युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत
Thursday, 08.25.2016, 10:38am (GMT+5.5)

० केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरता चाहने तपाई आखिर सरकारबाट बाहिरिनुपर्याे । गृहमन्त्रीका रुपमा तपाईको ९ महिने कार्यकाल कतिपयको नजरमा मधेशविरोधी एवं केपी ओलीको लाइनको मान्छेजस्तो पो देखिनुभयो नि ?
मसँग कुरा स्पष्ट छ । मैले दुईटा कुरा सुनें, एकथरि मान्छेले यो मधेश विरोधी छ, यसले अधीक बल प्रयोग गर्याे भने । अर्काथरिले यो मधेशप्रति आवश्यकताभन्दा बढी लचक भयो, यसले आवश्यकीय बल प्रयोग पनि गरेन भने । तर, यी दुबै आरोपहरू गलत थिए । एउटा गृहमन्त्रीका रुपमा आफ्नो जिम्मेवारी पूरा गर्ने कुरा गर्दा गृहमन्त्रालयका तर्फबाट मैले आफ्नो जिम्मेवारी पूरा गरें । त्यो अनावश्यक बल प्रयोग पनि थिएन र जिम्मेवारीबाट पन्छिने कुरा पनि थिएन ।

० माओवादी पार्टी सरकारबाट बाहिरिँदै गर्दा तपाईँचाहिँ ओलीसँग गठबन्धन तोड्नुहुँदैन भन्दै हुनुहुन्थ्यो नि ?
हिजो आज मलाई एउटै कुरा लाग्छ, यो संक्रमणकालीन विशेष परिस्थितिमा मुलुकका कार्यभारहरू सम्बोधन गर्नका निम्ति राष्ट्रिय सहमितको वातावरण निर्माण गर्न आवश्यक छ । माओवादीले अझ बढी जिम्मेवार भएर लाग्नुपर्छ । किनकि यो संविधानले संस्थागत गरेका मूलभूत विषयहरू माओवादीले उठाएका एजेण्डसँग सम्बन्धित छन् । संविधानका यी उपलब्धीहरूको रक्षा गर्न माओवादी अरुभन्दा अझ सम्वेदनशील हुन जरुरी छ । अझ जिम्मेवार हुन जरुरी छ । मैले त पार्टीकै कतिपय साथीहरूसँग भन्छु, हामी प्राविधिक रुपमा अंकको हिसाबले तेस्रो पार्टी छौं तर, राजनीतिक एजेण्डको हिसाबले चाहे हामी सरकारमा हौं, चाहे प्रतिपक्षमा हौं, हामी संस्थापन पक्ष हुनुपर्ने अवस्था छ ।

त्यसकारण यो विशेष परिस्थितिमा राष्ट्रिय आवश्यकता र प्राप्त उपलब्धीहरूलाई रक्षा गर्दै अघि बढ्नका लागि हामीले अझ बढी जिम्मेवार भूमिका खेल्नुपर्छ । यी एजेण्डहरूको रचना, सिर्जना र उठान गर्नेबेलामा माओवादीले जुन ढंगको भूमिका निर्वाह गर्याे, त्यसको व्यवस्थापनका निम्ति पनि हामी अहिले तेस्रो पार्टीमा छौं भनेर चुक्नुहुँदैन भन्ने मेरो भनाइ हो । त्यसैले यो राष्ट्रिय सहमतिको निम्ति माओवादीले नै बेसी पहल गर्नुपर्छ ।

