युगसम्बाद साप्ताहिक

पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव
Wednesday, 06.28.2017, 11:56am (GMT5.5)

० तपाईँ राजपा केन्द्रीय समितिको एउटा मुख्य पद कोषध्यक्ष नै हुनुहुन्थ्यो, एमाले प्रवेश गर्नुभयो । राजपाले सबैभन्दा बढी विरोध जनाएको एमालेमै प्रवेश गर्नुको कारण के हो ? 
पार्टी, पद ठूलो कुरा होइन एजेण्डा ठीक हुनु प¥यो । राजपाको एजेण्डा नै बेठीक हुँदै गयो । अझ तराई मधेशमा शान्ति, विकास र समृद्धि होइन हिंसा र अस्थिरताको बाटोमा राजपा हिंडेपछि मैले उक्त दलबाट राजीनामा दिएँ । मलाई त्यस्तो पार्टीको कोषाध्यक्ष हुनु ठीक लागेन । 
मेरो राजनीतिक जीवन सुरु हुँदा नै एमालेबाट भएको हो । म एमालेको तलको सानो कमिटीमा पनि बसेर काम गरेकी मान्छे हुँ । म २०५० साल देखि नै सामाजिक आन्दोलनमा सक्रिय थिएँ । सामाजिक आन्दोलनलाई अझै बलियोसँग उठाउन सकिन्छ कि भनेर म बीचमा मधेशकेन्द्रित दल तमलोपामा लागेँ, अझ हामीले नै तमलोपा स्थापना गर्यौं ।  तर, तमलोपा हुँदै बनेको राजपाले सामाजिक आन्दोलनलाई दुरुपयोग ग¥यो । त्यसको लगाम अर्कैको हातमा गयो । त्यसैको प्रतिफल समाजमा चेतना र जागरणबाट परिवर्तन होइन कि हिंसा र बलप्रयोगबाट अस्थिरता पैदा गर्ने काम भयो, जुन मलाई मन परेको थिएन । त्यसबीचमा एमालेलाई मधेश विरोधी भनेर प्रायोजित नारा तयार गर्दै खेदियो पनि । तर, तराई मधेशको लागि एमालेले जति काम अरु कसैले गरेन । 
एमाले नै ठीक थियो भने तमलोमा हुँदै राजपामा जानुको कारण के हो त ?
म ब्यक्तिगत लाभ वा अरु आशा राखेर एमालेमा आएकी हैन । एमालेमा बसेर मधेशका माग पूरा गर्न सकिन्छ र तराई मधेशमा विकास र समृद्धि ल्याउन सकिन्छ भनेर म एमालेमा प्रवेश गरेकी हुँ । मधेशमा रातदिन आन्दोलन मात्र, हिंसा मात्र, जनता मरेको मरेकै । जनताचाहिँ मर्ने, तर लाभ पायो भने तिनै नेता नेता जो वर्षाैंसम्म मन्त्री भएर मधेशलाई गरिवीमा राखे, उनीहरूले नै पाउने । त्यसैले अव त्यो बाटो बदल्नुपर्छ भनेर म एमालेमा प्रवेश गरेँ । 
हेर्नुस् मधेशमा जनता मर्दा पैसा दियो पुग्यो । त्यो मर्ने परिवारको के हविगत भयो कसैलाई चासो भएन । खाली आन्दोलन मात्र, हिंसा र तोडफोड मात्र । आन्दोलनका माग पूरा हुँदा पनि के पाउँछन् जनताले भन्ने स्पष्ट छैन, केही नेताले पाउलान् बेग्लै कुरा हो ।  त्यसले मधेशमा विकास हैन खति मात्र ग¥यो । जनताले विकास खोजेको छ, सधैं आन्दोलन मात्र गरेर हुन्छ ? जनताले के चाहेको छ सोध्नु पर्दैन ? अनि उनीहरू त आन्दोलन गरेर तराईमा हिंसा मच्चाउन मात्र चाहन्छन् । जनता मरेको म¥यै, हामी नेता बन्ने मात्र काम हो ? मैले राजपामा बसेर जनताको चाहान पूरा गर्ने अवस्था देखिनँ, मधेशमा विकासका कार्यक्रम, बजेट दिने र समृद्धिको खाका प्रदान गर्ने एमालेबाटै मधेशको हित हुन्छ भन्ने निश्कर्ष निकालेर एमाले प्रवेश गर्ने निर्णय लिएँ । एमालेले मात्र रहेछ हिजैदेखि मधेशको हितमा काम गरेको । आज उसैले विस्तारै आफ्ना कार्यक्रम लागू पनि गर्दैछ । अहिलेलाई यति बुझ्नुस्, एमाले भन्दा बाहेक अरु दल मधेशको विकासमा संवेदनशील छैनन् ।
० कांग्रेस पनि त राष्ट्रिय पार्टी हो नि, उसले मधेशको मुद्दामा झन् राजपाजस्तै मत राख्दै आएको छ होइन र ? 
