युगसम्बाद साप्ताहिक

असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द
Thursday, 01.12.2017, 01:33pm (GMT5.5)

० पछिल्लो समय गृहमन्त्री विमलेन्द्र निधीले तपाईंलाई सीके राउतको प्रवृत्तिसँग दाँज्दै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबी गरेका छन् । उनको दाबी सत्यको नजिक छ ?
यो सब माओवादी आन्दोलनको प्रवाहलाई रोक्न विस्तारवादी तथा साम्राज्यवादी तत्वका गोटीहरूको डिजाइनमा चलाइएको दूषित हावा हो । नेपाली जनताले यो कुरालाई राम्रो गरी बुझनुपर्छ । अर्को कुरा नेपालमा राजासाजा कोही छैन । नेपालमा गणतन्त्र छ र ज्ञानेन्द्र एउटा नागरिकका रुपमा बसिरहेका छन् । दलालहरू आफ्नो असफलता र प्रतिक्रान्ति ज्ञानेन्द्रको टाउकोमा हालेर नेपालमा फासिवादी सत्ता टिकाउन सक्छौँ भनेर सोचिरहेका छन् । राजतन्त्रको त तपाईं कुरै नगर्नुस्, यहाँ भएको के हो भने संसदीय व्यवस्था अन्त्यको जसरी कुरा चलिरहेको छ, त्यसबाट बच्न अर्को हल्ला चलाइएको हो । तर, हामी भन्न चाहन्छौँ उनीहरूको सपना पूरा हुँदैन ।

० पूर्वराजाले विज्ञप्ति निकालेपछि मन्त्रिपरिषदमा छलफल भयो, बाबुरामजीले तिखो टिप्पणी गर्नुभयो । तपाईंलाई के लाग्छ पूर्वराजाले विज्ञप्ति निकालेर के सन्देश दिन खोजेका थिए ?
त्यो त जसले पनि गर्छन् नि । राजनीतिक प्रतिस्पर्धा गर्ने भनेपछि यो हुँदैन त ? सम्पूर्ण रुपले को असफल भएको छ ? नेपाली कांग्रेसले जीवनभर सत्ताको नेतृत्व गर्ने मौका पायो सफल भयो ? पछिल्लो समय एमाले, बाबुराम र प्रचण्डजीले भारतलाई खुसी पार्न राष्ट्रघाती काम गरे । देश बेचेर खानेबाहेक यो लिडरसिपले के ग¥यो र ? अनि त्यसको दोष अर्कोलाई दिन मिल्छ ? आफूले राष्ट्रघाती काम गर्ने अनि त्यसको दोष उही एकपटक चलेको थियो नि क्लिन्टन–लेबेन्स्की काण्डलाई पन्छ्याउन इराकमा हमला ग¥यो भन्ने चर्चा चलाए जसरी गर्न मिल्छ । यो भनेको आफ्नो असफलतालाई ढाकछोप गर्ने कुरा हो । लोकमानलाई अख्तियार प्रमुख बनाउने को हो ? के इन्टे«स्ट मिलेन अनि एकाएक निद्राबाट बिउझिएझै लोकमान विरुद्ध खनिने । यो प्रवृत्ति हद ‘अपरचुनिस्ट’ प्रवृत्ति हो । यसले जनतालाई जति बेला पनि दुःख दिन सक्छ भन्ने कुरा बुझनु पर्छ ।