मैले हिजो सरकारको गृहमन्त्री हुँदा पनि यही कुरा भनें । राष्ट्रिय समतिको आवश्यकता छ भनें । मिडियामा रेकर्डेड छ होला यो कुरा । र, आज पनि यही भन्छु । राष्ट्रिय एकता आजको आवश्यकता हो । मेरो भनाइ यो होइन कि कुन सरकार परिवर्तन गर्नुपर्छ र कुन सरकार परिवर्तन गर्नुहुँदैन । यो कुरासँग धेरै मतलव हुँदैन । त्यसैले मैले भनेको हो, राष्ट्रिय सहमतिका लागि जिम्मेवारीपूर्ण पहलकदमी गरौं । अहिलेको यो बहुमत र अल्पमतको खेलमा रुचीपूर्वक लाग्नेभन्दा पनि सहमतिका निम्ति अन्तिमसम्म प्रयत्न गरौं । गर्दा पनि भएन भने त्यत्तिकै बस्ने कुरा भएन । त्यो बेलामा फेरि एउटा अंकका आधारमा टुंगोमा पुग्नैपर्ने हुन्छ । तर, यो कुरालाई रोजाइ र चाहनाको विषय बनाउने कि यसलाई एउटा अन्तिम विकल्पका रुपमा प्रयोग गर्ने ? यो प्रश्न सधैं रहन्छ ।

० तर, ओली नेतृत्वको सरकार फेरिए पनि राष्ट्रिय सहमतिको सरकार त  बनेन नि ? उही बहुमतीय प्रक्रियामै जानुपरेपछि सरकार फेरिनुको के अर्थ ?
बहुमतीय सरकार आजको अन्तिम विकल्प हुन सक्छ । तर, माओवादी पार्टीका लागि यो रोजाइको विषय हुन सक्दैन । आज जे परिस्थिति निर्माण भयो, यसलाई रोजाइका रुपमा होइन, यसलाई मैले के भन्ने गरेको छु भने सहमति बनिसकेको छैन, तर यसले सहमतिको ढोका खुल्ला गरेको छ । यो एउटा थालनी हो ।

० केपी ओलीसँग काम गर्दा तपाईलाई कस्तो अनुभव भयो ? उनी त रमाइला मान्छे हुन् नि हैन ?
व्यक्तिगतरुपमा सम्मान नै छ उहाँलाई । पूर्वप्रधानमन्त्रीका रुपमा उहाँको सम्मान नै गर्छु । मेरो सम्मान नै छ । कतिपयले ओलीजीले उठाएका राष्ट्रियताका विषयलाई कसैले मण्डले, ढोंगी राष्ट्रवाद भनेर निन्दा गर्छन् । त्यसरी निन्दा गर्नुपर्ने विषय होइन । अपूर्णता छ । उहाँको राष्ट्रियता सम्बन्धी बुझाइ अपूर्ण छ । अपूर्ण हुनु भनेको अर्कै कुरा हो, ढोंग, पाखण्ड, मण्डले भन्ने कुरा अर्कै हो । ओलीजीको राष्ट्रवादको बुझाइ अपूर्ण छ । ओलीजीसँग कतिपय सम्मान गर्ने विषयहरू छन् । उमेर, स्वास्थ्य सबैका बाबजुद उहाँको खटन–पटन हामी सबैलाई प्रेरित गर्ने खालको नै थियो

० कसरी अपूर्ण भयो ओलीको राष्ट्रवाद ?
राष्ट्रियताको सन्दर्भमा त्यसका दुईवटा पक्ष छन् । एउटा आन्तरिक राष्ट्रियता र अर्को वाह्य राष्ट्रियता छ । वाह्य राष्ट्रियता यो मुलुकको सार्वभौमिता, अखण्डतामा व्यक्त हुन्छ । आन्तरिक राष्ट्रियता जातीय क्षेत्रिय सांस्कृतिक  विविधता छ र यसको आन्तरिक पक्षको व्यवस्थापन गर्ने हो ।  वाह्य पक्ष भनेको स्वाधीनता हो । यसलाई यसरी पनि भन्न सकिन्छ– एउटा जनता, अर्को भूगोल । हाम्रोमा राष्ट्रियतामा एउटाले भूगोल समाते, अर्कोले जनता । त्यसैले समस्या भयो । यो त दुवै अपूर्ण भयो । अपूर्णतालाई ढोंग भन्न मिल्दैन । यो विषयमा दुबैलाई एकीकृत गर्न सक्यौं भने हामीले नेपाली जनताको सर्वोत्तम हित गर्न सक्छौं । दुवै पक्षलाई सम्बोधन गर्न सक्नुपर्छ ।

