युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट
Wednesday, 01.04.2017, 11:58am (GMT+5.5)

० तपाईंको लामो राजनीतिक अनुभवले अहिले देश कतातिर जादै गरेको देखाउँछ ? 
अहिले देश अति नै दुखेको अबस्थामा छ । स्वार्थी, लुच्चा, र देशको माया नभएका र आफ्नो झिनो स्वार्थमा बिक्नेहरूको चपेटामा देश छ । सत्तामा त्यस्तै स्वार्थी र लुच्चाहरू छन् । जनताको नाम मात्र लिइएको छ जनता भने उपेक्षित छन् । देश अहिलेसम्मकै सबै भन्दा बढी दुरावस्थामा पुगेको छ । 
० जनता उपेक्षित छन् भन्नुहुन्छ, अहिले नागरिकको आवाज त सशक्त बन्दै गएको छ नि होइन ? 
जनता रोईकराई गरेर देश देश भनिरहेका छन्, सत्तामा बस्नेले सुनेको नसुन्यै ग¥या छ । जनताको मन मनमा यो खड्किरहेको छ कि देशले यस्तो एउटा ब्यक्ति पाओस् जो संसारलाई यहींबाट देख्न सकोस् । आफ्नो नेतृत्व आत्मविश्वासी होस्, कर्मठ र धेरै टाढासम्म देख्नसक्ने होस् । नेपालको भविष्य उज्ज्वल बनाओस्, जनतालाई गरेर खाने बाटो फेला परोस् र नेतृत्वले देश हाँकिदेओस् । जनताको आकांक्षा यत्ति हो । जनताको अरू केही स्वार्थ छैन । अहिले देशमाथि हस्तक्षेप गरेर मुलुकको सार्वभौमिकता नै संकटमा पारिएको छ यसबाट बढी चिन्ता देख्छु म हरेक मान्छेहरूमा । 

० संसदमा सबैभन्दा ठूलो पार्टीको समर्थन भएको सरकार छ, बलियो बहुमतको सरकार छ कसरी हस्तक्षेप होला र विदेशीको ? 
अहिले जसले शासन गरिरहेका छन् यी नेतै होइनन् । यस्तो पनि नेतृत्व हुन्छ ? आफ्नो स्वार्थभन्दा माथि उठेर देश देख्न सक्ने पो नेता । आफ्नो सानो स्वार्थ पूरा हुन्छ भने देशमाथि विदेशीको जस्तोसुकै हस्तक्षेप र निर्णायकत्व लाद्न तयार हुने पनि कहीँ नेता हो ? यो मैले मात्र भनेको कुरा होइन, जनजनले भनेको कुरा होे । जनताको कुरा सुनेर आत्माआलोचना गरून्, पश्चाताप गरून्, म यही भन्न चाहन्छु । यिनीहरूको प्रयास सफल भयो भने यिनीहरू आफू मात्र होइन, यिनीहरूको पार्टी मात्र पनि होइन, सिंगै देश अरूको हुन्छ । देशमाथि अर्कैले आधिपत्य जमाउँछ । अझै पनि किन चेत नखुलेको ? म आश्चर्यमा परेको छु ।  

० राजनीतिमा आशा गर्ने ठाउँ केही छैन त ? 
जनताको मनोभावनामा खेलबाड गर्ने कुरालाई कसरी राजनीति भन्ने ? यो सब कुरा मात्रै हो । गणतन्त्रको कुरा गर्छन् । संघीयताको कुरा गर्छन् । केको संघीयता ? केको गणतन्त्र ? यी सबै अर्थ न बर्थका भएका छन् । सिस्टम खै ? राम्रो गर्नेलाई सम्मान र गलत गर्नेलाई दण्ड खै ? देश फुटाउँछु भन्दै हिंड्ने र देशलाई एकतावद्ध गर्न खोज्ने दुबैलाई एउटै माला ? के जनताले यहि अवस्थामा पु¥याउन चुनेका हुन् ? 