कांग्रेस त मधेशको मामिलामा सधैं धोकेबाज पार्टी हो । आजसम्म मधेश आन्दोलनसँग जति सम्झौता भए, ती सबै कांग्रेस नेतृत्वको सरकारसँग भए र कांग्रेसले नै कुनै सम्झौता कार्यान्वयन गरेन । तर, मधेशकेन्द्रित दल जहाँ म पनि थिएँ, उनीहरूले धोकेबाज कांग्रेसलाई नजिक र मधेशको हित गर्ने एमालेलाई टाढाको ब्यवहार गरे । यसैबाट बुझ्न सकिन्छ मधेशको मित्रपार्टी एमाले हो । मधेशको हितसँग राजपा नेताहरूको स्वार्थ किन मेल खाँदैन ? किन मधेशलाई धोका दिने कांग्रेसको पछिपछि लागेका छन् यिनीहरू ? मेरो मनमा प्रश्न उठ्यो । त्यसैले मैले एमाले चुनेँ ।
० मधेशी दलका नेता जनताको राय बिना नै आन्दोलनको निर्णय गर्छन् भन्नुभयो, तपाईं यसरी एमालेमा प्रवेश गर्दा जनताको राय चाहिएन ? 
यो मैले मात्र हैन तराईको जनताले पनि बुझिसकेको छ नेकपा एमाले बाहेक कसैले पनि अब तराईमा शान्ति र  बिकास गर्नै सक्दैन । जनताको आवाज बुझेर नै म एमालेमा फिर्किएको । कति धेरैले मेरो घरैमा आएर भन्नुभएको छ, कतिले फोन मार्फत भन्नुभएको छ वास्तवमा तराईमा एमाले बिरुद्ध झूठो अफावह फैलाइएको रहेछ । हो मधेशमा एमाले बिरुद्ध गलत प्रचार गरेर त्यहाँका जनतालाई आतंकित बनाउने बाहेक अरु केही काम गरेनन् मधेशी पार्टीले । केही केही मधेशको नेताले फोन गरेर मलाई सोध्नु भो– किन एमालेमा गएको ? मेरो जवाफ थियो– त्यहाँ बसेर मधेशी जनताको चाहाना पूरा गर्ने हैन उनीहरूलाई आन्दोलनका नाममा लडाएर मार्ने मात्र काम भयो । तराईबासीको उत्थानको लागि लागेको म जनता मरिरहेको हेर्न सकिनँ । 
० अस्तिसम्म एमाले मधेश विरोधी हो भन्दै आउनभयो, अब एमालेले राम्रो काम ग¥यो भन्दा जनताले पत्याउलान् ? 
मैले जनतालाई भन्नुपर्ने नै छैन । पछिल्लो पटक एमालेका काम हेरेपछि त एमालेलाई हामीले मधेश विरोधी भन्दा जनताले त्यो कुरा पत्याउन छोडे । हामीले लडाईं र हिंसा मात्रै आयोजना ग¥यौं, एमालेलाई मधेश विरोधी भन्यौं । एमालेले सरकारमा रहँदा मधेशका लागि योभन्दा अघि नभएका काम ग¥यो । अनि हामीले भनेको जनताले पत्याउन छोडे । अव हामीले मधेशी जनतालाई एमालेको विरोध गर्दा चाहिँ उनीहरूले पत्याउँदैनन् । राजपाका अरु नेताहरूले भनेको पनि अव जनताले पत्याउँदैनन् । मधेशको विकास एमालेले मात्र गर्न सक्छ भन्ने त्यहाँ परिसकेको छ । 
० तर, एमाले अध्यक्ष ओली मधेश विरोधी भन्ने खुव स्थापित भएको छ भन्ने समाचार सञ्चार माध्यममा आएका छन् नि त ? 