० तपाईं गणतन्त्रका लागि संघर्ष गरेको पार्टीको नेता ज्ञानेन्द्र सक्रिय भएमा त्यसले गणतन्त्रलाई च्यालेन्ज गर्दैन ?
त्यो कुरै नगर्नुस् न । त्यसको चिन्ता किन गर्नुहुन्छ ? सिद्धिसकेको अध्यायमा किन चिन्ता गर्ने ? अहिले तत्काल लिइएका राजनीतिक स्टेप त असफल भइरहेका छन् । यसले जनतालाई यति दुःख दिइरहेको छ । देशलाई बेचेर खाँदै ध्वस्त बनाउँदै छन्, त्यतापट्टि ध्यान नदिने ? सिद्धिसकेको अध्यायमा को–कहाँ रुन्छ, कराउँछ त्यो हिस्ट्री सिद्धिसक्यो । हामीले सामाना गर्नुपर्ने टड्कारो प्रश्न के हो भने नेपालको दलाल पूँजीवादी सत्तालाई कसरी सिध्याइदिने र यसको ठाउँमा वैज्ञानिक समाजवाद कसरी स्थापना गर्ने ? यो बहस पो गर्नुप¥यो । कहाँ अहिले सिद्धिएको कुरा गर्नुहुन्छ तपाईं । अब हिटरल र मुसोलिनी र च्याइकाई सेकको कुरा गरेर हुन्छ ? अहिले सम्पूर्ण रुपले जनतालाई दुःख दिने दलाल संसदीय व्यवस्थालाई कसरी फाल्ने भन्ने बहस छ यहाँ । आज हामी जुन बहसमा छौँ त्यतापट्टि पो आउनुपर्छ त ।

० त्यसो भए देश नयाँ राजनीतिक शक्ति सन्तुलनमा प्रवेश ग¥यो भन्न खोज्नुभएको ?
निश्चित रुपमा त्यहाँ जानै पर्छ । आजको लडाइँ भनेको नौलो जनवाद र वैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था भन्ने महत्वपूर्ण विषय हो । अहिले अर्को कुरामा जबरजस्ती प्रवेश गर्नुपर्ने जरुरी छैन ।

० पछिल्लो समय संविधान संशोधनको कुराले धु्रवीकरण निम्त्याएको छ । यो धु्रवीकरण सत्ता संघर्षको हानथाप हो अथवा त्यहाँभित्र अरु नै केही कुराले काम गरिरहेको छ ?
यो प्रष्ट देखिने कुरा छ । सत्ता सञ्चालनका विभिन्न पक्षहरूमा मुख्य लडाइँ सर्वहारा वर्ग र पूँजीपति वर्गका बीचमा छ । अथवा यसलाई दलाल र राष्ट्रिय स्वाधीनता चाहनेहरूको बीचको लडाइँ पनि भन्न सकिन्छ । हामीहरू नौलो जनवादसहित समाजवादतर्फ जाने हो भने पुँजीपतिहरू पुँजीवादी शासन व्यवस्थाको संसदीय व्यवस्थामा बस्नेबीचको मुख्य संघर्ष हो । पूँजीवादभित्रै बस्ने र संसदवादलाई मान्नेहरू बीच पनि शक्ति संघर्ष भइरहेको हुन्छ ।

तपाईंले भनेको कुरालाई सत्ताको चरित्र परिवर्तन गर्ने संघर्षसँग सम्बन्धित होइन कि पूँजीवाद र संसदीय व्यवस्थाभित्र कसले बढी सुविधा भोग गर्ने र कसलाई सत्ताको भ¥याङ बनाउने भन्ने बहस हो । त्यहाँ यस्ता खेल चलिरहन्छन् । उता ब्रिटेनले इयूबाट बाहिरिने निर्णय ग¥यो । क्यामरुन हारे । यता भारतमा कांग्रेस र भाजपाबीचमा कत्रो आरोप–प्रत्यारोप छ । भन्नुको अर्थ उनीहरूबीचमा यस्तो चलिरहन्छ । यी सबै कुरा भनेका तत्कालिक सत्ता भोग कसले गर्ने भन्नेमै उनीहरू अल्झिने गर्छन् । यसको राज्यसत्ताको चरित्र परिवर्तनसँग कुनै सरोकार छैन ।