० कुन पार्टीसँग हो तपाईंको ज्यादा गुनासो ? 
कुन पार्टीको नाम लिउँ ? नेता कुन पार्टी भन्ने छैन । जुन पार्टीले गरे पनि जसले राम्रो गर्छ राम्रो भन्छु जसले खराव गर्छ खराव भन्छु । आज चाइनामा हेर्नुस्, त्यो पनि त कम्युनिस्ट देश हो । ल हेर्नुस् त चाइना कहाँबाट कहाँ पुग्यो ? उसले जुन किसिमको सिस्टम डेभलप ग¥यो त्यस्ले उसलाई विश्वमै एउटा सशक्त राष्ट्रको रूपमा उभ्याएको छ । यसरी चीन सवल भएर आएको धेरै भएको छैन । यो बेला राजा पृथ्बीनारायण शाह र महेन्द्र भइदिएको भए चीनसँग भारतसँग जस्तै सम्बन्ध राख्नुहुन्थ्यो होला । अहिले चीन विश्वसँग विकासको सहकार्यमा जोडिन आउँदा पनि यी नेताले यसलाई असफल पार्न खोज्नुले यी देशका लागि होइन आफ्नो स्वार्थ पूरा गर्न मात्रै लाग्या छन् भन्ने देखाउँछ । 

प्रजातन्त्र, लोकतन्त्र बोलीमा मात्र भएर हुन्छ कि ब्यवहारमा चाहिन्छ ? आफ्नो बिगतलाई लत्याइएको छ । म त भन्छु यहाँ गणतन्त्र, प्रजातन्त्र केही होइन मनपरीतन्त्र छ । देशको चिन्ता गर्ने नेता त म एकदमै कम देख्छु ।

० विगतलाई लत्याइयो भनेको चाहीँ के हो त ? 
टुक्रा टुक्राको अवस्थामा रहेका राज्यहरूलाई एकीकरण गर्ने र एउटा सिंगो राष्ट्रका रूपमा उभ्याउने पृथ्वीनारायण शाह होइनन् ? उनलाई जति घृणा ग¥यो त्यति क्रान्तिकारी हुने, यो आधुनिक युगमा जात जातका कुरा गरेर जति बिभाजन ग¥यो त्यति अग्रगामी हुने, क्रान्ति र अग्रगमन भन्ने कुरा जीवनको स्तरबाट नाप्ने होइन ? हिजो पृथ्वीनारायाण शाहको समय र आजको समय फरक छ तर, के त्यसबेला नेपाल एकीकरण गर्नुलाई सामन्ती भन्ने कि हाम्रो गौरवशाली विरासतका रूपमा लिएर अब सबै नेपालीको कसरी प्रगति विकास हुन्छ भनेर त्यो बाटोतिर लाग्ने ? जातजाति उचाल्यो, विदेशीका स्वार्थ पूरा ग¥यो, त्यसबाट झिनो लाभ लियो देश बर्बाद पा¥यो । अहिलेका क्रान्तिकारी भनिनेहरूले गरेको यत्ति होइन ? 

० देशमा बसोवास गर्ने विभिन्न जातिहरूले पिछडिएर बस्नुप¥यो भन्ने कुरा पनि त होला नि, होइन र ? 
हिमालदेखि तराईसम्म बस्ने सबै जातिका हामी नेपाली हौं । तर, हामीले पहिले त हामीलाई नेपाली भन्नुप¥यो नि । तर, तिनीहरूलाई जातिहरूबीचको भिन्नताका कुरा लगाएर उचाल्ने ? हिजो सबै जातिको सहयोग थिएन भने राज्य एकीकरण नै हुन सक्दैनथ्यो । पृथ्वीनारायण शाहसँग सबैलाई एकै ठाँउमा राख्नसक्ने कौशल थियो । सबै एकैठाउँ रहनु, देशलाई सबैको साझा फूलबारी बनाउनु लगत थियो भनेर उचाल्न पाइन्छ ? आज नेपाली हौं भनेर गर्व गर्ने उनैले बनाएका होइनन् ? अहिले आफ्नो देशमा चाहिँ विदेशीले के चाहन्छ त्यही अनुसार गर्दै गएर भड्खालामा हाल्ने अनि म देशको नेता हुँ भन्ने ? जनताले नेता मानिदिनु पर्दैन ? हिजो जे भुल गरे पनि अब गलत भयो भनेर सच्चिनसक्ने ठाँउ छ । अझै पनि पृथ्वीनारायण शाहको उपदेश लिएर अघि बढ्नसके देशले निकास पाउँछ । तर सबैलाई एउटा सुत्रमा बाँधेर र जान नमान्नेलाई कठालोमा समातेर ल्याउनसक्ने नेता चाहिन्छ । त्यसो नभए देश बँच्दैन । यसरी गयो भने भारतको थिचोमिचो झन् बढेर जान्छ । अलिकति पछाडि र अलिकति अगाडि पनि देख्न नसक्ने नेता पनि नेता हुन्छ ? पृथ्वीनारायण शाह जस्तो एकतामा उन्ने नेता चाहेको छ देशले । 