ओलीजीका धेरै पक्षहरू अनुकरणीय छन् । सम्मान गर्न लायकका छन् । जसले गर्दा जनतामा उहाँप्रतिको छवि राम्रो भएको हो । नेपालमा सरकारमा पुग्नुभन्दा अगाडिका मान्छेहरूको लोकप्रियता सरकारबाट बाहिरिने क्रममा घटेर जाने देखिन्छ । तर, ओलीजीको हकमा सदावहार जस्तो देखियो । यसका केही कारणहरू छन् । केही न केही नभई त्यसस्तो हुँदैन, जसलाई सम्मान गर्नु पर्छ ।

० सरकारमा रहेर ९ महिना सँगैै काम गर्दा ओलीका कमजोरी के के देख्नुभयो ?
राष्ट्रियतासम्बन्धी उहाँको धारणा अपूर्ण भयो  । उहाँ पछिल्ला केही दिनमा मूल जिम्मेवारीभन्दा अन्यमा अल्झनुभयो ।  उहाँ संक्रमणकालीन अवस्थामा व्यवस्थापन मूल जिम्मेवारी हो भनेर त्यहाँ केन्द्रित हुनुपर्नेमा उहाँ दैनिक जीवन र प्रशासनमा अल्झिनुभयो । उहाँले पूर्णरुपमा गलत गर्नुभयो भन्ने पनि होइन, तर उहाँ संक्रमणकालीन अवस्थामा फोकस्ड हुनु भएन । जनता र गठबन्धन पार्टनर सबैको सहयोगमा उपलव्धि आएपछि उहाँ अलि बढी मनोगत हुनुभयो । उहाँ यो सब मेरा कारणले भएको भन्ने मनोगत र आत्मकेन्द्रित हुनुभयो ।

तर, अनुभूतिको अर्को पाटोमा ओलीजीसँग कतिपय सम्मान गर्ने विषयहरू छन् । उमेर, स्वास्थ्य सबैका बाबजुद उहाँको खटन(पटन हामी सबैलाई प्रेरित गर्ने खालको नै थियो । कतिपय छलफलहरूमा देखिने सरलता उल्लेख गर्न लायक नै थियो ।

० अब सरकारबाट बाहिरिएपछि ओलीबाट कस्तो भूमिकाको अपेक्षागर्न सकिएला ?
प्रधानमन्त्री भइसकेको मान्छेको जीवन नितान्त निजी र एउटा पार्टीका लागि मात्र हुँदैन । उहाँले पार्टीका लागि मात्र होइन, देश र जनताका लागि सोच्नुपर्ने हुन्छ । उहाँबाट पनि यही अपेक्षा गरौं । 

० यति हुँदाहुँदै ओलीसँगको सहकार्य चटक्कै छाडेर काँधै फेर्नुपर्ने कारणचाँहि के र्पयो माओवादीलाई ? यसको ‘जस्टिफिकेसन’ कसरी गर्नुहुन्छ तपाई ?
यसका तीनवटा पक्ष छन्– पहिलो, हामी जुन सरकार चलाइराखेका थियौं, आजको मुलुकको आवश्यकता पूरा गर्नका लागि व्यवस्थापिकामा एक तिहाइ बहुमत लिएको पार्टी नेपाली कांग्रेस संसद बाहिरै थियो । मधेशका त्यत्रा पार्टीहरूमा असन्तुष्टि थियो । सम्भव भएसम्म  र सकेसम्म यी सबै पार्टीहरूलाई यो प्रक्रियामा सहभागी गराउनु राम्रो हुन्छ भन्ने कुरा माओवादीले यतिबेला मात्रै भनेको होइन, म तपाईहरूलाई स्मरण गराउन चाहन्छु, जतिबेला राष्ट्रपतिको निर्वाचन हुँदै थियो, अझ त्योभन्दा अगाडि १६ बुँदे सहमति भयो ।