० जनतालाई अधिकार सम्पन्न बनाउन लागू गरिएको संघीयतालगायत आजका तात्कालिक मुद्दाहरू मुख्य होइनन् ?
ती सबै सहायक विषय हुन् । मुख्य विषय भनेको जनयुद्धदेखि शान्ति प्रक्रियासम्मको म्यान्डेड नेपालमा संसदीय व्यवस्था हुने अथावा नहुने भन्ने हो । सबैले के कुरा हेक्का राख्नुपर्छ भने जनयुद्ध सुरु गरेको र जनताले विद्रोह गरेको संसदीय व्यवस्थाको विरुद्धमा हो ।

० त्यसो त माओवादीले पनि सम्झौता गरेको हो नि ?
युद्धमा हारेर होइन कि मनोविज्ञानमा हारेको हुनाले त सिद्धिगयो त । जनताले हारेका छैनौँ भन्दैछन् उनीहरू आफैले हारियो भनेर भागेपछि त के जवाफ दिने । जनताले त प्रचण्डजीलाई जिताएका हुन् नि । जित लड भनेर सबै कार्यकर्ताहरूले भनेकै हो नि । अहिले पनि भनिरहेका छन् । उहाँ आफै त्यो मोर्चा लिन तयार हुनुहुन्न । जबरजस्ती गर्ने कुरा आएन ।

० यहाँको पार्टीले अगाडि सारेको अहिलेको रानीतिक संकटको हल गर्ने सूत्र के हो ?
यसको एउटा मात्र सूत्र नेपालमा संसदीय व्यवस्थालाई छोडिदिने र नेपाली जनतालई नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादमा लाने । आजको विश्वले पनि त्यही भन्छ र नेपालको राज्यले सत्ताको चरित्रले पनि त्यही भन्छ ।

० संयोगले प्रचण्ड–बाबुराम केही दिनअघि एउटै मञ्चमा देखिए र पार्टी एकताबारे आफ्ना मतहरू राखे । के उनीहरूबीच एकताको सम्भावना छ ?
अहिले कस्तो भएको छ भने रोल्पाबाट एउटा महाकाली तीरैतीर हिँडको र अर्को चाहिँ ताप्लेजुङतर्फ हिँडेको जस्तो यात्रा छ । प्रचण्डजी र बाबुरामजीले भनेको ठाउँसम्म पुग्न एउटाले आफ्नो लक्ष्य र गन्तव्य छोड्नुपर्ने हुन्छ ।

० प्रचण्डले वर्तमान उपलब्धिलाई संस्थागत गर्न सबै माओवादी एक हुनुपर्छ भन्दै त्यसका लागि आफूले पहल गरिरहेको बताएका छन् । प्रचण्ड र तपाईंबीच कुराकानी भएको कति भयो ?
यो कुरा उहाँले मात्र होइन, मैले पनि भनिरहेको छु । नेपालका माओवादी क्रान्तिकारीहरू सबै एक ठाउँमा आउनुपर्छ र अधुरो क्रान्तिको सपनालाई पूरा गर्नुपर्छ । प्रचण्ड कमरेडलाई मैले पनि भनिरहेको छु, अहिले के नै उपलब्धि बाँकी रह्यो र ? सबै गुमिसकेको अवस्था हो । उहाँले अहिलेको उपलब्धिमा चिन्ता लिनु भनेको टाट पल्टेको सुकुम्बासीले निजी सम्पत्तिको चिन्ता गरेजस्तो हो । पहिले पहिले कांग्रेसहरूले गाउँमा कम्युनिस्टहरू शासनमा आएपछि निजी सम्पत्ति खाइदिन्छन् भनेपछि सम्पत्ति नभएका सुकुम्बासीले पनि चिन्ता गर्थे, त्यस्तै कुरा न हो ।

