युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ
Thursday, 12.29.2016, 03:08pm (GMT+5.5)

० तपाईं एक आधारभूत तहको श्रमिक महिला, राज्यको संविधान निर्माण गर्ने ठाउँसम्म पुग्नुभयो । आधारभूत तहको नागरिक र राज्यबीच दूरी कति हुँदो रैछ भन्ने थाहा पाउनु भयो होला नि ? कति रैछ दूरी ?
 दूरी त पक्कै हुन्छ । श्रमिक मान्छे बिहानदेखि बेलुकासम्म काम गरेर कसरी पेट पाल्ने कसरी परिवार पाल्ने भन्नेमै केन्द्रित हुन्छ । समाजका लागि केही गरौं भन्ने भावना राज्यको माथिल्लो तहमा बस्ने मान्छेको भन्दा बढी नै हुन्छ । तर, के गर्ने त्यस्तो अवसर नै उसले पाउँदैन । त्यसैले अरुको अरुको मुख ताक्नु पर्ने वाध्यतामा श्रमिकहरू हुन्छन् । आफैं भित्र विभिन्न समस्या हुन्छन् । माथि बस्ने मान्छेका दुःख पनि हुन्छन् तर, अर्कै खालका । माथि रहने मान्छेलाई खाने लाउने दुःख त हुँदैन नि । 

० कमलरीहुँदै सांसद र संसदको समितिको सभापति समेत बन्नुभयो । कस्तो अनुभव गर्नुभयो जीवनको ?
मैले आफूलाई हुर्काएर यहाँसम्म ल्याएको त्यो पुरानो जमीन छोडेको छैन । विगतमा हामीले कमैया कम्लरी लगायत विभिन्न आन्दोलन गरेका थियौं, अहिले पनि आन्दोलनमै छौं । त्यो समयको आन्दोलनमा दिनभरी आन्दोलनमा गएर बेलुका भोकै बस्नुपर्ने अवस्था थियो । आन्दोलनमा जाँदा घरको चुलो नबल्ने अवस्था हुन्थ्यो । अहिले पेट पाल्ने कसरी भन्ने समस्या छैन । मान्छे पदमा पुगेपछि त्यो ठाउँबाट अर्काे ठाउँमा पुगिहाल्छ । 

० दुःख पाएका मान्छेको दुःख देखाएर आन्दोलनहरू भइरहन्छन् । तपाईंको अनुभवमा के ती आन्दोलन ती जनताकै लागि भए कि राजनीतिक उपयोग धेरै भयो ?  
लोकतन्त्रमा आन्दोलन गर्नु, अधिकार माग्नु स्वभाविक नै हो । तर अधिकारको नाममा जथाभावी आन्दोलन पनि भएका छन् । कतिपयको माग नै के हो भन्ने थाहा हुँदैन । सोझासाझा जनतालाई प्रलोभनमा पारेर सडकमा लैजाने अनि केही व्यक्तिले अवसर लिने प्रवृत्ति पनि उत्तिकै छ । जनताको दुःख भजाएर आन्दोलन गरे त बरु ठीकै हुन्थ्यो अव त जात भजाएर आन्दोलन हुन थाले । प्रबृत्ति परिवर्तन गरेर दुःख मेट्न सकिएला तर जात मेट्न सकिंदैन । जे कुरा मेट्नै सकिंदैन, प्रकृतिले नै फरक फरक बनाइदिएको छ, त्यसैलाई लिएर आन्दोलन गरेपछि त्यसले विनाश मात्रै ल्याउँछ । 

० जस्तै, कुन आन्दोलन हो त्यो ? 
जस्तै कैलालीको टीकापुरमा भयो । जेभन्दा मान्छे भड्किन्छन् त्यही भनियो त्यहाँ । तपाईं आफैं भन्नुस् त्यसले केही राम्रो ग¥यो त ? राज्य पुनर्संरचनापछिको आन्दोलनलाई पनि हामीले अनुभव गर्न सक्छौँ । मान्छे गरिव भएर, आफ्नै केही उत्पादन नभएर दुःख पाइरहेको छ । अनि कहिले कहिले परापूर्व कालको जातको कुरा ल्याएर भड्काइदिएको छ । कैलालीका जनतलाई हामीले पछि सोध्यौं । अब यहाँ थारुलाई यहाँ बस्न दिन्नन् भनेर समेत हल्ला फैलाइएको रहेछ । त्यसो भनेपछि भड्काउन सजिलो भयो नि । मान्छेको अज्ञानतालाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रबृत्ति देखियो । त्यसै पनि गरिव छ मान्छे, त्यसमाथि आफ्नो स्वार्थ पूरा गर्न केही ठालुले हतियार बनाएपछि के हुन्छ भन्नुस् त ? त्यो गरिव प्रयोग मात्रै हुन्छ झन् गरिव हुन्छ, ठालुले आफ्नो स्वार्थपूर्ति गर्छ । 

