० एनआरएनएले भर्खरै सुरु गरेको अतिथि देवो भवः अभियान कस्तो अभियान हो ?
नेपाल सरकारको सिधा सम्पर्क ३३ राष्ट्रमा मात्र रहे पनि हाम्रो सम्पर्क ७५ वटा राष्ट्रमा छ । त्यहाँ एनआरएनएको एनसिसि (नेशनल कोडनेशन काउन्सिल) छ । हामीले राष्ट्रको आर्थिक उत्थानका लागि तत्काल कुनै ठूलो उद्योग खोल्नका लागि राम्रो पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । तर पर्यटन भनेको यति छिटो विकास हुने क्षेत्र हो कि हामीसँग धेरै राष्ट्रिय धरोहरहरु, प्राकृतिक, सांस्कृतिक आदि सम्पदाहरु छन् । त्यसैले तत्काललाई यो अभियान चलाएका हौं ।
नेपाल विश्वमै पर्यटकिय क्षेत्रका लागि चिनिएको राष्ट्र हो । यसलाई अझ व्यापकसँग प्रचार–प्रसार गर्दै छिटोभन्दा छिटो विदेशी मुद्रा आर्जन गर्न सक्यो भने यसले देशको विकास छिटो हुन्छ । सबैलाई थाहै छ हामी विदेशमा बसेर पनि राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले निरन्तर लागि रहेका छौं । त्यसको सबैभन्दा ठूलो एजेन्डा त्यसको जिम्मा मैले लिएको छु । टिपिएन प्रमोशन नेपाल भन्ने कमिटिको अध्यक्ष अहिले म छु ।
० यो अभियानको लक्ष्य के हो ?
नेपालमा हामीले एक्लै एक्लै काम गर्नुभन्दा विदेशमा बस्ने पनि हामी देशवासी नै हौ । त्यो पूर्वाधारको सरकारले प्रयोग गरोस् अथवा सरकारले हामीलाई काम गर्दा सुविधा देओस् । त्यसका लागि हामीले एउटा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरौं भनेर सरकारसँग प्रस्ताव गरेका थियौं । पर्यटक भित्र्याउने नयाँ अभियान सुरु भएको छ । सन् २०१७ को अन्तिमसम्ममा अहिलेको ८ लाख पर्यटक संख्या भन्दा दोब्बर १६ लाख पर्यटक पुर्याउने हाम्रो लक्ष्य छ ।
० यो नयाँ अभियानमा एनआरएनएको भूमिका कस्तो रहन्छ ?
हामी प्रत्येक देशमा छौँ । अहिले भूटानले पर्यटन क्षेत्रमा यति ठूलो र राम्रो विकास गरेको छ । फ्रन्समा अहिले सबैभन्दा बढी पर्यटक (वर्षको करिब ८ करोड) जाने गर्दछन् । यो अतिथि देवो भवः को अवधारणा मैले नेपालमा पनि पर्यटनको सम्भावना वृहत छ भनेर ल्याएको हुँ ।
नेपालको पर्यटन क्षेत्रलाई कसरी सहयोग गर्न सकिन्छ भने एनसिसि अहिले विश्वभर नै छ । प्रत्येक एनसिसिले नेपाल महोत्सव भनेर एक वर्षमा विभिन्न कार्यक्रम गरेर नेपाल चिनाउन सहयोग गर्दछन् । राष्ट्रलाई चिनाउन बिनामूल्य नै हामी प्रचार–प्रसार गर्दछौँ । र यसमा मेरो मुख्य भूमिका के छ भने हामी ५० लाख नेपाली विदेशमा छौं । त्यसमा ‘तीन जना साथी घर पठाउँ’ भन्ने नारा सुरु गरेका छौँ । यसमा एक जनाले अपिल गर्याे भने ५० लाखमा कम्तिमा एक लाखले मात्र पनि यसमा भाग लिनुभयो भने नेपालको पर्यटन क्षेत्रलाई यसले ठूलो योगदान पुर्याउने छ ।
अब संसारमा हामीलाई पैसा दिनुहोस्, लगानी गर्नुहोस् भनेर होइन कि तपाई नेपाल गइदिनुहोस् भनेर प्रमोट गर्नुपर्दछ । त्यसैले भनेकै आधारमा उहाँहरु नेपाल आउनु हुन्छ । हिजो पनि त्यो काम हामीहरुले गरेका थियौँ । तर (एडिभी)ले के गर्छ भने विदेशीहरु सुरक्षित हुन चाहन्छन् । त्यसका लागि विभिन्न सेवा सुविधा, भौतिक पूर्वाधार यी सबै विषयलाई प्रमुख एजेन्डा बनाएर यसलाई दिगो रुपमा पर्यटन क्षेत्रको विकासलाई अगाडि बढाउनका लागि यो सबै काम गरेका छौँ ।
० पर्यटकका लागि नेपालमा भौतिक पूर्वाधारको अवस्था कमजोर छ । यस्तो अवस्थामा त गाह्रो होला नि ?
