युगसम्बाद साप्ताहिक

चिनीया प्रधानमन्त्रीको भ्रमण स्थगित हुनुमा भित्री मात्र होइन बाहिरी कारण पनि छ : डा. जयराज आचार्
Tuesday, 12.20.2011, 10:37am (GMT5.5)

० चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित भएपछि जुन किमिसका चर्चा–परिचर्चा भैरहेका छन् यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?
सन् २००१ मा तत्कालीन चिनीया प्रधानमन्त्री झु रोङजीले नेपाल भ्रमण गरेयता कुनै पनि चिनीया प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन् । यस्तोमा चिनीया प्रधानमन्त्रीको भ्रमण स्थगित भएको खबर आउनु व्यापक चर्चाको विषय हो नै । झण्डै १० वर्षपछि चिनीया प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न लागेको कुरा निकै महत्वपूर्ण थियो । विश्वको एउटा शक्तिशाली राष्ट्र, जो हाम्रो छिमेकी राष्ट्र पनि हो, त्यो कारणले पनि यो भ्रमणको ठूलो महत्व थियो ।
तर मलाई सुरुदेखि नै अलि आशंका र डर पनि लागिरहेको थियो । यत्रो ठूलो महत्वको भ्रमणलाई नेपाली पक्षले पर्याप्त गृहकार्य गरेर सार्थक र सफल बनाउने प्रयास गरेको छ कि छैन भनेर । ठूलठूला महत्वाकांक्षी सहयोगका चर्चा गरियो, रेलमार्ग, जलविद्युत आयोजना, उत्तरी नाकामा चारवटा सुख्खा बन्दरगाह बनाउने, चारअर्ब अमेरिकी डलरको ऋण सहायता माग्ने कुराहरू गरियो । हो चीनको प्रधानमन्त्री जस्तो ठूलो व्यक्ति नेपाल आउँदा धेरै किसिमका सहयोग कार्यक्रमका चर्चा हुनु स्वाभाविक थियो । यसैसंग सम्बन्धित अर्को खबर के पनि आयो भने मधेशी मोर्चाका केही मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर मंसिरको अन्त्यसम्ममा सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौं भन्ने कुरा पनि गरे । त्यसले दिने संकेत भनेको सरकार ढल्नसक्छ । यस्तो अवस्थामा चीन जस्तो शक्तिशाली मुलुकका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नु त चीनकै लागि पनि अपमानजनक हुन्छ ।

० द्विपक्षीय सहयोगको कुरा गर्दा चिनीया पक्षलाई जानकारी नै नदिइ नेपाली पक्षले एकोहोरो चर्चा र प्रचारमा ल्याएको कुरा पनि आएका छन् । यसले चीनको अपमान गरेको र भ्रमण स्थगित हुनुमा यो पनि एउटा कारण हो भनिन्छ नि ?
यो एकदम महत्वपूर्ण प्रश्न हो । भ्रमणका क्रममा हुने द्विपक्षीय सहयोग र सहायताका कुराहरूलाई लिएर संचार माध्यममा मनगणन्ते ढङ्गले हौवा फिजाउनु, ठूला दलहरूले छिटै राष्ट्रिय सहमतिको सरकार बन्ने अडान लिनु र दुवै तर्फबाट भ्रमण मिति तय नहुँदै नेपालले कूटनीतिक मर्यादा विपरीत एकोहोरो प्रचार प्रसार गरेको भनेर चिनीया राजदूतले परराष्ट्र मन्त्रीलाई भेटेर बताउनुभएको भन्ने कुरा पनि संचार माध्यममा आए ।

० चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित हुनुलाई सरकारको कूटनीतिक विफलताको रुपमा मात्र नलिएर यसले कूटनीतिक क्षेत्रमा दीर्घकालीन असर पु¥याउँछ पनि भन्न थालिएको छ । यहाँलाई के लाग्छ
?