० त्यसो भए आन्दोलन गर्नु नै गलत रैछ होइन ? 
मैले कहाँ त्यसो भनेँ र ? आन्दोलन भन्ने वितिक्कै पहिलो कुरा त त्यसको माग के हो भन्ने हुन्छ । त्यो मागले अधिकार नपाएको समुदायले अधिकार पाउँछन् कि पाउँदैनन् राम्रोसँग बुझाउनु पर्छ । मान्छेले कुरा बुझेपछि कसैले बोलाउनै पर्दैन, जनता आफैं आउँछन् आन्दोलनमा । आन्दोलनमा हिंसा हुनु भएन ।  तपाईं हेर्नुस्, जति पनि अधिकारका लागि आन्दोलन भएका छा् शान्तिपूर्ण आन्दोलन मात्र सफल भएका छन् । कमलरी मुक्ति आन्दोलन पनि हामीले शान्तिपूर्ण रुपमा ग¥यौं । 

० तपाईं त मधेशकै मान्छे, मधेशकेन्द्रित पार्टीले गरेको आन्दोलनलाई के भन्नुहुन्छ  ?
त्यो आन्दोलनको त माग के हो भन्ने पनि स्पष्ट छैन । आन्दोलनका मोर्चामा भएको एउटा दल त्यही भूगोललाई लिम्बुवान बनाउनु पर्छ भन्छ, अर्काेले त्यसैलाई मधेश बनाउनु पर्छ भन्छ । एउटा थरुहट बनाउनु पर्छ भन्छ, अर्काे मधेश बनाउनु पर्छ भन्छ । कुनै असल परिणामका लागि भएकै छैन, जात जातको झगडा र बैमनस्यताका लागि भइरहेको छ । नत्र त आन्दोलनकारीको माग एउटै हुनु पर्ने हो नि । 

० भनेपछि मधेश आन्दोलनसँग मधेशका जनताको कुनै सम्बन्ध छैन ? 
मलाई त त्यस्तै लाग्छ, जातीय भन्दा वर्गीय मुद्दा महत्वपूर्ण हो । म महिला हुँ, कमलरी बसेकी महिला हुँ । महिलाले भोग्ने पीडा र एउटा कमलरीले भोग्ने पीडा आफैं भोगेकी छु । के म थारु भएर यी पीडा भोगेकी हुँ र ? यी सब मेरा गरिबीका पीडा हुन् । थारु जातिको मुक्ति हुँदा म मुक्त हुने होइन, गरिवीबाट मुक्ति पाउँदा म मुक्त हुन्छु । जति आन्दोलन गरे पनि म महिला नै हुने हो, थारु नै हुने हो, जाति लिङ्ग त बदल्न सकिंदैन । तर, गरिवीबाट मुक्त हुने आन्दोलन गरे म सम्पन्न हुन सक्छु । 

० तपाईंले यही कुरा जातीय आन्दोलनका पक्षधरहरूसँग गर्नु भएको छैन ? 
गरेको छु, अव त मान्छेले धेरै कुरा बुझिसकेका छन् । पहिला मलाई पनि लाग्थ्यो र धेरैलाई अझै लाग्छ– हामी थारु भएकै कारण कमलरी–कमैया बस्नु परेको हो । धेरै थारु नेताले पनि यहि भन्नुहुन्छ, किन भने थारु त सधैं थारु नै रहन्छ र यसो भनेपछि ती गरिव थारुहरूलाई सधैं थारुका नाममा प्रयोग गरिरहन पाइन्छ । 