प्रचण्डजीले के संस्थागत गर्ने ? केही बाँकी छ र ? सबै त सिध्याइसक्नुभयो । उहाँ स्पष्ट भए हुन्छ सबै गुमिसक्यो । बाँकी रहेका कुरा कांग्रेसले संस्थागत गर्ने हो । उहाँले जति टाउकोले टेके पनि यो उहाँले संस्थागत गरेको ठहर्दैन । यो त कांग्रेसले संस्थागत गरेको हुन्छ । उहाँले साँच्चै केही संस्थागत गर्ने हो भने अगाडि जाऊँ । समीक्षा गरौँ । चुनुवाङबाट अगाडि जाउँ । चुनुवाङको दस्तावेजमा जे पास भएको छ । गणतन्त्र आएपछि एकथरी संसदतिर जान चाहनेछन् हामी नौलो जनवाद हुँदै समाजवादतर्फ जानेछौँ भन्ने जसरी उहाँ स्वयंले भन्नुभएको थियो जाऊँ । अर्काको घरभित्र बसेर स्वागत म गर्छु भन्दा कसैले मान्छ ?

० प्रचण्डले सोच्न तयार भए भने एकता हुने सम्भावना छ ? तपाईं उहाँलाई नेता मान्न तयार हुनुहुन्छ ?
यस्तो कुरा छोडदिनुस् । राजनीतिमा हामीले के ठान्नु हुँदैन भने कुनै दुईबीच रहेको दूरी कहिलै पूर्ति हुन सक्दैन भन्ने हुँदैन । त्यो दूरी नजिकै हुन्छ । जस्तो मान्नुस् तरबारको धारको दूरी जस्तै । हिड्न जान्नुभयो भने यात्रा सफल हुन्छ, जान्नुभएन भने त्यहीँ रेटिन्छ । अहिले माओवादीहरू जहाँ रहे पनि जनयुद्धका एजेन्डाहरूमा एक भएपछि हामीबीचको दूरी मेटिन्छ । आआफ्ना एजेन्डा भन्ने हो भने दूरी यसरी नै रहिरहन्छ ।

० मोहन वैद्य किरणसँग केही समयअघि भेट्दा बेलामौकामा विप्लवजीसँग कुरा हुन्छ भन्नुभएको थियो । तपाईं उहाँसँग अलग हुनुभएको पनि दुई वर्ष भयो, मुद्दामा छलफल हुन्छ कि ?
हामी आफ्नो दृष्टिकोणमा स्वतन्त्र छौँ र पहल पनि गरेका छौँ । हामीलाई पूरै आत्मविश्वास छ कि हामीले जे निष्कर्ष निकालेका छौँ नेपाललाई एकीकृत जनक्रान्तिबाटै परिवर्तन गर्न सकिन्छ । यो कुरा त्यसैसँग सम्बन्धित कुरा भयो । तत्कालीन राजनीतिक एजेन्डाहरूमा जस्तै राष्ट्रघात, महँगी, भ्रष्टाचार विरुद्धको संघर्षमा सबै कम्युनिस्टहरू मिलेर जानुपर्छ भनेर हामीले कुरा गर्यौँ । उहाँले पनि कुरा गर्नुभयो । त्यसपछि मोहनविक्रम सिंहसँग कुराकानी भयो र एउटा समझदारीसमेत बनेको छ । खासगरेर अप्पर कर्णाली, अरुण–३ र विराटनगरको भारतीय काउन्सिल अफिस खारेज गर्नुपर्छ भन्नेमा हामी संघर्षमा पनि जाँदैछौ ।

० तपाईंले मध्यमवर्गलाई हातमा लिएर क्रान्ति सम्पन्न गर्ने र बाबुरामजीले पनि मध्यमवर्गलाई लिएर समवृद्धि ल्याउने भन्नुको अर्थ दुवैको राजनीतिको मूल वर्ग मध्यमवर्ग नै देखिरहँदा तपाईंहरू बीचको दूरी मेटिन सक्ने सम्भावना राजनीतिमा बाँकी छ कि ?
प्रचण्डजी आत्मसमर्पणको ठाउँमा हुनुहुन्छ भने बाबुरामजी त्योभन्दा पनि पर विसर्जनवादको खाल्टोमा जाकिनुभएको छ । उहाँ आफैले बनाएको कम्युनिस्ट पार्टीलाई विघटन गरेर एउटा अर्को जात नखुलेको पार्टी भनिरहनुभएको छ । भित्र द्वन्द्वात्मक भौतिकवाद मान्छौँ भन्ने बाहिर नयाँ शक्ति भन्दै ढाँटिरहने गर्नुभएको छ । त्यो ठाउँमा पुगेको नेतासँग हाम्रो वैचारिक संघर्ष चलिरहेकै छ । त्यो प्रष्ट कुरा हो । जहाँसम्म तपाईंले भन्नुभएको मध्यमवर्गको कुरा छ ।