यस्तो विश्लषणमा सत्यता छ । यस्तो प्रश्नको नेपालको परराष्ट्र नीतिको सैद्धान्तिक पक्षसंग निहीत छ । नेपालले आफ्ना दुई ठूला छिमेकी चीन र भारतको बीचमा कसरी सन्तुलन कायम गर्न सक्छ, सन्तुलनको बिन्दु कहाँनेर छ र त्यो बिन्दुबाट निस्कदाखेरी नेपालको परराष्ट्र नीति, खास गरी छिमेकीसंगको सम्बन्ध कसरी बिग्रन्छ भन्ने सैद्धान्तिक प्रश्न यहाँको परराष्ट्र नीति संचालकहरूको मनमा सधैं रहनुपर्छ । मलाई लाग्छ त्यो सन्तुलन विग्रिन खोजेको जस्तो देखिएको छ ।

० चिनीया प्रधानमन्त्रीको भ्रमण रोक्न अनेक चलखेल पनि भएका थिए भनिन्छ । यहाँले त्यस्तो महसुस गर्नुभएको छ
?

मैले अघि नै भनिसके कि यो परराष्ट्र नीतिसंग सम्बन्धित छ । चिनीया प्रधानमन्त्रीको भ्रमण स्थगित हुनुमा भित्री मात्र होइन बाहिरी कारण पनि छ । केही दिन पहिले एउटा गोष्ठीमा मैले भनेको पनि थिए कि “चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमणलाई भारतले कुन दृष्टिकोणले हेर्छ, त्यसमा विचार पु¥याउनुपर्छ” भनेर । नभन्दै त्यो विषयसंग पनि यो गासिन आयो । भारतका प्रधानमन्त्रीले पहिला नेपालको भ्रमण गरेर चीनका प्रधानमन्त्रीले गर्ने हो कि चीनका प्रधानमन्त्रीपछि भारतका प्रधानमन्त्रीको भ्रमण हुने हो भन्ने कुरा आम नेपाली जनतालाई महसुस भएको छ ।
योभन्दा अगाडि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर चीनको पहिलोपल्ट भ्रमण गरेर फर्कदा विमानस्थलमा भन्नुभयो “मेरो पहिलो राजनीतिक भ्रमण त भारतकै हुन्छ” भनेर । सायद उहाँलाई भारत र चीनसंगको सन्तुलन कतै विग्रिएको हो कि भन्ने महसुस भएर त्यसो भन्नुभएको होला । नभन्दै त्यसको केही समयपछि उहाँले राजीनामा दिनुभयो र राजीनामा वक्तव्यमा उहाँले यो कुरालाई उल्लेख पनि गर्नुभयो ।
डा. बाबुराम भट्टराईजीको सवालमा अहिलेसम्म कुरा मिलेकै थियो । पहिलो संयुक्त राष्ट्रसंघ जानुभयो, त्यहाँ भारतका प्रधानमन्त्री मनमोहन सिंहसंग भेट पनि भयो, त्यसपछि भारत जानुभयो, त्यसपछि सार्कको सम्मेलनमा भाग लिन जानुभयो, त्यहाँ पनि मनमोहन सिंहसंग भेट भयो । अहिलेसम्म मिलेकै थियो । चीनका प्रधानमन्त्रीको भ्रमण मिलाउने विषयमा गल्ती भएको जस्तो देखियो । आशा गरौं यो भ्रमण तारतम्य मिल्ला र चिनीया प्रधानमन्त्री वेन जियाबाओ नेपाल आउनुहोला । तर अहिले चाहिं अलिकति कूटनीतिक गडबडी भयो ।