त्योबेलामा राष्ट्रपति कांग्रेसको तर्फबाट, प्रधानमन्त्री एमालेको र सभामुख माओवादीको भन्ने कुरा १६ बुँदेको जेन्टलमेन एग्रिमेन्ट थियो । कांग्रेस त्यतिबेला त्यो सहमतिबाट विचलित भएकै हो । फेरि पनि माओवादीले अन्तिम अवस्थासम्म पनि कांग्रेसकै राष्ट्रपति बनाऔं, त्यसो भए कांग्रेस सहमतिको प्रक्रियाबाट नबाहिरियोस् भन्नका लागि माओवादीले अन्तिमसम्म पनि प्रयत्न गरेको थियो ।

यो सम्भव नभए पनि त्यो कुरा सदाका लागि छोड्ने कुरा त भएन । राष्ट्रिय सहमतिको कोसिस त निरन्तर गर्नैर्पयो । राष्ट्रिय सहमतिको महत्वका बारेमा माओवादीले सधैं कुरा उठाउँदै आयो । तर, तत्कालीन प्रधानमन्त्री ओलीजीले यो कुरालाई सही अर्थमा बुझ्नुभएन । यसलाई उहाँले प्रधानमन्त्री विरुद्धको अभियानका रुपमा, एमालेविरुद्धको अभियानको अर्थमा बुझ्न थाल्नुभयो र त्यसलाई अड्काउनु भयो । एउटा समस्या यहाँनेर रह्यो भन्ने लाग्छ मलाई ।

दोस्रो, प्राविधिक हिसाबले भन्दाखेरि तत्कालीन प्रधानमन्त्री ओलीजीलाई के कुरा गहिरोसँग लाग्न थाल्यो भने यो प्रधानमन्त्रीय सिस्टम हो, प्रधानमन्त्रीय प्रणालीमा त प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छ, अरुले भनेका कुरा, अरुले दिएका सुझाव प्रधानमन्त्री मान्न कहाँ बाध्य हुन्छ ? ओलीजीले प्रधानमन्त्रीय प्रणालीलाई यसरी ग्रहण गर्नुभयो । यो प्रधानमन्त्रीय प्रणाली त थियो, तर यो संयुक्त सरकार पनि थियो भन्ने कुरालाई उहाँले अलि सही ढंगले आत्मसाथ गर्न सक्नुभएन । अर्को एउटा पक्ष यो रह्यो ।

तेस्रो, पछिल्ला दिनहरूमा अर्को एउटा पक्ष पनि देखियो । ओलीजीको दिमागमा यो संविधानले यो आफ्नो सरकार हटाउन र अर्को नयाँ सरकार बनाउने व्यवस्था गरेको छैन, त्यसकारण ०७४ माघ महिनासम्म यो सरकार त्यसै पनि पूर्ण रहन्छ भन्ने भ्रम पर्न गयो । चाहे गठबन्धन पार्टनरहरूले छाडेर हिँडुन्, चाहे आफ्नै पार्टीका नेताहरूले असहयोग गरुन्, केही फरक पर्दैन, किनभने ०७४ माघ सम्म यो सरकार आफैंमा पूर्ण छ र संविधानले नै यो व्यवस्था गरिदिएको छ भन्ने भ्रममा ओलीजी पर्नुभयो । यिनै विषयहरू हुन् जसले गर्दा नयाँ परिस्थिति निर्माण भयो ।