हामीले भनेको के हो भने पहिले जसलाई बुर्जुवा र अवसरवादी भनिन्थ्यो त्यो आजको न्यु लेवर फर्म (नयाँ श्रमशक्ति)ले गर्दा हामीले त्यसलाई चेन्ज गरेका छौँ । आजको शताब्दीको साम्राज्यवाद पुँजीवादी मात्र होइन कि त्यो पोस्ट इम्प्यारालिजममा रुपान्तरित भएको छ । साम्राज्यवादी उत्पादन र आर्थिक सम्बन्धले विकास गरेको श्रमिक वर्ग हिजोको जस्तो विशुद्ध मजदुर छैन । मजदुर नै पनि अहिले उच्च शिक्षित मजदुर छ । हो त्यो वर्ग जनताको विरोधी वर्ग होइन कि त्यो जनताको मित्रशक्ति, परिवर्तनको नेतृत्व गर्न सक्ने शक्ति हो भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले त्यो मध्यमवर्गलाई लिएर क्रान्तिमा होमिनुपर्छ भन्ने हाम्रो कुरा हो । त्यसमा राम्रो परिणाम देखापरिरहेको छ ।

० बाबुरामजीको पार्टीको संसदीय राजनीतिमा स्पेस अथवा सम्भावना कति देख्नुभएको छ ?
संसदीय राजनीतिको कोणबाट मेरो विश्लेषण मनोगत भएन भने नेपालको संसदीय राजनीतिमा प्रचण्डको भन्दा बाबुरामको राजनीतिक भविष्य राम्रो छ । किनभने बाबुरामजीले एउटा मूल्य चुकाएर त्यहाँ जानुभएको छ । १० हजार जनताको बलिदान, माओवादी आन्दोलनको मूल्य चुकाएर त्यहाँ जानुभएको छ । त्यसअर्थ त्यहाँभित्र केही न केही दृष्टिकोण छ । भोलि प्रष्ट हुँदै जाला । हामीलाई के लाग्छ भने संसदीय राजनीतिमा उहाँले जसरी सोचिरहनुभएको छ त्यसका पछाडि उहाँ मात्र होइन उहाँसँग एउटा प्रवृत्ति पनि छ । त्यो प्रवृत्तिले काम गरेको छ । प्रचण्डजीले त दुईवटा डुङ्गामा खुट्टा राख्नुभएको छ । उहाँको यात्रा निकै धरापमा परेको देख्छु । माओवादी छोड्न पनि मन लागेको छैन तर माओवादीमा पनि हुनुहुन्न । उहाँ निकै अप्ठेरोमा हुनुहुन्छ ।

० प्रचण्ड अन्तिममा कहाँ पुग्ने देख्नु हुन्छ ?
अहिले नै त्यो भन्न सकिँदैन । प्रचण्डजीको जीवन कथाले पनि के भन्छ भने त्यो अहिले भन्न मिल्दैन । आशा गरौँ उहाँको खुट्टा देब्रेतर्फ मोडिएर क्रान्तिकै डुङ्गमा आउनेछ ।

० केही समय अघि भारतीय पत्रकार आनन्दस्वरुप वर्माले एउटा लेख लेखेर जनयुद्ध–२ को सम्भावना छ भन्नेतर्फ सबैलाई सचेत गराइदिए । उनी सत्यको नजिक छन् अथवा मनोगत के लाग्छ ?