हिजो पनि सबैले त्यही नै भन्थे । टुरिष्ट आउँछन्, कहाँ बस्छन् यी कुरातिर हामी नलागौँ । टुरिष्टको संख्या बढ्दै भयो भने नागरिकहरुले नै यस विषयमा सोच्छन् ।
हाम्रो काम के हो भने टुरिष्ट नेपालमा आएर चाहे टेन्टमा बसुन् चाहे त्यो गाउँघरमा गएर बसुन्, परालको छाप्रामा बसुन् जहाँ जसरी बसुन् त्यसका लागि हामीले उनीहरुलाई खुशी पार्नुपर्दछ । के भनौँ भने नेपालमा सबै राम्रो सेवा सुविधा छैनन् होला तर हाम्रो प्राकृतिक सौन्दर्य धेरै राम्रो छ । उनीहरुलाई त्यसैमा आकर्षित गर्ने हो अनि हाम्रो आतिथ्य बेच्ने हो । भौतिक पूर्वाधार भन्दा पनि हामीले आतिथ्यलाई जोड दिनुपर्दछ । भूकम्पको समयमा एक ब्रिटिसले के भन्नुभएको थियो भने, “जहाँ एउटी आमा आफ्नो घर सबै भत्केको छ, फर्कने बेलामा चिया खाएर जाउ बाबु भन्नु भएछ ।”
हाम्रो देश आतिथ्यको देश हो । हाम्रो घरमा कोही पाहुना आउनुभयो भने बरु हामी कम खाउँला तर आनन्द र सन्तुष्ट भने हामी पाहुनालाई बनाउँछौ । हाम्रो यस्तो देश हो । यसलाई हामी विश्वव्यापी बिक्री गरौं । ‘ह्याप्पीनेस कन्ट्री’ भनेर भूटानले सेल गरेको छ । आतिथ्यको देश भनेर हामी सेल गरौं । हाम्रो पूर्वाधार भनेको आतिथ्य नै हो । त्यसलाई हामीले स्विकार गर्नुपर्दछ ।
० विगतदेखि अहिलेसम्म अन्तर्राष्ट्रिय ठूला मञ्चहरुमा नेपालको पर्यटन सम्बन्धी विषय र मुद्दाहरु कतिको उठ्ने गरेको छ ?
यी मुद्दाहरु त्यस्ता मञ्चहरुमा नउठेको कारणले नै उठाउनका लागि यो अभियान मैले सुरु गरेको हो । यसमा मिडियादेखि सबै क्षेत्रका साथीहरुको त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । यसमा सबै भन्दा ठूलो मैले देखेको भोलि हामीहरुले अन्तर्राष्ट्रियस्तरबाट पर्यटक नेपाल पठाउँछौ । तपाईहरु यहाँ जो जस्तो विदेशी देख्नुहुन्छ उनीहरुलाई हात जोडेर मुसुक्क हाँस्दै नमस्कार मात्रै गरिदिनुहोस् । एउटा विदेशी दायाँ फर्के पनि बायाँ फर्के पनि नमस्कार पाउँने भएपछि उनीहरुले भन्नेछन्, नेपालमा बत्ति पनि थिएन, पानी लगायत धेरै चिज थिएन तर सबैको अनुहारमा हाँसो र सत्कार भने पाइन्छ ।
यस्तो भयो भने सम्पूर्ण नेपालीका लागि राम्रो हुनेछ । आज संसार नै पर्यटनले बनिरहँदा हामी यति पछाडी परेका छौ । इन्डियाले टुरिजमलाई प्रमोशन गरेको छ तर अगाडी बढाउन सकेको छैन । हामी जहिले पनि इन्डियाको पाइला टेकेर गएको हुनाले हाम्रो पर्यटन क्षेत्र माथि उठ्न सकेको छैन । अब नेपाललाई अरु क्षेत्रमा भन्दा पनि पर्यटन क्षेत्रमार्फत सशक्त बनाउन जरुरी छ ।
अहिले हामीले सबै संसारलाई देखाउनुपर्ने भएको हुनाले “नेपाल आएको मानिसलाई खुशी बनाएर पठायौं भने उसले नेपाल लिएर जान्छ” भन्ने एजेन्डा नै हामीले राखेका छौँ । नेपाललाई सबैका लागि होम्ली नेपाल बनाउँनु पर्दछ ।
० जे भने पनि तपाईंहरुले लिनभएको लक्ष्य अनुसारको पर्यटककाा लागि पूर्वाधार छ छैन नि ?