मैले पहिलो राजनीतिक पक्ष भनें । राष्ट्रिय सहमतिको वातावरण तयार गर्नका निम्ति सुरु गरिएको अभियान थियो त्यो ।  दोस्रो प्रधानमन्त्रीय प्रणालीमा यो संयुक्त सरकार पनि थियो । यो संयुक्त सरकार र प्रधानमन्त्रीय प्रणालीको मर्म एवं मूल्यहरूलाई समायोजित गरेर जानुपर्ने स्थितिमा ओलीजीले यो प्रधानमन्त्रीय प्रणाली मात्रै हो भनेजस्तो बुझ्ने र व्यवहार गर्ने कुरा गर्नुभयो । यिनै तीनवटा परिस्थित हुन् भन्ने मलाई लाग्छ ।

० ओली सरकार ढल्नुका बाह्य कारण के हुन् ? मधेशीले उनलाई स्वीकार गर्न नमान्नु वा विदेशी शक्तिको पनि हात रह्यो भनिन्छ नि ?
यो होइन । म यलाई फ्याक्टर मान्दिँन । मैले अघि तीनवटा कुरा भनिसकें, तिनै कारणहरू पर्याप्त छैनन् र ?

० तपाईलाई एकथरि मानिसले ओलीसँग साह्रै नजिक देखिनुभो भने । अर्काथरि भन्छन् कि तपाईलाई ओलीले गृहमन्त्रीबाट हटाउन चाहेका थिए । वास्तविकता के हो ?
म कसैको स्वार्थमा लाग्दिँन, चाहे त्यो पार्टीभित्रको हितको सन्दर्भमा होस्, चाहे मैले राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्दाको अवसरको सन्दर्भमा होस्, दुबै परिस्थितिमा मैले निर्णय लिँदाखेरि कुनै निश्चित समूहका, व्यक्तिका आफ्ना स्वार्थहरूलाई केन्द्रमा राखेर निर्णय गर्ने गरेको छैन । राष्ट्रको हित र पार्टीभित्र आउँदाखेरि पार्टीको हितको विषयमा नै मैले कुरा उठाउँदै आइरहखेको छु ।

मधेशका बारेमा मलाई जे भने नि, यो पनि त्यस्तै हो । प्रधानमन्त्रीसँगको सम्बन्धको अर्थमा पनि यही होला ।

० सिडियो सरुवाको विषयमा तपाई र प्रधानमन्त्रीवीच विवाद त भएको हो नि ?
यो विषय पनि विवादमा आउनुपर्ने त्यत्रो विषय नै थिएन । प्रधानमन्त्री र गृहमन्त्रीवीचको सम्बन्धलाई भयंकर नकारात्मक ढंगले चित्रण गर्नुपर्ने विषय पनि थिएन । उपसचिवहरूको सरुवा मैले गृहमन्त्रालयको स्थापित मान्यता अनुसार गरेको हुँ ।

अझ त्यो भन्दा नयाँ कुरा मैले के गरिदिएको हुँ भने गृहमन्त्रालयकै कर्मचारीहरू जो धेरै समयअघि देखि प्रमुख जिल्ला अधिकारीका रुपमा नभएर सहायक प्रजिअका रुपमा भूमिका खेल्दै आएका थिए, तिनलाई प्रमुख जिल्ला अधिकारीको भूमिकामा ल्याएँ । यस्तो निर्णयपछि पूर्वगृहमन्त्री माधव घिमिरेजीले मलाई फोनमा बधाइसमेत दिनुभयो ।  मैले चाहेको तर गर्न नसकेको कुरा तपाईले गर्दिनुभो भन्नुभयो ।

मैले नयाँ कुरा गरेको के भने एक वर्ष पुगेका सिडियोहरूलाई गृहमन्त्रालयको स्थापित नम्र्स अनुसार सरुवा गरेको हो । मभन्दा अगाडिका सरकारले त तीन महिनामा सरुवा गर्थे । तर, मैले एक वर्ष पूरा भइसकेकालाई मात्रै सरुवा गरें । यो कुनै उचाल्नुपर्ने विषय नै थिएन । यो विषय अलि अनावश्यक ढंगले उचालियो ।