आनन्दस्वरुप वर्माले हाम्रो बारेमा आफूलाई लागेको लेख्दा नेपालमा त्यसले उखरमाउलो ल्यायो भन्नुस् । एकथरी मान्छे त पागल जसरी सडकमा कराउँदै पनि हिँडे । किन वर्माले विप्लवलाई यति हाइलाईट गरे भनेर कराउँदै हिँडे पनि पनि भने । मूल कुरा के हो भने वर्माजीले गरेको विश्लेषण विल्कुल सटिक छ । नेपालमा क्रान्तिको विकल्प छैन । तर उहाँले भनेकै जस्तो हुन्छ कि हुँदैन त्यो सबै कुरा उहाँलाई थाहा हुने कुरा भएन । नेपालमा क्रान्तिको विकल्प छैन, भन्दै जसरी उहाँले यो पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्छ भन्ने विश्लेषण गर्नुभएको छ, त्यो हाम्रो निम्ति सुखद् कुरा हो । हामीले त्यही भनेरै पार्टी गठन गरेका हौँ ।

० नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकृत क्रान्तिको सिद्धान्त जसरी अगाडि सार्नुभयो, यसको मोडालिटीबारे केही व्याख्या गरी दिनुस् न ?
लेनिनले पूँजीवादविरुद्धमा गर्नुभएको क्रान्ति सही थियो । माओले सामन्तवाद र अर्धउपनिवेशवादको विरुद्धमा लिनुभएको कार्यनीति सही थियो । तर ती आजको समयमा निकै पुराना भइसके । त्यसका दुईटा पाटा छन् । पहिलो नेपाली जनता र विश्वका श्रमिक जनतालाई काम लाग्ने भाग हामीले लिनुपर्नेहुन्छ । तर संघर्ष गर्ने तरिका, त्यसका कार्यक्रम र संघर्षमा होमिने आधारभूत वर्गलाई भने आजको राजनीतिक आर्थिक सम्बन्धले बदलिदिएको छ । त्यसमा हामीले के भन्यौँ भने लेनिनको विद्रोहको रणनीति र कार्य्दिशालाई अथवा माओत्सेतुङले अँगाल्नुभएको जनयुद्धको कार्य्दिशा र कार्यनीतिलाई हुबहु लागू गरेर नेपालमा क्रान्ति हुन्छ भन्नेमा शंका छ । नेपालमा त के देखिन्छ भने यी दुईमध्ये कुन अँगाल्ने भन्नेमा समेत विवाद छ ।

हामीले यसमा मसिनो छलफल गरेर के निष्कर्ष निकाल्यौँ भने विश्व क्रान्तिका सार्वभौमिक पक्षलाई ग्रहण गर्ने र आजको दिनमा विकास भएको मजदुरलाई आधार मानेर आगामी संघर्षको रुपरेखा तयार गर्ने । अब मजदुर अथवा किसानलाई मात्र समाएर लड्ने भन्ने हुँदैन । यो कुरा अबको समयमा मिल्दैन । अहिले त वर्ग नै नयाँ ठाउँमा आइपुगेको छ । नयाँँ श्रमिक वर्गको विकाससँगै त्यसलाई समाएर नयाँ कार्य्दिशाको विकास नगरेसम्म क्रान्ति हुँदैन । त्यसपछि विज्ञान र प्रविधिमा भएको चामत्कारिक विकासलाई छोडेर पनि क्रान्ति हुँदैन । विज्ञान र प्रविधि भनेको सत्ताको मात्र होइन कि जनताको पनि साधन हो ।

दीर्घकालीन जनयुद्धहरू र सहरी संघर्षहरू किन सफल हुन सकेनन् भनेर पनि हामीले मसिनो गरी हेरेका छौँ । ती सबै कुराको समीक्षा गर्दै हामीले के भनेका छौँ भने जनतालाई क्रान्तिको बोध गराउने पाटोमा क्रान्तिकारीहरू चुकेका छन् । क्रान्ति जनताका लागि हो । केही नेताहरूलाई लागेको भरमा उनको इच्छामा आउने कुरा होइन । त्यसैले हामीले समग्ररुपमा जनतालाई दीक्षित, अनुभूत, महसुस र बोध गराएर क्रान्ति सम्पन्न गर्ने हो भन्नुस । हामीले भनेका छौँ, हामीले त्यसो गर्न सक्नुपर्छ ।