० विदेशी हस्तक्षेप अहिले मात्रै त होइन नि, पहिले पनि हुन्थ्यो होइन र ? 
पहिले भारत अहिले जस्तो सिधासिधी आउन सक्दैनथ्यो । म प्रधानमन्त्री हुँदा चिनियाँ सिमानामा रहेका भारतीय चेकपोष्ट मिलिटरी मिसन हटाउँदा भारतीय प्रम इन्दिरा गान्धी थिइन् । मैले तिनलाई हटाउन पत्र पठाएँ । उनीहरूले केही नभनी हटाए । त्यसको सट्टामा केही चाहान्थे भने पनि मसँग केही राख्न सकेनन् । किनकि मलाई यो देशको बिरूद्धमा जादैन भन्ने उनीहरूलाई थाहा थियो । उनीहरू कसलाई आफ्नो हित अनुकुल प्रयोग गर्न सकिन्छ भनेर भित्रभित्रै जालो बुन्थे । तर आज त भारत खुलेआम नेपालको मामिलामा हस्तक्षेप गर्न आइरहेको छ । विश्व कहाँ पुगेको छ, मित्रवत ब्यावहार गर्नुपर्ने सट्टा नेपालमा नाकाबन्दी लगायो । भूकम्पले हामीलाई थिचिरहेको बेला पनि नाकाबन्दी गर्नसक्ने कति नांगो हात हाल्यो ? नेता पनि त्यसको खुलेर बिरोध गर्न नसक्ने, कस्तो भयो हाम्रो देश ? ल हेर्नुस् त ! देशलाई दुख्दा नाकाबन्दी पनि भन्न नसक्ने ठूलो पार्टी रे हाम्रो । त्यस्तो पार्टी नेपालीको पार्टी हो ? त्यो नाकाबन्दीलाई त म दुब्र्यवहार भन्छु । भारत यसरी हस्तक्षेपकारी भएर आउनुमा यहाँका नेताको स्वार्थले धेरै काम गरेको छ । 

० अहिले त नाकाबन्दी छैन नि, सधैं हस्तक्षेप भन्न मिल्ला र ? 
मौका परे लगाइहाल्छन् । त्यसैले अप्ठ्यारोमा अरूतिर सम्पर्क राख्न नदिने र अघि बढ्न खोजे नाकाबन्दी लगाइहाल्ने भारतीयहरूको ब्यवहार हो । पछिल्लो समयमा त नेपाललाई भारतमै गाभ्ने प्लानको साथ उनीहरू अघि आएका छन् । यहाँ स्वाभीमान नभएका र आफ्नै ढाड नभएका नेताहरूलाई उनीहरूले उपयोग गरेका छन् । म प्रधानमन्त्री हुँदा बल्लभ भाई पटेल थिए भारतको नेतृत्वमा । पछि इन्दिरा गान्धी आइन् । तर त्यो बेला उनीहरू यसरी आउन सक्दैनथे । भारतै हेर्नुस न, कतिवटा थिए पहिला । पछि आएर एउटा सिंगो भारत बनेको हो । आजभन्दा पैतालिस बर्ष अघि सिक्किम पनि लियो । भारत नेपाललाई सिक्किम नै बनाउन चाहान्थ्यो । तर नेपालमा त्यसरी सिधासिधी गाडिन सक्दैनथ्यो । अहिले त्यो प्रयास गरेको छ नेपाललाई भारतले निल्नै खोजेको भान हुन्छ । 