मलाई लाग्छ, मिडिया जनतासम्म पुगेकै छैन । काठमाडौंमा बसेर एमाले विरुद्ध अभियान चलाउने र शक्तिकेन्द्र धाएर हिंड्ने केही उद्यमीहरूले भनेका कुरालाई मधेशी जनताका कुरा भनेर प्रचार गरिरहेका छन् । म नढाँटी भन्छु, मधेशी जनताको दवावले नै म एमालेमा आएकी हुँ । हिजोसम्म हामी आन्दोलनमै थियौं । आन्दोलनको एजेण्डाले जनतालाई यस्तो दिन्छ भन्न कहिल्यै पनि नसक्ने तर सधैं ओलीले यस्तो बोल्यो भनेर मान्छेको दिमाग तात्ने कुरा मात्रै ग¥यौं । मधेशीलाई हेप्यो भनेर प्रचार भयो । आफूलाई हेप्यो भनेपछि सबै संवदेनशील हुन्छन् । त्यसै गरी लहैलहैमा ओलीलाई मधेश विरोधी भनिएको रहेछ । आन्दोलनले के गर्ने भन्ने छैन, ओली मधेश विरोधी हो भन्ने, घृणा फैलाउने र हिंसात्मक काम मात्रै गर्ने भयो । यस्तो काम गरेर कतिञ्जेल बस्ने ? त्यसैले अहिले मधेशमा जागरण नै छ । तपाईं मिडियाहरूले जे ल्याउनु भएको छ जनताको कुरा त्यो होइन । म एमालेमा प्रवेश गरेपछि मधेशका केही जिल्लामा दीपावली गर्ने तयारी भइरहेको थाहा पाएकी छु । त्यो म एमालेमा आएर होइन, अव मधेशमा विकास गर्ने एजेण्डा भएको पार्टी बलियो हुने भयो भनेर हो । 
० त्यसो भए हिजो राजपामा भएर गरेको कामप्रति पछुतो लाग्दैन ? 
त्यसमा मलाई के लाग्छ भने मान्छे भ्रममा थोरै समय मात्र रहन सक्छ । म पनि केही समय भ्रममा परेँ भन्ने स्वीकार्छु । यो भ्रममा म मात्र होइन मधेशको अधिकांश वस्ती पर्यो । अव ब्यवहारबाटै त्यो भ्रम चिरियो । मधेशमा एमाले बिरुद्ध फैलाइएको भ्रम अबबाँच्दैन । मबाट पनि गल्ती भयो, अब जनतामै गएर माफी माग्दै मधेशको विकासका लागि एमालेको एजेण्डा सफल बनाउने हो ।
० तपाईं पहिले पनि एमालेमै हुनुहुन्थ्यो, एमाले छोडेको १० बर्ष त्यसै खेर गयो जस्तो लागेन ? 
हो साँच्चै आज पार्टी प्रवेश गर्दा मैले पहिले एमालेमा बसेर काम गरेको पुराना दिन सम्झेँ । जनकपुरबाट आईएको पढाई सकेर काठमाडांै आएकी थिएँ । त्यसबेला म अनेमसंघको कमिटीमा थिएँ, यही घट्टेकुलोमा । संजिता रावलको कमाण्डरमा थियो त्यो मोर्चा । धनुषा काठमाडौं सम्पर्क मंचको कोषाध्यक्ष भएर तीन कार्यकाल काम गरेँ । जनकपुर काठमाडौ सम्पर्क मंचमा पनि काम गरेँ । मुलुकमा केही सकारात्मक परिवर्तन ल्याउन मैले केही योगदान गर्न सक्छु कि भन्ने मनमा कस्तो हुटहुटी थियो । ती दिन म सम्झिरहेकी छु । म त्यसपछि मधेशकेन्द्रित दलमा लागेँ, त्यो भ्रमको उपज थियो भन्ने अहिले आएर बुझेँ । एमालेमा बसेर काम गरेको भए आज मैले मधेशका लागि बेग्लै योगदान गर्नसक्ने रहेछु  भन्ने लागेको छ । हिजो मात्र मैले केपी ओलीलाई भेटेको थिएँ । मधेशको विकासमा उहाँका दृष्टिकोण, योजना र आफूले सरकारमा हुँदा गरेका कामबारे सुनाउनु भयो । ममा पहिलेकै जस्तो सकारात्मक चिन्तन जागृत भएर आयो । म एकदमै उत्साहित छु । लडाईं झगडा, लफडागिरीको बाटो छोडेर विकासको काममा अघि बढ्छु भन्ने ईच्छाशक्ति जागृत भएर आयो । 
० एमालेले मधेशका लागि गरेको राम्रो काम चाहिँ के हो त ? 
यो त सबैले देखेकै कुरा हो । मैले केही भन्नु पर्दैन । मधेशको विकासका लागि गत वर्ष केपी ओलीको सरकारले जस्तो कार्यक्रम बनाएर बजेट आजसम्मका कुन सरकारले दियो ? हिजोसम्मको पार्टी राजपाका नेताहरू कतिपटक मन्त्री हुनुभयो ? उहाँहरूले हितैषी ठानेको कांग्रेसले कतिपटक सरकारको नेतृत्व ग¥यो ? मधेशमा कसैले सिन्को भाँचे ? अनि त्यत्तिकै केपी ओलीलाई मधेश विरोधी भन्ने झूठ कतिञ्जेल भन्ने ? अहिलेका जनता कसैले भनेर पत्याउँदैनन्, कसले के ग¥यो आफैं जान्ने भइसकेका छन् ।
(चक्रपथ अनलाइनबाट)


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com