० वर्गीय मुद्दा प्रमुख भए पनि जातका कारणले पनि पछि परेका छन् नि कतिपय ? 
हो जातका कारण पनि हामी पछि परेका छौं । तर, त्यो आजको संविधान, कानुन र सामाजिक ब्यवस्थाका कारण होइन, सयौं हजारौं वर्ष अघिदेखिको सामाजिक ब्यवस्थाले हो । त्यस्तो सामाजिक ब्यवस्था एकै पटकको प्रयासले परिवर्तन हुने होइन । जनचेतनाको लामो प्रयास हुनु पर्छ । हिजोको सामाजिक ब्यवस्थामा कुन जातिले के काम गर्ने भन्ने थियो, आज त छैन नि होइन र ? हिजो कुन जातिले के गर्न नपाउने भन्ने थियो आज त छैन । जव आज छैन भने जातको भिन्नता खोजेर लडाइँ किन लड्ने ? सबैको साझा दुस्मन गरिवी हो गरिवीसँग लड्ने कुरा हुनुप¥यो । 

० जनजाति–मधेशी पछाडि परे भन्ने मान्नुहुन्न तपाईं ? 
पछाडी परेका छन् तर, जातका कारणले होइन, भाषाको पहुँचका कारणले । पूर्ण रुपमा नेपाली भाषा जान्ने, अंग्रेजी भाषा जान्नेले आफूलाई माथि उठाइहाल्छन् । जातकै कारणले पछि परेको मान्ने हो भने, यदि थारु भएकै कारणले कमैया बस्नुपर्ने भए हाम्रा थारु नेता विजयकुमार गच्छेदार र राजकुमार लेखी पनि कमैया हुनुपर्ने हो नि । गंगा चौधरी, रुक्मिणी चौधरी लगायत थुप्रै व्यक्ति कमैया कमलरी बन्नुपर्ने हो नि । तर, उहाँहरू बन्नु भएन । जो गरिव थिए, जसको सम्पर्क भाषामा पहुँच थिएन, उनीहरू कमैया कमलरी बस्नु प¥यो । 

० तपाईं थारु भएर कमलरी भएको होइन त्यसो भए ? 
होइन । शान्ता चौधरीलाई कमलरी बनाएको थारु जाति भएर होइन गरिबीले कमलरी बनाएको हो । त्यसैले मलाई लाग्छ यो देशको सबैभन्दा ठूलो मुद्दा वर्गीय नै हो । जबसम्म वर्गीय समस्या समाधान हुन्न, कुनै पनि समस्या समाधान हुँदैन । 

० जाति अनुसारको प्रदेश बनाएर संघीयता बनाउनु गलत चाहिं कसरी हुन्छ त ? 
अहिलेको जमानमा प्रगतिको बाटो भनेकै के हो भने भाषा, प्रविधि, उत्पादन सबै कुरामा साझेदारी हुनुप¥यो । मैले अघि नै भनेँ भाषाको पहुँच हुनु प¥यो । एउटा प्रदेशमा धेरै भाषा बोल्ने मान्छे होउन्, धेरै जातिका मान्छे होउन्, यसले विकास निम्त्याउँछ । आधुनिक समाजमा हुने त यही हो नि । तराईलाई एक प्रदेश बनाउने कुरामा मेरो जहिले पनि विमति छ । अझ म त त्यतिमात्र भन्दा पनि बहुप्रदेश हुनुपर्छ भन्छु । पहाड पनि मिसियोस्, तराई पनि मिसियोस्, त्यसो भएपछि स्रोत साधन पनि हुन्छ सबैतिर । अहिले त झन् कोटाप्रथा छ, यो त्यति राम्रो कुरा होइन । आफैं सक्षम हुनुपर्छ । कसैलाई आरक्षण दिने हो भने जातका आधारमा होइन आर्थिक हिसावले विपन्न र कमजोर वर्गलाई केहि समय कोटा दिनुपर्छ । 

 ० जातका कारणले पछाडि नपरेको भए किन धमाधम जातीय संगठनहरू बनिरहेका छन् त ? 
मैले अघि नै भनेँ यो पुरानो सामाजिक ब्यवस्थाको असर हो । त्यो मेटिंदै जान थालेपछि जातको नाममा फाइदा लिनेहरूलाई असर प¥यो त्यसैले उनीहरू जातीय पार्टी बनाउन थाले । 