० हाम्रो निर्भरताले पनि यस्तो भएको हो कि ? 
साँच्चै भन्ने हो भने नेपाल त तेलसेलमा भारतसँग निर्भर होला । त्यो तेल पनि भारतको होइन । हाम्रो निर्भरता भनेको समुद्रसम्म पुग्ने भारतको बाटो मात्रै हो । यो बुझ्नुस् भारत हामीलाई अर्काे छिमेकी देशसँग बाटो बनाएर जोडिएको हेर्न चाहंदैन । तर भारत त नेपालको पानीमै निर्भर छ । जुन हामीले नदिने हो भने उ प्याक प्याक भएर मर्छ । भारतलाई हराभरा बनाउने यहाँका नदिनाला होइनन् ? त्यसैले मैले भन्ने गरेको छु नेपाल भारतसँग हैन भारत नेपालसँग धेरै कुरामा निर्भर छ । भारतले नेपाललाई रिझाएर दुबैलाई राम्रो हुने गरी पानी उपयोग गर्ने कि नेपाललाई चिढ्याउने थिचोमिचो गर्ने र सधैं चंगुलमा राख्न खोज्ने ? नेपाललाई मात्र हैन, भारतलाई पनि नेपाल चाहिएको छ । तर यहाँ त नेताहरू यसरी भारत पस्छन् कि मानौ हामी मात्र भारतको आडमा बाँचेका छौं । साँच्चै भन्दा नेपालको अवस्थाको राम्रो विश्लेषण गर्नसक्ने नेतासम्म भएनन् नेपालमा । तर जनता चाहिँ एक जना रहुन्जेल सम्म पनि लड्ने खालका छन् । 

० भारतको यस्तो हस्तक्षेप हुँदा पनि चीनसँग हिजैदेखि किन भारतसँग जस्तै सम्बन्ध नभएको ? 
पहिलो त हामी धेरैतिरबाट भारतले छेकिएका छौं । दोस्रो भारततिर समथर जमिन भएकोले र बसोबास बाक्लो हुनु आदि कारणले भारतसँग नजिक हुनु स्वाभाबिक थियो । तर पछिल्लो समयमा चीनतिर नेपाललाई जान नदिने स्वार्थमा नेपालका नेता भन्नेले काम गरे । यसैले चीनसँगको सम्बन्ध बढ्न नसकेको हो । 

० तपाईंले भनेजस्तो अव देशलाई डो¥याउने कोही देख्नुहुन्छ कि, कोही पनि नेता छैनन् ?  
नेता भए पनि नेपालको हितमा चल्ने नेतालाई यहाँ गर्न दिंदैनन् । भारतले चलाएका नेताहरूले छिर्के हानिहाल्छन् । पछिल्लो समयमा केपी ओलीले जे गरे नि ! त्यो देशका लागि अति नै दीर्घकालीन हितसँग जोडिएको काम गरे । उनले भारतले नाकाबन्दी लगाएर देशलाई कज्याउन लागेका बेला चीनतिर बाटो खोल्ने जे काम गरे, त्यसले देशलाई सयौं गुणा अघि लगाए । चाइनाको लागि पनि नेपाल स्टाटेजिकल्ली महत्वपूर्ण छ भन्ने कुरा  केपी ओलीले देख्न सके । यसले लामो समयको अन्तरालमा ओली दूरदर्शी चिन्तन भएको नेता भन्ने प्रष्ट गर्छ । अब भारतले जति नै प्रयास गरे पनि नेपालको नक्सा बदल्न सक्दैन । यो कुरामा ढुक्क भैयो । यो श्रेय सबै ओलीलाई जान्छ । 