० चिनीयाँ प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा नेपाल–भारतको सम्बन्ध चिसिनुपर्ने त्यस्तो कारण छ र ?
चिसिनुपर्ने कुनै कारण त छैन तर सन्तुलनको कुरा मुख्य हो । नेपाल–भारत, नेपाल–चीन र चीन–भारतबीचको सम्बन्ध अलग अलग कुरा हुन् । नेपालले आफ्नो दुईवटा छिमेकीसंगको सम्बन्धमा सन्तुलन गर्ने विषय व्यापारको आँकडाले इङ्गित गर्दछ । भारतसित झण्डै साढे तीन खर्बको व्यापार हुन्छ भने चीनसंग करिब ४० अर्बको व्यापार हुन्छ । त्यसले पनि कतापट्टिको सम्बन्ध मोटो र कतापट्टिको सम्बन्ध मसिनो भन्ने देखाउँछ । अहिले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा कुरा गर्नेहरूले नेपालको भारतसितको सम्बन्ध समदूरीको हो, समसामिप्यको भन्छन् । तर त्यो सम्बन्धलाई सन्तुलिन राख्न व्यापार लगायत अन्य कुराहरूमा पनि समानता कायम हुनुपर्छ । एउटा मोटो र अर्को मसिनो लठ्ठी दुई हातमा लिएर मेरो दुबै हातमा लठ्ठी छ भन्न त सकिन्छ तर दुवै हातको लठ्ठी समान छन् भन्न सकिन्न ।
यस्तो अवस्थामा नेपालले दुबै मुलुकसंग समदूरीको सम्बन्ध कायम गर्न पहल गर्न सक्नुपर्छ । आर्थिक–सामाजिक विकासमा पहल गरेर भारतमाथिको आर्थिक–व्यापारिक निर्भरता घटाएर चीन र भारतसंगको आर्थिक–व्यापारिक निर्भरता बराबर बनाइयो भने सन्तुलन कायम हुनसक्छ । त्यो पहल अहिले ग¥यौं भने पनि हामीलाई कम्तिमा ३०–४० वर्ष लाग्न सक्छ । आजदेखि हामीले हाम्रो आर्थिक वृद्धिदर चीन र भारतको जस्तै दुई अंकको दरले भयो र नेपाल पनि स्वीजरल्याण्ड जस्तै छिमेकीहरूमा निर्भर नहुने देश भयो भने समदूरीको सम्बन्ध कायम गर्न सम्भव छ र त्यो नेपालले गर्न नसक्ने भन्ने होइन ।

० चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण भारतीय दवाव खेप्न नसकेर स्थगित भएको हो भन्ने गरिन्छ । केसम्म चर्चामा आयो भने चिनीया प्रधानमन्त्रीको भ्रमण निश्चित भएको भए मधेशी मोर्चाले सरकारको साथ छाड्थ्यो र सरकार ढल्थ्यो । यस्ता चर्चा सत्यको नजिक पनि छ कि सतही टिप्पणी मात्र हो ?
सामान्य चर्चालाई लिएर विश्लेषण गर्न त सकिन्न तर तपाईंले उठाउनुभएका विषयमा आंशिक सत्यता हुनसक्छ । यस्तो चर्चाको आधार भनेको मैले माथि नै उल्लेख गरेअनुसारको सन्तुलनको अभाव हो । नेपाल र भारतको सम्बन्ध विग्रने अवस्था आयो भने जेसुकै होस् भनेर चिनीया नेताहरूले आँखा चिम्लनसक्ने अवस्था हुँदैन । किनभने चीन र भारतबीचको सम्बन्धलाई पनि त्यसले असर गर्छ । कतिपय विषयहरूमा चिनीयाहरूले सोध्ने पनि गरेका छन् । चीनले नेपालमा कुनै काम गरिदिंदा त्यसले “नेपालको भारतसितको सम्बन्ध विग्रने त हैन” भनेर सोध्ने गरेको दृष्टान्त थुप्रै छन् । पछिल्लो घटनालाई स्मरण गर्ने हो भने मलाई एकजना चिनीया उच्च अधिकारीले लुम्बिनीको विकासका लागि ३ अर्ब डलरको कुरा आउँदा त्यस्तो कुरा भन्नुभएको थियो । यो आयोजना सुरु गर्दा भारत त्यति सन्तुष्ट छैन जस्तो छ त्यसैले अहिले यसलाई थाती राख्नुपर्ला जस्तो छ भनेका थिए । चिनीयाहरू चीन–भारतको सम्बन्ध र नेपालको भारतसितको सम्बन्धमा पनि अत्यन्त सम्वेदनशील छन् ।