० प्रधानमन्त्री ओलीले मन्त्रीका काममा समेत हस्तक्षेप गरेको आरोप माओवादीकै नेताका मुखबाट सुनिँदैछ, के केमा हस्तक्षेप भयो प्रधानमन्त्रीबाट ?
म त्यतिमा जान चाहिँन । प्रधानमन्त्री प्रणालीअन्तरगत भए पनि त्यो संयुक्त सरकार थियो । यो प्रधानमन्त्रीय प्रणाली भएको हुनाले प्रधानमन्त्रीले जे(जे भन्यो, त्यही–त्यही हुनुपर्छ भन्नेखालका टिप्पणीहरू पनि अलिअलि पढ्न पाइन्थ्यो । तर, मलाई लाग्छ, यी दुबै भावनाको उचित संयोजनमा मात्रै आजको संक्रमणको उचित व्यवस्थापन हुन्छ । हामीले यस्तो संस्कार विकास गर्न जरुरी छ ।

हामीले मिश्रति निर्वाचन प्रणाली अपनाइराखेका छौं, यो निर्वाचन प्रणालीले संयुक्त सरकारको आवश्यकता र सहकार्यको संस्कृतिको माग गर्छ । हामीले आवश्यक संस्कारको विकास गर्न सकेनौं भने राजनीतिक अस्थिरता आजमात्रै होइन, धेरै दिन लम्बिइरहने अवस्था रहन सक्छ ।

त्यसैले प्रधानमन्त्रीय प्रणाली र संयुक्त सरकार यी दुबैलाई एकीकृत ढंगले सोच्नुपर्छ । यसबाट शिक्षा लिनुपर्छ । विगतका अनुभवहरूबाट हामीले शिक्षा लिनुपर्छ । हामीले अवलम्बन गरेको निर्वाचन प्रणालीका कारण मुलुकमा संयुक्त सरकारको अभ्यास केही समय भइनै रहने देखिन्छ ।

० गृहमन्त्रीबाट फुर्सद पाएपछि अब पार्टीमा तपाई के गर्नुहुन्छ ?
माओवादी पार्टीले अहिले राष्ट्रिय आवश्यकता पूरा गर्ने मुख्य जिम्मेवारी पाएको छ । पार्टीका लागि यो अवसरको कुरा हो । माओवादी पार्टीको एक सदस्यको नाताले यो अवसरको सदुपयोगका लागि लागि पर्नु आवश्कमात्रै होइन, दायित्व पनि हो । सरकार संचालनको संयन्त्रमा एउटा भूमिका पाएको छु ।

दोस्रो कुरा, यो माओवादीको विषयमात्रै होइन । यो आजको राष्ट्रिय आवश्यकता हो । संक्रमणको व्यवस्थापन गर्नुपर्ने र शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंग्याउनुपर्ने दायित्व निर्वाह गर्न माओवादीले मात्रै होइन, हामी सबैले  सबैले जिम्मेवार भएर सोच्न जरुरी छ ।

० नयाँ गृहमन्त्रीका रुपमा मन्त्रालयमा पुग्दा सुरक्षा निकायले असहयोग गर्ने, हेप्ने गरेको सुनिन्छ तपाईलाई त्यस्तो लाग्यो ?
मैले त्यो अनुभूति गरिँन । बरु कहिलेकाँही राजनीतिकर्मीहरूले सुरक्षा संगठनहरूको सम्वेदनशीलता नबुझिदिने कुराहरू खड्कन सक्छन् । म आफूलाई धेरै अप्ठ्यारो महसुस भएन । सकेसम्म गृहमन्त्रालय र सुरक्षा संगठनको सम्बन्धमा सुमधुर बनाउने कोशिस गरें ।

(अनलाइन खबरबाट)




Rating (Votes: )   
Share     Print


Other Articles:
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)



 
::| Latest News

 
[Page Top]