० पुरानो समाज ब्यवस्थाको असर भनेको कस्तो ? 
जस्तै दाङकै कुरा गरौं । मेरो गाउँका माथिल्लो जात भनिएकाले तल्लो जातका मानिसलाई गर्ने व्यबहार फरक छ । बच्चाले पनि दलितलाई हेप्छ । ओइ फलानो दमाई यता आउ । कामी दाई यस्तो गर भनेर सम्बोधन गर्छन् । मेरै बुवा ७५–८० वर्षको हुनुहुन्छ । तर त्यहाँका साना साना बाहुनका बच्चाले ओई बट्का कहाँबाट आयौ भन्दै ‘तिमी’ भनेर सम्बोधन गर्छन् । तर मेरो बुवाले उनीहरूलाई हजुर तपाईं भनेर सम्बोधन गर्नुहुन्छ । यो अहिलेको कानुनी ब्यवस्थाले वा संविधानले गरेर भएको होइन । पुरानो समाजमा यस्तो चल्थ्यो, शिक्षा छैन अनि त्यही चल्यो । अव जति शिक्षा र चेतना फैलिन्छ त्यति छिटो यो ब्यवस्था हट्छ । चेतनामा भएको दोष संविधानमा थोपरेर हुँदैन नि । चेतना विस्तार गर्नु प¥यो । 

० तपाईंलाई पनि बुवालाई जस्तै ब्यवहार गर्छन् ? 
मैले अघि नै भनेँ नि, म हिजो सांसद नहुँदा पनि थारु थिएँ, अहिले पनि थारु छु । हिजो तिमी, तँ भनेर सम्बोधन गर्नेहरू अहिले नमस्कार गर्छन् तपाईं भन्छन् । थारु भएर हेप्ने भए त आहिले पनि हेप्नुपर्ने नि । पद प्रतिष्ठा, शिक्षा, चेतनाले ठूलो भूमिका खेल्छ । त्यही थारु जातिको शिक्षकलाई सर भन्छन् त्यही थारु जातिको किसानलाई तिमी भन्छन् । अव यो असमानताको दोष संविधानलाई दिने ? संविधानले सबैको बुद्धिमा गएर बास गर्ने त होइन । 

० जातीय संगठन बनाउनु गलत भन्नुहुन्छ तपाईं होइन ? 
हो, मैले त हाम्रै पार्टीका नेताहरूलाई पनि भनेकी छु– किन जातीय संगठन बनाउनु भएको हो ? माओवादीको प्रभावमा परेर एमालेले पनि जातीय संगठन बनायो, त्यो मलाई मन परेन । वर्गीय संगठन बनाएर त्यसलाई पो बलियो बनाउने हो । गिट्टी कुट्नेको संगठन, हलो जतोत्नेको संगठन, कपडा बुन्नेको संगठन बनाउँ न । जुन जातिको भए पनि ती काम गर्ने मानिसको हित मिल्छ नि । अनि पो विकास हुन्छ । जातीय संगठन बनायो, जातीय सपना बेच्यो, ती पूरा हुने कुरा होइनन् । अनि धोका पाइयो भनेर रिसाउने विद्रोह गर्ने गलत बाटोतिर हामी गइरहेका छौं । 

० अव संविधान संशोधन भए पनि तराईको समस्या समाधान हुँदैन भन्ने हो तपाईंको कुरा ? 
प्रबृत्ति र चरित्र बदल्नु पर्नेमा संविधान बदलेर पनि कहीँ समाधान हुन्छ ? चरित्र उस्तै राख्यो अनि संविधानलाई दोष दियो । संस्कार फेर्नु प¥यो, संविधान होइन । राम्रोसँग पालना गर्ने हो भने संविधानमा केहि कमजोरी छैन । 

० यस्तो कुरा गर्नुहुन्छ अनि तपाईंलाई थारु विरोधी भन्दैनन् ? 
मेरोबारेमा अनेक हल्ला चलाइयो । थारु विरोधी, बाहुनवादी भनियो । तर, सत्य कुरा तीतो भए पनि विस्तारै सत्य नै सावित हुन्छ । अहिले मान्छेले बुझन् थालेका छन् । मलाई वहिष्कार गर्नेसम्ममा कुरा भए । फेसबुकमा मैले पढ्नै नसक्ने फोहोर शब्दले मलाई गाली पनि गरिन्थ्यो । तर मैले भनेका कुराले थारु र सबै जातिको हित हुने कुरा पछि बुझ्दै गए । 