० यस्तै अवस्था हो भने त हामी जहिले पनि दुई शक्तिशाली राष्ट्रको बीचको सम्बन्धलाई हल्का रुपमा लिएर कूटनीतिक सन्तुलन मिलाउन नसक्ने अनि जहिले पनि डराइडराई बस्नुपर्ने स्थिति हुने भो हैन ?
नेपालको गृह नीतिभन्दा परराष्ट्र नीति यति गम्भीर छ कि परराष्ट्र नीतिमा चुक हुँदै गयो भने त्यसले नेपालको अस्तित्वलाई नै मेटाउन पनि सक्छ । यस्तो विषयलाई हल्का किसिमले उत्तेजित भएर लिन हुँदैन । वास्तवमा यो भ्रमणको विषयलाई नेपाली कूटनीतिक पक्षले चिनीया पक्षसंग निकटको सल्लाह गर्दै अगाडि बढ्नुपर्ने थियो । तर मिडियामा आइसक्यो कि चिनीयासंग सल्लाह नै नगरीकन यस्तो र उस्तो हुँदैछ भनेर प्रचारवाजी ग¥यो भनेर । यसलाई कूटनीतिक गम्भीरता नभएको भनेर बुझ्न सकिन्छ । चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अत्यन्त हल्का रुपमा लिएकै कारण भ्रमण स्थिगित भएको धेरैको विश्लेषण पनि छ ।

० भ्रमण स्थगित हुनुमा चीनको आन्तरिक कारण भएको चिनीया पक्षले बताए पनि नेपालको शान्ति सुरक्षालाई पनि प्रश्न उठाइएको छ । विशेष गरी फ्रि तिब्बत गतिविधिलाई लिएर चिनीया पक्ष आश्वस्त हुन नसकेको भनिन्छ । यहाँलाई यी बाहेक अरु के कारण छन् जस्तो लाग्छ ?
चीनको आन्तरिक कारणले नै यो भ्रमण स्थगित भएको वा सरेको हो भने त्यो नेपालका लागि धेरै राम्रो । किनभने भ्रमण स्थगित हुनुको दोषको भारी हामीले बोक्नु पर्दैन । तर त्यो आधार विश्वसनीय छैन । नेपाल सरकारको सर्वोच्च व्यक्ति (प्रधानमन्त्री)ले नै पुस ५ गतेबाट भ्रमण हुन्छ भनेर सार्वजनिक गरिसकेको अवस्थामा भ्रमणको एक हप्ताजति नजिक आएर चीनले भ्रमण नगर्ने भन्दाखेरी कतै त्यसको कारण नेपालको कमजोरी हो कि भन्ने आशंका त रहन्छ नै ।
जहाँसम्म सुरक्षाको कुरा छ– त्यो एकदमै महत्वपूर्ण छ । चीनका प्रधानमन्त्रीको भ्रमणको बेलामा कुनै किसिमको सुरक्षा कमजोरी देखियो, चीन विरोधी गतिविधि भएको राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामार्फत सार्वजनिक भयो भने त्यो अनर्थ हुन जान्छ । किनभने चिनीया प्रधानमन्त्री यहाँ आउँदा त्यो नेपालको मात्रै चासोको विषय हुँदैन । विश्वकै मिडियाको केन्द्रबिन्दुमा पर्न आउँछ । त्यतिखेर सानो घटना मात्र घट्न पुग्यो भने पनि त्यो चीनका लागि ठूलो नमज्जाको विषय हुन जान्छ । त्यस दिशातिर पनि चिनीया पक्ष होसियार रहनु स्वाभाविक देखिन्छ । यसमा आश्वस्त बनाउनसक्नु नेपालको क्षमता हुन्थ्यो भने आश्वस्त बनाउन नसक्नु हाम्रो कमजारी हो, तर त्यस्तो कमजोरी नेपालमा छैन भन्ने आशा गरौं ।

० यहाँले माथि पनि भन्नुभयो कि दुई देशबीचको सम्बन्ध समदूरीमा आधारित हुनुपर्छ भनेर । तर अहिले नेपाल भारततिर बढी नजिक देखिन्छ । के चीनसंग पनि भारतजत्तिकै नजिकको सम्बन्ध कायम गर्न सकिन्न ?
राख्न त दुवै छिमेकीलाई नजिक राख्नुपर्छ । नेपाल–चीन–भारतबीचको जुन त्रिदेशीय सम्बन्ध छ यसलाई कूटनीतिक भाषामा भन्ने हो भने रणनीतिक सम्बन्ध भनिन्छ । अरु मुलुकसित हाम्रो राजनीतिक सम्बन्ध हुनसक्छ तर चीन र भारतसित रणनीतिक सम्बन्ध छ । त्यसलाई हामीले सन्तुलित बनाएर राख्न सक्नुपर्छ । सन्तुलनको अर्थ समदूरी र समसामिप्य होइन । हामीले त्यो कुरा पनि बुझ्नुपर्छ । कहाँनेर सन्तुलन हुन्छ भनेर हिसाब किताब गर्नु नेपाली कूटनीतिका लागि सधैंको चुनौति बनिरहेको छ । किनभने त्यो सन्तुलन बिन्दु चलायमान छ । जसरी पारो सरिरहन्छ त्यस्तै भारत र चीनसंगको हाम्रो सम्बन्ध पनि सरिरहन्छ । त्यसलाई ठीक टाइममा ठीक हिसाब गर्नु चाहिं हाम्रो निम्ति चुनौतिपूर्ण छ ।

