन गर्ने निर्णय ग¥यो ? त्यसकारणले यो अवैज्ञानिक भयो कि भएन ? अपमान भयो कि भएन ? अर्को कुरा जसरी समायोजन गर्ने भनिएको छ– त्यसको नेतृत्व कसले गर्ने भन्ने अहिलेसम्म टुङ्गिएको छैन । उहाँहरू यस विषयमा चुपचाप हुनुहुन्छ । यो त समायोजनको नाममा धोका दिएर विघटन गर्ने षड्यन्त्र मात्र हो । के यसरी समायोजन गराएर देशमा साँच्चै शान्ति होला त ?
० समायोजनको प्रक्रिया एक किसिमले अघि बढिसकेको छ । माओवादीको संस्थापन पक्ष समायोजनको लागि अडिग देखिन्छ । तपाईहरू त्यसको विपक्षमा हुनुहुन्छ । के मुलुकमा फेरि मुठभेड हुने हो ?
जहाँसम्म वक्तव्यको कुरा छ त्यसमा वहिष्कार गर्न भनिएको छैन । वैद्यजीहरूले पत्रकार सम्मेलनमा जुन कुरा भन्नुभएको थियो त्यो प्रक्रिया गलत छ, वैज्ञानिक पनि भएन र यो जनमुक्ति सेनालाई सम्मान गर्ने खालको पनि भएन भनेर भन्नुभएको छ । हाम्रो विचार यो हो, तपाईंहरू आफ्नो विचार अनुसार गर्नुस् भनेर आव्हान गरिएको मात्र हो । त्यहाँ गएर मुठभेड गर्नुस् त भनिएको छैन । यसलाई गलत अर्थले बुझ्नु भएन । विज्ञप्तिमा अपमानजक रुपमा गर्न लागिएको समायोजन प्रक्रियाबाट अलग हुनुहोस् भन्नुको अर्थ वहिष्कार गर्नुस् भनिएको होइन । समायोजनमा जानुको साटो अवकाशमा जानुस् मात्र भनिएको हो ।
० त्यसो भए समायोजन जान नचाहने लडाकुले के गर्छन् त ?
१३ हजारलाई त त्यसै पनि उहाँहरूले बाहिर निकाल्ने नै हुनुभयो । अहिले के सुन्दैछु भने समायोजनमा जानेहरूको जुन संख्या तोकिएको छ त्यो पनि नपुग्ने भयो । उहाँहरूलाई अहिले तोकिएको संख्या पनि पुग्दैन कि भन्ने चिन्ता जागृत हुन थालेको छ । अब उहाँहरू हरेक शिविरमा गएर समायोजनको नाममा सेनामा अनिवार्य भर्ती जस्तो गराएर तिमीहरू यति यति संख्यामा समायोजनमा जानैपर्छ भनेर संख्या तोकिदिने तयारी गरिरहनुभएको छ । अब बाहिर जानेहरू के गर्छन्, कसो गर्छन् त्यो त हामीले कसरी भन्ने ? हामीहरू तलब–भत्ता दिन सक्दैनौं । उहाँहरू पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने हामी जिम्मेवारी दिन सक्छौं ।
० अन्त्यमा, एकीकृत नेकपा माओवादीभित्र अहिले जुन खालको परिस्थिति विकसित भैरहेको छ अब यो पार्टी एकढिक्का भएर अगाडि बढ्न सक्दैन भन्ने विश्लेषण भैरहेको छ । तपाईं नढाटी भनिदिनुस् कि यो स्थितिमा कहिलेसम्म पार्टी एक रहन्छ ?
पार्टी एक ढिक्का रहने कि नरहने भन्ने कुरा चाहिं कुनै एक पक्षमा मात्र निर्भर गर्दैन । जहाँसम्म हाम्रो पक्षको कुरा छ हामी पार्टी फुटाउन चाहँदैनौं । हामी पार्टी एकताबद्ध गराउन चाहन्छौं । त्यो एकता पार्टीले गरेको निर्णय सबैले लागू गर्नुपर्छ भन्ने शर्तमा हुन्छ । अर्को कुरा यो समाजलाई आमूल परिवर्तन गर्ने दिशामा सम्पूर्ण पार्टी अगाडि बढ्नुपर्छ भन्ने शर्तमा हामी पार्टीलाई एकताबद्ध गराउन चाहन्छौं । कसैले कहीं कुनै प्रतिबद्धता जाहेर गरेको छ, कसलाई कहाँ के गर्दा फाइदा हुन्छ भनेको भरमा त्यसैको पछाडि सम्पूर्ण पार्टी एकढिक्का भएर लाग्नुपर्छ भन्ने हुँदैन । पार्टीको नीतिका आधारमा एकताबद्ध हुनुपर्छ भन्ने हो । हरेक पार्टीको कुरा त्यही हो । हामी हाम्रो पार्टी त्यस्तो होस् भन्ने चाहन्छौं । जसरी पार्टीमा केन्द्रीय समितिमा निर्णय गरिन्छ त्यहाँ सबैले आफ्नो जिम्मेवारी अनुसार लागू गराउने तत्परता देखाउनुप¥यो, आफ्नो स्वार्थ पूरा हुन्छ भनेर त्यसको विपरीत जानु भएन ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com