० देश बिग्रको चाहीँ कहाँनेर रैछ ?
देश बिग्रेको भन्दा पनि सिस्टम बिग्रेको हो । आफैं कानुन बनाउँछौं तर पालना गर्दैनौं । म एउटा कमलरी जनता र सभासद दुवै भएर अनुभव गरेकी छु । जनतालाई धेरै ठूलो कुरा चाहिएकै छैन, आफ्नो जातको राज्य बनाउँला शासन गरौंला भन्ने जनताको कुरा छैन । उनीहरूलाई त केवल काम गरेर शान्तपूर्वक जीविका चलाउने अवस्था र विकास चाहिएको छ । सिस्टम पालना गरेर भएका कानुनको राम्रो पालना गर्ने हो भने विस्तारै देश फेरिन्छ । 

० संविधान बनेपछि पनि जनता त निराश छन् नि ? 
संविधान बनाउने अनि पालना नगर्ने अनि निराशा हुँदैन ? ६ महिना पुग्न पाएको छैन सरकार फेर्न लाग्ने, प्रगति गर्ने विकास गर्ने कुरै छैन सरकार परिवर्तन गर्नेतिर लागेपछि निराशा हुन्छ नि । एउटा सरकार बनेर केही काम गर्न नपाउँदै ढाल्ने प्रवृत्ति छ । कम्तिमा एक जनालाई पाँच वर्ष काम गर्न दिनुपर्ने हो । तर व्यक्तिगत स्वार्थ, कुर्सीका लागि यहाँ यस्ता अनेक खेल हुन्छन् । त्यसैले जनता निराश भएका हुन् । अहिले हेर्नुस् त सामाजिक सञ्जालमा प्रचण्डलाई कति गाली गर्छन् । जनतालाई निराश बनाउनेगरी सत्ताको खेलमा लागेपछि सरकार ढाल्ने र बनाउने काममा लागेपछिको उपज हो यो । 

० केपी ओली पनि त प्रधानमन्त्री हुनुहुन्थ्यो नि, धेरै गाली सुनिएन त ? 
मेरो पार्टीको अध्यक्ष भएर भनेको होइन, म अर्कै पार्टीमा लागेको भए पनि भन्थेँ, केपी ओलीको सरकारले केही गर्न थालेको थियो । त्यसैले ढालियो । त्यसैले पनि सामाजिक सञ्जालमा उहाँको समर्थनमा मान्छे देखिएका हुन् । 

० केपी ओलीले गरेका राम्रो काम चाहीँ के हो ? 
सबैभन्दा राम्रो कुरा उहाँले नेपाल सार्वभौम देश हो, देशको हित विपरित कसैको स्वार्थ तामेल गर्न वाध्य छैन भन्ने स्थापित गर्नुभयो । नेपालले संविधान बनायो भनेर नाकाबन्दी गरेरै झुकाउन खोजिएको थियो, उहाँले उल्टै नाकाबन्दी गर्नेलाई झुक्न वाध्य पार्नुभयो, देशको शीर झुकाउनु भएन । अर्काे कुरा हामीले उपभोग गर्ने सामान ल्याउने बाटो दक्षिणतिर मात्रै थियो । त्यो बाटो भारतले थुन्यो । केपी ओलीले उत्तरतिरबाट पनि पारवहन सुविधा लिने सम्झौता गर्नुभयो । अझ त्यसका लागि रेल र सडक मार्गले चीनसँग जोड्ने सम्झौता भयो । एउटा छिमेकीले बाटो थुनेपछि भोकै मर्ने हामीलाई नयाँ बाटोतिर अग्रसर गराउने र कसैको पनि दवावमा परेर आत्मसमर्पण गर्नु पर्ने अवस्थाबाट मुक्त गर्ने त केपी ओली हो नि । त्यसो नगरेको भए भारतले झन् हेप्थ्यो । आफ्नै देशभित्र इन्धन उत्खनन् गर्ने कुरा कम महत्वपूर्ण कुरा थिएन । यो योजनामा देशलाई हिंड्न दिइएको थियो भने छोटो समयमा देशले काँचुली फेथ्र्याे । 

० तपाईं एमाले भएकाले यति त भन्नै प¥यो नि होइन र ? 
लौ यही कुरा अर्कै पार्टीका तर, झुठ नबोल्ने मान्छेलाई सोध्नुस् तपाईं । केपी ओलीले गरेको यो काम कसले नराम्रो भन्न सक्दो रहेछ । एकछिन् केपी ओलीको विरोध गर्न त सक्लान् र केपी ओलीले गरेका यी कामको विरोध कसले गर्न सक्दोरहेछ हेरौं त । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)



 
::| Latest News

 
[Page Top]