० सामान्यतः नेपालको राजनीति भारत केन्द्रीय वा भारत निर्देशित पनि छ । यहाँको सत्ता राजनीतिमा अलिकति फेरवदलको कुरा आयो कि नेताहरू दिल्ली दौडिहाल्छन् । पछिल्लो समय नेपालका राजनीतिक नेताहरूले चीनलाई पनि अफ्नो अनुकूलतामा प्रयोग गर्न खोजेका हुन् ?
नेपालले सधैं नै चीनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्दैआएको छ । जंगबहादुरको पालामै पनि भएको छ । वि.सं. १८५६ मा नेपाली फौज ल्हासासम्म लड्नै गयो । दक्षिणतिर अंग्रेजहरू एकदम बलियो भैसकेका थिए । त्यतिबेला चीन कमजोर थियो । नेपालको कूटनीतिको कुरा गर्दा राजा महेन्द्रले पनि कोदारी राजमार्ग खोल्दाखेरी करिब करिब त्यस्तै किसिमको रणनीति अपनाएको हो । त्यतिखेरको कूटनीतिक क्याल्कुलेशन ठीक भयो । कोदारी राजमार्गका बारेमा भारतीय लोकसभामा ठूलो विरोध हुँदाहुँदै पनि त्यो विवादलाई चिरेर, पछारेर एक प्रकारले नेपालले कोदारी राजमार्ग खोलेरै छोड्यो । राजा महेन्द्र सफल भए । अन्त्यमा जवाहरलाल नेहरूले “यो नेपाल र चीनको सम्बन्धको कुरा हो, यसका बढी विवाद नगरौं” भनेर छोडिदिए । त्यसपछि वीरेन्द्र–ज्ञानेन्द्रको समय हुँदै हालका दिनसम्म आइपुग्दा त्यसरी सन्तुलन मिलाउन सकेको देखिएन । चीन र भारतसंगको सम्बन्धको सन्तुलन बिन्दु मिलाउने प्रयास नभएको होइन तर नसकिएको मात्र हो ।

० अन्त्यमा, चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित भएपछि नेपालको अन्तर्राष्ट्रिय छबिमै नराम्रो दाग लागेको विश्लेषण हुन थालेको छ । के त्यस्तै अवस्थाको सिर्जना भएको हो ?
अहिले नै त्यति धेरै आत्तिहाल्नु हुँदैन । चिनीया प्रधानमन्त्रीको भ्रमण रद्द भएको नभएर मिति सरेको हो भन्ने जानकारी चिनीया राजदूतले नै दिइसक्नु भएको छ । एउटा कुरा चाहिं निश्चित छ– चीनको ठूलो आर्थिक वृद्धिसंगै त्यसको राजनीतिक र अन्तर्राष्ट्रिय कूटनीतिक छविमा पनि वृद्धि भएको छ । तदनुकूल चीनको छिमेकी मुलुकहरूको सम्बन्धमा विगतकोभन्दा तुलनामा भूमिका बढ्छ बढ्छ । एउटा कुरा नेपालले मात्र होइन, विश्वले नै बुझ्नुपर्छ कि चिनीया शक्ति र प्रभाव विश्वव्यापी रुपमा बढ्छ र तदनुरुप चीनले भूमिका खेल्छ । अब हाम्रो चुनौति भनेको चीनको त्यो भूमिकालाई कसरी सम्बोधन गर्न सक्छौं भन्ने हो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com