० त्यो सशस्त्र निशस्त्र दुवै तहबाट हुन सक्छ ?
सबै सम्भावना हामीले खुला राख्नुपर्छ । सशस्त्र निशस्त्र भन्ने कुरा एउटा समय सापेक्षतामा बाँधिएका शब्दहरू हुन । मूल कुरा भनेको राज्यसत्ताले गर्ने आतंकको विरुद्धमा गरिने संघर्ष मूल कुरा हो । हामीले यो छलफल गर्नुभनेको पनि राज्यसँग संघर्षको स्वरुप हो ।

० तपाईंको पार्टीको मित्रशक्ति को हो ?
हामीले अहिले तीनवटा धु्रवीकरणमा जोड दिएका छौँ । पहिलो जनयुद्ध लडेर आएकाहरू एक हुनुपर्छ । ती कमरेडहरू जो जनयुद्धमा सहभागी हुनुभयो उहाँहरू फर्केर दुई चार पैसा कमाउने लोभमा फस्नुहुँदैन । दोस्रो यो देशका कम्युनिस्टहरूले बुझुनुपर्छ कि उनीहरूको भविष्य क्रान्तिबाहेक अन्यत्र छैन । सम्झौता र विदेशी शक्तिको आड लागेर केही सम्भव छैन । तेस्रो भनेको अहिले हाम्रो देश निकै खतरामा छ । देश खतरामा परेको बेलामा सबै राष्ट्रवादी र लोकतन्त्रवादी एकताबद्ध हुनुपर्छ । यो धु्रवीकरणले नेपाललाई परिवर्तनतर्फ लान सक्छ । त्यहीँभित्र हाम्रा मित्रशक्तिहरू पनि हुनुपर्छ । 

० तपाईंले पार्टी बनाएको दुई वर्ष भयो अनुभवका हिसाबले यो समयावधि कस्तो रह्यो ?
धेरै त भन्नुहुन्न । तर म आफैले सोचेको भन्दा सुखद अनुभूति गरिरहेको छु । सबै मान्छे सुरक्षित स्थान खोजिरहँदा हामी एउटा तुफानभित्र पसेका हौँ । हामीले अहिले तुफानको निसास्सिदो भूमरीलाई पार गरेर अर्को्तिरमा आइपुगेको अनुभूति गरेका छौँ । जनताले र युवाले हामीलाई विश्वास गर्छन् भन्ने हाम्रो विश्वास छ । हामीले जहाँ पुर्याउने भनेका छौँ, त्यहाँ पुर्याउँछौँ । हामी धोका दिँदैनौँ ।

० २०५१ फागुनको प्रचण्ड–बाबुराम र ०७३ पुसको प्रचण्ड बाबुरामबीचको दूरी के हो ? तपाईंको नजरमा उनीहरू कहाँ थिए कहाँ पुगे ?
हामीले त्यसको संश्लेषण गरेका छौँ । त्यस बेलाको उहाँहरूको मिलन जीवनलाई सम्पूर्ण रुपले जनता र राष्ट्रको पक्षमा समर्पण गरेको मिलन थियो । त्यसलाई उदात्त र आदर्शको मिलन भन्न सकिन्छ । आज उहाँहरूको विछोड सत्ताको चालबाजीमा फसेको, कसले कहाँबाट लाभ लिने, को माथि को हाबी हुने भन्ने मनोवृत्तिबाट ग्रस्त छ । त्यसलाई तुच्छ त भन्न भएन तर आज उहाँहरूको विछोड सङ्कुचित सानो मानसिकताको उपज भन्ने लाग्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com