० चीनले चाहिं नेपालमाथि हस्तक्षेप गर्दैन ? 
चीनको त्यो चरित्र नै होइन । उसले आफूसँग जो सहकार्यमा छ उसको विकास उन्नती र स्थिरता होस् भन्ने चाहन्छ । किनभने उसलाई त छिमेकी देश स्थिर भयो भने फाइदा छ । महाशक्ति बन्दै गरेको देश आफ्नो छिमेकीमा अरूले अस्थिरता मच्चायो भने त्यसको प्रभाव आफ्नोमा पर्छ भन्ने चीनले बुझेको छ । चीनले एउटा भुल गरेको छ, नेपालको लिपुलेललाई केन्द्र बनाएर भारतसँग ब्यापार गर्ने भन्ने जुन निर्णय गरेको छ त्यो घोर निन्दनीय छ । 

हाम्रा नेता गतिला नभएर हामी भूराजनीतिको चपेटामा परेका हौं । तर, आज दशकौंपछि नेपाललाई नेतृत्व दिनसक्ने नेता केपी ओली निस्किए । मलाई यो चाहीँ खुसी लागेको छ, अहिले उनी मात्र छन् भरपर्न सकिने । पृथ्वीनारायण शाह थिए, त्यसपछि महेन्द्रले देशको लागि आफ्नो सत्ता नभनी लागे र अहिले केपी ओली शताब्दीयौंपछि आएका छन्, जसले झर्दै गरेको देशलाई बचाए ।

जव अन्यायले समाजलाई गाँज्छ तव यस्ता नेता निस्कन्छन् भन्ने महाभारतमा पढेको थिएँ । के भन्छ नि– ‘यदा यदा हि धर्मस्य, ग्लानिर्भवति भारत, अभ्युत्थानम अधर्मस्य तदात्मानं सृजाम्यहम् । परित्राणाय साधुनां, विनाशाय च दुश्कृताम् । धर्म संस्थापनार्थाय सम्भवनामी युगे युगे ।’  यस्तो पढेका थियौ अहिले त्यही पात्रको रूपमा ओली हाम्रा सामु आइपुगेका छन् कि जस्तो लाग्छ । हिजो जे भुल गरेको भए पनि अहिले ओली नेपाली जनताको आशाको केन्द्र भएर आएका छन् । 

० तर, ओलीको अडानलाई लिएर त्यसलाई अतिवादको रूपमा ब्याख्या गर्ने पनि छन् नि ? 
जसले बिखण्डन चाहन्छ, त्यसका लागि ओली दुश्मनै होलान्, म मान्छु । तर, देशको स्वाधीनता र सार्वभौमिकतामाथि यस्तो बादल लागेका बेला यति खुट्टा टेकेर उभिन सक्नेलाई अतिवादी देख्छ भने उसले आँखा खोलेको छैन । राष्ट्र बचाउनुपर्छ, राष्ट्रको अखण्डता कायम गर्नुपर्छ भन्ने कुरा अतिवाद लाग्ने मान्छेले नेपाली भएर बोलेको छैन, त्यसलाई अर्कैले सिकाएको कुरा बोलेको छ । ओलीले जुन किसिमको अडान लिएका छन्, त्यो कुरा अंध्यारोमा लपेटिएको हाम्रो देशमा एउटा लाइट हो । तर त्यो सधै कायम भैरहोस् । 

० तपाईं त ज्यादै प्रभावित हुनुहुँदो रैछ ओलीसँग, पुरानो चिनजान हो र ? 
केपी ओलीसँग मेरो आमनेसामने भेट कहिल्यै भएको थिएन । अस्ती म विरामी परेको सुनेर भेट्न आएका रैछन्, त्यही हो मेरो पहिलो भेट । उनी पनि बिमारी छन् भन्ने सुनेको थिएँ । अहिले त ठीकै रैछन् । कति बाँच्ने हुन्, उनी लामै बाँचुन् । अलि लामो कालसम्म बाँचुन् । देशको लागि उनले उठाएका मुद्दा पूरा गराउन्जेलसम्म बाँचुन् नेपाली जनता त्यहि चाहिरहेका छन् । 

(चक्रपथ अनलाइनबाट)


Rating (Votes: )   
Share     Print


Other Articles:
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)



 
::| Latest News

 
[Page Top]