आवश्यकता भएपछि नै आविष्कारको जन्म हुन्छ । त्यसैले सबैभन्दा पहिले जति सक्यो धेरै पर्यटकलाई नेपाल भित्र्याउने कोशिस गरौँ अन्य पूर्वाधार विकासका कामहरु विस्तारै हँुदै गर्छन् ।
० अहिले पर्यटकका लागि मुख्य गन्तव्य भनेको काठ्माडौं, पोखरा र लुम्बिनी छ । यो केन्द्रीकृत पर्यटन क्षेत्रलाई कसरी विकेन्द्रीकरण गर्न सकिन्छ ?
यसका लागि त अपिल नै हो । नेपालमा पर्यटनको राम्रो संभावना भएका क्षेत्रमा पनि प्रमोट गर्न सकिएको छैन । सूदुरपश्चिमाञ्चल क्षेत्रमा धेरै राम्रा पर्यटकियस्थल भए पनि अहिलेसम्म कुनै विकास हुन सकेको छैन ।
उसो त काठमाडौं साघुँरो भएका कारण पनि कतिलाई मन पर्दैन । तर पर्यटकहरुलाई काठमाडौं आउनै पर्ने बाध्यता हुन्छ । यदि पोखरा, भैरवा वा अन्य स्थानमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाइदियो भने उनीहरु सिधैं त्यही जान्छन् र त्यहाँबाट घुमेर फर्कन्छन् । त्यसरी नै विस्तारै विकेन्द्रीकरण आफै हुदैँ जाने हो । यस्ता चिज कालान्तरमा विकास हुँदै जाने चिज हुन् ।
० अतिथि देवो भवः को सुरुवात र प्रचार विस्तारै हुँदैछ । अहिले तपाईले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
पहिलो दिनमा हामीहरुले अफर राख्ने बित्तिकै मन्त्रीदेखि सचिवसम्मले यसको राम्रो भनेर प्रसंशा गर्नुभयो । त्यसैले हामीले अभ्यास गरेको दुई महिना भित्रमै सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गर्याैँ ।
यो बाध्यता पनि छ । नेपालमा अहिले विदेशी मुद्रा भित्र्याउने भनेको के छ ? अहिलेको समयमा उद्योगको स्थापना गर्ने हो भने धेरै कच्चा पदार्थ इन्डियाबाट ल्याउनुपर्ने हुन्छ । कहिले काँही नाकाबन्द गरिदिन्छ यहाँ हाहाकार बन्छ । पैंसा तिर्न सकिएन भने उद्योग नै बन्द हुन्छ । यस्तो अवस्थामा हामीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्दैनौं । बाटो बन्द गर्नु, उद्योग बन्द गर्नु भनेको राष्ट्रलाई घात गर्नु हो ।
त्यसैले पर्यटनले छोटो इमेज र म्यासेज देओस् भन्ने हाम्रो चाहाना पनि हो । कार्यक्रमको पहिलो दिनमै खादा निर्यात गर्नुपर्ने वस्तु थियो तर हामीले ढाकाको खादा लगायौँ । हामीले राष्ट्रिय उत्पादनलाई जोड दिनुपर्दछ । अहिले तत्कालका लागि देशको यो परिस्थितिमा हामीले एउटै विषयलाई राष्ट्रिय एजेन्डा बनाएर अगाडी बढ्नु पर्दछ । त्यो मुद्दा भनेको गाउँ, टोल, शहर, जिल्ला, गोष्ठी लगायत सबै क्षेत्रबाट अहिले पर्यटनको मुद्दा उठाउन आवश्यक छ ।
पर्यटनको क्षेत्रमा अब हामी केन्द्रीत भएर लागौँ । अन्तर्राष्ट्रिय राजनीतिमा हामी पर्यटनमार्फत प्रवेश गरौँ ।
० अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
तपाईहरु पनि मिडिया पार्टनर बन्नुहोस् । यो अभियान सफल बनाउन यसरी नै सुरु भएको छ । देशको विकासका लागि आयस्रोत जुटाउने भनेको अहिले पर्यटन क्षेत्र हो भन्ने भन्दै सबैलाई अगाडी बढाउन सबैले सबैलाई आह्वान गर्नुहोस् ।
यसमा हामीहरुलाई पनि प्रतिक्रिया दिदैं गर्नुहोस् । सरकारसँग सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको कारणले गर्दा हामीलाई सल्लाह सुझाव पनि दिनुहोस् । चेतना पनि नागरिकसम्म पुर्याउन सक्यौँ भने यसले सहि मोड दिनेछ भन्ने मलाई विश्वास छ । यसबाट नेपाल र नेपाली छिट्टै समृद्धिको बोटोमा अगाडी बढ्नेछौँ ।